बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

मङ्सिर ४ पछि एमालेको सरकार बन्छ :  अध्यक्ष ओली

शनिबार, २६ कात्तिक २०७९, २१ : ३३
शनिबार, २६ कात्तिक २०७९

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ पछि आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । कैलालीको अत्तरियामा आज आयोजित वृहत् आमसभालाई सम्बोधन गर्दै उनले उक्त दाबी गरेका हुन्  । सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान गठबन्धन विकास र समृद्धिको बाधक भएकाले जनताले एमालेलाई नै मतदान गरेर देशको नेतृत्व दिलाउने बताए ।

उनले भने– ‘मङ्सिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्छ, राष्ट्रिय महत्वका योजना अघि बढ्छन् ।’  अध्यक्ष ओलीले गठबन्धनमा आबद्ध दलका नेतालाई देशको विकास, समृद्धि र राष्ट्रियताप्रति चिन्ता र चासो नदेखिएको टिप्पणी गरे ।

वर्तमान गठबन्धन देशको विकास र समृद्धिका लागि नभई भागबण्डाका लागि भएको उनको आरोप थियो । एमाले नेतृत्वको सरकारले ४१ महिना ८२ वटा महत्वपूर्ण काम गरेको उल्लेख गर्दै उनले देशको समृद्धि र विकासका लागि एमाले सरकार नै आवश्यक भएको बताए ।

पछिल्लो समय देश अस्थिरतातर्फ उन्मुख भइरहेको दाबी गर्दै अध्यक्ष ओलीले देश बनाउने योजना एमालेसँग मात्र भएको बताए । उनले गठबन्धनसँग देशको विकास र समृद्धिका लागि कुनै नीति कार्यक्रम नभएको आरोप लगाए । अध्यक्ष ओलीले गरिब, असहाय, सुकुम्बासी र मुक्त कमैयाका समस्या एमालेले मात्रै समाधान गर्नसक्ने दाबी गरे ।

त्यस्तै कैलालीको लम्कीमा आज आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनमार्फत जनताले राष्ट्रियता, स्वाधीताका पक्षमा दृढतापूर्वक लाग्ने पार्टीलाई विजयी गराउने दावी गरे ।

एमालेलाई जिताउन कसैले रोक्न नसक्ने ठोकुवा गर्दै उनले ज्येष्ठ नागरिक, बालबालिका, युवा, अशक्त र अन्यायमा परेका नागरिकलाई एमालेले सम्झने बताए । अध्यक्ष ओलीले भने, ‘देशमा ज्येष्ठ नागरिक छन् भनेर सम्झिने पार्टी एमाले हो, मासिक रु १०० बाट सुरु भएको सामाजिक सुरक्षा भत्ता अहिले मासिक रु चार हजार पुगेको छ, भत्ता बढ्नुमा एमालेको देन छ ।’

उता, एमाले जिल्ला कमिटी डोटीले आज दिपायलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान गठबन्धन विकास र समृद्धिका लागि नभई भागबण्डाका लागि भएको आरोप लगाए ।  आगामी निर्वाचनपछि बन्ने एमाले सरकारले सुदूरपश्चिमका ठूला परियोजना अगाडि बढाउने उनको भनाइ छ । अध्यक्ष ओलीले भने– ‘सुदूरपश्चिम प्रदेशका राष्ट्रिय महत्वका योजना पश्चिम सेती, खुटिया–दिपायल द्रुत मार्ग, सहजपुर–बोगटान राजमार्गलाई पूर्णता दिइनेछ, लिपुलेक लिम्पियाधुरालाई नक्सामा कायम गरे जस्तै भूमि फिर्ता ल्याउँछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप