बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रमुख निर्वाचन आयुक्तको निर्देशन : फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्

शुक्रबार, २५ कात्तिक २०७९, २३ : ०६
शुक्रबार, २५ कात्तिक २०७९

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने व्यक्तिहरूलाई कारबाही गर्न खुट्टा नकमाउन निर्देशन दिएको छ ।  आयोगले कानुनको व्यवस्थालाई पूर्ण रुपमा अध्ययन गरी सतप्रतिशत कार्यान्वयन गराउन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको हो । कानुनको प्रभावकारी कार्यान्वयनबाट मात्रै निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित हुने भन्दै निर्वाचनलाई बिथोल्ने कुनै पनि व्यक्ति र तत्वहरुबारे कारबाही गर्ने कुरामा पछि नहट्न आयोगको निर्देशन छ ।

शुक्रवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कानुनको प्रभावकारी कार्यान्वयन गर्ने कुरामा निर्वाचन अधिकृतहरूले पूर्ण रुपमा पालना गर्न र गराउन निर्देशन दिए । उनले निर्वाचन बिथोल्ने गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिई निर्वाचन कसुर तथा सजाय ऐन अन्तर्गत कारबाही गर्नसक्ने बताए ।

प्रमुख थपलियाले कतिपय ठाउँमा जसरी पनि जित्नुपर्छ भन्ने मानसिकता भएका उम्मेदवारहरू रहेको भन्दै फर्जी मतदान हुने खतरा रहेकाले त्यसतर्फ बढी चनाखो हुन निर्वाचन अधिकृतहरूलाई निर्देशन समेत दिए । धेरै मतदान हुनु राम्रो भए पनि हुँदै नभएका व्यक्तिको मतदान गर्नु गम्भीर त्रुटी र निर्वाचन प्रतिको अवज्ञा भएकाले त्यसतर्फ सतर्कता अपनाउन थपलियाको आग्रह छ ।

‘हाम्रा सबै कानुनी व्यवस्था पूर्ण छन्, मात्रै पालना गर्नेले पालना गर्नुपर्छ, कार्यान्वयन गर्नेले कार्यान्वयन गर्नुपर्छ । म सबै मतदान अधिकृत साथीहरूलाई कानुनको व्यवस्थालाई पूर्ण रुपमा अध्ययन गर्न र आफ्नो तर्फबाट सतप्रतिशत कार्यान्वयन गराउन र यदि कसैले पालना नगरे त्यस्ता व्यक्तिलाई पनि कानुन बमोजिम कारबाही गर्न खुट्टा नकमाउन पनि अनुरोध गर्दछु’, प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘कानुनको प्रभावकारी कार्यान्वयनले नै निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष हुन्छ, कतिपय ठाउँमा मैले जसरी पनि विजय हासिल गर्नुपर्ने हुन्छ, निर्वाचन जित्नुपर्छ, भन्ने मानसिकता बोकेका प्रतिनिधि र उम्मेदवारहरूको कारणले फर्जी मतदान हुने खतरा पनि रहिरहने अवस्था हुन्छ ।’

उनले  धेरै मतदान हुनु राम्रो भएपनि हुँदै नभएका व्यक्तिको मतदाता नामावलीमा नाम भएको तर मतदान गर्ने दिन त्यहाँ उपस्थित नभएका व्यक्तिको मतदान गर्नु गम्भीर त्रुटी हो र निर्वाचन प्रतिको यो अवज्ञा हुने बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान गरिसकेको व्यक्ति पुनः मतदान गर्ने ठाउँमा आउँदा विभिन्न व्यवधान हुनसक्ने कुरालाई ध्यानमा राखेर सुरक्षा निकायसँग समन्वय गर्दै त्यस्ता गतिविधि हुन नदिन आग्रह गरे । निर्वाचन मतदानका बेला उम्मेदवारका प्रतिनिधि र उम्मेदवारहरूको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुने भएकाले निर्वाचन कार्यलाई निष्पक्ष र स्वतन्त्र बनाउने कुरामा सहयोग हुने अपेक्षा गरेको थपलियाले बताए ।

उनले निर्वाचन आयोगले निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन स्थानीय तहबाट नै स्वयंसेवकहरू परिचालन गर्ने जानकारी समेत दिए । ‘मतदान कार्यमा सहजता हुँदाहुँदै पनि मतदान गरिसकेको व्यक्ति पुनः मतदान गर्ने ठाउँमा आउँदा विभिन्न व्यवधान हुनसक्छन्, साथै नजिकको मतदान केन्द्रबाट मतदान गरिसकेर फेरि अर्को मतदान केन्द्रमा पनि मतदाताहरू गइदिने र त्यसले पनि अप्ठ्यारो स्थिति सिर्जना हुने गरेका छन् ।

यसमा सुरक्षा निकायसँग समन्वय गरी मतदान गर्नासाथ सबै मतदाताहरूलाई कुनै किसिमको भीडभाड हुन नदिइ आफ्नो घरतर्फ जानको लागि प्रेरित गर्ने, यदि कसैले आनाकानी गर्छ, निर्देशन पालना गर्दैन भने कानुन बमोजिम कारबाही गर्नको निम्ति पनि आवश्यक प्रक्रिया प्रारम्भ गर्न अनुरोध गर्दछु’, प्रमुख थपलियाको अनुरोध छ ।

तयारी अन्तिम चरणमा
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोग प्रतिनिधिसभा सदस्य एवं प्रदेशसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताए । उनले आयोगले अहिले सबै निर्वाचन अधिकृतको कार्यालयबाट मतदान कार्यमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरूको नियुक्ति भइ तालिम दिने प्रक्रिया प्रारम्भ भइसकेको भन्दै मतदानको निम्ति मतपेटिका, मतपत्र लगायत आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरूको समान महत्व भएकाले सामानहरू रुजु गर्दा ठीक भए÷नभएको र पर्याप्त भए/नभएको एकिन गर्न आग्रह गरे ।

उनले तोकिएको मतदान केन्द्रमा समयमा नै पुगि तोकेका निर्देशनका सूचनाहरू प्रकाशित गर्ने र ४८ घण्टा अघिदेखि कुनै पनि किसिमको प्रचारप्रसार गर्न निषेध गर्नुपर्ने व्यवस्था र मतदानको तीन दिनअघि सम्पूर्ण मतदान क्षेत्र भर, जिल्लाभर मदिरा निषेधित क्षेत्र घोषणा गर्नुपर्ने विषयलाई विशेष ध्यान दिन पनि निर्देशन दिए ।

मतदानको दिन मतदान केन्द्रको सम्पूर्ण निरीक्षण गरी मतदान कार्य प्रारम्भ गर्न निर्वाचन अधिकृतहरूलाई थपलियाको आग्रह छ । उनले निर्वाचनमा सबैभन्दा महत्वपूर्ण काम मतपत्रमा दस्तखत भएकाले निर्वाचन अधिकृतले यो कुरामा लापरबाही गर्न नहुनेमा सचेत गराए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले यो पटक ४ वटा छुट्टाछुट्टै मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था गरिएकाले मतदातालाई राम्रोसँग बुझाउन पनि निर्देशन दिए । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा मतदाता आउने कुरामा रोकतोक हुनसक्ने कुरामा पनि सचेत रहन आग्रह गर्दै आयोगले प्राकृतिक विपद् बाहेक अन्य कुनै पनि बहानामा मतदान कार्यलाई स्थगित गरी पुनः मतदान गर्ने कार्यलाई गम्भीर रुपमा लिएको बताए ।

कतै असमझदारी भए त्यसलाई केही समयका लागि स्थगन गरी फेरि अवस्थालाई सामान्य बनाएर मतदान कार्य प्रारम्भ गर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको आग्रह छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाताहरूले स्वच्छ, स्वतन्त्रता पूर्वक मतदानमा सहभागी हुन नसक्ने अवस्था सिर्जना भए अवस्थाको यथार्थ वस्तुस्थितिबारे आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा तत्काल जानकारी गराइ आयोगको निर्देशन बमोजिम कार्य अघि बढाउन पनि भनेका छन् ।

उनले कतिपय अवस्थामा स्वस्तिक छाप र स्ट्याम्प प्याडको कारणले पनि केही मतपत्रहरु बदर भएका उदाहरण सुनिएको भन्दै बेलाबखत त्यसको चेकजाँच गर्ने र कहीँ कतै समस्या देखिए तत्काल मतदानलाई केही समय स्थगित गरी सामग्रीको व्यवस्था गरेर मतदान कार्यलाई सुचारु गर्नतर्फ पनि ध्यानाकर्षण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप