सप्तरी-२ : उपेन्द्र यादवलाई टक्कर दिँदै ठाकुर र राउत
आसन्न निर्वाचन मिति नजिकिएसँगै सप्तरी–२ मा चुनावी माहोल दिनप्रतिदिन चासोका साथ बढ्दै गएको छ । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि दुई राष्ट्रिय अध्यक्षसहित सत्तारुढ गठबन्धनका नेताबीच कडा प्रतिस्पर्धा हुने देखिएपछि सबैको चासो सप्तरी– २ मा देखिएको छ ।
निर्वाचन मिति नजिकिँदै जाँदा तीनै नेताहरु आ–आफ्नो पक्षमा पार्न मत तान्न दिनरात मतदाताको घरदैलोमा घोषणापत्र बोकेर पुग्ने गरेका छन् । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुर, जसपा–एमाले गठबन्धनबाट जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव तथा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतसहित १८ जना उम्मेदवार चुनावी मैदानमा छन् । मुख्य प्रतिस्पर्धा यिनै तीन उम्मेदवारबीच हुने स्थानीयहरू बताउँछन् ।
सप्तरीमा प्रतिनिधिसभा तर्फ चार र प्रदेशसभा तर्फ ८ निर्वाचन क्षेत्र रहेकोमा ९५ हजार ३ सय ४४ मतदाता रहेको यस क्षेत्रबाट २०७४ को निर्वाचनमा तत्कालीन राजपा हालको लोसपाका साथै नेपाली कांग्रेससमेतको साथ पाएर उपेन्द्र यादवले चुनाव जितेका थिए ।
यसपटक उपेन्द्रले एमालेसँग गठबन्धन गरि चुनावी मैदानमा आएका हुन् । अर्कोतिर अर्का प्रभावशाली नेता जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. राउतको उम्मेदवारीले पनि उनलाई चुनौती थपिएको छ । यादव र राउत दुवै महादेवा गाउँपालिका–२ का मतदाता हुन् । एउटै वडाका दुई प्रभावशाली नेताले एउटै निर्वाचन क्षेत्र रोजेपछि यस क्षेत्रको चुनावी प्रतिस्पर्धा थप रोचक बनेको हो ।
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार ठाकुर र जनमत पार्टीका अध्यक्ष समेत रहेका डा।राउतको पनि अहिले बलियो प्रतिस्पर्धा देखिन्छ । गत स्थानीय तहको मतपरिणालाई आधार मान्दा सत्तारुढ गठबन्धनका उम्मेदवार ठाकुर उपेन्द्र र डा।राउत भन्दा बलियो देखिएको नेपाली कांग्रेस सप्तरीका सचिव सनत मण्डल बताउँछन् ।
स्थानीयतहको निर्वाचनमा जसपा र एमालेले पाएको मत जोड्दा १९ हजार ७५ पुग्छ । जबकी सत्तारुढ गठबन्धनको मत ३७ हजार ३७३ पुग्छ । जनमतले भने स्थानीयतहको निर्वाचनमा यस क्षेत्रबाट ३ हजार २७१ मत प्राप्त गरेको थियो । जनमतको सांगठनिक मत कमजोर देखिए पनि डा। राउतको व्यक्तिगत छवि र बढ्दो क्रेजले जित्न सक्ने सम्भावना बढी रहेको केही मतदाताको बुझाइ छ । स्थानीय तहको निर्वाचनमा प्राप्त मतको आधारमा ठाकुरले चुनाव जित्ने सम्भावना प्रवल रहेको गठबन्धनको दावी छ ।
यस क्षेत्रमा राजविराज नगरपालिकाका, महादेवा, तिलाठी कोइलाडी र छिन्नमस्ता गाउँपालिका गरी ४ पालिका पर्दछ । जस मध्ये २ मा लोसपा र १-१ पालिकाको प्रमुखमा कांग्रेस र जसपाले जितेका छन् । संसदीय चुनावमा जित दोहोर्याउने दबावमा रहेका उपेन्द्र आफूले गरेको विकास निर्माण कार्यलाई प्रमुख एजेन्डा बनाएका छन् ।
जसपाको समेत अध्यक्ष रहेको यादवले आफ्नो कोही प्रतिस्पर्धी नै नभएको दावी गर्दै आएका छन् । पाँच वर्षमा विकास निर्माणका धेरै आधारहरु सुरू गरिसकेको जनताले पुनः आफूलाई नै मत दिने दावी गर्छन् ।
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार ठाकुरले स्थानीय तह निर्वाचनमा गठबन्धन भित्रका दलहरुले प्राप्त गरेको मत तथा अहिलेसम्म जनताकै काम गर्दै आएकाले चुनाव जित्नेमा पूर्ण आशावादी छन् । जनताको नजिक भएको र उनीहरुको सेवा गरेको आधारमा पनि आफू बलियो स्थितिमा पुगेको ठाकुरको बुझाइ छ ।
उनले आफू जिते सीमावर्ती भारतको निर्मलीसम्म पुगेको रेल सेवालाई भारत सरकारसँग कुटनीतिक पहल गरि जिल्लासम्म जोड्ने महत्वकांक्षी योजनाका साथै कृषि, स्वास्थ्य, शिक्षा, सडक, खेलकुद, पत्रकारिता लगायत क्षेत्र समेतको विकासका स्थानीय मुद्दा पनि समेट्दै मतदातासामू ३० बुँदे प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेका छन् । घरदैलोका क्रममा उनले आफू जिते सबैलाई समान व्यवहार गर्ने मतदातासमक्ष प्रतिबद्धता गर्ने गरेका छन् ।
पहिलोपटक निर्वाचनमा होमिएका जनमत पार्टीका अध्यक्ष डा. राउतले ठाकुर र यादवको मत काटेर आफूले चुनाव जित्ने बताए । नेताको आश्वासनबाट दिक्क भएका जनताले आफूलाई अवसर दिने र जित्नेमा उनी ढुक्क छन् । आगामी ४ मंसिरमा देशरभा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि निर्वाचन हुँदै छ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले बागमती कोरिडोरमा भएको क्षतितर्फ सरकारको अझै पुगेन ध्यान (तस्बिरहरू)
-
हेटौँडा–१२ : नागरिकको घरघरमा कांग्रेस उम्मेदवार तिवारी
-
एमाले तेह्रथुममा संस्थापनलाई पराजित गर्न ढुङ्गेलले बेहोरेको सकस
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन
-
ककनी–२ मा कांग्रेसकाे घरदैलो कार्यक्रम तीव्र