कर्णाली नदीले राकमका जमिनदारको भकारी रित्तै, उम्मेदवार पुग्छन् खाली हात !
‘बर्खाभरि हातका नङ्ग्रा खियाएर मेहनत गरियो, उब्जनी पनि ठिकै हुने अपेक्षा गरेको थिएँ, के गर्नु ! कर्णाली नदीले हाम्रा पसिना र दुःख बुझेन । भकारीमा राख्ने बेलामा नदीले धानमात्रै होइन, पुस्तौंदेखि आर्जन गर्दै आएको जमिन पनि बगाइ लग्यो,’ बिहीबार पश्चिम दैलेखको आठबीस नगरपालिका–४ राकम कर्णालीको नदी किनारमा भेटिएका ६० वर्षीय स्थानीय लालबहादुर माझीले आफ्नो पीडा सुनाए ।
असोज तेस्रो साताको अविरल वर्षाका कारण बाढी आउँदा कर्णाली नदीले उनको धानबाली बगाइदिएको रहेछ । ‘नदी यतिधेरै बढेर आयो कि मेरो ३ बिगाह जमिन बगरमा परिणत गरिदियो, काटेर राखेको धानका ६ वटा कुनिया र २ बोरी बदाम पनि लग्यो,’ उनले भने, ‘वर्षभरि दुःख गरेको उब्जनी नदीले बगाएपछि बस्ती नै उजाडजस्तो लाग्या छ, वर्षभरि खान पुग्थ्यो । नदीले छाकबासै उडाइदियो ।’
लालबहादुरका १० जनाको परिवारलाई यही खेतको उब्जनीबाट छाक टार्न पुग्थ्यो । बाँध फुटाएर नदीले धान खेत नै बगाइदिएपछि कसरी गुजारा चलाउने भन्ने चिन्ता थपिएको छ उनलाई । उनले भने,‘ न रोजगारी छ, न कुनै व्यवसाय, छाक टार्ने चिन्ताले पिरोलिरहन्छ ।’
लालबहादुर मात्र होइन, राकम कर्णालीका ताराबजार, नानटापु, तलघाट, डाडेआम, कुन्टा, सिम लगायत टोलका करिब १२१ जना किसानको काटेर सुकाउनका लागि राखेको धान, कसैको कुनिया, कसैको नकाटेको धान नदीले बगाएर लग्यो भने जमिन बगरमा परिणत गरिदियो । नानटापुका मात्रै १९ जना किसानको ५ देखि १५ मुरीसम्म धान बगाएको छ भने भेल्तडीका १० जनाको जग्गामा अहिले नदी बगिरहेको छ ।
तारबजार टोलका हरिबहादुर माझीले करिब ४५ जनाको ५ देखि ६ रोपनी (प्रत्येक) र १० जनाभन्दा बढीको प्रत्येकको १० देखि १५ रोपनी बराबरको जमिन बगर बनेको जानकारी दिए ।
लाल विकको सानो खेत थियो । त्यही खेत नदीले बगाइदिएपछि उनी अहिले निकै चिन्तित छन् । उनले निराश हुँदै भने, ‘४ मुरी धान पनि लग्यो, जमिन पनि लग्यो, यहीँबाट चार जनाको परिवार पाल्ने गरेको थिएँ, मुखमा माढ लगाउन यहाँका बासिन्दा मुग्लान लाग्नुबाहेक अर्को विकल्प छैन ।’
उनका अनुसार राकम कर्णालीलाई पहाडको तराई भनेर चिनिन्छ । यहाँ अहिले नदीले बगाएर ल्याएका काठका मुढा, बालुवा ढुंगामात्र छन् । उनले ‘हाम्रा दुःख बुझिदिने को होला ?’ भन्दै उल्टै प्रश्न गरे ।
यहाँ धेरैजसो माझी, दलित समुदायको बस्ती छ । माझीहरु यहाँका जमिनदारका रुपमा कहलिन्छन् । मंसिर ४ गने हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावले गाउँबस्ती चुनावमय बनिरहँदा राकमवासीलाई हातमुख कसरी जोर्ने भन्ने चिन्ता छ ।
नेताहरु भोट माग्न बस्तीमा आउने गरे पनि किसानको समस्याबारे कुनै चासो नदिएको आरोप उनीहरुको छ । स्थानीय तारा माझी भन्छन्, ‘चुनावका लागि नेताहरु माथिसम्म आउँछन्, हाम्रो समस्याबारे सुनुवाइ नै गर्दैनन्, भोटमात्रै माग्छन्, नेताहरु प्रति के विश्वास छ र ?’
ताराको पनि १० मुरी धान नदीले बगाएको बताए । ‘राकममा हिजोआज दैनिकजसो चुनावी कार्यक्रम हुने गरेका छन्, उम्मेदवार भोट माग्न गाउँसम्म गए पनि किसानको बारीसम्म पुग्दैनन्,’ स्थानीय रमेश थापा भन्छन् ।
राकमका जमिनदारहरुमा आजभोलि नेताको भाषणप्रति वितृष्णा छ । किनकि गत वर्षदेखि पाउनुपर्ने राहत उनीहरुले पाएका छैनन् ।
बस्तीमा केही दिन अघि एमालेबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार विनोद कुमार शाह त्यहाँ पुगेका थिए । शाहले किसानको दुःख, पीडाबारे कुनै चासो नदिएको किसानको गुनासो छ ।
स्थानीयवासी लालबहादुरले भने, ‘जमनाबाटै भाषण गर्दै आएका छन्, तिनको के भरोसा भयो र ? त्यतिबेलादेखि नै सिमेन्टको जाली लगाउछौँ भन्थे, अहिलेसम्म केही गरेनन्, अब भोट दिएर के गर्ने हुन् र ?’
आठबीस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर शाही भन्छन्, ‘खेतमा नदीमात्र बगेको छैन, नदीले राकमवासीका मानो रोपेर मुरी कमाउने सपना पनि बगाएको छ ।’
००००
नगरप्रमुख यसो भन्छन्
चुनावी गतिविधि बुझ्न गएका हामीले किसानको पीडा बुझिसकेपछि दिउँसो ३ बजेतिर नगरपालिकाको कार्यालयमा पुग्यौँ । प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा थिए आठबीसका पूर्व मेयर खड्गराज उपाध्याय । उनले राकम कर्णालीको समग्र समस्याको बारेमा जानकारी दिँदै भने, ‘राकमलाई नयाँ सहर आयोजनाको रुपमा विकास गर्ने गरी काम अघि बढिरहेको छ । तर यहाँका नागरिक भने सन्तुष्ट छैनन् । यो उर्वरा भूमि हो । नयाँ सहर आयोजनाले आफ्नो ढंगले काम गर्छ । अहिलेसम्म जग्गा प्लानिङ र सडकको योजनाबाहेक अरु खासै काम भएको छैन ।’
उपाध्यायले भेल्तडीदेखि जाग्सीसम्मको पूरै ठाउँलाई तटबन्ध गर्नुपर्ने बताए । ‘अन्यथा यो बस्ती जोखिममा छ,’ उनले भने, ‘यो आयोजनाले उर्वराभूमि मासिने छ ।’
तटबन्धका अलावा खानेपानी र विद्युतको समस्या रहेको उनले बताए । राकमबस्तीको काख हुँदै कर्णाली राजमार्गसँगै विद्युतको राष्ट्रिय प्रसारण लाइन कालिकोट, जुम्ला पुगेको छ ।
राकमबासीले विद्युत बाल्न पाइरहेका छैनन् भने कालिकोटमा झिलिमिली छ । राकममा अहिले झण्डै ३४ सय जनसंख्या रहेको उनले बताए । किसानका समस्याबारे उपाध्यायले भने, ‘कर्णाली नदी र कानेगाड खोलाले बाढीको प्रमुख समस्या छ । दुवै खोला, नदी किनारामा तटबन्ध आवश्यक छ । नत्र यहाँको बस्ती, नयाँ सहर आयोजना र उर्वरा भूमिलाई ठुलो क्षति हुने देखिन्छ ।’
उनका अनुसार कर्णाली नदी र खोलागरी तीन किलोमिटर क्षेत्रफलमा तटबन्ध आवाश्यक छ ।
उपाध्यायसँग गफ गर्दैगर्दा त्यहीँ आइपुगे वर्तमान मेयर तर्क बडुवाल । उनलाई हामीले किसानको समस्या र राहतबारे बुझ्न खोज्दा उनले भने, ‘ह्या.. त्यहाँ उतै वडासित सोध्नुहोला ।’
जबकि नगरपालिकाको कार्यालय र बाढीले बगाएको क्षेत्र करिब एक किलोमिटरको दुरीमा छ ।
‘नागरिकको समस्यालाई समाधान गर्न के गर्दै हुनुहुन्छ ?’ भन्ने रातोपाटीको प्रश्नमा उनले भने, ‘बजेट माग्ने हो, थोरै हामीसँग छ, चुनावपछि सबै काम गर्छौँ ।’
उनले किसानको क्षतिको अनुगमन समेत सबै ठाउँमा गरेका रहेनछन् । जनताको गुनासोप्रति उनी चिढिए । ‘जनतालाई भन्न दिनुस्, के भन्छन्–भन्छन्,’ उनले भने ।
स्थानीय तारा माझीले स्थानीय तहबाट आफूहरुले कुनै राहत नपाएको गुनासो गरे । ‘पोहोर सालको त दिएनन्, अहिलेसम्म कुनै चासो दिएका छैनन्,’ उनले भने, ‘पालिकाका मान्छेले लगत संकलन गरेर लगेका छन्, तर हामीलाई राहत देलान् भन्ने विश्वास छैन ।’
तर नगर प्रमुख बडुवालले चुनावपछि राहत बाँड्ने बताए । वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर माझीले अझै क्षतिको विवरण संकलन गर्न बाँकी रहेको बताए ।
००००
जब नगरले कुनै सहयोग नगर्ने सूचना जारी गर्‍यो
३० असोजमा नगरपालिकाले एउटा सूचना निकाल्यो । ‘पहिरो तथा बाढीका कारण अन्नबाली, पशुचौपाया, खेतीयोग्य जमिन र घरहरु क्षति भएका कारण नगरपालिकास्तरबाट पीडित नगरवासीलाई यथोचित राहत उपलब्ध गराउन नसकिने अवस्था छ । आर्थिक र भौतिक सामग्री उपलब्ध गराउन इच्छुक देशविदेशमा रहेका व्यक्ति, संघसंस्थाले सहयोग गरिदिनुहोला,’ सूचनामा भनिएको छ ।
उसले नगरपालिकाको बैंक खाता नम्बरसमेत उक्त सूचनामा राख्यो । हामीले नगर प्रमुख बडुवाललाई प्रदेश, संघ सरकारसँग पहल गर्न छाडेर यसरी हात उठाउन मिल्छ र ? भनेर प्रश्न गर्दा उनले तटबन्ध गर्नका लागि नगरपालिकाबाट केही गर्न नसकिने जवाफ दिए । तर अबको पाँच बर्षभित्र भने आठबीसलाई ‘हरियाली अर्थात ग्रीन जोन’ नगर बनाउने सपना रहेको उनले सुनाए ।
यति ठूलो सपना देख्ने मान्छेले नागरिकको पीडाबाट उम्किने प्रयास गर्नुहुन्छ ? भन्ने प्रश्नको जवाफमा उनले भने, ‘सपना त देख्नप-यो नि हजुर !’
००००
किसानका पीडा बनेनन् उम्मेदवारका एजेण्डा
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवार बनेकाहरुको प्रतिबद्धतापत्रमा किसानको समस्या समाधानबारे कुनै योजना छैन ।
यही क्षेत्र अर्थात दैलेख क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्य पदका लागि एमालेबाट विनोद कुमार शाह र गठबन्धनबाट माओवादीका योगेन्द्र शाही उम्मेदवार छन् । शाहको २१ बुँदे र शाहीको २० बुँदे प्रतिबद्धतापत्रमा राकम कर्णालीवासीको पीडाबारे कुनै योजना उल्लेख छैन ।
सम्भवै नहुने योजना घोषणापत्रमा राखेका उनीहरुले स्थानीयवासीको समस्याबारे भने बेवास्ता गरेका छन् । यो क्षेत्रबाट प्रतिनिधिसभाका लागि कांग्रेसबाट दिक्पाल शाही र एमालेबाट लक्ष्मी प्रसाद पोखरेल उम्मेदवार छन् । उनीहरुको प्रतिबद्धतापत्र भने सार्वजनिक भएको छैन ।