शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बार र बेन्च एक ठाउँमा उभिनुपर्छ : कामु प्रधानन्यायाधीश कार्की

शुक्रबार, २५ कात्तिक २०७९, २३ : ०७
शुक्रबार, २५ कात्तिक २०७९

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालयको उचाइलाई सकारात्मक दिशामा अगाडि बढाउन बार र बेन्च एक ठाउँमा उभिनुपर्ने बताएका छन् । नेपाल कानुन व्यवसायी परिषदको २९ औँ दिवसका अवसरमा आज आयोजना गरिएको ‘बधाई तथा सम्मान’ कार्यक्रममा उनले न्यायालयलाई सकारात्मक दिशामा अगाडि बढाउन बार र बेन्चबीच एकता हुनुपर्ने बताएका हुन् ।

“न्यायपालिकाको स्वतन्त्रता र स्वच्छतामा कमीकमजोरी भए औँल्याइदिनुस्, त्यसलाई सम्बोधन गर्न अथक प्रयास गर्नेछौँ”, कामु प्रधानन्यायाधीश कार्कीले भने, “न्यायालयको उचाइ बढाउने अभियानलाई सफल पार्न बार र बेच्न एक ठाउँमा बसेर हिँड्न तयार होऔँ ।”

उनले न्यायालयमा सुधार ल्याउनका लागि न्यायाधीश नियुक्ति, सरुवा, बढुवा सबैमा आधार र मापदण्डको प्रक्रियाबाटै अघि बढाउन सकेमा सकारात्मक परिणाम आउने विश्वास व्यक्त गर्नुभयो । कामु प्रधानन्यायाधीश कार्कीले पाँच वर्षभन्दा पुराना मुद्दालाई हेर्न छुट्टै इजलास गठन गरी पीडितलाई न्याय दिनका लागि लागिरहेको बताए ।

महान्यायाधिवक्ता खम्बहादुर खातीले न्यायालयको सुधारका लागि बार र बेन्चले ध्यान दिनुपर्नेमा जोड दिए । उनले कानुन व्यवसायीहरूले बहस गर्दा आफ्नो समयलाई व्यवस्थापन गरी समयमै बहस सक्ने व्यवस्था गर्नुपर्ने भनाइ राखे ।

सो अवसरमा एक सय ३२ जनाले वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेका अधिवक्तालाई सम्मान गरिएको थियो भने बार काउन्सिलको परीक्षामा उत्कृष्ट भएका १० जनालाई सम्मान गरिएको थियो । साथै, सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीद्वारा लिखित ‘नेपाली कानुन साहित्यको सिंहावलोकन’ उत्कृष्ट पुस्तकलाई पुरस्कृत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप