बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नवलपुर–१ : शशांकलाई कांग्रेसको त्रास, कृष्णलाई कांग्रेसकै आश

आइतबार, २७ कात्तिक २०७९, १२ : ५५
आइतबार, २७ कात्तिक २०७९

नवलपुर । जाडोको सिजन सुरु भए पनि नवलपुरमा भने मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले माहौल तताएको छ । पाँच जना स्वतन्त्र गरी नवलपुर–१ बाट १५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाका छोरा शशांक कोइराला र एमाले निकट विद्यार्थी संगठनको राजनीतिबाट आएका कृष्णप्रसाद पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

२०७४ सालको निर्वाचनमा प्रतिनिधिसभामा गण्डकी प्रदेशबाट कांग्रेसले जितेको एकमात्र क्षेत्र भएकोले नवलपुरलाई कांग्रेसको गढको क्षेत्रको रूपमा लिने गरिन्छ । तर, यसपालि परिस्थिति अलि फरक भएको एमाले नेताहरूको आङ्कलन छ । कांग्रेसभित्र आन्तरिक विवाद समाधान नभएको र नयाँलाई भोट दिने भन्ने लहर देशव्यापी रूपमा चलेकोले एमालेको पक्षमा परिणाम आउने नवलपुर जिल्लाको एमाले जिल्ला कमिटी सदस्य तेजेन्द्र प्रसाद सापकोटा बताउँछन् ।

‘यो क्षेत्रबाट चुनाव जितेर जानुभएका शशांक कोइरालाको भूमिका निर्वाचन क्षेत्रमा र संसदमा पनि खासै देखिएन, त्यसैले जनताले नयाँ मान्छेलाई चुनाव जिताउने भनेका छन् । यो निर्वाचन क्षेत्रमा कांग्रेसको मत बढी भए पनि यसपालि जनतामा जागेको परिवर्तनको चाहना र कांग्रेसभित्रको विवादका कारण हामीले चुनाव जित्छौँ, यो निर्वाचन क्षेत्रमा यसपालि पनि एमालेले जितेन भने कहिल्यै चुनाव जितिँदैन भन्ने विश्लेषणमा हामी छौँ,’ एमाले नेता सापकोटाले रातोपाटीसँग भने ।

किन हौसिएको छ एमाले ?

यसपालि एमाले हौसिनुको कारण डा. कोइरालाप्रति कांग्रेस नेताहरूकै साथ कमजोर छ भन्ने तथ्य बाहिरिएकोले हो । डा. कोइरालालाई प्रत्यक्षतर्फ उम्मेदवार नबनेर समानुपातिकमा बस्ने कि भन्ने सुझाव कांग्रेसको जिल्ला समितिले पार्टी केन्द्रलाई दिएको पनि थियो । तर, वाम गठबन्धन भएको २०७४ को निर्वाचनमा समेत डा. कोइरालाले ४ हजार मतान्तरले विजयी भएका थिए । सो निर्वाचनमा डा. कोइरालाले ४० हजार ६२० मत पाएका थिए भने एमाले, माओवादी केन्द्र र राप्रपाको साझा उम्मेदवार माओवादी केन्द्रका भविसोर पराजुलीले ३६ हजार ५९६ मत ल्याएका थिए । त्यसैकारण नवलपुरमा कांग्रेस धेरै बलियो छ भन्ने विश्लेषण एमाले नेताहरूको छ ।

‘राप्रपाको करिब ६ हजार मत छ । कांग्रेसकै नेता चित्रध्वज जीसी स्वतन्त्र उम्मेदवार बनेका छन् भने पूर्व माओवादी नेता राजन गौतम घण्टी चुनाव चिन्हबाट उम्मेदवार छन् । कांग्रेसभित्र तीव्र विवाद छ । त्यस्तै डा. कोइरालाले केही गरेनन् भन्ने जनताको असन्तोषबीच हामीले लोकप्रिय नेतालाई उम्मेदवार बनाएकोले यसपालि कांग्रेसको गढ भत्काउन सक्छौँ भन्ने लागेको हो,’ एमाले स्थानीय नेता सापकोटाले भने ।

के भन्छ कांग्रेस ?

नेपाली कांग्रेसका स्थानीय नेताहरू डा. कोइरालालाई चुनाव जित्नको लागि कुनै कठिन नहुने विश्लेषणमा छन् । पार्टीमा केही विवाद देखिए पनि सो विवाद ८० प्रतिशत जति मिलिसकेको कांग्रेस गैडाकोट नगर समितिका सभापति बद्री सापकोटा बताउँछन् । 

‘डा. कोइराला नै उम्मेदवार बन्ने भन्ने विषयमा सुरुमा केही असन्तुष्टि थियो, विस्तारै सबै मिल्दै गयो । आफ्नो कुनै गुट नबनाउने, अन्य पार्टीका मानिसलाई पनि समान व्यवहार गर्ने भद्र स्वभावका यति ठुलो नेताले स्थानीय असन्तुष्टि व्यवस्थापन गर्न नसक्ने भन्ने थिएन । कांग्रेसको गढ रहेको यो निर्वाचन क्षेत्रबाट वीपीका छोरालाई चुनाव जित्न कुनै कठिन छैन, उहाँले नजित्ने भन्ने कल्पना पनि गर्न नसकिने विषय हो,’ नगरसभापति सापकोटाले रातोपाटीसँग भने ।

उनी डा. कोइरालालाई चुनाव जित्न यसपालि अझै सजिलो भएको बताउँछन् । करिब ६ हजार मत भएको राप्रपा अहिले बेग्लै चुनाव लडेको, अघिल्लो चुनावमा एमालेसँग गठबन्धन गरेको माओवादी यसपालि कांग्रेसँगै भएको र २०७४ मा वाम गठबन्धनको पक्षमा देशभर लहर चल्दा पनि डा. कोइरालाले चुनाव जितेको क्षेत्र अहिले झन् सहज अवस्थामा चुनाव जित्न कुनै गाह्रो नहुने नगर सभापति सापकोटाको भनाई छ । करिब ६ हजार मत भएको राप्रपाबाट यसपालि सो क्षेत्रमा डा. मोहनीलाल भुसाल चुनावी प्रतिस्पर्धामा छन् ।

कस्तो छ हिसाब ?

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मत अनुसार सो क्षेत्रमा कांग्रेसको ४० हजार ५११ मत रहेको छ भने नेकपा एमालेको ३९ हजार ९५१ मत रहेको छ । राप्रपाले सो निर्वाचनमा २ हजार ३७३ मत प्राप्त गरेको थियो भने नेकपा माओवादी केन्द्रले १ हजार ९२१ र जसपाले १ सय ८८ मत प्राप्त गरेको थियो । यसपालि माओवादी केन्द्रको भोट डा. शशांक कोइरालालाई नै जानेछ । माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ता आफूलाई भोट माग्न सँगै हिँडिरहेको कांग्रेस नेता डा. कोइरालाले रातोपाटीसँगको अन्तरवार्तामा बताएका छन् । यद्यपि, कांग्रेस क्षेत्रीय प्रतिनिधि चित्रध्वज जिसीले असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएकोले कांग्रेसमा विवाद छ भन्ने सन्देश प्रवाह भएको हो ।

कांग्रेसको गैडाकोट नगर समितिका सभापति सापकोटा भने जिसीको उम्मेदवारीले खासै फरक नपर्ने बताउँछन् । ‘उहाँ लोकप्रिय वा धेरै जनाधार भएको व्यक्ति होइन, स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । हामीले कांग्रेसभित्रको असन्तुष्टिलाई करिब सम्बोधन गरिसकेका छौँ । यसकारण पनि हामीलाई चुनाव जित्न कुनै समस्या छैन,’ सापकोटाले भने । 

उनले डा. शशांक कोइरालाले कम्तिमा ५० हजार भोट ल्याउने र निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार कृष्ण पौडेलको ३० हजारको हाराहारीमा भोट ल्याउने हिसाब सुनाए । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेका राजन गौतम माओवादी केन्द्रको देवचुली नगरपालिकाको पूर्व नगरसचिव हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप