शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अदालतको आदेशविपरीत पुल बनाएको भन्दै उम्मेदवार यादवविरुद्ध मुद्दा दर्ता

जनताको भावनासँग खेलवाड गरेर नियोजित हिसाबले पुल भत्काउन खोजियो : यादव
आइतबार, २७ कात्तिक २०७९, ११ : ०४
आइतबार, २७ कात्तिक २०७९

२ वर्षदेखि अलपत्र अवस्थामा रहेको सिमरा–कोहल्वी सडकखण्डमा पर्ने बडहर्वा पुल निर्माण गरेको भन्दै बारा–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामबाबु यादवविरुद्व मुद्दा दर्ता भएको छ । ​ यादवविरुद्व अदालतको आदेश अवहेलना गरेको, पुल निर्माणको क्रममा बाटो मिचेको र क्षतिपूर्तिको मागदाबी सहित जिल्ला अदालत बारामा मुद्दा दर्ता भएको हो । उनी विरुद्ध सखवा हाउजिङ कम्पनी प्रालिको तर्फबाट रामेश्वर प्रसाद यादवले एक साताअघि मात्रै क्षतिपूर्तिको माग गर्दै तेस्रो मुद्दा दर्ता गरेका छन् ।

‘कित्ता नं ४३४ को १ बिगाहा र कित्ता नं ४३५ को ३ बिगाहा कम्पनीको नाममा भएको जग्गाको बीचबाट १५ कठ्ठा जग्गामा जबरजस्ती खिचलो गरेर पुल र बाटो निर्माण गरेकाले पुल र बाटो  मेटाई, भत्काई खेतमा खनेको खाल्टोसमेत पुनः भर्न लगाई पाउँ’ भन्दै मुद्दा दायर भएको हो ।

६ महिनाअघि यादवले क्रसर सञ्चालक तथा स्थानीय तहको सहयोगमा २ वर्षदेखि अलपत्र अवस्थामा रहेको पुलको दुवैतर्फ बाटो खोलेर, माटो भरेर पुल सञ्चालनमा ल्याएका थिए । यादव बारा–३ बाटै २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

निर्वाचनमा पराजित हुने त्रासका कारण विपक्षीहरुले आफूविरुद्ध षड्यन्त्र गरेको यादव बताउँछन् । ‘मविरुद्ध पहिला मानहानी मुद्दा हालियो, अहिले पुल भत्काई चलन चलाई क्षतिपूर्ति पाउँ भन्दै अर्को मुद्दा दर्ता गरिएको छ । यो सबै निर्वाचनलाई लक्षित गरेर ममाथि आक्रमण गर्न खोजिएको हो,’ जसपा नेपालबाट उम्मेदवार रहेका उनले भने ।

२०७५ सालमा २ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी पुलको ठेक्का लागे पनि जग्गा किचलोका कारण पुल निर्माण अलपत्र अवस्थामा थियो । जग्गा किचलोसम्बन्धी मुद्दा अदालतमा परेपछि मुद्दाको अन्तिम टुंगो नलागेसम्म पुल नबनाउनु, यथास्थितिमा राख्नु भनेर जिल्ला अदालतले अन्तरिम आदेश दिएको थियो ।

आफूलाई अदालतको आदेशबारे जानकारी नभएको तर जग्गा विवादको विषयमा पटक पटक छलफलका लागि सूचना निकाल्दा कोही उपस्थित नभएको यादवको भनाइ छ । पुलको बाँकी काम गर्ने क्रममा जग्गा धनी को हो र कसले मुद्दा गरेको हो भनेर पटक पटक सूचना निकाल्दा कोही नआएको यादवले बताए ।

‘काम सुरु गरेपछि कोही रोक्न आउँछ भने छलफल गरौंला भन्यौं, कोही आएन । आज निर्वाचनको मुखमा मेरै खर्चमा पुल भत्काई पाउ भनेर म माथि विपक्षीले मुद्दा गरेका छन्,’ उनले भने ।

सिमरा–कोहल्वी सडक खण्डमा रहेको सो पुल सञ्चालनसँगै जीतपुरसिमरा, कलैया उपमहानगर, कोहल्वी नगरपालिका र करैयामाई गाँउपालिकाका कृषक, मजदुर, क्रसर सञ्चालक, टिपर व्यवसायीसहितलाई आवतजावतमा सहज भएको छ । पुल नहुँदा बालगंगा खोला तरेर हिँड्नुपर्ने, वर्षायाममा खोला बढ्दा पिलुवा–कलैया सडक खण्ड हुँदै पूर्व–पश्चिम राजमार्गबाट आवतजावत गर्नुपर्ने बाध्यता थियो ।

सखरा हाउजिङ कम्पनी प्रालिको वारेस रहेका रामेश्वर प्रसाद यादवले पुल बन्दाबन्दैको अवस्थामा आफूले निर्माण रोक्न माग गर्दै अदालतमा मुद्दा हालेको दाबी गरेका छन् । ‘हाम्रो सम्पत्ति नाश हुनेगरी पुल निर्माण भएको छ, पुल भत्काई क्षतिपूर्ति पाउनुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप