कथा : मेरो मतपत्र खोइ ?
हात हातमा मतदाता परिचयपत्र समातेर मतदान केन्द्रमा मतदाताहरू पङ्क्तिमा उभिएका थिए । महिलाहरू महिला लेखिएको र पुरुषहरू पुरुष लेखिएको डोरीको घेराभित्र ठेलमठेल भएर पाइला सार्दै थिए ।
सेतो लट्ठीको भरोसामा महिलाको पङ्क्तिमा उभिएकी फागुनी घुइँचोमा लड्न थालेपछि आफ्नो नजिककी वृद्धा महिलालाई भनिन्–“हेर्नुस् त, हामी आँखा नदेख्ने, वैशाखी टेक्ने, बहिरा र अन्य अपाङग्ता भएका साथीहरूका लागि छुट्टै पङ्क्ति हुनुपर्ने होइन र ?”
वृद्धा महिलाले फागुनीको पाखुरा समात्दै भनिन्–“चुनाव गराउन आएका मानिसले व्यवस्था गर्नुपर्ने हो । खै त ?” महिलाहरूको लाइनमा चलेको छलफल ओल्लो घरको नरे पल्लो घरमा सरे भने झैं भयो । पुरुषहरू पनि छलफलमा सहभागी भए ।
मनवीरले फागुनीको कुराको समर्थनमा बोल्यो–“हो हो हामी अपाङ्गता भएकाहरूलाई फरक लाइनको व्यवस्था गरिनु पर्थ्यो । तब पो हामीलाई सहज हुन्थ्यो । हामी फरक फरक अशक्तताका मानिसहरू हौ ।”
महिला र पुरुषको लाइनमा करिब १५/२० मिनेट चर्को छलफल चलिरह्यो । यसले मतदान गर्ने काममा समेत बाधा भयो । कर्मचारी र मतदाताहरूबिच लाइन व्यवस्थापनमा छलफल चर्को रूपमा चलिरहेको दृश्य र सबैका अनुहारको अवस्थाको दृश्यमा देखेपछि बञ्जिर (बहिरो)ले कुरा राख्यो । साङ्केतिक भाषामा बोल्यो र कागजमा लेखेर देखायो–“हामी अपाङ्गताको सम्मान र कदर गर्नुपर्छ । आफ्नो जिम्मेवारी र कामलाई सफल पार्नु मानवीय कर्तव्य हो र पदीय दायित्व हो ।”
बज्जिर, फागुनी र मनवीरका कुरा सुनेपछि निर्वाचनका कर्मचारी, उम्मेदवार, एजेन्ट र मतदाताहरूले आपाङ्गहरूको प्रस्तावलाई मनन गरे र तुरुन्त अर्को लाइनको व्यवस्था गरे ।
अपाङ्गता भएकाहरू सबै छुट्टै लाइनमा बसेपछि आफ्नो रहर, उत्सुकता र अधिकार प्रयोग गर्न पाउनेमा खुसी थिए । उता उम्मेदवार र एजेन्टहरू आफ्नो राजनीतिक दल र आफूलाई मतदान गर्ने भए भनेर खुसी नै देखिन्थे ।
१५/२० मिनेट रोकिएको मतदान कार्य फेरि सञ्चालन भयो । कर्मचारीले बूढीऔंलामा नीलो मसी लगाउँदै मतपत्र हात दिदै स्वस्तिक छाप भएको गोप्य कोठामा पठाउँदै गरेका थिए । उनीहरू मन परेको दल र उम्मेदवारको चुनाव चिन्हमा छाप लगाएर मतपेटिकाभित्र खसाल्ने प्रक्रिया चलिरह्यो । बाहिर लेखिएको ठाउँबाट मतदाताहरू बाहिर निस्कन्थे ।
मतदान गर्ने पालोअनुसार बज्जिर र मनवीर लगायतले मतदान गरे । कर्मचारीले बोलाए–“फागुनी आउनुहोस् ।”
रहर र उत्सुकताले उकुसमकुस भएकी फागुनी सेतो लठ्ठीको भरोसामा बाटो खोज्दै नाम बोलाएको ठाउँमा पुगिन् । कर्मचारीले मतपत्र दिए । मतपत्र समातेर फागुनीले सोधिन्–“अब म कता जाऊँ ?”
मतदान अधिकृतले सहयोग गर्दै भने–“यता गोप्य कोठा छ । त्यहाँ स्वस्तिक छाप छ । स्ट्याम्प प्याडमा स्वस्तिक चोपेर तपाईंले इच्छाएको चिन्हमा छाप लगाउनुहोस र पट्टाएर मतपेटिकामा खसाल्नु होस् है त ।”
फागुनीले जवाफमा भनिन्–“हुन्छ सर ।”
फागुनी मतपत्र समातेर अधिकृत सरले भनेको गोप्य कोठामा प्रवेश गरिन् । आफूलाई मन परेको दल र उम्मेदवारको चुनाव चिन्ह मतपत्रको चौकिल्लाभित्र कुनाकाप्चा सबै भू–भाग छामछुम गरिन् । अँह ! कतै पनि भेटिन्न ।
अनि गुनासो साथ आफ्नो रहर र उत्सुकता अधुरो नै रहने भयो भनेर चिच्याइन्–“निर्वाचन अधिकृत ज्यू ! उम्मेदवार र एजेन्ट ज्यू ! मैले पढेको र जानेको बे्रल लिपीबाट बनेको मतपत्र छैन त ? मेरो अधिकारको कदर यही हो ? मेरो लागि मतपत्र खोइ ?”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता
-
भ्रष्टाचार विरोधी आन्दोलन मधेसबाट सुरु भयो : आजपा
-
काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने
-
रातको समयमा काठमाडौंंमा गयो भूकम्प
-
१२ बजे, १२ समाचार : बीआरआई ऋणमा स्वीकार्न नसकिने प्रधानमन्त्रीको भनाइदेखि आन्दोलनबाट क्षति पुगेको रास्वपाको निष्कर्षसम्म
-
सहकारी ठगी : पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याएर दिनभर लिइयो बयान, अब पालो रविको