बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मी–२ : विष्ट र झाँक्रीबीच ‘टुङ्कुला’ दोहोरी

शुक्रबार, २५ कात्तिक २०७९, १३ : १५
शुक्रबार, २५ कात्तिक २०७९

-भुवन कार्की  

आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि गुल्मी क्षेत्र नं. २ मा पनि चुनावी सरगर्मी बढेको छ । यस क्षेत्रमा प्रतिनिधि सभातर्फ मुख्य प्रतिस्पर्धी नेकपा एमालेका गोकर्ण विष्ट र एकीकृत समाजवादीकी रामकुमारी झाँक्री छन् । 

चुनावी चटारो लिएर यी दुवै नेताहरु घरदैलो तथा कोणसभामा व्यस्त छन् । चुनावी कोणसभामा बोल्ने यी दुई प्रतिस्पर्धीले भाषण गर्दा एक अर्कालाई च्वास्स घोचपेच पनि गर्ने गरेका छन् । एकछाक मासुभात, केही नगद र टुङ्कुला (गाउँघरमा बढी बिक्ने प्लास्टिक बोतलको सस्तो मदिरा) मा मतदाता किन्ने प्रयासहरु भइरहेको भन्दै उनीहरुले एक अर्कामा घोचपेच पनि गर्ने गरेका छन् ।

बिहीबार गुल्मीको मालिका गाउँपालिका- ६ अर्जैमा आयोजित कोणसभामा प्रतिस्पर्धी तर्फ इंगित गर्दै विष्टले भने, ‘तपाईहरुलाई यहाँ एकछाक मासुभात र एउटा टुङ्कुला दिएर भोट किन्ने प्रयास भएको छ तर होसियार रहनुहोला, गएको स्थानीय चुनावमा एकछाक मासुभात र एउटा टुङ्कुलाले पनि छक्काएछ, अब त्यसका पछि नालग्नुहोला ।’ विष्टले मालिका गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा पालिका प्रमुखमा एमालेले जित्न नसक्नु यस्तै कारण भएको चर्चा गरे । 

गुल्मी क्षेत्र नं. २ मा हालसम्मका विकासका काम आफ्नो पहलबिना कुनै पनि नभएको विष्टले दाबी गरे । गुल्मी २ का हरेक गाउँमा आफूले मोटरबाटो पुर्याएको, बिजुली, खानेपानी, स्वास्थ, शिक्षा जस्ता अत्यावस्यक आधारभूत आवश्यकता आफूले पुरा गरेको तर पर्याप्त भने हुन नसकेको उनले  उल्लेख गरे ।

यसअघि तीन पटक यही क्षेत्रबाट निर्वाचित नेता विष्टले विकासका धेरै पूर्वाधारका कामहरु थालनी गरिएको र ती सबैलाई पूर्णता दिन यसपटक पनि आफूले निर्वाचन जित्नुपर्ने जिकीर गरे । उनले जिल्लामा मदनभण्डारी राजमार्ग निर्माणको काम आफूले गराएको बताए । ५९ वटा पुलहरु निमार्णको काम थालेको र करिब आधा संख्यामा पुलहरुको निर्माण सम्पन्न भएको उल्लेख गरे । अन्तराष्ट्रिय रंगशाला निर्माणको प्रक्रिया शुरु गरिएको, एक सयवटा झोलुंगे पुलहरू निर्माणको प्रक्रियामा रहेको, ६० वटा सरकारी विद्यालयकमा निःशुल्क अंग्रेजी कक्षा शुरु गराइएको, हरेक पालिकामा १५ सैयाको अस्पताल निर्माण गरिएको, २७ वटा डांडाहरुलाई एक अर्कामा जोड्ने गरी आकाशेपुल निर्माण गर्ने योजना रहेको, रेसुङा विमानस्थल निर्माण जस्ता काम आफ्नो पहमा भएको विष्टले दाबी गरे ।

०७४ को निर्वाचनमा तत्कालिन बाम गठबन्धनबाट उम्मेदवार बनेर करिव १५ हजार मतान्तरले चुनाव जितेको र अहिले त्योभन्दा धेरै मतले आफूले निर्वाचन जित्ने विष्टले दाबी गरे ।

अभाव देखाएर दवावमा राख्न खोजियो : झाँक्री
गुल्मी २ मा एमालेका गोकर्ण विष्टसँग प्रतिस्पर्धामा रहेकी एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पनि एमाले उम्मेदवार विष्टले चुनावको बेला जनतालाई झुटा आश्वासनहरू दिने गरेको बताइन् । पुरा गर्नै नसक्ने कामको आश्वासन दिने गरेको भन्दै विष्टले अभाव देखाएर प्रलोभन युक्त दवाव दिने गरेको उनको तर्क थियो ।

गुल्मी २ को इश्मा गाउँपालिका वडा नं. २ रातेडाँडामा बिहीबार आयोजित कोणसभालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले विष्टप्रति इंगित गर्दै भनिन्, ‘कैयौं गरिब बस्तीमा अभाव देखार दवाव सृजना गरिएको छ, विभिन्न प्रलोभन देखाइएको छ, तपाईहरु त्यो प्रलोभनमा नलाग्नुहोला, सधैका लागि अभावमुक्त समाज बनाउन मैले नीतिगत रुपमै काम गर्नेछु, अभाव र दवावमा मैले तपाईहरुको भोट खरिद गर्दिन् ।’ यस क्षेत्रका जनताका जीवन स्तर उकास्न दीर्घकालिन योजनाको साथ आफू आएको भन्दै क्षेणिक स्वार्थमा नलाग्न मतदातालाई आग्रह गरिन् । उनले गाउँको परिचय बदल्ने गरी काम गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।

नेतृ झाँक्रीले गुल्मी २ मा विकासका कैयौं योजनाहरुको सुरुवात गरिए पनि ती पुरा हुन नसक्दा जनता निराश भएको उल्लेख गरिन् । गाउँमा बाटो पुर्याइए पनि बाह्रमास गाडी चल्न नसक्ने, पानीका धारा निर्माण गरिने तर पानी नचुहिने, स्वास्थ्य चौकी निर्माण गरिने तर प्राविधिक उपलब्ध नहुने, किसानलाई बिउ दिइने तर मल उपलब्ध नगराइने, किसानले जनतन उत्पादन गरेका वस्तुको बजार अभाव हुने जस्ता समस्याले गर्दा विकासले गति लिन नसकेको उनको भनाई थियो ।

यसअघिका निर्वाचित जनप्रतिनिधिले गर्न नसकेका अधुरा, अपूरा र अलपत्र पारिएका विकासका आयोजनाहरु पुरा गर्न आफूले उम्मेदवारी दिएको झाँक्रीले बताइन् । उनले भनिन्, ‘विकासका असरल्ल अपुरा आयोजना छन्, जसलाई चुनावमा भोट माग्नका लागि मात्र प्रयोग गरिएको छ, ती योजनालाई पुरा गर्न म आएकी छु, मेरो कार्यकालमा यी अधुरा अपूरा कामलाई सम्पन्न गर्नेछ ।’

नेतृ झाँक्रीले गुल्मी २ मा ग्रामीण सडकहरुको वर्गीकरण गरेर काम गरिने उल्लेख गरिन । न्यूनतम् आवश्यकता अनुसार अलपत्र र असरल्ल आयोजनालाई पनि वर्गीकरण गरेर काम थालिने उनको भनाई छ । उनले भनिन्, ‘वर्गीकरण नभएका ठाउँमा ग्रामीण रोड, फिडर रोड, रणनीतिक रोड र राष्ट्रिय राजमार्ग वर्गीकरण गरेर सडकका काम गर्नुपर्नेछ, अलिकति काम भौतिक मन्त्रालयले अघि बढाएको थियो, सहरी विकास मन्त्रालयमा मैले केही काम अघि बढाएकी थिंए तर समय अभावले गर्न सकिन्, ग्रामीण रोडहरु हरुलाई मापदण्ड बनाएर नमुना रोड बनाउन पर्नेछ, यी काम मेरो पालामा गर्नेछु ।’

उनले तत्कालका लागि चारवटा राष्ट्रिय राजमार्गहरु रुद्रवेणी, इन्द्रेगौडा, वामीटक्सार हुँदै मध्य पहाडी लोकमार्गमा ल्याउने, साझण्डी–ढोरपार्टन सडक, गुल्मी–प्यूठान सडक, पौदीअमराई–दर्लिङ सडकका काम अघि बढाइने नेतृ झाँक्रीले बताइन् । मदनभण्डारी राजमार्ग आफ्नै पहलमा शुरु गरिएको उनले उल्लेख गरिन् । अबको पाँच वर्षमा मुख्यतया चारवटा पुल निर्माण गरिने उनको भनाई छ । उल्ली खोलाले जीप बगाउँदाको नमिठो अनुभूति आफूसँग रहेको भन्दै यी मुख्य ठाउँहरुमा पुल निर्माण गरिने बताइन् । 

नेतृ झाँक्रीले ठूला र साना खानेपानी आयोजना, सामुदायिक विद्युतीकरण, ग्रामीण सडकको स्तरोन्नती, तम्घासको जिल्ला अस्पतालमा न्युनतम दुईवटा विषेशज्ञ सेवा गाइनो र अर्थोपेडिक सेवा दिने, रेसुङ्गा विमानस्थललाई पूर्णता दिएर संचालनमा ल्याउने लगायतका योजनाहरु आफूसंग रहको भन्दै एकपटक आफूलाई मतदान गरिेर जिताउन अपिल गरिन् ।

यस्तो छ अंक गणित
वि.सं २०७४ को निर्वाचनमा यहाँ तत्कालीन बाम गठबन्धनका उम्मेदवार एमाले नेता विष्टले ४३ हजार ६ सय १८ मत प्राप्त गरेर विजय भएका थिए भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रबहादुर केसीले २० हजार १ सय ५६ मत प्राप्त गरेका थिए । अहिले भने एमाले टुक्रिएर बनेको एकीकृत समाजवादीकी पूर्व सहकर्मी झाँक्री विष्टको प्रतिस्पर्धी बनेकी छन् । झाँक्रीलाई नेपाली कांग्रेस, माओवादी केन्द्रसहित सत्तारुढ पाँच दलीय गठबन्धनको साथ भएकाले यसपटक यहाँ निकै प्रतिस्पर्धा हुने बुद्धिजीवीहरु बताउँछन् । 

गत ३० बैशाखको स्थानीय तहको मत परिणाम अनुसार दुई वटा निर्वाचन क्षेत्र रहेको गुल्मीकमा हाल कायमै रहेको सत्तारुढ गठबन्धनका उम्मेदवारले ९ वटा पालिका प्रमुखमा जित हासिल गरेको छ भने एमालेले ३ वटा पालिका प्रमुख जितेको छ । गुल्मी २ मा विष्ट र झाँक्रीबीच निकै रोचक प्रतिस्पर्धा हुने देखिएको छ । प्रदेश सभातर्फ २ को (क) मा गठबन्धनका भुवनप्रसाद श्रेष्ठ र एमालेका डिल्लीराज भुसाल प्रतिस्पर्धामा छन् । (ख)मा गठबन्धनका बुद्धि जीसी र एमालेका दिनेश पन्थी प्रतिस्पर्धामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप