शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री कप क्रिकेट: फाइनलमा एपीएफ विजयी

शनिबार, २६ कात्तिक २०७९, १९ : ५७
शनिबार, २६ कात्तिक २०७९

भुवन कार्कीले सम्हालिएको इनिङ खेलेपछि साबिकको विजेता त्रिभुवन आर्मी क्लबलाई चार विकेटले हराउँदै एपिएफले शनिवार प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आर्मीले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको एपिएफले ३८.३ ओभरमा ६ विकेट गुमाएर भेटाउँदै च्याम्पियन बनेको हो । पाँचौँ विकेटका लागि आएका भुवन कार्कीले एपिएफलाई जिताउन सम्हालिएको प्रदर्शन गरे । ८२ बलमा ४ चौका र १ छक्काको मद्दतमा ५५ रन जोड्दा सुमित महर्जनले ३४ रन जोडे । ओपनर प्रदीप ऐरीले २० रन जोड्दा आसिफ सेखले १३ तथा सन्दीप जोराले १७ रनको इनिङ खेले । एपिएफको ६ विकेट निकाल्ने क्रममा आर्मीका जितेन्द्र मुखियाले दुई तथा सोमपाल कामी र विक्रम सोबले समान एक विकेट लिए । यसअघि समूह चरणको भेटमा पनि एपिएफले आर्मीलाई हराएको थियो । अघिल्लो संस्करणको भेटमा भने आर्मीले एपिएफलाई हराउँदै उपाधि जितेको थियो । यससँगै एपिएफले अघिल्लो संस्करणको बदला लिएको छ । उपाधिसँगै एपीएफले नगद १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले ५ लाखमा चित्त बुझायो । सेमिफाइनलबाट बाहिरिएको पुलिस क्लव र मधेस प्रदेशले ५०÷५० हजार प्राप्त गरे । 

यसअघि सोमपाल कामीलाई टिममा समावेश गरिएको भन्दै भएको विवादका कारण खेल ढिला सुरु भएको थियो । त्यसपछि खेल ४० ओभरमा झारिएको थियो । र, आर्मीले एपीएफलाई जितका लागि १ सय ८० रनको लक्ष्य दिएको थियो । आर्मीले ३९ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७९ रनको योगफल खडा गरेको थियो । आर्मीका रोहितकुमार पौडेलले ५६ बलमा तीन चौकाको मद्दतमा ४९ रन जोडे । त्यस्तै जितेन्द्र मुखियाले २५ बलमा तीन चौका मद्दतमा अविजित २४ रन जोडे भने सुशन भारीले २५ बलमा दुई चौका मद्दतमा १९ रन जोडे । एपिएफका मौसम ढकाल र अमरसिंह रौटेलाले समान तीन तथा किशोर महतोले दुई विकेट लिए ।

सात प्रदेश र विभागीय टोलीले सहभागिता जनाएको प्रतियोगितामा इमर्जिङ खेलाडीको उपाधि एपिएफको मौसम ढकाल पाए । यस्तै उत्कृष्ट ब्याट्सम्यान पुलिसका दीपेन्द्र सिंह ऐरी घोषित हुँदा पुलिसकै करण केसी उत्कृष्ट बलर चुनिए । इमर्जिङ खेलाडी चुनिएका मौसमले नगद १० हजार रुपैयाँ हात पार्दा ब्याट्सम्यान र बलरले नगद २० हजार रुपैयाँ जनही पाए । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी पुलिसकै दीपेन्द्र सिंह ऐरी घोषित हुँदै नगद ५० हजार रुपैयाँ हात पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप