शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘सहकारीहरुबीच बढी लाभांशको होडबाजी चल्यो, सहकारीको पैसा बैंकमा जान थाल्यो’

शुक्रबार, २५ कात्तिक २०७९, १७ : ४८
शुक्रबार, २५ कात्तिक २०७९

राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाले अहिले सहकारी संस्थाहरूबीच बढी लाभांश वितरणको होडबाजी चलेको बताएकी छन् । राष्ट्रिय सहकारी महासंघ र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा शुक्रबार काभ्रेको धुलिखेलमा भएको सञ्चारकर्मी क्षमता अभिवृद्धि कार्यक्रममा उनले पछिल्लो समय सहकारी संस्थाहरूबीच बढी लाभांश वितरणको होडबाजी चलेको बताएकी हुन् । 

उनका अनुसार सहकारी संस्थाहरूले अधिकतम १८ प्रतिशत मात्रै लाभांश वितरण गर्न पाउने नीतिगत व्यवस्था भएपनि अधिकांश सहकारीहरूबीच जतिसक्दो बढी लाभांश वितरण गर्ने होडबाजी चलेको छ । यस्तै, उनले अहिले बैँक तथा वित्तीय संस्थामा तरलताको समस्या भएको कारण सहकारी संस्थाको रकम पनि बैँकमा जान थालेको बताइन् । उनले अहिले सहकारी संस्थहरुबीच मर्जरको विषयले पनि प्राथमिकता पाएको बताउँदै अब बिस्तारै ती समस्या पनि कम हुँदै जाने विश्वास व्यक्त गरिन् । 

‘अहिले थुप्रै संस्था मर्जरमा जान थालेका छन्, धेरैमा लाभांश वितरणमा होडबाजी पनि चलेको छ, ऐनले १८ प्रतिशतसम्म लाभांश वितरण दिन सक्ने व्यवस्था गरेपनि सहकारी संस्था भने जतिसक्दो बढी दिने होडबाजी सुरु भएको छ, अब यो होडबाजीको अन्त्य हुनुपर्छ, बजार केन्द्रित सहकारीमा तरलताको दबाब छ, बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव भएकै कारण सहकारी क्षेत्रको रकम बैँकमा जान थालेको हामीले बुझेका छौं,’ उनले भनिन् । 

उनले सहकारीहरूमा स्वनियमन र सुशासनको कमी देखिएको बताइन् । उनका अनुसार  सहकारी क्षेत्रमा स्वनियमन र सुशासनको कमी भएकै कारण अहिलेको समस्या देखिएको हो । ‘पछिल्लो समय विश्वसनियतामा कमी आई सहकारीको प्रतिष्ठामा चुनौती थपिएको छ, बचतकर्ताको बचत फिर्ता गर्न नसक्दा अभियानको प्रतिष्ठामा आँच आएको छ,’ उनले भनिन्, ‘अहिले सबैको चासोको रुपमा सहकारी क्षेत्र रहेको छ, हामीले यस विषयमा गम्भीर भएर समीक्षा गर्न आवश्यक छ ।’
उनले सन्दर्भ ब्याजदरको क्यापिङले पनि सहकारीको पूँजी व्यवस्थापनमा कठिनाइ भएको धारणा राखिन् । ऋणीमा पनि ब्याज तथा किस्ता तिर्नुपर्छ भन्ने मानसिकता नभएकै  कारण पनि कतिपय सहकारीमा समस्या देखिएको उनको भनाइ छ । 
राष्ट्रिय सहकारी महासंघले १० वर्षे रणनीति बनाएर काम गरिरहेको बताउँदै उनले सहकारी संस्थाहरूले पनि आन्तरिक स्वनियमन प्रणालीलाई मजबुत बनाउन आवश्यक रहेको धारणा राखिन् । उनले कतिपय सहकारीहरू सदस्यभन्दा पनि बजारमा केन्द्रित भएको कारण पनि अहिलेको समस्या देखिएको बताइन् । उनले कर्जा सूचना केन्द्र नभएकै कारण सहकारी क्षेत्रमा एउटै व्यक्तिले पनि धेरै सहकारीमा प्रभावित पार्ने खालका गतिविधि गरिरहेको पाइएको उनको भनाइ छ । 

‘कर्जा असुली न्यायधीकरण, बचत तथा ऋण सुरक्षण कोष, कर्जा सुरक्षण कोष लगायतका  विषयमा अब हामी अगाडि बढ्नुपर्छ, यो विषयलाई प्राथमिकताका साथ लागू गर्नुपर्छ, सहकारी क्षेत्र र सञ्चार क्षेत्रको सहकार्य पनि आवश्यक छ, सबैले अनुशासित काम गर्यो भने आम सर्वसाधारणले विश्वास गर्छन्, समग्र सहकारी क्षेत्रको विकासका लागि टेवा पुग्छ,’ उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप