मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : आफूलाई अब्बल देखाउने होडमा उम्मेदवार, राप्रपाको प्रचारमा मनिषा कोइराला

शुक्रबार, २५ कात्तिक २०७९, २२ : १०
शुक्रबार, २५ कात्तिक २०७९

आज मिति २०७९ साल कात्तिक महिनाको २५ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।

१. अब्बल देखाउने होड

मंसिर ४ गतेको चुनावमा जतिसुकै कमजोर भएपनि उम्मेदवारले आफू नै अब्बल भएको दाबी गर्दै चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् । चुनावको मिति जति नजिकिँदै छ, उति नै दल तथा उम्मेदवारले प्रचारप्रसारलाई तिव्रता दिएका हुन् । यस्तै रातोपाटीले देशका विभिन्न स्थानमा पुगेर चुनावको रिपोर्टिङ गर्दै आएको छ । सिन्धुपाल्चोक, नवलपरासी, चितवन, कास्की, कालीकोट, गुल्मी, कञ्चनपुर, तनहुँलगायतका जिल्लाका रिपोर्टिङका समाचार

हेर्नुहोस् :

२. चुनावी खर्च

प्रथम जनआन्दोलन २०४६ पछि हालसम्म भएका आम निर्वाचनमा राज्य कोषबाट  ६३ अर्ब २० करोड रूपैयाँ बराबर बजेट खर्च हुने देखिएको छ । जनआन्दोलनपछिको पहिलो निर्वाचन २०४८ मा जम्मा ८० करोड रूपैयाँ बराबर बजेटमात्रै खर्च भएको थियो । तर, २०६२/६३ को दोस्रो आन्दोलनपछि भएको पहिलो संविधानसभा र त्यसपछिका निर्वाचनमा खर्च ह्वात्तै बढेको तथ्यांकले देखाएको छ । 

​३. राप्रपाको प्रचारमा मनिषा

राप्रपाको चुनावी प्रचारमा अभिनेत्री मनिषा कोइराला होमिएकी छन् । उनी शुक्रबारदेखि राप्रपाको चुनावी प्रचारमा होमिएका हुन् । उनी शुक्रबार गण्डकी प्रदेशसहित काठमाडौंका चुनावी सभामा सहभागी भइन् ।

यसैगरी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले तीन दशकदेखि मुलुकको नेतृत्व गर्ने ठूला राजनीतिक दल र व्यवस्था असफल भएको टिप्पणी गरेका छन् ।  शुक्रबार काठमाडौंको वसन्तपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले ठूला राजनीतिक दलको नेतृत्व र व्यवस्था नै असफल भएकाले वैकल्पिक शक्तिका रुपमा राप्रपा आएको बताए ।

​४. पुरानो मुद्दा हेर्न छुट्टै इजलास

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पाँच वर्षभन्दा पुराना मुद्दालाई हेर्न छुट्टै इजलास गठन गर्ने बताएका छन् । नेपाल कानुन व्यवसायी परिषदले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले १३ वर्षदेखिको मुद्दाको चाङ न्यायालयमा रहेको उल्लेख गर्दै त्यसलाई सम्पादन गरेर पीडितलाई न्याय दिन सो व्यवस्था गर्न लागिएको समेत स्पष्ट पारे ।

यसैगरी राप्रपाका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रले कांग्रेस नेता गणेशमान सिंहको राजनीतिको उत्तराधिकारी आफू भएको दावी गरेका छन् । शुक्रबार राप्रपाले काठमाडौंमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले यस्तो दावी गरेका हुन् ।

​५. ओलीको भनाइ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई हुँडारको संज्ञा दिएका छन् । शुक्रबार सुनसरीको धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले पछिल्लो पटक वामपन्थी आन्दोलन थिति विधिअनुसार नचलेको भन्दै एमाले जनताको पार्टी भएकाले त्यसको प्रतिवाद गरिरहेको बताए ।

​नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंसिर ४ मा हुने निर्वाचन विकास र शान्तिलाई अघि बढाउने र त्यसलाई रोक्ने बीचको जनमत संग्रह भएको बताएका छन् ।

गोरखाको जौबारीमा शुक्रबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले परिवर्तनका पक्षधर र विरोधी बीचको लडाईं भएकाले परिवर्तनका पक्षधरले जित्नुपर्ने बताए ।

​प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले नेपाल कता जाने हो भन्ने कुराको फैसला गर्ने बताएका छन् । वाम लोकतान्त्रिक गठबन्धन काठमाडौं क्षेत्र नं १० ले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले ठूलो संघर्षपछि प्राप्त भएको संविधानको रक्षा गर्नु आजको आवश्यकता भएको बताए ।

६. प्रमुख निर्वाचन आयुक्तको आग्रह

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारका क्रममा हुने फजुल खर्चले वित्तीय अनुशासन उल्लघङ्नका साथै अर्थतन्त्रलाई प्रभावित पार्ने भएकाले कम खर्चमा मतदातासमक्ष दल र उम्मेदवारहरूलाई जान प्रेरित गर्ने गरी समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।

​७. रोहित बने कप्तान

नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेललाई राष्ट्रिय क्रिकेट टिमको कप्तान नियुक्त गरेको छ ।  क्यानले शुक्रबार रोहितलाई राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तान नियुक्त गरेका जनाएको छ ।

८. सहकारीका कुरा

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सहकारी क्षेत्रमा देखिएका समस्या बिस्तारै कम हुँदै गएको बताएका छन् । महासंघ र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा शुक्रबार काभ्रेपलान्चोकको धुलिखेलमा भएको सञ्चारकर्मीको क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै उनले केही समय अगाडि सहकारी क्षेत्रमा धेरै समस्या देखिएको भएपनि ती समस्या बिस्तारै कम हुँदै गएको बताए । तर, बैँक तथा वित्तीय क्षेत्र जस्तै सहकारी क्षेत्रमा पनि तरलताको संकट भने यथावत् रहेको उनको भनाइ छ ।

​९. विदेशबाट उद्धार

वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ ।

नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरूलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ । अलपत्र परेका उनीहरूलाई धर्म ओभरसिज प्रालि र सञ्चारकर्मी जीवन शर्माको पहलमा गए राति स्वदेश ल्याइएको हो ।

​१०. र, यो पनि

नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ३३९ जनामा गरिएको नमुना परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

​ललितपुरको जावलखेलस्थित लभ्ली होम चाइल्ड केयर एण्ड किन्डर गार्डेनमा बालकको मृत्यु भएको छ । रामेछापको दोरम्बा सैलुङ गाउँपालिका घर भएर ललितपुर–१५ खुमलटार बस्ने ११ महिनाका याङमिन मगरको मृत्यु भएको हो ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप