बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विपीकी नातिनीको हलोमा भोट अपिलको सङ्केत के ? के भन्छन् सर्वसाधारण ?

शनिबार, २६ कात्तिक २०७९, १६ : १६
शनिबार, २६ कात्तिक २०७९

शुक्रबार काठमाडौँको वसन्तपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेका चुनावी सभाको आयोजना ग¥यो । कार्यक्रममा उपत्यकाका विभिन्न क्षेत्रका उम्मेदवारहरूको उपस्थिति रहे पनि कार्यक्रमको आकर्षणको केन्द्रमा भने अभिनेत्री मनिषा कोइराला र अध्यक्ष राजेन्द्र लिङ्देन थिए ।

दिउँसो १ः३० बजेबाट सुरु भएको कार्यक्रममा कोइराला र अध्यक्ष लिङ्देनको उपस्थिति करिब पौने ५ बजेमात्र भयो । घन्टौँ कुरेर पट्यार मानिरहेका नेता, कार्यकर्ता तथा सर्वसाधारणमा अभिनेत्री कोइरालाले राप्रपाको सभामा के बोल्ने हुन् भन्ने व्यग्र प्रतीक्षा थियो । नेपालको प्रजातन्त्र स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका नेपाली कांग्रेसका संस्थापक विपी कोइरालाकी नातिनीसमेत रहेकी मनिषाले राप्रपाको सभाबाट के सन्देश दिने हुन्, अधिकांशमा त्यही जिज्ञासा थियो ।

मनिषाले कार्यक्रममा करिब २ मिनेट ४० सेकेन्ड खर्चिँदै राप्रपालाई भोट हाल्न अपिल गरिन् । अघिल्ला भाषणहरूमा अध्यक्ष लिङ्देनले बोलेको ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो’ वाक्यबाट प्रभावित भएर नै राप्रपाको पक्षमा खुलेका मनिषाको भनाइ थियो । 

उनले सभामा भनिन्, ‘आज म यहाँ उभिएको छु–राजेन्द्रजीको मुख हेरेर । उहाँको भाषण सुनेर । उहाँले जब भन्नु भएको थियो नि–भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो । मलाई त्यो कुरा सुनेर मलाई लाग्यो कि नेपालले असल नेतृत्व पायो भनेर मलाई मनबाटै लाग्यो । त्यसैले म आज यहाँ उभिएको छु । अरुले बिर्सेर होला । तर राजेन्द्र लिङदेनजीले विर्सनु भएको छैन विपी बालाई । विपी बाको मेलमिलापको नीति । उहाँले अन्तमा आएर बुझ्नु भयो कि । उहाँले नेपाललाई चाहिने कुरा राख्नु भएको छ । म चाहन्छु उहाँहरूलाई अत्यधिक भोटले जिताउनु होस्, उहाँहरूका सबै प्रतिनिधिहरूलाई । र, हलोमा भोट दिनुहोस् । र, तपाईंहरुको आवाजलाई संसदमा बलियो होस् भन्ने म चाहन्छु । उहाँहरूले तपाईहरुको सेवा गर्न पाउनु यो एउटा ठुलो मौका हो । तपाईहरुलाई थाहा छ कि छैन ? धेरै पहिला विपी र महेन्द्र सरकार दुईटै जना एक आपसमा आदर राख्नु हुन्थ्यो । तर, उहाँहरूले कहिल्यै पनि सहकार्य गर्न पाउनु भएको थिएन । त्यतिखेर मुलुकले एउटा ठुलो मौका गुमाएको थियो । अहिले त्यस्तै मौका तपाईंहरुको हाम्रो ढोकामा आएको छ । अव यो मौकालाई हामीले गुमाउनु हुँदैन । अत्यधिक भोट दिनुहोस् । राप्रपालाई जिताउनुहोस् । सबै उहाँहरूलाई जिताउनुहोस् भन्ने म आशा राख्दछु ।’

हुन त मनिषाले बिहीबार नै राप्रपाको पक्षमा खुलेको जानकारी गराइसकेकी थिइन् । यद्यपि चुनावी सभामा उनको सम्बोधन कस्तो रहने हो धेरैका लागि चासो बनेको थियो । मनिषाले सभामा राप्रपालाई मतमात्र मागिनन्, उनले आफ्नो हजुरबुवा विपी र महेन्द्र सरकार दुवै जनाले एक आपसमा आदर राख्ने गरेको र उल्लेख उहाँहरूले कहिल्यै पनि सहकार्य गर्न भने नपाएको भन्दै अब जनताले राजसंस्थासँग सहकार्य गर्ने योजना बनाएको राप्रपालाई सहयोग गर्नुपर्ने धारणा राखिन् ।

अभिनेत्री कोइरालाले खुलेरै राप्रपाको समर्थन गर्नुको सङ्केत चाहिँ के हुन्छ त हामीले केही सर्वसाधारणलाई प्रश्न गर्‍यौँ । उनीहरूको बुझाइ छ कि, कांग्रेसको नीति र सिद्धान्त सकिएको र त्यो नीति र सिद्धान्तचाँहि राप्रपाले बोकेको भएर नै कोइराला राप्रपाप्रति प्रेरित भएकी हुन् । अथवा, आफ्नो स्वतन्त्र मताधिकारका लागि राप्रपा छनोट गर्न अपिल गर्नु राप्रपाको नीति र सिद्धान्तमाथि प्रभावित हुनु हो।

यस प्रसङ्गमा गोकर्णेश्वर घर भएकी चन्द्रमाया तामाङ भन्छिन्, ‘मनिषा कोइराला राप्रपामा खुल्नु भनेको कांग्रेसलाई ठुलो झट्का हो । उनी कांग्रेस नै भएर जन्मिएकी हुन् । तर, राप्रपाको कार्यक्रममा आएर राप्रपाको लागि भोट अपिल गर्नु  भनेको कांग्रेसमाथि ठुलो झट्का परेको मैलो बुझेकी छु ।’

राप्रपाको कार्यक्रम स्थलमै भेटिएकी कलाकार सुस्मिता श्रेष्ठले यो प्रश्न आम मानिसलाई भन्दा अभिनेत्री कोइराला स्वयंमलाई सोधिनु पर्ने तर्क गरिन् । उनले भनिन्, ‘मनिषा दिदीका धेरै चलचित्रहरू हेरेर हुर्किएका हौँ। बलिउड जस्तो ठुलो उद्योगमा एक सक्षम अभिनेत्रीका रूपमा स्थापित व्यक्तित्वले राप्रपाका लागि भोट अपिल गर्नुको सङ्केतलाई धेरै तरिकाले बुझ्न सकिन्छ । तथापि, म आफै पनि राजनीतिप्रति खासै झुकाव नराख्ने भएकाले यो प्रश्न उहाँ माथि नै राख्न बढी अर्थपूर्ण होला कि!’

काठमाडौँकै स्थानीय विजय श्रेष्ठ राप्रपालाई मनिषाको समर्थन नेपाल जनताका लागि उपहार जस्तै भएको बताउँछन् । भविष्यमा राप्रपा निकै राम्रो शक्तिको रूपमा उदाउन सक्ने सम्भावना देख्छन् स्थानीय श्रेष्ठ । यस्तै स्थानीय पवनवीर मालाकार भन्छन्,‘जसरी विपी र महेन्द्रको कुरा सम्झिएर मेलमिलापको प्रसङ्ग निकाल्नु भयो, यो एउटा सकारात्मक र सान्दर्भिक लाग्यो ।

राप्रपालाई मनिषाले समर्थन गरेसँगै पार्टीका नेता कार्यकर्ताको मनसाय पनि हामीले बुझ्ने प्रयास गर्‍यौँ । या सन्दर्भमा राप्रपा काठमाडौं क्षेत्र नं. ३का क्षेत्रीय अध्यक्ष श्याम सुन्दर पण्डित भन्छन्, ‘हिजो विपीको मेलमिलाप नीतिको उद्देश्य र आजको राप्रपाको नीति मिलेको र मनिषाजी पनि विपीकै लाइनमा आउनु भएको हो’, पण्डित थप्छन्,‘ मनिषा जीले सबै राष्ट्रवादी र नेपालीहरूलाई राप्रपाका लागि भोट अपिल गर्नु भएको छ । उहाँ एक अन्तर्राष्ट्रिय छवि बोकेको अभिनेत्री पनि भएको नाताले यसको ठुलो अर्थ रहने र यही निर्वाचनमा पनि त्यो सङ्केत देखा पर्छ।’ 

सर्वसाधारण वा राप्रपाकै नेता कार्यकर्ता मात्र नभएर मनिषाद्वारा राप्रपाको समर्थन हुनलाई विभिन्न दृष्टिकोणले परिभाषित गरिएको छ । सामाजिक सञ्जालमा ट्विटरमा कतिपयले उनलाई पैसा लिएर राप्रपाको समर्थनमा उत्रिएको आरोप लगाएका छन् । कतिपयले विपीको मेलमिलाप नीति र महेन्द्रसँग सहकार्य गर्न नपाएको विषय राजेन्द्र लिङ्देनसँग तुलना हुनु असान्दर्भिक भएको टिप्पणी पनि गरेका छन् । जसले जसरी टिप्पणी गरे पनि अभिनयबाट समाजमा आफ्नो छवि उच्च बनाएकी कोइरालाले राप्रपाका लागि भोट अपिल गर्दै गर्दा नेपाली कांग्रेस र यसको नेतृत्व पङ्तिलाई भने पक्कै प्रश्न उठेको छ, कांग्रेसकै परिवारमा हुर्किएकी मनिषाले किन फरक बाटो रोजिन् ! 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप