शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लन्डनको ‘वर्ल्ड ट्राभल मार्केट’ मा नेपालको पर्यटन प्रवर्धन (फोटोफिचर)

शुक्रबार, २५ कात्तिक २०७९, २२ : ५२
शुक्रबार, २५ कात्तिक २०७९

पर्यटनसम्बन्धी विश्वकै कुम्भ मेलाको रुपमा हेरिने ‘वर्ल्ड ट्राभल मार्केट (डब्लुटिएम)’ नोभेम्बर ७ देखि ९ सम्म लन्डनको एक्सेलमा सम्पन्न भएको छ । कार्यक्रममा नेपालको पनि उत्साहजनक सहभागिता रह्यो । सो कुम्भ मेलामा भाग लिन नेपालबाट ट्राभल टुरिजम सम्बन्धि २४ वटा नेपाली कम्पनी सहभागी थिए ।

‘वर्ल्ड ट्राभल मार्केटमा अवस्थित नेपाली स्टललाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले उद्घाटन गरेका थिए । नेपालको प्रतिनिधित्व गरेर आएका विभिन्न नेपाली कम्पनीमार्फत नेपालको पर्यटन क्षेत्र थप मजबुत बन्ने र  देशको आर्थिक क्षेत्रमा पनि सुधार हुने आचार्यले बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीसहितको टोलीले नेपालको प्रतिनिधित्व गरेको थियो । नेपालको पर्यटनस्थल र  सम्भाव्यताको बारेमा विश्वभर प्रचार भएको र यसले नेपालको पर्यटन क्षेत्रलाई ठूलो सहयोग पुग्ने रेग्मीले बताए । मेलामा विभिन्न मिडियामार्फत नेपालको पर्यटन क्षेत्रलाई प्रचार प्रसार र  प्रवर्द्धन गर्ने अवसर मिलेको उनको धारणा छ ।

बेलायतका लागि पर्यटन दूत महन्त श्रेष्ठले भने– ‘यो नेपालको लागि ठूलो अवसर हो, नेपालले यसको प्रत्यक्ष फाइदा लिन सक्नुपर्छ ।‘ सहभागिता मात्र ठूलो कुरो होइन, मेलामा रहेका विश्वभरिका व्यापार व्यवसायलाई अवलोकन गरेर त्यसलाई नेपालमा पनि विस्तार र कार्यान्वयन गर्नुपर्छ’ उनले भने । जलस्रोत र पर्यटन क्षेत्र  नेपालको अमूल्य सम्पति भएकोले यसको सदुपयोग गर्न सके नेपाल विश्वकै अग्रपंक्तिमा पर्न सक्ने श्रेष्ठले बताए ।

मेलामा नेपाली व्यवसायीहरूले आफ्नो व्यापार तथा व्यवसायलाई विश्वभर चिनाउन सफल भएको सहभागीहरू बताउँछन् । कोभिड महामारीका कारण विगतका वर्षमा स्थगित रहेको वर्ल्ड ट्राभल मार्केट यो वर्ष प्रत्यक्ष रुपमा सम्पन्न भएको हो । विश्वका एकसय बढी देशका करिब २५ सय प्रदर्शक सहभागी हुने उक्त ट्राभल मेलामा करिब ६ दर्जन बढी सेमिनारहरु भएका थिए । 

मेलामा विश्वभरका सबै प्रकारका पर्यटन आपूर्तिकर्ता र राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटन संगठन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, ट्राभल एजेन्ट, टूर अपरेटर, होटल व्यवसायी, ट्राभल ट्रेक कम्पनी, यातायात अपरेटर, एयरलाइन्स, साहसिक खेलकुद कम्पनी सञ्चारमाध्यम लगायतको सहभागिता थियो । ‘वर्ल्ड ट्राभल मार्केट (डब्लुटिएम) अर्को वर्ष सन् २०२३ नोभेम्बर ६ देखि ८ सम्म हुनेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप