मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

त्यो बेलाको श्यामश्वेत फोटोग्राफी र डार्क रुम

पोलारोइड क्यामेरा नहुँदा फोटो नखिचाएरै हिँडे राजेश हमाल
शनिबार, २६ कात्तिक २०७९, ०९ : ००
शनिबार, २६ कात्तिक २०७९

मलाई काउकुती लगाइरहन्थ्यो खै केले हो केले । यो गरुँ कि, त्यो गरुँ ? यो पेशाले हुन्छ कि त्यो पेशाले ? असमञ्जसमा परिरहन्थ्यो मेरो चञ्चले मन उ बेला । त्यो उमेरमा मैले मेरो भविष्यको कल्पना केके गरिनँ होला ? आखिरमा फोटोग्राफी पेशा गर्ने निर्णय लिएँ । त्यो बेला स्टुडियोहरुको नाम कुनै ख्याति कमाएका कम्पनीहरुको नामबाट राख्ने चलन थियो । जस्तै कोडाक, कोनिका, फुजी आदि ।

२०५३ सालमा फोटोग्राफरको पुरानो सङ्घ ‘नेपाल फोटोग्राफर सङ्घ’ मा मेरो स्टुडियोलाई आबद्ध गराएँ । त्यो बेलाको ‘कोडाक फोटो प्रोसेस’ नामलाई तुरुन्त परिवर्तन गरेर डीआर फोटो स्टुडियो राखेँ । अरुको नाम बेचेर खानुभन्दा आफ्नै ब्रान्डको सोचाइ आयो र त्यही नाम राखेर अनामनगर, घट्टेकुलचो चोकमा फोटो स्टुडियो राखेर अगाडि बढेँ ।

त्यसबेला बक्स क्यामेरा अर्थात् दुई वटा छोटो लेन्सलाई फिक्स गरेर जडान भएको चारपाटे ठाडो लाम्चो क्यामेरा, जसले श्यामश्वेत फोटो खिचिन्थ्यो । हुन त अरू डिजाइनको पनि थियो होला, तर मसँग त्यस्तै क्यामेरा मात्र थिए । मैले सुरुवातमा तल, माथि दुई वटा फिक्स लेन्स टाँसिएको क्यामेरा प्रयोग गरेको थिएँ । तर त्यो दुई वटा लेन्स एक ढिक्का हुन्थ्यो । सार्न र मिलाउन चाहेमा एकै चोटि अलिअलि मात्र अघिपछि सथ्र्यो । जसबाट खिच्दा क्यामेराको माथिल्लो भागमा रहेको भ्युफाइन्डरबाट तल हेर्दै फोकस मिलाएर खिच्नुपथ्र्यो । एक स्न्याप हानेपछि बाहिरबाटै रिल बटार्नुपर्थ्यो । म सँग त्यो मोडलको यासिका–१२ र अर्को पनि क्यामेरा थियो । 

क्यामेराबाटै तारको माध्यमबाट ग्लास लाइट पनि जोड्न मिल्ने सुविधा भएको पुरानो प्रविधि भए पनि ठूलो साइजको नेगेटिभ लाग्ने भएकोले इन्लार्ज फोटाको लागि अति उपयोगी क्यामेरा थियो । ठूलो ढ्याप्रै नेगेटिभ भएकोले अरु हेरी अलि खर्चालु थियो, तर इन्लार्ज फोटोमा खेल्न मज्जा आउँथ्यो । हामीले त्यो बेला साधारण बोलीचालीको भाषामा ‘वान ट्वान्टी’ या कहिले ‘बक्स क्यामेरा’ पनि भन्थ्यौँ ।

 त्यो क्यामेरा चलाउनलाई निक्कै चुनौती पनि थिए । त्यो बेलाको सामान र रिल महङ्गो र अहिलेको हेरी प्रविधि भद्धा थियो । रिललाई लोड गर्नु, अर्जेन्ट काटेर निकाल्नु र फेरि रिललाई टेपले गाँसेर लोड गर्नुमा निक्कै सिपालु हात चाहिन्थ्यो । रिल बचाउने लोभमा कहिलेकाहीँ खिचिसकेको नेगेटिभ पनि बिग्रिने सम्भावना हुन्थ्यो । अँध्यारो डार्क रुमभित्र क्यामरा खोल्ने अनि रिल काटेर फेरि छामेकै भरमा टेपले गाँस्नुपर्ने हुन्थ्यो, त्यो गर्न दक्ष र अनुभवी नभई हुँदैनथ्यो ।

खिच्न सकेमा त्यो क्यामेराबाट एकदमै राम्रो फोटो आउँथ्यो । एउटा आकर्षक फोटो दिनको लागि सुरुको खिचाइबाटै ध्यान दिन सकेमा भनेजस्तो परिणाम आउँथ्यो । सर्वप्रथम रिल लोड गर्दा नै ध्यान दिनुपथ्र्यो, त्यसपछि लाइट र विषयवस्तु हेरेर एपेचर र स्पिड मिलाउन सके अति राम्रो हुन्थ्यो । सबै कुरो मिलाएर खिचेर सकेपछि फेरि डेप्लप गर्न र धुलाउन उत्तिकै सचेत हुनुपर्थ्यो । अँध्यारोमा सबै काम गर्नुपर्ने भएकोले रिल काट्नु, डेप्लप गर्नु अनि काटेर बचेको रिल र क्यामेरालाई पनि सुरक्षितसँग अँध्यारोमा राख्नुपर्ने हुन्थ्यो ।

 डेप्लप गर्दा केमिकलहरु लहरै सानो भाँडामा हुने भएकोले अँध्यारोभित्र कुन केमिकल के हो, कहाँ छ, थाहा हुनु जरुरी थियो । खिचाइ हेरेर कति समयसम्म केमिकलमा खेलाउने त्यो आफैँले समय निर्धारण गर्नुपर्ने, नत्र यासिका १२ क्यामरा मनमनै एक, दुई भन्दै कतिसम्म गन्ने त्यो आफैँले अन्डर ओभर नेगेटिभ हेरेर विचार पुर्‍याउनुपर्ने हुन्थ्यो । 

हुन त अर्को उज्यालो प्रकाश नछिर्ने बट्टामा बाहिरै हल्लाएर डेप्लप गर्न पनि सकिन्थ्यो, तर बट्टाबाट निकाल्न र पखाल्न डार्करुम नै चाहिन्थ्यो । दुई थरी केमिकल र पानीमा राम्ररी पखालेपछि मात्र बाहिर निकाल्न मिल्थ्यो । त्यसपछि मात्र बल्ल बाहिर उज्यालोमा हेर्न पाइन्थ्यो नेगेटिभलाई । नेगेटिभ भइसकेपछि सुकाएर फेरि त्यो नेगेटिभ हेरेर सानोतिनो छाँया, दाग र नमिलेकोलाई रङ, ब्रस र पेन्सिल प्रयोग गरेर हल्का मिलाउन पनि सकिन्थ्यो । काठको बक्सभित्र लाइट बालेर माथिको सानो प्वालबाट नेगेटिभको साना साना दाग र रेसा रेसा हेर्दै मिलाउनु पथ्र्याे ।

फोटो प्रिन्ट गर्दा फेरि डार्क रुमभित्रै गर्नुपथ्र्यो । डार्करुमको एक कुनामा सानो जिरो वाटको रातो बत्तीलाई छोपछाप गरेर अलिअलि मात्र रातो प्रकाश निकाल्न मिल्थ्यो । हल्का मधुरो रातो प्रकाशले खासै असर पार्दैनथ्यो । इन्लार्जर मेसिनभित्र अर्को पावरफुल लाइट हुन्थ्यो । त्यो उज्यालो प्रकाश बाहिर कतै पर्न हुँदैनथ्यो । मेसिनभित्रको लाइट अन गरेपछि तलको पेपर प्लेटमा मात्र उज्यालो प्रकाश पथ्र्यो । त्यहाँ साइज अनुसारको पेपर राखेर प्रिन्ट हुन्थ्यो । 

ब्ल्याक एण्ड ह्वाइट फोटो बनाउने इन्लार्जर मेसिन फोटोको साइज हेरेर इन्लार्जर मेसिनलाई तल, माथि गर्न पनि सकिन्थ्यो । मेसिनको तल्लो भागमा रहेको लेन्सबाट फोकस मिलाउने, घटाउने, बढाउने अनि त्यसैको मुनि नेगेटिभ राखिन्थ्यो । त्योभन्दा तल माथिबाट आएको प्रकाशलाई छेक्ने र आवश्यकता पर्दा खोल्ने साधन हुन्थ्यो । 

एक साइडमा केमिकल आइपिसी, फिक्सर (हाइफो या इजिफिक्स) र पानीका साना भाँडा लस्करै हुन्थ्यो । त्यसलाई पनि जोगाएर काम गर्नु त छँदै थियो । उता साइज अनुसारको पेपर अँध्यारोमै काट्नुपर्ने, फेरि काटेर नचलाएको पेपरलाई कालो ब्यागभित्र उज्यालोदेखि लुकाउनुपर्ने हुन्थ्यो । त्यो बेलाको ग्लोसी र म्याट पेपरहरु इल्फोल्ड, नोभा, लक्की, ओरो, वर्क, सन्घाइ, इरा लगायतका फरक फरक कम्पनीका पाइन्थे ।

नेगेटिभ हेरेपछि अन्डर ओभर के कस्तो हो त्यो हेरेर, बुझेर कति लाइट दिनुपर्छ, त्यो आफैँले त्यही बेला आफ्नो विवेक प्रयोग गर्नुपथ्र्यो । समय आफैँले निर्धारण गर्नु या मनमनै एक, दुई गन्नु वा घडीको सहायता लिनु या त कुनै उपाय लगाएर प्रिन्ट गर्नुपथ्र्याे । कुन केमिकलमा कति समय डुबाउने, खेलाउने, त्यो जान्नु अर्को महत्वपूर्ण पाटो रहन्थ्यो । अलिकति मात्र समय ढिलो या चाँडो भयो भने पनि फोटो बिग्रिने सम्भावना हुन्थ्यो ।

 उता विभिन्न ग्राहकको फरक फरक साइजको फोटो हुन्थ्यो, त्यो पनि तल, माथि पर्‍यो भने अर्को नोक्सान सहनुपर्ने हुन्थ्यो । एउटाको फोटो अर्को साइजमा बन्न सक्थ्यो । हुन त डार्क रुमलाई आधुनिक, फराकिलो र सुविधा सम्पन्न बनाउन पनि सकिन्थ्यो होला तर मेरो सानो लगानी र एउटा सटरभित्र त्यो सम्भव थिएन । 

एउटा सटरभित्र काउन्टर, घडी मर्मत, स्टुडियो र डार्क रुम थियो । डार्क रुम सानो भएर जता पनि हात ब्ल्याक एण्ड ह्वाइट क्यामरामा प्रयोग हुने रिल र पेपरहरु ठोकिएर हैरान बनाउँथ्यो ।

त्यसरी श्यामश्वेत फोटोमा मेहनत र बुद्धि लगाएर फोटो प्रिन्ट गरिसकेपछि सुकाएर फेरि टचिङ फिनिसिङ गर्नुपथ्र्यो । सानो रिल जाने क्यामेरा पनि प्रयोग त गरिन्थ्यो, तर ठूलो रिल जाने बक्स क्यामेराले खिचेको फोटो नफाट्ने र भनेजस्तै स्तरीय दिन सकिन्थ्यो । सानो अटो पासपोर्टभन्दा पनि ठूलो फोटो बनाउनुपर्दा धेरै मेहेनत गर्नुपथ्र्यो ।

फोटो प्रिन्ट गरिसकेपछि झन मिहिन काम गर्नुपर्ने हुन्थ्यो । फिनिसिङ गर्दा एउटै फोटोमा घण्टौँ लाग्न सक्थ्यो । राम्रो फोटो दिनलाई अनेक गर्नुपथ्र्यो । पेन्सिल, भाँचेका ब्लेड, ब्रस, मसीदेखि कहिले त सियोको टुप्पा लगायतका साधन समेत प्रयोग हुन्थ्यो । फोटोको आकार र अनुहारको दागदुग हटाएर भरिलो र चम्किलो हेर्दै बोलिहाल्ला जस्तो बनाउन हरदम कोसिस गर्नुपथ्र्यो । 

ग्राहकले आफ्नो फोटो हेरेपछि मन पराएर स्याबासी दिँदा खुब खुसी लाग्थ्यो । त्यस्तो बेलामा सन्तुष्टिका आभा छचल्किथ्यो भित्र कता कता । त्यसैले मलाई लाग्छ, फोटोमा कला र सिर्जना सँगै गाँसिएको हुन्छ ।

मेरो आयस्रोतको अर्को सानो पाटो, एक साइडमा घडीको सानो काउन्टर थियो । घडी बिक्री तथा मर्मत केन्द्र लेखेर राखेपछि बिग्रेका घडी लिएर आउने नै भए ग्राहक । घडीसम्बन्धि खासै अनुभव थिएन, बरु गाउँमा हुँदा रेडियो बनाउन चाहिँ हल्का सिकेको थिएँ । ‘फोटो साहूजीलाई घडी बनाउन पनि आउँछ र ?’ भनेर कसैले सोधेनन् । बरु ग्राहकको त्यो विश्वासलाई सीपमा परिणत गर्न झन लागि पर्नुपर्ने बाध्यता आइपर्‍यो । अनेक थरीका घडी बनाउन ल्याउथे । 

सामान्य घडी आफैँ बनाउथेँ भने सुरु सुरुमा कुनै बनाउन नसकेका सिको फाइभदेखि ओर्जिनल महङ्गा घडी न्युरोड वा जमल लगेर बनाउनु पर्थ्यो । आफ्नो ग्राहकको जस, अपजस आफ्नै पोल्टामा हुन्थ्यो । त्यो बेला जजसले डीआर फोटो स्टुडियोमा बसेर काम सिके, प्रायः सबैले हल्काफुल्का घडी बनाउन पनि आफैँ सिक्दै गए ।

समग्रमा फोटो स्टुडियोले सुरु सुरुमा सामान्य गति लिँदै थियो । एउटा प्रसङ्ग के भने, म स्टुडियोभित्र फोटो सेटिङ गर्दै थिएँ । एकजना लक्का जवान अग्लो युवा काउन्टरबाट सरासर एकैचोटि स्टुडियोभित्र पसेर सोधे, ‘इन्स्ट्यान्ट फोटो हुन्छ ?’ मैले हुन्छ भनेँ । कपाल हल्लाउँदै कुर्सीमा आफैँ बसेर भन्नुभयो, ‘छिटो गर्नुहोस् है, हतार छ ।’ 

हतारिँदै मैले त्यही यासिकाको बक्स क्यामेराबाट खिच्न लागेको थिएँ । ग्राहकले फेरि सोधे, ‘कति मिनेट लाग्छ नि ?’ त्यो बेलाको हाते काम । छिटो गर्दा दश पन्ध्र मिनेट लाग्ने भए पनि मैले पेशाको सोझो गर्दै पाँच, सात मिनेटमै हुन्छ भनेँ । हल्का झुटो बोलेर अप्ठ्यारो मान्दै खिच्नै लागेको थिएँ । बाठो ग्राहक परेछ, जुरुक्कै उठेर भन्यो, ‘ए ल भयो, हतार छ ।’ 

पातलो प्लाइउडको ढोका खोलेर बाहिरियो । मैले अरु केही भन्नै पाइनँ । फोटो नै नखिची बाहिर गई त हाल्यो । त्यो बेला मसँग पोलारोइड क्यामेरा थिएन । खिच्ने बित्तिकै हल्लाएर तुरुन्तै ग्राहकको हातैमा दिने प्रविधिको क्यामेरा पनि हुन्थ्यो तर मसँग त्यस्तो क्यामेरा थिएन । ग्राहकले त्यो सुविधा खोजेको हो भन्ने थाहा पाएँ मैले । तर, त्यो सुविधा दिन नसक्दा खल्लो महसुस भयो । ग्राहक गएपछि पो नमज्जा लाग्यो मलाई । वास्तवमा त्यो हेन्डसम ग्राहक थियो अहिलेको महानायक राजेश हमाल ।

त्यसबेला सादा फोटोको साथै कलर पनि उत्तिकै खिचिन्थ्यो । त्यो समयमा गाउँ शहर सबैतिर कलर फोटो खिच्ने फेसनजस्तै चलेको थियो । फोटोग्राफी पेशा फाइदा, काइदा र इज्जतको पेशा लाग्थ्यो । सक्ने र खट्नेले साधारण क्यामेरा भिरेर गाउँ गाउँमा घुम्दै फोटो खिचेर घरैमा पुर्‍याउने फोटोग्राफरहरू पनि देख्दै आएको थिएँ । मलाई पनि रहर लाग्थ्यो, त्यो बेला गाउँमा । 

समयले मलाई पनि डोर्‍याउँदै लग्यो । अन्ततोगत्वा अहिले आएर आफ्नो कर्म पनि त्यही फोटोग्राफी पेशासँग जोडिएको छ । जीवनलाई त्यसैमा बगाइरहेँ । सुरु सुरुमा नयाँ पुराना निकोन, मिनोल्टा, पेन्टक्स, क्यानोन, प्रयाक्टिका, यासिका लगायतका क्यामेरा चलाउने गरिन्थ्यो भने क्यामेरा र घडी बिक्री पनि गर्ने गरेको थिएँ । आफूले सोचेजस्तै बिस्तार हुँदै गएको थियो व्यापार । मेरो फोटोग्राफी पेशाले एकपछि अर्को खुड्किला चडिरहेको थियो । 

जब चोरी भयो

कमाइ सन्तोषजनक नै थियो । करिब दुई वर्षको कमाइ एक पैसा बचत नगरी स्टुडियोमा सामान हाल्दै बढाउँदै लगिरहेको थिएँ । पसल निक्कै हेर्न लायकको बन्दै थियो । त्यस्तो बेलामा चोरले एकै रातमा झ्वाम पारिदियो । बिक्री गर्न राखेका धेरै सामान थिए । भए भरका राम्रा र महङ्गा सिको फाइभ घडीलगायत निकोन क्यामरा र अन्य नयाँ पुराना भए जति सबै सरसामन चोरले भ्याइदियो । सटरबीचको दुईवटा ताला फोरेछन्, छेउ छेउको ताला जस्ताको तस्तै झुन्डिरहेका थिए । लामो सटर पूरै बाङ्गो पारेर पसेछ र फेरि तल तानेर गएछ । चोरले सिनिक्कै पारेर रित्यायो डीआर फोटो स्टुडियो ।

त्यसपछि व्यापार चौपट भयो मेरो । ग्राहक आउँदै र हेर्दै फर्किन थाले । डीआर फोटो स्टुडियोमा शून्यता छायो । छाँगाबाट गुल्टिएर झरेको जस्तो भयो मलाई । प्रहरीको टोली आएर फिङ्गर प्रिन्टदेखि सबै निरीक्षण गरे र स्थलगत रिपोर्ट टिपेर गए । त्यसपछि कताको निवेदन, फेरि प्रहरी प्रशासनमा धाउँदा उल्टै टेन्सन भयो । मेरो स्टुडियोमा आइरहने कतिपय साथीभाइ पनि आउन छाडे । 

मेरो व्यवसाय नै धरापमा परेपछि मलाई सहयोग र साथको खाँचो खड्किरहन्थ्यो । आफूले सोचेजस्तो नचल्दो रहेछ समय । त्यसपछि केही दिनसम्म अन्योल छायो । तैपनि हार मानिनँ मैले । लडेर पनि आकाश नै हेर्नुपर्छ भन्ने कुरा मेरो मनमा थियो । त्यसपछि एउटा पुरानो क्यामेरा खोजेर स्टुडियो चाहिँ छ भन्नलाई अड्काउने मेलो मात्र गर्न थालेँ ।

करिब दुई, तीन महिनापछि हनुमानढोकाको प्रहरी अफिसबाट छिमेकीको पसलमा फोन आयो । मेरो भाडाको फोन, फोन साहूले लगेपछि त्यहाँको फोन नम्बर दिएको थिएँ । हनुमानढोकाको प्रहरी कार्यालयबाट ‘एकपल्ट अफिसमा आउनू’ भनेपछि वकिल सुरेश चाम्लिङ र ढकालजीलाई लिएर गएँ । 

प्रहरी कार्यलयमा अरु पनि पुराना चोर र साहू थुप्रै भेला भएका रहेछन् । त्यो दिन सञ्चारकर्मीलाई पनि बोलाइएको रहेछ । पुलिसले मलाई पनि मेरो सामान देखाए । तर, काम नलाग्ने दुई, तीन वटा क्यामेरा मात्र फेला पर्‍यो । अरू सामान चोरले कहाँ कता पुर्‍यायो थाहा भएन । चोरलाई कसरी समायो र त्यहाँको प्रहरी कार्यालयमा कसरी ल्यायो ? त्यो पनि जानकारी पाइएन । क्यामेराको खोल र घडीका झिना मसिना खत्र्याक खुत्रुक सामान मात्र थिए । अनि त्यहीँ भएको यासिका बक्स क्यामेरा र कामै नदिने साना दुई वटा क्यामेरा लिएर फर्कियौँ । छोडिदिएँ, झमेलामा फस्न चाहिनँ ।

त्यो बेला महिनाको पाँच सयमा लोकल फोन भाडामा चलाउँदै आएको थिएँ । लोकल फोन खूब चल्थ्यो । बल्लतल्ल खुट्टा टेक्दै गरेको पसल चोरी भएर कस्तो पीर परिरहेको बेला फोन धनीले फोन पनि काटेर लग्यो । प्रहरी अफिस र अन्य ठाउँबाट फोन आउन सक्थ्यो । फोनको अति आवश्यक परेको बेला कम्ता झोक चलेको थिएन । त्यस्तै बेला फोन साहू टुप्लक्क आइपुगेछ फोनको भाडा माग्न । रिसले मैले ठाडै दिन्नँ भनेपछि फोन साहूले रिसाउँदै भन्यो, ‘मैले फोन टीका लगाएर देको हो र ?’ मैले नसुनेभैmँ गरेँ । आजसम्म कुनै व्यक्तिको ऋण भनेकै त्यही पाँच सय हो, जिन्दगीमा । 

मेरो पेशा फेरि जिरोबाट सुरु भयो । हरेस खाइनँ, फेरि पनि केही गर्न सक्छु भन्ने आँट आयो । अनि घिस्रिन थालेँ । दुःख र अभावका साथ सामान्य तरिकाले स्टुडियोलाई सम्हाल्दै लगेँ । पाएको समय गतिशील छ, समयले यो गर्‍यो, त्यो गर्‍यो, समयको माग हो भन्नु भन्दा पनि मानवचेतनाको स्तरोन्नतिले एकपछि अर्को सांसारिक रङ भर्दै ल्याएको जस्तो लाग्छ । इतिहास जे जसरी गुज्रे पनि मैले जान्दा र थाहा पाउँदाको फोटो खिचाइले अहिले पनि त्यो यादलाई जगाउँछ ।

 त्यो बेलाको पोज र स्टाइल अहिलेको भन्दा केही फरक थिए । अफिसियल फोटोको साइजमा हल्का तल, माथि बाहेक अन्य फोटो उस्तै भए पनि खिच्ने, बनाउने तरिकामा केही भिन्नता देखिन्थ्यो । त्यो जमानाको फोटो स्टाइलमा हात मिलाएको, रेडियो भिरेको अथवा काँधमा राखेको, सतर्क उभिएको, नाडीको घडी देखाएको, छड्के पारेर झोला बोकेको, भुइँ सोर्ने गोगो पेन्ट पछिबाट खुट्टा नै नछिर्ने खालको चुजपेन्ट, कानमा फूल सिउरेको, सक्कली गरगहना आदि देखाएर फोटो खिचिन्थ्यो । 

अहिले नक्कली लाएर, भएको लुगालाई खोलेर, लुगा च्यातेर, नयाँ लुगालाई पुरानो पारेर वा छिद्रे प्वाल पारेर, मुख चुच्चो पारेर, नदेखाउने कुरा अलिकति भए पनि देखाएर खिच्ने चलन पो आयो ।

‘समयको डोब’बाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप