मृत्युदण्डबारे हल्का टिप्पणी गर्ने जापानका न्याय मन्त्री पदबाट बर्खास्त
जापानका प्रधानमन्त्री फुमियो किशिदाले आफ्नो न्याय मन्त्रीलाई बर्खास्त गरेर नयाँ मन्त्री घोषणा गर्न दक्षिण पूर्वी एसियामा हुने तीन महत्वपूर्ण सम्मेलनको प्रस्थान ढिलाइ गरेका छन् । ती मन्त्रीले मृत्युदण्डको सजायबारे गरेको हल्का टिप्पणीको कारण व्यापक रूपमा आलोचना भएको थियो ।
न्याय मन्त्री यासुहिरो हानाशीले शुक्रबार आफूले किशिदालाई राजीनामा बुझाएको जानकारी दिए । उनले दुई दिनअघि पार्टी बैठकमा ‘आफ्नो मन्त्रालयको खासै चर्चा नहुने, मृत्युदण्ड अनुमोदन गरेको दिन मात्र समाचार बन्ने गरेको’ टिप्पणी गरेका थिए ।
हानाशीको यस टिप्पणीविरुद्ध तुरुन्तै विपक्षी दल र सत्तारुढ पार्टी भित्रै पनि आलोचना सुरु भएको थियो । पहिलेदेखि विभिन्न विवादमा फसेको किशिदा सरकारले यस प्रकरणलाई भने छिट्टै सम्बोधन गर्यो । जापान सरकारका कम्तीमा दुई अन्य सदस्यले अनियमितताको आरोप सामना गरिरहेका छन् ।
‘मैले हल्का रुपमा मृत्युदण्डको उदाहरणको रूपमा प्रयोग गरें । त्यसले पारेको ‘असहज अनुभूति’प्रति म माफी चाहन्छु,’ हानासीले माफी माग्दै भने । हनाशीले विगत दुई दिनमा किशिदासँग आफ्नो सम्भावित राजीनामाको बारेमा परामर्श गरेको र त्यसक्रममा उनलाई लापरबाहीपूर्ण टिप्पणीप्रति माफी माग्न र स्पष्ट पार्न सल्लाह दिइएको बताए ।
‘मैले मेरो जिम्मेवारी हल्का लिने गरेको भान पर्नेगरी मिडियामा बाहिरिएको टिप्पणीप्रति म क्षमा माग्छु र यो भनाई फिर्ता लिन्छु,’ बिहिबार हानासीले भनेका थिए । शुक्रबार राजीनामा आउनुअघि उनले माफी मागे पनि र राजीनामा नदिने बताएका थिए । तर मिडिया रिपोर्टहरूले पछि उनले पछिल्ला तीन महिनामा उस्तै टिप्पणी पटक–पटक गरेको खुलासा भएको थियो ।
विश्वमा शान्त देशको पहिचान बनाएको जापानमा अझै पनि मृत्युदण्डको सजाय दिइन्छ । अन्य देशको तुलनामा थोरै संख्यामा मृत्युदण्ड दिइए पनि आलोचकहरुले यो सजाय उन्मुलनको माग गर्दै आएका छन् ।
छिटो निर्णय गर्न नसक्ने नेताको पहिचान बनाएका किशिदाले हनाशीको राजीनामा तत्काल स्वीकृति गरिदिएका छन् । उनले हानाशाीको टिप्पणीलाई हल्का रूपमा नलिएको बताए । हानासीको ‘लापरवाह टिप्पणी’ ले न्याय प्रणालीमा जनताको विश्वासलाई क्षति पुर्याएकोले उनी पदमा बस्न योग्य नरहेको किशिदाले भने ।
किशिदाले हानासीको राजीनामा स्वीकारिसकेपछि हार्वर्ड विश्वविद्यालयमा पढेका पूर्व कृषि मन्त्री केन साइटोलाई नयाँ न्याय मन्त्री नियुक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनमा आमाको नामबाट नागरिकता दिने विषय समेटिनुपर्छ : सरोकारवाला
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ