शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

मकवानपुरको बागमती नदीमा एक लाख माछाका भुरा छाडियो

शुक्रबार, २५ कात्तिक २०७९, १९ : २१
शुक्रबार, २५ कात्तिक २०७९

प्राकृतिक जलाशय तथा नदी नाला र खोलामा  माछाको  अभाव हुन नदिने उद्देश्यले मकवानपुरको बागमती नदीमा एक लाख माछाका भुरा छाडिएको छ । हाल त्यहाँ माछाको कमी हुँदै गएको छ । मकवानपुरको बागमती गाउँपालिकास्थित झुरझुरेमा बागमती नदीमा एक लाख माछाका भुरा छाडिएको प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन केन्द्रको कार्यालय हेटौंडा मकवानपुरले जनाएको छ । 

सो कार्यालयको आयोजनामा बागमती नदीमा एक लाख रहु र नैनी जातका माछाका भुरा छाडिएको हो । कार्यालय प्रमुख सरोजकुमार यादव तथा बागमती गाउँपालिकाका अध्यक्ष  सर्केश घलानद्वारा संयुक्तरूपमा माछाका भुरा नदीमा छाडिएको हो । प्रमुख यादवले प्राकृतिक जलाशयमा जलीय जैविक विविधता संरक्षण तथा त्यसमा आश्रित समुदायको जीवन उकास्नका लागि स्थानीय जातको माछा छोड्ने कार्यक्रम गरिएको जानकारी दिए ।

नेपालमा हाल चार लाख एक हजार हेक्टर प्राकृतिक जलाशयको क्षेत्रफल रहेको र उत्पादन हुने कूल ९७ हजार मेट्रिकटन माछामध्ये २१ प्रतिशत माछा प्राकृतिक जलाशयबाट उत्पादन हुने गरेको बताए । सोमध्ये प्राकृतिक जलाशयमा चार लाख जनसङ्ख्या निर्भर रहेको यादवको भनाइ छ ।  सोही अवसरमा गाउँपालिका अध्यक्ष घलानले वर्तमान समयमा खोलानालामा विभिन्न विद्युतीय उपकरणको प्रयोग र कलकारखानाबाट फालिएको विभिन्न रसायनका कारण खोलानालामा माछाको सङ्ख्या घट्नुका साथै विभिन्न जातका माछा लोप भइरहकाले यस कार्यलाई सबैले मिलेर रोक्नुपर्ने आग्रह गरे । 

उक्त कार्यालयले यसअघि नारायणी नदीमा ४० हजार माछाका भुरा, मकवानपुरको सामरी नदीमा पनि ३४ हजार माछाको भुरा चालु आर्थिक वर्षमा छाडेको थियो । आर्थिक वर्ष २०७९/०८० को कार्यालयको कार्यतालिकाअनुसार कोसी, कर्णाली, सप्तकोसी र कालीगण्डकी नदीलगायतका नदीमा भुरा माछा छाड्ने कार्यक्रम रहेको प्रमुख यादवले भने । सो कार्यालयमा बजेट र जनशक्तिको अभावले काम गर्न समस्यासमेत रहेको त्यहाँका कर्मचारी बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप