शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सहकारी क्षेत्रमा देखिएका समस्या बिस्तारै कम हुँदैछन् : अध्यक्ष कँडेल

शुक्रबार, २५ कात्तिक २०७९, २३ : १६
शुक्रबार, २५ कात्तिक २०७९

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सहकारी क्षेत्रमा देखिएका समस्या बिस्तारै कम हुँदै गएको बताएका छन् । महासंघ र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा शुक्रबार काभ्रेपलान्चोकको धुलिखेलमा भएको सञ्चारकर्मीको क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै उनले केही समय अगाडि सहकारी क्षेत्रमा धेरै समस्या देखिएको भएपनि ती समस्या बिस्तारै कम हुँदै गएको बताए । तर, बैँक तथा वित्तीय क्षेत्र जस्तै सहकारी क्षेत्रमा पनि तरलताको संकट भने यथावत रहेको उनको भनाइ छ । 

उनले सहकारी क्षेत्रका समस्या समाधानका लागि राष्ट्रिय सहकारी महासंघ लागि परेको पनि बताए । ‘केही सहकारीको नियतका कारण राम्रो व्यवस्थापन भएका सहकारीमा पनि समस्या देखियो, अब बिस्तारै ती समस्याहरू न्यूनीकरण हुँदै गएका छन्, पछिल्लो समय सहकारीमा तरलताको समस्याका कारण केही संकट देखिएको हो, अब ती समस्या कम हुँदै गएका हुन् कि भन्ने हाम्रो बुझाइ छ,’ उनले कार्यक्रममा भने । 

उनले अब गल्तीहरूलाई औंल्याएर अगाडि बढ्नुपर्ने बताए । यस्तै, उनले सहकारी क्षेत्रका विषयवस्तुलाई सञ्चार क्षेत्रमा प्राथमिकता दिनका लागि सहकारी क्षेत्र र सञ्चार क्षेत्रको सम्बन्ध मजबुत बनाउन आवश्यक रहेको धारणा राखे । राष्ट्रिय सहकारी महासंघ १० वर्षे नीतिहरू अगाडि सारेर काम गरिरहेको बताउँदै उनले सिंगो सहकारी क्षेत्रको विकासका लागि सबैले हातेमालो गर्न जरुरी रहेको बताए । 

उनले सहकारी संस्थाहरू पनि अहिले वित्तीय विवरण सार्वजनिक गर्नमा ध्यान दिएको बताउँदै अब बिस्तारै सहकारी संस्थाहरूको वास्तविक अवस्था थाहा पाउन सहयोग पुग्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप