शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

मेरा लागि विमलेन्द्रजी रातदिन खटिरहनुभएको छ : अनिल झा

शनिबार, २६ कात्तिक २०७९, १८ : २८
शनिबार, २६ कात्तिक २०७९

धनुषा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता ​अनिलकुमार झा तथा प्रतिनिधि सभामा उम्मेदवार बनेका छन् ।​ आफूलाई सत्तारुढ गठबन्धनको दरिलो साथ रहेको बताउँदै उनले यसपटक आफ्नो जीत सुनिश्चित भएको बताए । प्रस्तुत छ झा सँगको अन्तरवार्ता :

–प्रचार प्रसार कस्तो चल्दैछ ?   

ठीक ठीक ढङ्गले चलिरहेको छ । यहाँ एउटा सानो भेला थियो, त्यही भेला सकेर अब अर्को ठाउँमा जाने तयारी हुँदैछ ।

–तपाईं एक्कसि रौतहट छोडेर तपाईं यहाँ आउनुभयो भन्ने छ, किन ?

यो त गठबन्धनले निर्णय गर्यो । अब मेरो क्षेत्र जहाँबाट मैले जितेको थिएँ, त्यहाँबाट पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई चुनाव लडाउने गठबन्धनले निर्णय गर्यो, अनि मलाई यहाँबाट चुनाव लडाउने निर्णय गर्यो । यो क्षेत्रबाट पनि पहिले हाम्रै नेताले चुनाव जितेकै क्षेत्र हो । मेरै पार्टीको साथीले जितेको हो । झन त्यसबेला त विमलेन्द्र निधि र उहाँका बीचमा प्रतिस्पर्धा भयो, त्यो प्रतिस्पर्धामा उहाँहरूबीच करिब २, ३ हजार भोटको अन्तर भएको थियो । अब यहाँ करिब करिब दुवै जनाको भोट मिलाउँदा ६० हजार भोट भएको छ । ती दुवै साथीले एकसाथ भएपछि यहीँबाट चुनाव लड्नुस् राम्रो हुन्छ भनेर गठबन्धनले निर्णय गरेपछि यहाँ आएको हुँ । पार्टी र गठबन्धनको अनुशासन पालना गर्ने सिलसिलामा यहाँ आइपुगियो । फेरि यो माता जानकीको ठाउँ, सायद उहाँको इच्छा त्यही होला । उहाँले बोलाएर आइयो भन्दा पनि हुन्छ । साथीभाइबाट पनि राम्रो सहयोग पाइरहेको छु । विमलेन्द्रजी रातदिन खटिरहनुभएको छ अहिले । 

–उहाँले कत्तिको भित्रैदेखि सहयोग गरिरहनुभएको छ ? मानिसहरूमा आशङ्का पनि रहेछ ?

राजनीतिमा के हुन्छ भने पात्रले भन्दा पनि परिवेशले शङ्का गराउँछ । सञ्चारमाध्यमका साथीहरूले पनि त्यसैलाई सहयोग गरिदिनुहुन्छ । तर त्यो सत्य होइन । विमलेन्द्रजी आफैँ चुनाव लड्दा पनि यति खट्नुहुन्छ होला जस्तो मलाई लाग्दैन । मैले प्राप्त गरेको सूचनाअनुसार उहाँको यो व्यवहार अनुसार यतिको खट्नुभएको मान्छे नै होइन आफैँ चुनाव लड्दा पनि । 

–यो धनुषा ३ ले जिताउने अनि फेरि अन्त जाने गरेर अभिभावकविहीन भए यहाँका जनता भन्ने गुनासो पनि रहेछ, तपाईं फेरि छोडेर हिँडिदिनुहोला भन्ने चिन्ता रहेछ यहाँका जनतालाई ?

नेपालमा कुनै पनि सांसद्लाई पाँच वर्षपछि एक दिनका लागि कार्यकाल छैन । बरु छ महिनामै संसद् विघटन भयो भने कार्यकाल त्यतिमै सीमित हुन्छ । पाँच वर्षभन्दा जति कम दिनमा विघटन हुन्छ, त्यति छोटो कार्यकाल हुन्छ । अब जनता र उम्मेदवारको बीचमा अधिकतम पाँच वर्षका लागि यो सम्झौता हो । तपाईंलाई म पाँच वर्षका लागि भोट दिन्छु भनेर जनताले हाल्ने हो । जनतासँग पाँच वर्षका लागि मलाई भोट दिनुस् भनेर मैले भोट माग्ने हो । त्यसैले पाँच वर्ष सेवा गर्ने हो । अब राजनीतिक अभिभावक त परिवर्तनशील पनि हुन्छ । त्यो जनताले पनि कतिपयबेला परिवर्तन गर्छन् । एउटै व्यक्तिलाई सधैँभरि एउटै क्षेत्रबाट चुनाव जिताएको त नेपालकै रेकर्डमा २, ३ वटा क्षेत्र मात्रै छन् । २०५ क्षेत्र थिए, २४० क्षेत्र थिए, अब १६५ क्षेत्र छन् । यिनमा निरन्तर एउटै क्षेत्रबाट जितेको गएको ३३ वर्ष (२०४६ पछि) को इतिहासमा त्यही व्यक्ति त्यही क्षेत्रबाट निरन्तर चुनाव जितेका जम्मा २ जना हुनुहुन्थ्यो योभन्दा अघिको चुनावसम्म । भनेपछि जनताले पनि आफ्नो अभिभावक फेर्दा रहेछन् नि त । 

यो एउटा आवधिक निर्वाचन हो । यहाँ घुम्दाखेरि मैले गर्ने काम मभन्दा पहिलेका सांसदले गरेको राम्रै छ । मैले पनि मेरो क्षेत्रमा तीन सयवटा काम गरेको थिएँ । त्यसैले मेरो क्षेत्रमा प्रतिस्पर्धी होइन, उत्तराधिकारीका रूपमा फेरि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लड्दै हुनुहुन्छ । म यहाँ राजनीतिक उत्तराधिकारीका रूपमा, विमलेन्द्रजीको उत्तराधिकारीका रूपमा चुनाव लड्दैछु । त्यसैले यहाँ अभिवावकविहीन हुने कुरै छैन । म तपाईंमार्फत् यहाँका र सिङ्गो देशका जनतालाई के कुरा स्पष्ट पार्न चाहन्छु भने, म चुनाव जित्छु पहिलो नम्बरमा । यदि जितिनँ भने पनि अर्को ४, ५ वर्ष या अर्को नोमिनेसन नभएको दिनसम्म म यो क्षेत्रको कुनै पनि नेताले दिएको समयभन्दा एक घण्टा बढी समय दिन्छु । यो मेरो प्रतिबद्धता भयो । पराजित भए पनि । अर्को उम्मेदवारी मलाई दिइयो भने फेरि लड्छु । अर्को साथीलाई दिइयो भने उहाँ लड्नुहोला ।  यो त रिले रेस हो । डन्डा समाएर दौडने हो पाँच वर्षसम्म । 

–तपाईंका प्रतिस्पर्धीले तपाईं पर्यटक उम्मेदवार हुनुहुन्छ, खास जित्ने स्थिति छैन, उहाँ चाहिँ बारम्बार निर्वाचन लड्दै, कहिले हार्दै कहिले जित्दै आउनुभएको प्रतिस्पर्धी भेट्टाउनु भएको रहेछ तपाईंले ?

यदि उहाँले यो कुरा भन्नुभएको होइन भने कुनै टिप्पणी गर्नुछैन । यदि साँच्चिकै भन्नुभएको हो भने उहाँ सिरहामा जन्मिनुभएको हो ? यो क्षेत्रमा उहाँको ससुराली पनि छैन । त्यसैले उहाँ टुरिस्ट हुनुभयो या भएन ? उहाँको जुन चुरीफुरी छ नि त्यो टुरिस्टबाट आएकै पैसाका कारणले हो । 

उहाँको दाइ सामान्य ओभरसियर पढेको मान्छे हो । तर यो व्यक्तिगत कुरा नगरौँ । यदि उहाँले गर्नुभएको हो भने, सर्तसहित भन्दै छु । उहाँको दाइ ओभरसियर हो नेपालमा । पारिवारिक हैसियत त ओभरसियरको हो नि त । अनि टुरिस्ट भएर रसिया, युक्रेन गएर, विश्वभरि डुलेर । उहाँको दाइ एनआरएन हो । उहाँको दाइकै चुरीफुरी हो । दाइको औकातले चुरीफुरी भएको हो, अनिल झाको जे औकात छ, आफ्नै छ । त्यसैले उहाँ नै पर्यटक हो । उहाँ टुरिस्टको पैसा, विदेशको पैसा, दाइले कमाएर ल्याइदिएको पैसाले उहाँको चुरीफुरी चलेको हो । अनिल झाको जे छ यही माटोको हो । 

उसो भए त अनिल झा उपेन्द्र महतोसँग पो चुनाव लड्दै हुनुहुँदो रहेछ त ? 

त्यो बुझ्दा पनि हुुन्छ । वास्तविक चुनाव त उपेन्द्र महतोसँगै हो । उहाँको धनले चुनाव हुँदैछ । म त सामान्य किसानको छोरा हो । त्यसैले चुरीफुरी उहाँले दिएको हो । मैले दिएको हैन । मैले लिएर जाने भोटले यहाँका जनताको हितमा बोल्ने हो । उहाँले लिएर जाने भोट ओलीजीको पाउमा चढाउने हो । 

अनिल झा आफैँ नेता छ । अनिल झा यहाँ जे बोलिरहेको छ, त्यही कुरा संसद्मा बोल्न कुनै डर छैन । तर उहाँको हिम्मत छ, यहाँका जनताको हितको सही कुरा गर्नसक्ने ? त्यो छैन । त्यसैले एजेन्डा मूल कुरा हो । कसको अनुहार सुन्दर छ, को धनवान छ, को विद्वान छ भन्ने छ । 

–तपाईंको एजेन्डा के छ ?

मेरो ३३ वर्ष पहिलेको र अहिलेको एजेन्डा एउटै छ । पहिले यो देशमा सङ्घीयता ल्याउने पहिलो एजेन्डा थियो । सङ्घीयता आएपछि त्यसलाई मजबुत बनाउने एजेन्डा मेरो छ । पहिले ४० लाख मान्छे नागरिकताविहीन थिए अहिले ४ लाख मान्छे नागरिकताविहीन छन् । पहिले यहाँ आरक्षण थिएन, यहाँ दलित, गरिब, मुसलमान, पिछडिएको वर्ग, मधेशीका लागि । आज त्यो सबै छ । तर यो लागू गर्नु हुँदैन, हटाउनुपर्छ भन्ने मान्छे छन् । हामी भने त्यसको चौकीदारी गर्दैछौँ । 

–यसको मतलब हिजो मधेश आन्दोलन हुँदाखेरि जे मुद्दा उठाएर आन्दोलन भएका थिए, ती मुद्दाहरू अझै सम्झिरहनुभएको छ ?

सम्झिने मात्र होइन, त्यसमा रहेका कार्यभारहरू पूरा गर्नुछ । 

–कतै सुनिँदैन त ?

म यहाँ भनिरहेको छु तपाईंलाई । संविधान संशोधनका बाँकी कार्यभारहरू, जेलमा, थुनामा रहेका हाम्रा साथीहरू, मुद्दा खेपिरहेका साथीहरू, सहिद भएका साथीहरूको मुद्दा त छँदैछ । नागरिकताको मुद्दा, संविधान संशोधनको मुद्दा, आरक्षणको मुद्दा निरन्तरका मुद्दा हुन् । तर यसका कतिपय कार्यभार पूरा भए र कतिपय बाँकी छन् । छोरा जन्माएर मात्र हुँदैन नि छोराको छोरा जन्मियो भने नातिको पनि स्याहार गर्नुपर्ने  हुन्छ । त्यसैले मैले छोरा जन्माएँ, भइहाल्यो भनेपछि विचरा जाडोमा कठ्याङ्ग्रिएर मर्छ । गर्मीमा लू लागेर मर्छ । 

–ठीक छ, धनुषा ३ का जनताले तपाईंलाई किन मत दिने भनेर प्रश्न गरेँ भने के भन्नुहुन्छ ? 

मलाई धनुषा ३ का जनताले यसकारण मत दिने कि यहाँ जो उम्मेदवारहरू छन्, ती उम्मेदवारहरूमध्ये राजनीतिक नेतालाई चुन्ने हो । त्यो अनिल झामा छ । मेरो ३३ वर्षको राजनीतिक लगानी छ, मधेशका लागि, देशका लागि । एक काँधमा लोकतन्त्र, अर्को काँधमा मधेशवाद लिएर हिँडेको छु । 

अर्को यो स्वर्गीय महेन्द्र निधिको क्षेत्र हो । यो सहिद दुर्गानन्द झाको क्षेत्र हो । सहिद सरोज कोइरालाको क्षेत्र हो । यो लक्ष्मीनारायण झाको क्षेत्र हो । यो कामेश्वर कोशेस्वरको क्षेत्र हो । यो सीता र जनकको क्षेत्र हो । 

–सबैको नाम कण्ठ रहे छ त ?

मलाई त कैलाली, कञ्चनपुर र झापाको कोड नम्बर पनि थाहा छ । त्यसैले म टुसिस्ट केको हुन्छु ? कञ्चनपुरको ०९९ हो, कैलालीको ०९१, बर्दियाको ०८४ हो । 

–सहिदहरूको नाम सबै कण्ठ रहेछन् भनेको ?

हैन मैले अझै पनि मधेस आन्दोलनका सहिदहरूका नाम थाहा छ । 

–विकास निर्माणका कामहरू भन्न खोजेको ?

विकास निर्माणका बारेमा तपाईंलाई थाहा छँदैछ, एउटा संसद्ले संविधानभित्र रहेर गर्नुपर्ने काम मैले रौतहटमा पनि गरेको छु । रौतहटमा मैले एउटा मोडेलको काम गरेको छु । त्यहाँ आठ पटक चुनाव भएको होला । २०१५ सालमा, त्यसपछि लगातार ३० सालको पञ्चायती चुनाव, ३० सालदेखि यता करिब ६५ वर्ष चुनाव भयो डेमोक्रेटिक व्यवस्थामा । रौतहटबाट १३ जना सांसद् भए । जसरी मैले एउटा ठूलो प्रोजेक्ट गरिदिएँ, त्यो क्षेत्रमा १२ जनाले गरिदिएको भए अमेरिका पनि कोही जानुपर्दैन । अरब कतारको त कुरै छोडिदिनुस् । मैले यहाँ पनि त्यो काम गर्नुपर्ने हो । म कहाँबाट आएँ, को हुँ भन्दा पनि । मेरी हजुरआमा यहीँ बगलको हुनुहुन्छ । यहाँबाट सय किलोमिटर पर मेरो हजुरबुवासँग विवाह भएपछि यहाँको भाषा पनि विर्सनु भयो । को कहाँबाट आयो भन्ने कुरा ठूलो होइन, को कति निष्ठाका साथ त्यहाँ काम गरिरहेको छ भन्ने हो । केपी ओली तेह्रथुमबाट आएर झापामा टुरिस्ट नहुने, अनिल झा टुरिस्ट हुने ? यो गफ दिने कुरा हो ।

–म एकदमै अन्तिममा छु, यहाँका भुइँमान्छेका पनि त समस्या होलान्, किसानका कुरा होलान् ?

यहाँ त समस्यै समस्या छन् । ती सबैको जानकारी मलाई छ । एउटा सीडीओले ३ दिनमा सबै कुरा थाहा पाउँछ भने म त जनताको मान्छे, म पहिले पनि आएको हो । म स्थानीय चुनावमा राजु चौधरीको प्रचार प्रसारमा आएको थिएँ । रातभरि हिँडेको थिएँ । त्यसैले म त ३३ वर्षदेखि यहाँ आइरहेको छु । तपाईं र म जाऔँ, यो क्षेत्रको सबै ठाउँ मैले घुमाइदिइनँ भने म आज यहीँबाट फिर्ता हुन्छु । यो फलानाको घर, यो फलानाको घर भनेर कसैलाई नसोधीकन भनिदिन्छु । मेरो कामै यही हो, जिन्दगीभर यही गरेर आएको हुँ त । 

–जित सुनिश्चित नै छ त ?

जित  सुनिश्चित नै छ । यहाँका समस्या जुन तपाईं गर्दै हुनुहुन्छ । त्यो चाहिँ सिँचाइ, मलखाद्य अथवा उन्नत जातको बीउबीजन मात्रै यहाँको समस्या होइन । यहाँको सबैभन्दा ठूलो समस्या भनेको सिँचाइ हो । मैले अघि पनि भनँे, सुनकोसी–कमला मरिन डाभर्सन आउँछ । मरिन डाभर्सनबाट त्यो पानी कमलासम्म पुर्याउने लक्ष्य छ । उता वीरगञ्जभन्दा पश्चिम पर्सा जिल्लाको पश्चिमी भूभाग कोढीसम्म पुर्याउने कार्यक्रम छ । त्यसअन्तरगतको काम जबसम्म हुँदैन द्रुतगतिमा यो समस्या समाधान हुँदैन । यहाँका नदीहरूमा भएको पानी सबैको दोहन गरेर पनि यहाँ पुग्दैन । अनि भूमिगत पानीको समस्या छ । यी कार्य गर्नैपर्ने छ । 

यसका अतिरिक्त बेरोजगारी समस्या छ । यहाँका मानिसहरू बेरोजगार छन् । धनुषा जिल्लाका मानिसहरू सबभन्दा बढी विदेशमा छन् । तिनको परिवार यहाँ छ, बूढा बाउआमाहरू छन्, बच्चाहरू छन्, सामाजिक सुरक्षाको समस्या छ, त्यहाँ केही भयो भने एप्रोच छैन । यो अर्को समस्या हो । 

यसको समाधान त जनकपुरको पर्यटकीय विकास गर्न सकियो भने हुन सक्छ । जसरी जनकपुरमा मेडिकल कलेज अर्को पनि खुलेको छ । दुईटा मेडिकल कलेज भएका छन्  । यत्रो ठूलो धार्मिक पूर्वाधार छ । यति धेरै सांस्कृतिक, ऐतिहासिक, राजनीतिक सबै पूर्वाधार छन् । यहाँ अरू यातायातभन्दा थप रेल यातायात यहाँ छ । तर त्यसको सौन्दर्यीकरण, उन्नयन, प्रचार प्रसार गरी एउटा लेबलको बनाउन सकियो भने राम्रो हुन्छ । त्यसका लागि मेरो पहल हुन्छ । म संसारको कुनै पनि ठाउँमा गएर धनुषा ३ नम्बरको सांसद हुँ भनेपछि त्यो किसिमको काम गर्न सक्छु । खालि पैसा मात्र भएर हुन्छ । पैसा भए टिकट काटेर जान सकिन्छ । मान्छेले फेरेनलभ्ली किन्न सक्छ, अनुहार त किन्न सक्दैन नि । 

–अहिले तपाईं जनतालाई भेट्न घरघरमा जानुहुँदैछ । भोलि विजयी भएर सांसद भएपछि तपाईंको घरमा जनताहरू भेट्न आउँदा यसैगरी भेट्न पाइयोस् भन्ने उहाँहरूको चाहना छ, त्यो पाउँछन् हैन सहजै ? 

म एउटा अम मान्छे होे । तपाईं मान्नुहोला, नमान्नु होला । मैले धुलोमा धानको बीउ रोपेँ, चुटुकिया भन्ने धानको बीउ त्यो पनि रोप्न आउँछ मलाई । मैले घाँस पनि काटेको छु, हात पनि धेरै ठाउँमा काटेको छु । यो कुनै चोरीडकैती गरेर काटेको होइन, किसानको काम गर्दा काटेको हो । 

मलाई थाहा छ तोरी कति सेर कट्ठामा बुवाइ हुन्छ । धान कुन महिनामा रोपाइँ हुन्छ र कुन महिनामा फल्छ भन्ने मलाई थाहा छ । मलाई भैँसी दुहुन पनि थाहा छ । त्यसैले मलाई ल्यापटप चलाउन पनि थाहा छ र कार चलाउन पनि थाहा छ । 

–कति घुमाएर भन्नुभएको ?

घुमाएर भनेको होइन, मान्छेले चाहेको छ, म यहीँको भुइँमान्छेको छोरो हो । म सहज मान्छे हो । तपाईंहरूका लागि पनि सहज मान्छे हो । तपाईं भनिदिनुस् न अनिल झा कस्तो मान्छे हो । भन्दा प्रचार गरेजस्तो हुन्छ तर म सामान्य मान्छे हो । त्यसैले आम मान्छेको कुरा बुझ्छु, म आम मान्छेको नजिकमा रहन्छु । 

पार्टीको मिटिङ हुँदा फोनमा मात्र कुरा गर्छौ पार्टीको कुरा सुन भन्छन् । संसद्मा जाँदा पनि फोन उठाइरहेको हुन्छ अनिल झा भन्छन्, जहाँ पनि सिकायत छ । 

एउटा कुरा सत्य हो । तपाईं आफैँ पनि लेख्नुहोला संसद्मा अनिल झा २० दिन मात्र उपस्थित भयो, समितिको बैठकमा अनिल झा देखिएन । अनि समय त उत्तिकै हुन्छ, पाँच वर्ष मात्र । त्योभित्र बिहावारी, व्रतबन्धदेखि लिएर संसद्मा बस्ने आदि कार्यको समन्वय गरेर गरिन्छ । 

–त्यतिखेर जनकपुरमा हुनुहुन्छ भन्नुपर्यो हैन हामीले ? 

हो, हुन्छु । मलाई लाग्छ पाँच वर्षपछि यहाँ आएर तपाईंले सोध्नुभयो भने पहुँचको सिकायत हुँदैन । अनिल झासँग पुग्न सकिएन भन्ने सिकायत हुँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप