गठबन्धन कार्यकर्तामा मात्र हो, जनतामा छैन : तारा लामा
कञ्चनपुर–१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेकपा एमालेका नेता तारा लामा चुनावी मैदानमा छन् । एकीकृत समाजवादीको प्रदेश कमिटी उपसचिव परित्याग गरी गत भदौ १५ मा एमाले फर्किएका तारा नेकपा माओवादी केन्द्रकी विना मगरको मुख्य प्रतिस्पर्धा देखिन्छन् । उनीसँग रातोपाटीकर्मीले गरेको कुराकानी
प्रतिनिधिसभा सदस्यको लागि चुनावी मैदानमा हुनुहुन्छ । मत माग्न गइरहनुभएको छ । जनता के भन्छन् ? तपाईंप्रति जनताको बुझाइ के छ ?
कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा म नेकपा एमालेको तर्फबाट उम्मेदवार भइरहँदा म भन्दा बढी आमजनता निकै नै उत्साहित छन् । मैले प्रदेश सभामा गरेको काम र विगत लामो समयदेखि यही क्षेत्रमा काम गरिरहेको हुनाले हामीले आफ्नो ठाउँको जनप्रतिनिधि चुन्न नेकपा एमालेको तारा लामा नै उपयुक्त हो भन्ने कुरा बाहिर आइरहेको हो । मैले पनि सुनिरहेको छु ।
यहाँबाट पाँच दलीय गठबन्धनबाट पूर्व मन्त्री विना मगर प्रतिस्पर्धामा हुनुहुन्छ । एमाले एक्लै प्रतिस्पर्धामा उत्रिएका बेला उहाँसँगको प्रतिस्पर्धालाई कतिको चुनौती ठान्नुभएको छ ?
मनोवैज्ञानिक रूपमा कार्यकर्तामा गठबन्धनको बलियो भन्ने देखिएको छ । तर जनतामाझ त्यस्तो छैन । जनताले कामको आधारमा उम्मेदवारलाई हेर्छन् । व्यक्तित्वको आधारमा हेर्दा रैछन् र यो सत्ता गठबन्धन जनताको गठबन्धन होइन । कसैले बनाइदिएको गठबन्धन भएकोले यो गठबन्धनसँग जनताको कुनै लेनादेना छैन । त्यसैले जनताले आफ्नो प्रतिनिधि छान्ने हो ।
सुदूरपश्चिममा गठबन्धनको सूत्रपातको रूपमा कुनै बेला तपाईंको पनि भूमिका थियो । अहिले एमालेको उम्मेदवारको रूपमा प्रतिस्पर्धामा हुनुहुन्छ । हिजो जसलाई तपाईंहरुले सहयोग गरी निर्वाचित गराउनुभयो आज उसैसँग प्रतिस्पर्धा गर्दाको प्रतिस्थितिलाई कसरी विश्लेषण गरिरहनुभएको छ ?
हिजोका दिनमा राजनीतिमा वाम गठबन्धनको हिसाबले पार्टी पनि एक हुन्छ भन्ने उद्देश्यले नेपाली जनताले नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई स्वीकार्‍यो ।
पछि माओवादीमा खासै इमानदारिता नदेखिएपछि अहिले नेपाली कांग्रेससँग गठबन्धन भएको छ । हिजो यहाँबाट जितेका जनप्रतिनिधिले खासै काम नगरेपछि उहाँहरूलाई चुन्नुहुने छैन भन्ने जनताको भनाइ आइरहेको छ ।
एमाले विभाजन हुँदा तपाईं एकीकृत समाजवादीतिर लाग्नुभयो । अहिले एमालेमा आएर उम्मेदवार बन्नुभएको छ । यहाँ एमालेको बिँडो थामेर बसेका नेता–कार्यकर्ताले विद्रोह गर्नु भएको छ । तपाईंलाई एमाले कार्यकर्ताले स्वीकार गरेनन् हैन ?
सर्वस्वीकार्य त कोही पनि नहोला । म त सर्वस्वीकार्य हुँ कसरी भन्न सकुँला । तर अधिकांश नेता कार्यकर्ताको स्वीकार हुँ । कोही साथीहरू समाजवादीमा नभइदिएको भए हुन्थ्यो भन्ने थियो । तर त्यो बेलाको परिस्थिति त्यस्तै थियो ।
त्यस बेलाको कमजोरीलाई हामीले रियलाइज गरेका छौँ । त्यो बेला नेकपा एमालेबाट अलग्गिएर केवल पद प्राप्तिको लागि मात्रै थियो भन्ने कुरा पुष्टि भएको छ । मीठो सपना मात्रै रहेछ भन्ने देखियो ।
एमालेलाई कमजोर तुल्याउनु भनेको समग्र वामपन्थी शक्तिलाई कमजोर तुल्याउनु हो भन्ने बुझेर मैले पहिलेको मूल पार्टीमा समाहित भएको हुँ । र नेता कार्यकर्ताले मलाई स्वीकार गरेर नै प्रतिनिधिसभा सदस्यको लागि सफारिस गर्नुभएको हो ।
तपाईं के मुद्दा लिएर निर्वाचनमा होमिनु भएको छ ? तपाईं निर्वाचित भए आगामी पाँच वर्षमा जनताले के पाउँछन् ? वा तपाईं हारे यहाँका जनताले के गुमाउँछन् ?
होइन, हारको त कुरै नगरौँ । खास गरी मैले प्रदेश सभामा हुँदा उल्लेख्य काम गरेको छु । यो क्षेत्र भारतीय सीमा क्षेत्रसँग जोडिएको क्षेत्र हो । यो क्षेत्रका नागरिकलाई दोस्रो दर्जाको नागरिकको रूपमा हेरिन्थ्यो ।
मैले प्रदेश सभामा गइसकेपछि मैले २७ किलोमिटर बोर्डर कोरिडोरको लागि ६८ करोड बजेट विनियोजन भइ ठेक्का प्रक्रियामा गएको छ । जुन परासनको बीच फाँटादेखि बेलौरीको बैजुडाँदडासम्म निर्माण हुनेछ ।
झिलमिलासम्मको बोर्डर कोरिडो पनि बन्ने भएको छ । साथै यहाँ सिँचाइको लागि विधुतीय पहुँच प्रभावकारी बनाउने प्राथमिकताको विषय हुन् ।
यहाँको सीमा समस्या, सुकुमबासी समस्या समाधान गर्न तपाईंका योजना के छन् ?
होइन, मैले नै ठाक्कै गर्छु भन्ने छैन । यो समस्या समाधानको लागि स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारको समन्वयमा अहोरात्र खटिने छु । बेलौरीमा रहेको छोटी भन्सारलाई स्तरोन्नतीको पहल गर्नेछु । बेलौरी–कलुवापुर सडकलाई चौडा बनाएर कालोपत्रे गराउने पहल हुनेछ । दोदा नदी कटान नियन्त्रण पनि मेरो हरसम्भव प्रयत्न रहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म