बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

धवलागिरि क्षेत्रमा चुनावी सुरक्षा व्यवस्था चुस्त

आइतबार, २७ कात्तिक २०७९, १४ : ३८
आइतबार, २७ कात्तिक २०७९

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावलाई शान्तिपूर्ण तथा भयरहित बनाउन धवलागिरि क्षेत्रका चारै जिल्लामा सुरक्षा प्रबन्ध चुस्त पारिएको छ । मतदानको दिन नजिकिँदै गर्दा सुरक्षाका दृष्टिबाट कुनै कमी हुन नदिन सुरक्षा निकाय लागिपरेका छन् । बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङस्थित जिल्ला सुरक्षा समितिले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरी सुरक्षा रणनीति तयार पारेको छ । विगतका घटनाको विश्लेषण, मतदाता संख्या, भौगोलिक अवस्थिति, मतदानस्थलको दूरी र राजनीतिक शक्ति सन्तुलनलाई हेरेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो ।

बागलुङका कूल एक सय छ मतदानस्थलमध्ये ३५ प्रतिशतलाई अतिसंवेदनशील, १५ प्रतिशतलाई संवेदनशील र ५० प्रतिशतलाई सामान्यमा वर्गीकरण गरिएको छ । मतदानस्थलको अवस्था र संवेदनशीलता हेरेर सुरक्षा योजना बनाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ । समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी रमेश ढकालले सुरक्षाकर्मीको खटनपटन टुङ्गिएको बताए । “नेपाली सेना, सशत्र प्रहरी बल, जनपद प्रहरी र राष्ट्रिय अनुसन्धान गरी चारै निकायको समन्वयबाट सुरक्षा व्यवस्थापनको काम भइरहेको छ”, उनले भने, “मङ्सिर १ गतेसम्ममा कर्मचारीसहित सुरक्षाकर्मी मतदान केन्द्रमा पुगिसक्छन् ।”

प्रजिअ ढकालले राजनीतिक दलका चुनावी अभियान पनि सौहार्द र शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको बताए । “सुरक्षा व्यवस्था सुदृढ छ, कुनै पनि खालको चुनौती जिल्लामा छैन, चुनाव स्वच्छ, शान्त र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकाय कटिबद्ध छ”, उनले भने । केही दल र समूहले निर्वाचन बहिष्कारको घोषणा गरेकाले उनीहरुका गतिविधिमाथि नजिकबाट निगरानी भइरहेको समितिले जनाएको छ । सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी आठदेखि २२ जनासम्म सुरक्षाकर्मी एउटा मतदान केन्द्रमा परिचालन गरिने भएको छ । 

मतदान केन्द्रको भित्री सुरक्षामा जनपद र म्यादी प्रहरी खटिनेछन् भने बाहिरी सुरक्षा घेरामा भने सशत्र प्रहरी र नेपाली सेना रहने छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले चुनावमा खटिने सुरक्षाकर्मी सम्बन्धित स्थानीय तहमा पुगिसकेको बताए ।  “म्यादी प्रहरीसहित सुरक्षाकर्मी परिचालित भइसकेका छन्, सुरक्षा व्यवस्था मजबुत पारिएको छ”, उनले भने, “राजनीतिक दलका गतिविधि पनि मर्यादित र शान्तिपूर्ण छन् ।” जिल्ला सुरक्षा समितिका सदस्य प्रनाउ भारतीका अनुसार म्याग्दीमा रहेका कूल एक सय १९ मतदान केन्द्रमध्ये १५ वटालाई अतिसंवेदनशील, ५८ वटालाई संवेदनशील र बाँकीलाई सामान्यमा वर्गीकरण गरिएको छ । 

चुनावी सुरक्षाका लागि म्याग्दीमा सात सय ३३ म्यादी र चार सय नौ जना जनपद प्रहरी परिचालन गरिएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले प्रजिअसहित सुरक्षा निकायका पदाधिकारीले जिल्लाका सबै मतदान केन्द्रको स्थलगत अध्ययन गरेपछि चुनावी सुरक्षा योजना बनाइएको बताए ।  “सुरक्षा योजनादेखि सुरक्षाकर्मीको खटनपटनलगायत मतदानपूर्वको तयारी पूरा भएको छ”, उनले भने, “सुरक्षा निकायबीच आपसी समन्वयबाट काम भइरहेको छ ।” सहायक प्रजिअ ढकालले मुस्ताङको सुरक्षा व्यवस्थामा कुनै अपुगता रहन नदिइने बताए । धवलागिरि क्षेत्रमा सबैभन्दा कम मतदाता रहेको मुस्ताङमा जम्मा ३९ मतदान केन्द्र छन् । सङ्घतर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा १० हजार नौ सय ५७ जना मतदाता छन् । 

पर्वतमा पनि सुरक्षा व्यवस्था सुदृढ पारिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । निर्धक्कसँग मतदान केन्द्रमा पुगी आफ्नो मताधिकार प्रयोग गर्न समितिले मतदातालाई आग्रह गरेको छ । पर्वतका कूल ७४ मतदानस्थलमध्ये ३५ वटालाई अतिसंवेदनशील, ३१ वटालाई संवेदनशील र आठ वटालाई सामान्य सूचीमा राखिएको छ । चुनावलक्षित सुरक्षा प्रबन्ध सँगसँगै मतदान केन्द्र केन्द्रित तयारी सुरु भएको छ । मतदान अधिकृतसहित जनशक्तिको व्यवस्थापन, खटनपटनलगायत चुनावको व्यवस्थापकीय कामले तीव्रता पाएको छ । चुनाव आउन सात दिनमात्र बाँकी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप