यसकारण बढिरहेको छ काठमाडौँमा अपराधको ग्राफ !
काठमाडौँ । आजभन्दा ठीक एक वर्ष अघि काठमाडौंका तत्कालीन प्रहरी प्रमुख एसएसपी विक्रम सिंह थापाले अवकास पाएको केही समयपछि अपराध महाशाखा प्रमुख सर्वेन्द्र खनाल पनि प्रहरी प्रधान कार्यालय सरुवा भए । त्यहिबेला काठमाडौंमा सक्रिय गुण्डा नाईकेहरुले दरबारमार्गमा भोज खाएका थिए ।
थापा र खनालपछि काठमाडौं प्रहरी प्रमुखको रुपमा छविलाल जोशी हाजिर भए, अपराध महाशाखाको प्रमुखको रुपमा एसएसपी दिनेश अमात्य आए । छोटो समयमै जोशी डीआईजीमा बढुवा भए, केही महिनामै अमात्यको पनि सरुवा भयो । अमात्य र जोशीको कार्यकालमा काठमाडौँवासीका लागि ‘यादगार’ हुन त सकेन, तर अपराधको ‘ग्राफ’ खासै बढेको थिएन ।
तर, गएको भदौ ४ गते काठमाडौं प्रहरी प्रमुखको रुपमा एसएसपी रवीन्द्र बहादुर धानुक र उपत्यकाको अपराध अनुसन्धान गर्ने निकाय अपराध महाशाखाको प्रमुखको रुपमा दिवेश लोहनीको पदस्थापन भयो । योसँगै काठमाडौंमा अपराधको ‘ग्राफ’ ह्वात्तै बढेको छ ।
अपराध महाशाखा र महानगरीय प्रहरी परिसर एक अर्काका परिपुरक हुन् । किनकि, महाशाखाले ठूला घट्नाको अनुसन्धान गर्छ, मुद्दा चलाउने र म्याद थप गर्ने अधिकार परिसरलाई मात्र छ, महाशाखालाई छैन ।
काठमाडौंमा अपराध कसरी बढ्यो ? हेरौँ केही उदाहरण
घट्ना नम्बर १ : असोज २३ गते काठमाडौंको मुटु मानिने नयाँबानेश्वरस्थित खरिबोटमा गोली चल्यो । गुण्डा नाइके समिरमान सिंह बस्नेतको योजनामा चलाईएको गोली लागेर निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भयो ।
प्रहरीले गौचन हत्यामा संलग्न सुटर श्यामबहादुर गुम्बे र अमर राना ‘काले भाई’लाई अझै पक्राउ गर्न सकेको छैन । गौचन हत्याको छानबिन गर्न बनेको समितिका डीआईजी गणेश केसीले घट्नाको फाईल काठमाडौं प्रहरीलाई हस्तान्तरण गरेर आफू जिम्मेवारी मुक्त भैसकेका छन् ।
घट्ना नम्बर २ : गौचनमाथी गोली प्रहार भएको केही घण्टाअघि मात्रै प्रहरीले जोरपाटीबाट एकथान रिभल्वर र एक गोली सहित तिनजना युवालाई नियन्त्रणमा लिएको थियो । अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीको नियन्त्रणमा परेका हतियारधारीलाई प्रहरीले शुरुमा गौचन हत्याकाण्डमा मुछ्न खोजेको थियो । तर, पछि उनीहरु प्रहरीको ‘नियोजित स्टिङ अपरेशन’ का कारण पक्राउ परेको प्रहरी स्रोतले दाबी गरेको छ ।
घट्ना नम्बर ३ : कार्तिक ५ गते काठमाडौंको म्हैपीमा एक युवतीलाई जिस्क्याएको निहुँमा गोली चल्यो । घट्नामा संलग्न २३ बर्षिया युवती सविना क्षेत्रीको कारण स्वयंभु बस्ने असिम गुरुङले गोली चलाएका थिए । त्यसको दुई दिनअघि अर्थात् कार्तिक ३ गते काठमाडौंबाट एक थान कटुवा पेस्तोल र एक थान गोली सहित रामेछापका जीवन श्रेष्ठ, सुवास योञ्जन, मकवानपुरका कुमार अधिकारी र काभ्रेका टिकाबहादुर श्रेष्ठ फक्राउ परेका थिए ।
घट्ना नम्बर ४ : कात्तिक १५ गते कमलादास्थित हेरिटेज प्लाजामा ‘होटलमा उठेको बिलकै निहुँमा’ गोली चल्यो । ‘कमलादी गोलिकाण्ड’मा संलग्न दुईजना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लियो । उनीहरु भारतबाट हतियार भिरेरै नेपाल प्रवेश गर्न सफल भएका थिए ।
घट्ना नम्बर ५ : पुस ५ गते टोखास्थित झोरको जंगलमा गोली चल्यो । मृगलाई ताकेको हानिएको भनिएको गोली लागेर घाँस काट्न गएकी स्थानीय महिला दुर्गा दुलाल घाईते भएको काठमाडौं प्रहरीले दाबी गरेको छ । तर, उक्त घट्ना पनि कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान नै गरेन । गोली चलाउनेलाई नियन्त्रणमा लिनुको साटो मिडियिालाई हल्का प्रतिक्रिया दिएर प्रहरी पन्छियो ।
माथिका ५ घट्नालाई नियाल्दा के निष्कर्षमा पुग्न सकिन्छ भने, काठमाडौं प्रहरीको कमाण्डर फेरिएसँगै गोली प्रहारको घट्ना बढेको छ । गोली चल्ने बाहेक काठमाडौंमा साना हतियारको बिगबिगी नै भएको छ ।
‘काठमाडौंको अपराध किन बढ्यो ?’
पुर्व डीआईजी हेमन्त मल्ल भन्छन्, ‘अपराध बढ्नुमा विभिन्न कारण हुन्छन्, त्यसमध्ये प्रहरीको नेतृत्वलाई पनि अपराधीले तौलिरहेका हुन्छन् ।’
मल्लकै भनाईलाई आधार मान्दा यसअघि सर्वेद्र खनाल र विक्रम सिंह थापाको सयममा काठमाडौंमा गोली प्रहारको घट्ना शुन्य जस्तै थियो । छविलाल जोशी र दिनेश अमात्यको कार्यकालमा गुण्डा नाइके केही सल्वलाएका थिए ।
अहिले काठमाडौंको गुण्डागर्दी सँगै हतियारको बिगबिगी समेत ह्वात्तै बढेको छ । मतलव कतै अपराधीले डीआईजी हेमन्त मल्लले भने जस्तै प्रहरीको नेतृत्वलाई तौलिरहेका छन् त ?
त्यसो भए धानुकको नेतृत्व क्षमतामा कस्तो छ त ?
उपत्यकामा हुने अपराधमध्ये करिब ८० प्रतिशत अपराध काठमाडौंमा जिल्लामा केन्द्रीत हुने गरेका छन् । काठमाडौंको तुलनामा ललितपुर र भक्तपुरमा नगन्य मात्रामा अपराधको घट्ना हुने गरेका छन् ।
अपराधीले प्रहरी नेतृत्वलाई तौलने हुनाले पछिल्लो सयम काठमाडौंमा अपराधको ‘ग्राफ’ बढेसँगै महानगरीय प्रहरी प्रमुख रबिन्द्र धानुकको नेतृत्व क्षमतामाथि कतिपयले प्रश्न पनि उठाउँछन् ।
एसएसपीमा बढुवा हुनासाथ धानुक राजनीतिक नेतृत्वसँगको निकटताका कारण काठमाडौं प्रहरीको बागडोर सम्हाल्न सफल भएका थिए । प्रहरीवृतमा उनलाई प्रधानमन्त्री शेरबहादुर देउवा निकट अफिसरको रुपमा हेरिन्छ ।
स्रोतहरुलाई मान्ने हो भने महानगरीय प्रहरी कार्यालयका प्रमुख एआईजी जयबहादुर चन्द र धानुकवीच पनि राम्रो सम्बनध छैन । धानुकले ‘चेन अफ कमाण्ड’मा काम गर्न छाडेको भन्दै एआईजी चन्दले काठमाडौंका वृतहरुसँग सिधै रिपोर्ट लिन थालेको एक प्रहरी अधिकारी बताउँछन् ।
‘हामी अहिले दोहोरो आदेशको मारमा छौँ’ काठमाडौंका एक वृतका डीएसपीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘परिसर प्रमुखबाट एउटा आदेश आउँछ, एआईजी सा’पबाट अर्को आदेश ।’
धानुकमाथी रुपन्देहीको प्रमुख हुँदा कृष्णनगर नाकाबाट लाइन खुलाएको आरोप लाग्ने गरेको छ । त्यसअघि काभ्रे जिल्लाको डिएसपी हुँदा अञ्चल प्रहरी कार्यालय बाग्मती (हाल संघिय प्रहरी कार्यालय)को जग्गा खरिदमा करोडौं घेटाला गरेको आरोप लागेको थियो ।
रविन्द्र धानुक आफै के भन्छन् ?
काठमाडौंमा अपराध बढ्नुको कारणबारे रातोपाटीको जिज्ञासामा महानगरीय प्रहरी प्रमुख (एसएसपी) रविन्द्र धानुकले घट्ना हुनु र अनुसन्धान गरेर कारवाहीको दायरामा ल्याउनु फरक पाटो भएको बताए । ‘गोली काण्ड त अमेरिकामा पनि हुन्छ । तर, ठीक अनुसन्धान गरेर मान्छेलाई कारवाहीको दायरामा ल्याउनु ठूला कुरा हो’ उनले भने, ‘हामीले काठमाडौंँमा घटेका सवै घट्नामा अनुसन्धान गरेर अपराधीलाई कारवाहीको दायरामा ल्याएका छौँ ।’
दुई एसएसपी बीच समन्वय नै छैन
यसअघिका अनुभवले के देखाउँछ भने, ‘काठमाडौं प्रहरी प्रमुख र अपराध महाशाखाका प्रमुखवीच समन्वय हुँदा काठमाडौंको अपराधको ‘ग्राफ’ धेरै तल झार्न सकिन्छ ।’
तर, अहिले एउटै कम्पाउण्डमा कार्यालय भएपनि काठमाडौं प्रहरी प्रमुख रविन्द्र धानुक र महानगरीय अपराध महाशाखा प्रमुख (एसएसपी) दिवेश लोहनीबीच समन्वयको अभाव देखिएको छ ।
समन्वयको अभावमात्रै छैन, यि दुई सुरक्षा अधिकारीवीच अस्वस्थ प्रतिस्पर्धा समेत चल्ने गरेको छ ।
मंसिर २७ गते दरबारमार्ग स्थित क्लव डेजाभुमा तोडफोड भएपछि क्लव मालिक र आयोजक पक्राउ गर्ने विषयमा महाशाखा र परिसरबीचमा ‘शितयुद्ध’ नै चलेको थियो । परिसरले दुईजना आयोजक पक्राउ गर्दासम्म क्लवका मुख्य मालिक राम गिरी खोजेर हिँडेका एसएसपी लोहनीले साँझ रविन्द्र धानुकसँग समन्वय नै नगरी क्रिकेटर पृथ्वु बास्कोटासहितका लगानीकर्तालाई नियन्त्रणमा लिए ।
यसअघि छविलाल जोशी र दिनेश अमात्यले ठूला घटनामा मिलेर अगाडि बढ्ने संस्कार विकास गरेका थिए । तर, अहिले त्यो संस्कार तोडिएको छ । आफूलाई ‘प्रोफेशनल अफिसर’ देखाउन रुचाउने लोहनीले काम देखाउनकै लागि पसिरलाई बाईपास गरेको परिसर स्रोतको भनाई छ ।
‘काठमाडौंमा साना हतियारको आगमन र गोली प्रहारको घट्ना किन बढ्यो ?’ भन्ने रातोपाटीको जिज्ञासामा महाशाखाका एसएसपी लोहनीले गत बर्षको र यसबर्षको डाटा हेरेर मात्र कुरा गर्न सकिने बताए । उनले भने, ‘बसेर गत बर्ष र यसबर्षको डाटा हेरेर कुरा गरौंला नि ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यू–१९ एसिया कप क्रिकेटका लागि हेमन्तको कप्तानीमा नेपाली टोलीको घोषणा
-
‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
-
नेपाल–चीनबिच भएका सम्झौता कार्यान्वयनमै सकस
-
डाक्टरले सामुहिक राजीनामा दिएपछि प्रादेशिक अस्पतालको सेवा प्रभावित
-
रविलाई बिहानै पुर्याइयो अदालत, छवि पनि साथमै
-
धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया : अन्तर्वार्ताका लागि दुईजना मात्रै उपस्थित