शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मंसिर ४ निर्वाचन : बाँके–१ मा नयाँ पुरानाको प्रतिस्पर्धा

शुक्रबार, २५ कात्तिक २०७९, १४ : ३५
शुक्रबार, २५ कात्तिक २०७९

बाँके निर्वाचन क्षेत्र नं १ मा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजसँग नयाँ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका मन्त्री गहतराजसँग नेकपा (एमाले) का उम्मेदवार युवानेता सूर्य ढकाल चुनावी प्रतिस्पर्धामा छन् ।

यसअघि वि.सं २०७४ को निर्वाचनमा गहतराजलाई जिताउन खटिएका एमाले केन्द्रीय सदस्य ढकाल अहिले राप्रपासँगको चुनावी तालमेलमा गहतराजलाई चुनौती दिइरहेका छन् । बाँके क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार गहतराज दोस्रो पटक यस क्षेत्रमा प्रतिस्पर्धा गर्दै छन् भने एमाले नेता ढकालले पहिलोपटक जनताको माझ मत माग्दै छन् । ढकाललाई राप्रपासहितका गठबन्धनको समर्थन छ । बाँके क्षेत्र नं १ का जनताले परिवर्तन चाहेकाले यसपटक आफू जितको नजिक रहेको उम्मेदवार ढकालको दाबी छ । 

“कोहलपुर, राप्तीसोनारी र नरैनापुरमा मैले राजनीतिको धेरै समय र पसिना बगाएको छु, प्रत्येक टोल, बस्ती र घर–घरमा पुगेको छु, त्यसैले म बलियो र विजय नजिक छु”, उनले भने । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका युवा तथा खेलकुदमन्त्री गहतराज भने विगतमा गरेको कामका आधारमा यस क्षेत्रका जनताले पुनः आफूलाई नै निर्वाचित गर्ने दाबी गर्छन् । गठबन्धन दलको साझा उम्मेदवार भएकाले पनि आफू विजयी हुने उनको भनाइ छ । 

यो निर्वाचन क्षेत्रमा पर्ने कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिका स्थानीय तह निर्वाचनमा कांग्रेस विजयी भएको छ भने नरैनापुरमा जनता समाजवादी पार्टी निर्वाचित भएको छ । यी दुई स्थानीय तहका नौ वडामा एमालेले जित हासिल गरेको छ । नागरिकले व्यक्तिमात्रै होइन, पटक–पटक पार्टीसमेत नयाँ र फरक खोज्दै आएको नागरिक अगुवा डिलबहादुर परियार बताउँछन् । 

यो क्षेत्रमा विगतमा विसं २०४८ मा कांग्रेसबाट सैयदमेराज अहमद शाह, २०५१ र २०५४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रेमबहादुर भण्डारी, २०५६ मा कांग्रेसबाट ज्ञानु केसी, विसं २०६४ मा नेकपा माओवादीबाट तिलक परियार, २०७० मा एमालेबाट देवराज भार र २०७४ मा एमाले–नेकपा माओवादी केन्द्रको गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का महेश्वरजङ्ग गहतराज निर्वाचित भइसकेका छन् ।

यसैगरी बाँके निर्वाचन क्षेत्र नं १ (१) प्रदेशमा सत्ता गठबन्धनकी उम्मेदवार कृष्णा केसी नमूनासँगै राप्रपाका नरेन्द्र पौडेल र जनता समाजवादी पार्टीका अमर खड्का प्रतिस्पर्धामा रहेका छन् । तीनै जना उम्मेदवारले आफूले निर्वाचन जित्ने दाबीका साथ मतदाताको घरदैलोमा पुगेका छन् । प्रदेशसभा (२) मा सत्ता गठबन्धनबाट कांग्रेसका फुलाराम थारू र एमालेका दुर्गा थारूबीच चुनावी प्रतिस्पर्धा रहेको छ । उनीहरू दुवैजना पहिलोपटक निर्वाचनमा उम्मेदवार बनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप