शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकका उम्मेदवारलाई माझी बस्तीको प्रश्न, ‘हामीलाई पुग्ने खानेपानी कहिले आउँछ ?’

शनिबार, २६ कात्तिक २०७९, १२ : ५१
शनिबार, २६ कात्तिक २०७९

सिन्धुपाल्चोक सदरमुकाम चौतारा जाने बाटो बन्देऊ नजिकैको माझीटार बस्तीमाथि मध्यपहाडी लोकमार्गमा आजभोलि पार्टीका झण्डा र टनाटन मान्छे बोकेका गाडीहरूको लावालस्कर गुड्न थालेको छ । माझीटार बस्तीबाट माथि बाटोमा हेर्दा राजनीतिक दलका उम्मेदवारलाई जिताउनु प¥यो भन्ने गीत र नारा घन्काउँदै नेता कार्यकर्ता हिँड्ने गरेका छन् । 

बनिरहेको मध्यपहाडी लोकमार्गको बाटो छेउ विष्णुमाया माझी २ वटा राँगा चराउँदै गरेको अवस्थामा भेटिइन् । उनले केही नेताहरू बस्तीमा भोट माग्न पस्ने गरेका छन् भने केही बाटैबाटो जाने गरेका छन् । 

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ११ को माझी बस्तीमा विकासको योजना सुनाउन दलका उम्मेदवारहरू र कार्यकर्ताहरू पुग्ने गरेका छन् । तर चुनावको बेला आश्वासनहरू बाचा गर्ने र पछि पुरा नगर्ने भएका कारण नेताहरूको विश्वास लाग्न छाडेको उनीहरूले तितो पोखे ।  जो उम्मेदवार आए पनि उनीहरूले प्रश्न गर्ने गरेका छन् , ‘हामीलाई सफा र पर्याप्त पानी कहिले आउँछ ?’

उम्मेदवार आएका बेला स्थानीय सुनमति माझीले पनि गर्ने गरेकी छन् । नेतालाई जे प्रश्न राखे पनि विगत झैँ यस पटक त्यस्तै आश्वासन दिएर भोट माग्ने गरेको उनले गुनासो गरिन ।  ‘पानी नभएको ठाउँमा पानी, अन्य समस्या भए  त्यो पनि  समाधान गर्छु भन्छन्, । तर जितेपछि अनुहार देखाउने होइनन् । यो ठाउँमा पानीको समस्या वर्षाैँ देखिको हो । तर समाधान भएको छैन ।’ केही अगाडिबाट इन्द्रावती खोलाबाट पानी तानेर बाँडिए पनि त्यसले सबैलाई नपुगेको उनको भनाई छ । मुहानबाट आएको पानी पिउने रहर भए पनि फोहोर मैला मिसिने, कहिले धमिलो हुने इन्द्रावती खोलाको पानी पिउन बाध्य हुनुपरेको उनले बताइन् । खोलाबाट तानिएको पानी पनि पर्याप्त नभएको उनको गुनासो छ । 

‘यो ठाउँमा पर्याप्त पानी र एउटा मन्दिर भए हुन्थ्यो’ सुनमति माझीले थपिन्, ‘अहिले पानी दुई तीन घण्टा मात्र आउँछ । खेतीपातीको उब्जनीले तीन महिना खान पुग्दैन ।’ उनी भोट माग्न आउने नेतालाई पानीको अलावा बेरोजगारीको समस्या पनि सुनाउने गरेकी छन् ।

सुनमतिले झैँ पानीको समस्या रहेको कुरा स्थानीय झिल्के माझीले पनि नेताहरू समक्ष राख्ने गरेका छन् । उनी आफ्नो ठाउँमा खानेपानी र रोजगारीको समस्या रहेको कुरा नेताहरूलाई थाहा भएर पनि समाधान नगरको उनले बताए । 

‘चुनावको बेला नेताहरू आएर विभिन्न आश्वासन बाँड्छन् । आस त लाग्छ । तर चुनाव जितेपछि फर्किएर आउँदैनन्’ झिल्केले भने, ‘हामी माझीहरूको मुख्य पेसा नै माछा मार्ने हो । अहिले त्यो पनि कमी भएको छ ।’ खोलाको बालुवा झिकेर निर्यात गर्न पाउने व्यवस्था भए बेरोजगार हुनु नपर्ने बताउँदै उनले भोट माग्न आउने नेतालाई आश्वासन होइन, पानी दिनुस् भन्ने गरेको सुनाए । 

त्यस्तै माझी बस्तीमा रहेको पानीको दुःख विष्णुमाया माझी पनि सुनाउँछिन् । ‘हामीलाई पानीको एकदमै दुःख छ । खोलाबाट तानेर एउटा धारो दिइएको छ’ उनले भनिन् ‘पानी मिठो पनि छैन, तर खानैपर्ने बाध्यता छ ।’ अहिलेको थोरै पानी पनि स्थानीय चुनाव अगाडि आएको बताउनले उनले भोट माग्न आउनेसँग पानी र रोजगारी माग्ने गरेकी छन् । उनले थपिन्–‘स्कुल र स्वास्थ्य चौकी जान पनि सजिलो छैन । नजिकै भए सबैलाई सजिलो हुने थियो ।’ 

विष्णुमाया झैँ बस्तीमा पानीको ठुलो समस्या भएको रामकुमार माझीले पनि बताए । उनले हरेक चुनावमा बस्तीको समस्या यसै गरी नेतासँग राख्ने गरेका छन् । ‘पानी र बेरोजगारको समस्या हामी हरेक चुनावमा नेतालाई राख्छौ’ रामकुमारले भने ‘भोटका लागि गर्छु–गर्छु त भन्छन् । चुनाव सकिएपछि फर्किने होइनन् ।’ ४४ घर धुरी भएको बस्तीमा स्वच्छ पानी नभएको उल्लेख गरे । 

स्वास्थ्य चौकी, स्कुल, रोजगारी बस्तीको अन्य समस्या रहेको बताउने रामकुमारले बेरोजगारीका कारण जीवनस्तर माथि उठाउन नसकिएको बताए । 

यो पटकको चुनावमा केही नेताले घरमा नआई बाटोबाटै भोट मागेर गएको रमेश माझीले बताए । पहिलेको बाचा पुरा नगरेकोले अहिले भोट माग्न घरघर नआएको हुन सक्ने उनी बताउँछन् । ‘बाटोको सुविधा जहाँ छ । त्यहाँ त्यहाँ भोटका लागि पुगेको छन्’ रमेशले भने, ‘भोट माग्छन् । अहिले पहिलेको जस्तो आश्वासन दिएका छैनन् ।’ आफ्नो ठाउँमा स्कुल,  मन्दिर र स्वास्थ्य चौकी आवश्यक रहेको बताउने रमेशले सिँचाइको पनि ठुलो समस्या रहेको बताए । ‘बाबुबाजेको पालामा जस्तो दुःख थियो अहिले पनि यो ठाउँमा त्यस्तै छ । मोटर बाटो आए पनि पक्की बाटो छैन । अलिअलि बारी छ तरकारी रोपौँ भने सिँचाइका लागि पानी छैन । चुनावको बेला भोट दिनुस्, विकास दिन्छु भन्छन् । तर चुनाव सकिए पनि माग गर्दा पनि बजेट दिँदैनन् ।’

खोलाबाट तानेर ल्याएको पानीको पनि मासिक रूपमा ३ सय तिर्नुपर्ने अवस्था रहेको माझीबस्तीका स्थानीयले गुनासो गरे । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ अन्तर्गत पर्ने यो क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि सत्ता गठबन्धनबाट साझा उम्मेदवारका रूपमा नेपाली कांग्रेसबाट मोहन बस्नेत, नेकपा एमालेका तर्फबाट शेरबहादुर तामाङबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप