शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जलवायु परिवर्तनका यी चकित पार्ने परिणाम बारे थाहा छ ?

आइतबार, २७ कात्तिक २०७९, १३ : ३६
आइतबार, २७ कात्तिक २०७९

चराचुरुङ्गीको सङ्गीत, हल्का हिउँ, फुलेका फूल र मिजजस्तो लामखुट्टेको टाकाई – नोभेम्बर महिनामा उत्तरी इङ्गल्याण्डमा तपाईंले यस्ता चिजको आशा गर्नुहुन्नँ । तर यस्तो भइरहेको छ र यो लगातार तातो भइरहेको धर्तीको हल्का साइडइफेक्ट्स हुन् ।

पृथ्वीको तापका कारण डरलाग्दो बाढी आइरहेका छन् । सुख्खा हुँदै गएको छ । तापक्रम बढिरहेको छ । पृथ्वीको तापक्रम बढ्दै गएपछि साइबेरियामा वर्षौंदेखि बरफले ढाकेका मैदान पग्लिरहेका छन् । तोरीको उत्पादन घट्दै गएको छ र पृथ्वीको चमक घट्दै गएको छ ।

जलवायु परिवर्तनका केही नतिजाहरू अत्यन्तै घातक हुन्छन्, तर यसको कारणले केही यस्ता अनौठो परिवर्तनहरू भइरहेका छन्, जुन तपाईंलाई थाहा नहुन सक्छ ।

ट्रुन्डाको विस्तार र पृथ्वीको चमक

साइबेरियामा बरफले जमेका मैदानमा ठूल्ठूला खाल्डा भइरहेका छन् । केही रुसी वैज्ञानिकका अनुसार धर्तीको तापक्रम बढ्दा जमिन भित्र ग्यासको पकेट बनिरहेको छ । यसमा अचानक विस्फोट भइरहेको छ र जसका कारण खाल्डा बनिरहेका छन् ।

बरफले ढाकिएको यस्तो जमिनलाई पर्माफ्रोस्ट भनिन्छ । यसमा दुई वा सोभन्दा बढी वर्षसम्म बरफ जमेको हुन्छ ।

आर्कटिकमा बनिरहेका ठूला खाडलहरुको पछाडि पनि यही अवधारणा छ ।

बीबीसी फ्यूचरको एउटा लेखले यो घटनाले हाम्रो पृथ्वीको उत्तरमा रहेको यो निर्जन क्षेत्र कसरी चुपचाप केही ठूला परिवर्तनहरूबाट गुज्रिरहेको छ भनेर बताउँछ ।

हालैका अनुसन्धानले देखाउँछ कि आर्कटिक हामीले सोचेको भन्दा छिटो तातो भइरहेको छ । यो तातो हुने गति विश्वको तापको गतिभन्दा चार गुणा बढी छ ।

न्यु जर्सीस्थित बिग बियर सोलार अब्जर्भेटरीका वैज्ञानिकहरुका अनुसार पृथ्वीको तापक्रम बढ्दै गएका कारण यसभित्र यस्ता खाल्डा मात्र बनेका छैनन्, यसको ‘चमक’ पनि घट्दै गएको छ ।

वैज्ञानिकहरुका अनुसार धर्तीबाट फर्किएर आउने सूर्यको जुन प्रकाश चन्द्रमाको अँध्यारो इलाकामा परिरहेको छ, त्यसलाई ‘अर्थ साइन’ वा अलबिडो भनिन्छ । वास्तवमा यो धर्तीको प्रकाशलाई परावर्तित गर्ने क्षमता हो ।

यस अध्ययनमा पूर्वी प्रशान्त सागरमा तल्लो आकाशमा पाइने बादल घट्दै गएको बताइएको छ । समुद्रको तापक्रम बढेका कारण यस्तो भएको हो ।

यो बादल ऐना जस्तै हुने भएकोले  सूर्यको किरणलाई अन्तरिक्षमा प्रतिबिम्बित गर्दछ । तर यी बादलहरू घट्दै जाँदा यो प्रकाश घट्दै जान्छ । त्यसैले वैज्ञानिकहरुको यो अध्ययन अनुसार हामीले हाम्रो पृथ्वीको चमक घटाउँदैछौँ ।

ग्लोबल वार्मिङका यी नतिजाबारे थाहा छ ?

ग्लोबल वार्मिङलाई हामी मनुष्यले मात्रै महसुस गरिरहेका छैनौँ । केही जनावरमाथि यसको निकै अचम्म तरिकाले ठूलै असर परिरहेको छ ।

यसले केही सरीसृपहरूमा बच्चाहरूको लिंग निर्धारणलाई पनि असर गरिरहेको छ । वास्तवमा, तिनीहरूको अण्डा कुन तापक्रममा निषेचन भइरहेको छ, यसले फरक पार्छ । अस्ट्रेलियामा पाइने छेपारोको एक प्रजातिमा (दाह्री भएको भाले ड्र्यागन) तापक्रमको सीमा नाघेपछि पोथीमा परिणत हुन्छ । 

यसले भाले छेपारोलाई मार्न सक्ने र यस प्रजातिको लोप हुने खतरा रहेको भन्दै वैज्ञानिकहरू चिन्तित छन् ।

समुद्रमा हरितगृह ग्यास कार्बन डाइअक्साइडको बढ्दो स्तरले माछामा सुँघ्ने वा महसुस गर्ने क्षमता पनि कम गराइरहेको छ ।

जलवायु परिवर्तनका कारण मौसमको लय पनि बिग्रँदै गएको र यसको प्रभाव देखिन थालेको छ । बेलायतको जङ्गलमा ग्रेट टिट (पंक्षीको एक प्रजाति) का बच्चा सन् १९४० को दशकको तुलनामा तीन साता अघि नै अण्डाबाट निस्किन्छन् ।

बढ्दो तापक्रमका कारण वसन्तको आहार श्रृंखलामा पनि परिवर्तन आएको छ । पृथ्वीको तापक्रम बढ्दै गएका कारण चराचुरुङ्गीले खाने इल्ली पनि चाँडै जन्मन थालेका छन् । ओक रूखको पात पनि चाँडै उत्पादन भइरहेको छ । जसलाई यी इल्लीहरूले खाने गर्छन् ।

मौसममा आएको परिवर्तनका कारण धेरै चराचुरुङ्गी योसँग तालमेल मिलाउने कोसिस गरिरहेका छन् । कोही यो इलाकाबाट अन्य स्थान गइरहेका छन् ।

यस वर्ष नोर्फोकको खानीमा चल्लाहरू जन्मिएका छन् (यिनीहरुले माहुरी खाने चल्लाहरू खान्छन्) । सामान्यतया यिनीहरु दक्षिण युरोप र उत्तर अफ्रिकामा जन्मिने गर्छन् ।

यहाँसम्म कि आवाज सुन्ने समयमा पनि परिवर्तन आइरहेको छ । लण्डनमा अब यो मौसममा ती पंक्षीको आवाज सुनिरहेको छ, जुन पहिले सुन्न पाइँदैनथ्यो । एक अध्ययनमा त यो पनि बताइएको छ कि पंक्षी अब अग्लो स्थानमा भएका रुखतर्फ अघि बढिरहेका छन् ।

बालीमा कस्तो असर पर्छ ?

मौसममा आएको यस्तो चरम परिवर्तनले बाली लगाउन पनि गाह्रो भइरहेको छ । यसको असर गहुँ, मकै र कफीमा देखिन थालेको छ । तर अहिले धेरै कुराको अभाव देखिएको छ ।

हरेक वर्ष सिरिराचा खुर्सानीका दुई करोड बोतल तयार गर्ने क्यालिफोर्नियाको कम्पनी उई फोंग फुड्सले अप्रिलमा आफ्नो ग्राहकलाई चिट्ठी लेखेर डेलिभरी अर्डर पूरा नहुन पनि सक्छ भनेर सूचना दिए । उनीहरुका अनुसार यो खुर्सानीमा अत्यधिक कमी आएको छ ।

गर्मीमा फ्रान्सको सुपर मार्केटमा डिजोन मस्टर्ड नष्ट हुन सुरु भएको छ । वास्तवमा यो तोरी क्यानडाको घाँसे मैदानयुक्त इलाकामा फलाइन्छ । र त्यहाँ मौसममा गडबडीका कारण यसको उत्पादन घट्न थालेको छ । विश्वको यसै इलाकामा सबैभन्दा बढी तोरी फल्छ ।

जलवायु परिवर्तनका कारण कार्बनमुक्त बनाउने प्रयास पनि सुस्त हुँदै गएको छ । अगस्टमा, ऊर्जा कम्पनी ईडीएफले फ्रान्सको एक आणविक पावर स्टेशनमा उत्पादन घटाउनु परेको थियो किनभने त्यहाँ नदीहरूमा पर्याप्त चिसो पानी थिएन ।

यो समस्याको समाधान के हुन्छ भन्ने विषयमा संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्मेलनमा छलफल भइरहेको छ । सम्मेलनमा पृथ्वीलाई तातो बनाउने ग्यासलाई कसरी घटाउने भन्ने विषयमा छलफल भइरहेको छ ।

पृथ्वीको तापक्रम बढाएर हामीले हाम्रो विश्वलाई धेरै परिवर्तन गरेका छौँ । तर अब हामी त्यस्ता परिवर्तनहरूको लागि तयार हुनुपर्छ जसले हामीलाई चकित पार्न सक्छ । यस्ता परिवर्तनहरू पनि देख्न सकिन्छ, जुन हामीले कल्पना पनि गरेका थिएनौँ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप