बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

कञ्चनपुर–२ पनि ओली संस्करण दुई हो : एनपी साउद

शुक्रबार, २५ कात्तिक २०७९, १७ : १४
शुक्रबार, २५ कात्तिक २०७९

कञ्चनपुर–२ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका एनपी साउद विकासको एजेण्डासहित चुनावी प्रतिस्पर्धामा छन् । विगतमा आफूले अघि बढाएका योजना पुरा गर्ने र सरकारसँगै गैरसरकारी संस्थालाई पनि संलग्न गराएर विकास अगाडि बढाउने उनको भनाइ छ । चुनावी अभियानकै क्रममा रहेका साउदसँग रातोपाटीले गरेको चुनावी केन्द्रित कुराकानी यहाँ प्रस्तुत गरिएको छ – 

कञ्चनपुर २ मा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा आउनु भएको छ । चुनावी तयारी कसरी अगाडि बढ्दै छ ?

कञ्चनपुर क्षेत्र नम्बर २ नेपाली कांग्रेसको परम्परागत आधार क्षेत्र रहँदै आएको छ । यहाँ हामीले टोल भेला गरौँ । टोलटोलमा हुने भेटघाट तीव्रता दिएका छौं । कांग्रेस र माओवादीका संयुक्त संयन्त्रमार्फत कार्यक्रमहरु भएका छन् ।​ भ्रातृ संस्थालाई परिचालन भएको छ । विभिन्न ठाउँमा कोणसभामार्फत हामीले जनतालाई सम्बोधन गर्दैछौँ ।

कञ्चनपुरमा कांग्रेस र माओवादीले एकीकृत समाजवादीलाई बेवास्ता गरेको देखियो । एकीकृत समाजवादी यहाँ सत्ता गठबन्धनसँग छ कि छैन ?

प्रतिनिधिसभामा म पाँच दलकै साझा उम्मेदवार हुँ । प्रदेश (१)मा पनि गठबन्धनको उम्मेदवारलाई एकीकृत समाजवादीको समर्थन छ । प्रदेश (२)को हकमा माओवादीले हामीलाई समर्थन गरेको छ । समाजवादी मित्रवत् प्रतिस्पर्धामा छ ।

 

यस्तो अवस्थामा प्रतिनिधिसभा र प्रदेश (१)मा समाजवादीको मत ट्रान्सफर गराउन सक्नुहुन्छ ?

एकीकृत समाजवादीको केन्द्रले नै साझा उम्मेदवार कहाँ कहाँ दिने भनेर निर्णय गरिसकेको छ । प्रदेश (२)मा उहाँको मित्रवत प्रतिस्पर्धा छ । कांग्रेसले आफ्ना उम्मेदवारलाई भोट दिने नै भयो । उहाँले पनि मलाई सहयोग गरिनैराख्नु भएको छ ।

सत्ता गठबन्धनको साझा उम्मेदवारको दृष्टिकोणले एमालेसँग चुनावी प्रतिस्पर्धालाई कसरी हेर्नु भएको छ ?

यहाँ कांग्रेस मजबुत नै छ । स्थानीय निर्वाचनमा कांग्रेस पहिलो पार्टी बनेको छ ।  ०७४ मा एमाले र माओवादी मिल्दा हाम्रो विपक्षमा परिणाम गएको हो । माओवादी र हामी मिलिसकेपछि गठबन्धनले जित्ने ठाउँमा छौँ ।

यसअघि तपाईं पराजित हुनुभयो, अब तपाईंले जित्दा जनताले के पाउँछन् ?

मैले सुरु गरेका विकास निर्माणका काम कारबाहीलाई अहिले एमालेले निरन्तरता दिन सकेजस्तो देखिँदैन । पुल, पुलेसा, बाटाघाटा अलपत्र छन् । कुनै पनि नयाँ प्रोजेक्ट यहाँ सुरु गरिएको छैन ।

एमालेका जनप्रतिनिधि जनतासँग सम्पर्कविहीन भएर बसेको छन् भन्ने जनगुनासो छ । संसदमा राष्ट्रिय लेबलको पर्फमेन्स भएन । संसदमा यो क्षेत्रका माग र समस्याको पहुँच स्थापित हुन सकेन । यहाँका जनता एमालेसँग असन्तुष्ट छन् । उनीहरू अहिले कांग्रेसमत्री भएर अगाडि आएको मैले पाएको छु ।

नरबहादुर धामीले तपाईँले मन्त्री हुँदा गरेको काम भन्दा पाँच वर्षमा दोब्बर बढी काम भएको भन्नुभयो । तपाईं कामै भएन भन्नुहुन्छ ?

अरू कुरा किन गर्ने ? हाम्रो बेला आएको विकास बजेट हेर्नुस्, उहाँहरुको बेला आएको विकास बजेट हेर्नुस् । त्यो हेर्दा थाहा भइहाल्छ । तस्विर आफै बोल्छ । मेरो पालामा धेरै नदीमा तटबन्धनका काम सुरु भएका थिए ।

४० वटा पुल हाम्रो बेला सुरु भएका थिए । ४४ वटा खानेपानीका आयोजना हाम्रो बेला सुरु भएका थिए । अहिले एमालेको सरकार ढलेपछि ३० विद्यालयमा राष्ट्रपति शैक्षिक कार्यक्रम अन्तर्गत भवन आएका छन् । १० करोड बराबरको तटबन्धको ठेक्का भएको छ । हामीले सुरु गरेका ठूला आयोजना उहाँहरूले अगाडि बढाउन सक्नु भएन ।

तपाईँको चुनावी एजेण्डा के छन् ?

आगामी पाँच वर्षमा कञ्चनपुर २ को हाँडीगाँसमा मेरो पालमा सुरु भएको महाकाली तेस्रो चरणको नहर बन्दै छ । त्यसबाट हाँडीगाँसमा यातायात, सिचाइँ पनि दिन्छौं । डाढीबाट बग्ने नदी नियन्त्रण गर्न जरुरी छ । पतरिया, राधा, स्याली, सुनबाडा, बण्ड, मोहना, मछेदीलगायत यी सबै नदी आसपासमा डुवान र कटान समस्या छ ।

त्यसलाई योजनाबद्ध किसिमले गुरुयोजना बनाएर नियन्त्रण गर्नुपर्ने आवश्यकता मैले देखेको छु । दक्षिणतिर दुई वटा महत्त्वपूर्ण सडक बनाउने मैले लक्ष्य लिएको छु ।

बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकालाई ‘इन्टर लिंक’ गरेर पूर्वाधार विकास प्रक्रियालाई अगाडि बढाउँछु।

चुरेबाट बग्ने नदीहरुले जनताका घरखेत तहसनहस गरेका छन् । बाढी र डुबानको समस्या छ, त्यसलाई निराकरण गर्ने योजना छ । यहाँ २४ वटाजति आरक्ष, कमैया, हलिया र बाढीपिडित शिविर छन् ।

सीमान्तकृत समुदाय बस्ने ती शिविरहरुको एकीकृत बस्ती राखेर विकास योजना व्यवस्थित रुपमा चलाउन सकिन्छ । सरकारसँगै गैरसरकारी संस्थालाई पनि संलग्न गराएर विकास अगाडि बढाउँछु ।

कञ्चनपुर २ मा आरक्षको विषय हरेक चुनावमा एजेण्डा बन्छ, पछि हराउँछ भन्ने त्यहाँका बासिन्दाको गुनासो छ । यो किन यस्तो भइरहेको छ ?

राजनीतिक आयोगहरुले संख्या बढाएर सिर्जना गरिएको समस्या थियो । यो संख्या बढाउने क्रमलाई पूर्वप्रधानन्यायधीश ठाकुरप्रसाद शर्माको अध्यक्षतामा बनेको आयोगले बन्द गरिदिएको छ । १४ सय ८० भनेर यकिन गरिदिएको पनि छ । केही खास मान्छे छुटेका छन् भने प्रमाण ल्याउ भनिएको छ ।

अब उनीहरुलाई दिने के क्षतिपूर्ति दिने भन्ने कुरा हो । मैले उनीहरुलाई आवासका लागि घर र क्षतिपूर्तिवापत केही रकम दिएर यो समस्यालाई सधैका लागि समधान गरेर अगाडि बढ्छु ।

एमालेका उम्मेदवारसँग चुनावी प्रतिस्पर्धालाई कसरी लिनु भएको छ ?

धेरै मान्छेलाई केही समयका लागि झुक्याउन सकिन्छ । सधैं झुक्याउन सकिँदैन । उहाँहरूको वास्तविकता जनताले थाहा पाइसकेका छन् । उहाँले के गर्नुहुन्छ, कति गर्न सक्नु हुन्छ, कसरी गर्नुहुन्छ त्यो देखिएको छ । कञ्चनपुर क्षेत्र नम्बर २ का लागि उम्मेदवारहरू अब नयाँ छैनन् । म पनि पहिले निर्वाचित भइसकेको हुँ । नरबहादुरजी पनि निर्वाचित हो । अब जनताले मूल्यांकन गर्नुहुन्छ । अब मान्छे किन बोल्ने ? कामले बोले भयो नि !

चुनावी प्रचारका लागि यहाँका ३० वटै वडामा पुगिसकेँ भन्नु भयो । मतदाताको मनोविज्ञान कस्तो पाउनु भएको छ?

एमालेसँग रुष्ट छन् । उहाँले गर्न नसक्ने कुरा गर्छु भन्नुभयो । जसरी ओलीजीले पानीजहाज चलाउँछु, रेल ल्याउँछु, चुलोमै ग्यासको पाइपलाइन जोड्छु भनेर दुई तिहाइ पाउनु भयो । तर सरकार बचाउन सक्नु भयो ? अरु त अरु आफ्नो पार्टी पनि बचाउन सक्नु भएन । यहाँ पनि त्यही हो, कञ्चनपुर २ पनि ओली संस्करण दुई हो । यहाँ कुरा ठूला, ठूला गरेका सुनिन्थ्यो । तर फिल्डमा काम भएको केही देखिँदैन । एमालेकै साथीहरू ज्यादा निराश छन् ।

चुनाव जित्नेमा कति विश्वस्त हुनुहुन्छ ?

म मेहनत गरिराखेको छु । ठूलो डिङ हाक्ने पक्षमा छैन । घर–घर गएर व्यक्ति–व्यक्तिसँग भेट्ने कोसिस गरिरहेको छु । हाम्रो र माओवादीको मत जोडियो भने करिब २५ हजारको अन्तर देखिन्छ । अब जनता जनार्दन ।

त्यो मतलाई जोगाउन सक्नुहुन्छ ?

माओवादी र हामी एक ढिक्का छौं । पाँच दलीय गठबन्धन एक ढिक्का छ ।

गठबन्धनका दलको मत एक अर्कामा ट्रान्सफर हुने देख्नुहुन्छ ?

हामीले गठबन्धन गरेर सँगै सरकार चलाइराखेका छौं । सँगै हिँडिराखेका छौं, संँगै काम गरिराखेका छौं, एउटै लक्ष्यमा हिँडिराखेका छौं । यो गठबन्धन हामीले चुनाव जित्न मात्र बनाएका होइन । यसले बहुमत ल्याएर स्थिर सरकार दिनेछ । संसदलाई अदालतले संवैधानिक भन्ने गरी ओलीजीको जसरी पटक पटक भंग गर्ने होइन । संसदलाई पनि पाँच वर्ष चलाउने हो ।

तर तपाईंहरुको गठबन्धनलाई एमाले अध्यक्ष केपी ओलीले सिद्धान्तविहीन र भिजनलेसको संज्ञा दिनु भएको छ नि ?

गठबन्धन भनेकै दुई–तीन मिल्ने कुरा हो । गठबन्धनमा एक पार्टी हुँदैन । फरक फरक पार्टीका आ–आफ्ना विचार र सिद्धान्त हुन्छन् । तर एउटा सिद्धान्त हामी सबैको मिल्छ । त्यो हो देश बचाउनु र देश बनाउने पर्छ । देश बचाउन र देश बनाउने हाम्रो रोडम्याप छ । त्यसका लागि चुनावअघि नै घोषणापत्र निकालिराखेका छौं ।

गठबन्धनमा रहेका सबै दलको घोषणापत्र फरक फरक छ । चुनावपछि गठबन्धनको बहुमत आउँदा कसको घोषणापत्र लागू गर्नुहुन्छ ?

सबैका घोषणापत्र आदर्शमुखी छन् । तर नीति कार्यक्रम एउटै छ ।

चुनावी प्रचारमा गठबन्धन रक्षात्मक देखिन्छ । एमाले एक्लैको पनि गठबन्धनले किन प्रतिवाद गर्न सकेको छैन ?

उहाँहरू आत्तिएर बोलिराख्नु भएको छ । पाँच दलीय गठबन्धनका विरुद्ध लड्न कति असजिलो छ भनेर उहाँलाई थाहा छ । उहाँहरु आफै दोस्रो हो  । पहिलो दलले तेस्रो दलसहित अन्य दललाई मिलाएर गठबन्धन गर्दा उहाँहरु ठूलो दबाबमा हुनुुहुन्छ । दबाबको अभिव्यक्ति आक्रोशका रुपमा व्यक्त गर्नुहुन्छ । उहाँहरू चिच्याइराख्नु भएको छ, गाली गरिराख्नु भएको छ । अब पाँचदलीय गठबन्धनले पनि अपसंस्कृति बोक्नुपर्छ भन्ने छैन । हामी सालिन छौं, भद्र छौं । गठबन्धनले चुनाव जित्छ भन्ने कुरामा विश्वस्त छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप