सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सत्तारुढ गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन प्रचण्डको अपील

शनिबार, २६ कात्तिक २०७९, १८ : ०९
शनिबार, २६ कात्तिक २०७९

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धनका उम्मेदवारहरूलाई अत्याधिक मतका साथ विजयी गराउन अपील गरेका छन् । शनिबार चितवनमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा बोल्दै अध्यक्ष दाहालले गठबन्धनका उम्मेदवारहरूलाई अत्याधिक मतका साथ विजयी गराउन अपील गरेका हुन । 

प्रतिगामी र अवसरवादी तत्वहरुले फेरि मुलुकमा राजनीतिक दुर्घटना निम्त्याउन नदिन पनि आम मतदाताले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउनुपर्ने उनको भनाई थियो । अध्यक्ष दाहालले फेरि प्रतिगमनले टाउको उठाउन नपाउने गरी नेपाली जनताले निर्वाचनमा एकता प्रदर्शन गर्नुपर्ने धारणा समेत राखे । निर्वाचनलाई अग्रगमन रोज्ने र कि प्रतिगमन रोज्ने जनमत संग्रहको रुपमा अर्थ्याउँदै उनले नेपाली जनताले अग्रगमनको पक्षमा मतदान गर्ने विश्वास समेत व्यक्त गरे ।

अध्यक्ष दाहालले भने– ‘आउने मंसिर ४ गतेको प्रदेश र संघको निर्वाचनमा हामीले फेरि प्रतिगमनले टाउको उठाउन नसक्ने गरी नेपाली जनताले एकताको प्रदर्शन गर्नुपर्नेछ । नेपाली जनताको त्यो एकताको प्रदर्शन जसरी १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता, संविधान जारी गर्दा जसरी हामीले एकता प्रर्दशन गरेको थियौं, त्यसैगरी आउने मंसीर ४ गतेको निर्वाचनमा पनि देशभरिका जनताले गठबन्धनको नेतृत्व अन्तर्गत गठबन्धनका हाम्रा उम्मेदवारलाई अत्याधिक बहुमत दिएर विजयी बनाएपछि देशमा फेरि राजनीतिक दुर्घटना गर्न प्रतिगामी र अवसरवादी तत्वहरु पूरै पराजित हुनेछन । र, स्थिरता र विकास एउटा नयाँ मार्ग खुल्नेछ । त्यसकारण म चितवनबासी तपाई दिदी बहिनी, दाजुभाइहरुलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु–हामीले इतिहासको यो अवसर बिल्कुल गुम्न दिनुहुँदैन ।’ 

अध्यक्ष प्रचण्डले अहिले जनताका अगाडि ठूलो अवसर आएको समेत बताए । उनले भने– ‘एउटा ठूलो अवसर हामीलाई आएको छ । यो निर्वाचन वास्तवमा पछाडि देशलाई धकेल्ने हो वा देशलाई अगाडि लैजाने हो ? देशलाई विकास र समृद्धिको नयाँ यात्रातिर लैजाने हो वा अराजकतातिर ? फेरि निरंकुशतातिर लैजाने हो भन्ने कुरा भन्ने कुराका जनमत संग्रह जस्तो यो निर्वाचनमा हुँदैछ । मलाई विश्वास छ–तपाई चितवनबासी दिदीबहिनी, दाजुभाईहरु सधैं प्रगतिको पक्षमा, परिवर्तनको पक्षमा, न्यायको पक्षमा, समानताको पक्षमा, विकासको पक्षमा उभिने भएको हुनाले यो पटकको जनमत संग्रहमा अथवा यो पटक मञ्चन हुँदै गरेको अग्रगमन र प्रतिगमनमा के रोज्ने भन्ने कुरामा एकतावद्ध भएर प्रगति र परिवर्तनको पक्षमा, न्याय र समानताको पक्षमा, लोकतन्त्र र समावेशिताको पक्षमा आफ्नो मत जाहेर गर्नुहुनेछ । र, गठबन्धनका सबै प्रत्यक्षतर्फका उम्मेदवारहरूलाई विजयी गराउनका लागि सहयोग गर्नुहुनेछ भन्ने म अपिल गर्न चाहन्छु ।’

अध्यक्ष दाहालले सत्तारुढ गठबन्धनले चुनाव जिते मात्रै मुलुकमा विकास र समृद्धिको मार्ग खुल्ने जिकिर समेत गरे । उनले संविधानको रक्षा गर्न, लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सत्तारुढ दलहरूबीच गठबन्धन गर्नु परेको पनि पटक पटक दोहोर्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप