बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

मृत्युदण्डबारे हल्का टिप्पणी गर्ने जापानका न्याय मन्त्री पदबाट बर्खास्त

शनिबार, २६ कात्तिक २०७९, १६ : १३
शनिबार, २६ कात्तिक २०७९

जापानका प्रधानमन्त्री फुमियो किशिदाले आफ्नो न्याय मन्त्रीलाई बर्खास्त गरेर नयाँ मन्त्री घोषणा गर्न दक्षिण पूर्वी एसियामा हुने तीन महत्वपूर्ण सम्मेलनको प्रस्थान ढिलाइ गरेका छन् ।  ती मन्त्रीले मृत्युदण्डको सजायबारे गरेको हल्का टिप्पणीको कारण व्यापक रूपमा आलोचना भएको थियो । 

न्याय मन्त्री यासुहिरो हानाशीले शुक्रबार आफूले किशिदालाई राजीनामा बुझाएको जानकारी दिए । उनले दुई दिनअघि पार्टी बैठकमा ‘आफ्नो मन्त्रालयको खासै चर्चा नहुने, मृत्युदण्ड अनुमोदन गरेको दिन मात्र समाचार बन्ने गरेको’ टिप्पणी गरेका थिए । 

हानाशीको यस टिप्पणीविरुद्ध तुरुन्तै विपक्षी दल र सत्तारुढ पार्टी भित्रै पनि आलोचना सुरु भएको थियो । पहिलेदेखि विभिन्न विवादमा फसेको किशिदा सरकारले यस प्रकरणलाई भने छिट्टै सम्बोधन गर्यो । जापान सरकारका कम्तीमा दुई अन्य सदस्यले अनियमितताको आरोप सामना गरिरहेका छन् । 

‘मैले हल्का रुपमा मृत्युदण्डको उदाहरणको रूपमा प्रयोग गरें । त्यसले पारेको ‘असहज अनुभूति’प्रति म माफी चाहन्छु,’ हानासीले माफी माग्दै भने । हनाशीले विगत दुई दिनमा किशिदासँग आफ्नो सम्भावित राजीनामाको बारेमा परामर्श गरेको र त्यसक्रममा उनलाई लापरबाहीपूर्ण टिप्पणीप्रति माफी माग्न र स्पष्ट पार्न सल्लाह दिइएको बताए ।

‘मैले मेरो जिम्मेवारी हल्का लिने गरेको भान पर्नेगरी मिडियामा बाहिरिएको टिप्पणीप्रति म क्षमा माग्छु र यो भनाई फिर्ता लिन्छु,’ बिहिबार हानासीले भनेका थिए । शुक्रबार राजीनामा आउनुअघि उनले माफी मागे पनि र राजीनामा नदिने बताएका थिए । तर मिडिया रिपोर्टहरूले पछि उनले पछिल्ला तीन महिनामा उस्तै टिप्पणी पटक–पटक गरेको खुलासा भएको थियो ।

विश्वमा शान्त देशको पहिचान बनाएको जापानमा अझै पनि मृत्युदण्डको सजाय दिइन्छ । अन्य देशको तुलनामा थोरै संख्यामा मृत्युदण्ड दिइए पनि आलोचकहरुले यो सजाय उन्मुलनको माग गर्दै आएका छन् ।

छिटो निर्णय गर्न नसक्ने नेताको पहिचान बनाएका किशिदाले हनाशीको राजीनामा तत्काल स्वीकृति गरिदिएका छन् । उनले हानाशाीको टिप्पणीलाई हल्का रूपमा नलिएको बताए । हानासीको ‘लापरवाह टिप्पणी’ ले न्याय प्रणालीमा जनताको विश्वासलाई क्षति पुर्याएकोले उनी पदमा बस्न योग्य नरहेको किशिदाले भने । 

किशिदाले हानासीको राजीनामा स्वीकारिसकेपछि हार्वर्ड विश्वविद्यालयमा पढेका पूर्व कृषि मन्त्री केन साइटोलाई नयाँ न्याय मन्त्री नियुक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप