मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

नमस्कार गर्दै घरदैलोमा विनोद चौधरी, चोकचोकमा कोणसभा गर्दै हृदयेश त्रिपाठी

शुक्रबार, २५ कात्तिक २०७९, १० : ३३
शुक्रबार, २५ कात्तिक २०७९

शिव सत्याल र सुवास श्रेष्ठ

मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु मतदातालार्ई आफ्नो पक्षमा भोट हाल्ने बनाउने ध्याउन्नमा व्यस्त देखिएका छन् । यस्तै व्यवस्तता अर्बपति व्यापारीसमेत रहेका उम्मेदवार विनोद चौधरी र हृदयेश त्रिपाठीको पनि देखियो । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कांग्रेसका चौधरी सत्ता गठबन्धनको साझा उम्मेदवार र जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठी एमाले गठबन्धनको साझा उम्मेदवारको रुपमा चुनावी मैदानमा छन् ।

कात्तिक २४ गते रातोपाटीको टीम नवलपरासी (बर्दघाट सुस्ता पश्चिम (नवलपरासी पश्चिम)) पुग्दा चौधरी बर्दघाट नगरपालिकाको वडा नम्बर ८ मा पर्ने भुताहा नजिक सूर्यपूरामा घरदैलोमा भेटिए । सो क्षेत्रमा चौधरी स्थानीयको घरघरमा पुगेर भोट मागिरहेका थिए भने उनलाई स्थानीय काँग्रेस कार्यकर्ताले सहजीकरण गरिरहेका थिए ।

चौधरीले विकास र आर्थिक समुन्नतिको लागि आफू चुनावी मैदानमा आएको र काम गर्ने अवसर प्रदान गर्न आफू विजयी हुनै पर्ने बताइरहेका थिए । स्थानीय मतदाता पनि आफ्नो क्षेत्रको विकास हुने र आफ्ना सन्ततिले योग्यता अनुसारको रोजगारी पाउने आशमा चौधरीसँग कुराकानी गरिरहेका देखिन्थे । काँग्रेस उम्मेदवार चौधरीले घरदैलो गरी मत मागिरहेका थिए ।

यता एमालेको गठबन्धनबाट उम्मेदवार बनेका त्रिपाठी भने चोकचोकमा कोणसभा गर्दै मत मागिरहेका थिए । कात्तिक २४ गते मात्रै त्रिपाठी र एमालेले संयुक्त रुपमा बर्दघाट नगरपालिकाको वडा नम्बर १६ मा पर्ने सिद्धार्थ नगर, वनदेवी, कालुचोक, आलेचोक, केरावारी र डंगोलचोकमा कोणसभा आयोजना गरेको थियो ।

‘चोकचोकमा कोणसभा गर्ने र विशेष मान्छे भेट्ने योजना बनाएका छौं, घरघरमा पुगेर मान्छे भेट्ने सम्भवना छैन, त्यसैले सम्भव हुने काम गरेका छौं,’ कोणसभामा सहभागी एक एमाले कार्यकर्ताले भने ।

के भन्छन् मतदाता ?

स्थापित व्यवसायी चौधरी सो क्षेत्रमा चुनावी प्रतिस्पर्धामा रहेपछि नवलपरासी पश्चिमको चुनावी माहोल नै बेग्लै बनेको छ । चौधरीले स्थानीय मतदातासँगै खाना खाजा खाने, मोटरसाइकलमा चढेर भोट माग्ने, गरिबको झुपडीमा  नमस्ते गर्दै पस्न थालेपछि स्थानीयले उनको गतिविधिलाई चासोपूर्वक हेरेका छन् ।

बर्दघाट ८ सूर्यपुराका नरबहादुर नेपाली नवलपरासी पश्चिम एकले नयाँ उम्मेदवार र स्थापित व्यवसायीलाई उम्मेदवार पाउँदा फरक अनुभव गरेको सुनाउँछन् । चौधरीले विकास गर्ने चाहना नै राखेर राजनीतिमा होमिएका होलान् भन्ने अनुमान नेपालीले गरेका छन् ।

‘विनोद चौधरीलाई पैसाको खाँचो भएर राजनीतिमा आएका होइनन् होला, उनले उद्योग व्यवसाय गरेर नै चाहिए जति पैसा कमाएका छन्, कमाउँन सक्छन् होला, उनलाई विकास चाहिएर राजनीतिमा आएका होलान्, त्यसैले यसपाली उनलाई भोट दिऊ भन्ने लागेको छ,’ नेपालीले भने ।

सूर्यपुराकै ८६ वर्षीय टपकुमारी खड्कालाई नवलपुरमा रहेको सीजीको साहू उम्मेदवार बनेका छन् भन्ने मात्रै थाहा छ । ‘सीजीका साहू पनि उम्मेदवार बनेका छन् भन्ने सुनेकी छु, को को कुन कुन पार्टीबाट उठेका छन् भन्ने थाहा छैन,’ खड्काले भनिन् ।

भुताहाका नरेशप्रसाद हरिजन योग्यता अनुसारको रोजगारी दिलाई दिनेलाई भोट हाल्ने बताउँछन् । ‘अब मासुभातमा बिकिँदैन, मेरी बुहारीले १२ पढेको छ, उसलाई रोजगारी चाहिएको छ, जसले योग्यता अनुसारको रोजगारी दिलाइदिन्छ, उसैलाई भोट हाल्ने हो,’ हरिजनले भने ।

सूर्यपुराका लालबहादुर रायलाई भने चौधरीसँग धेरै कुरा गर्न नपाएको गुनासो छ । ‘विनोद चौधरीले घरमै आएर भोट मागे भने दिन्छु भनेको थिएँ, उनी मेरो घरमै आएर भोट मागेका पनि छन्, उनीसँग भेट भएपछि केही कुरा राख्छु भनेको थिएँ, समय कम भएकोले त्यो चै पाइनँ,’ रायले भने ।

उनले चौधरीसँग आफ्नो बुहारीको लागि सरकारी जागिर मिलाई दिन भन्ने सोच बनाएका रहेछन् । उनकी बुहारीले ल्याव पढेकी रहिछन् र निजी ल्यावमा काम गरिरहेकी रहिछन् । ‘चौधरीले चाहे सरकारी जागिर मिलाइदिन सक्थे, त्यो कुरा गरौंला भनेको, समय नै कम भयो,’ रायले भने ।

सूर्यपुराकै हरिप्रसाद कमरयोगी चौधरीले चुनाव जित्न सक्ने र जितेपछि फेरि जित्ने आधार बन्ने गरी विकास गर्न सुझाव दिन्छन् । सुमित्रा चौधरी भने अब जित्ने उम्मेदवारले विद्यालय सुधार र नसक्नेलाई कर छुट हुने व्यवस्था मिलाउनु पर्ने बताउँछिन् । दपुकुमारी चौधरी भने रोजगारीको समस्या समाधान गरिदिए हुन्थ्यो भन्ने सोच राख्छिन् ।

सूर्यपुराकै सनम चौधरी र राधा चौधरी बिनोद पहिलो पटक सो क्षेत्रमा उम्मेदवार भएको र त्रिपाठी सो क्षेत्रका पुराना र प्रभावशाली उम्मेदवार रहेकाले उनी नै बलियो अवस्थामा रहेको दाबी गर्छन् ।  त्रिपाठीले स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा राम्रो काम गरेको सनम चौधरीले दाबी गरे ।

निर्णायक बर्दघाट नै

चौधरी र त्रिपाठीमध्ये कसले चुनाव जित्छ भन्ने निर्णय भने बर्दघाट नगरपालिकाका मतदाताले नै गर्ने तथ्यांकले देखाएको छ । एमाले स्थानीय नेता लक्ष्मणनाथ योगीका अनुसार बर्दघाट नगरपालिकाका ५१ हजार मतदाता छन् । नवलपरासी पश्चिममा कुल ९३ हजार मतदाता भएकोमा बर्दघाटमा मात्रै ५१ हजार मतदाता रहेकोले दुबै उम्मेदवारले सो क्षेत्रमा बढी ध्यान केन्द्रीत गरेका छन् ।

गत स्थानीय तहको निर्वाचन हेर्ने भने एमाले गठबन्धनभन्दा सत्ता गठबन्धन बलियो स्थितिमा छ । बर्दघाटका १६ वडामध्ये सत्ता गठबन्धनले १४ वडामा वडाअध्यक्ष जितेको थियो भने एमालेले २ वटा वडामा मात्रै चुनाव जितेको थियो ।

घण्टीको प्रभाव कति ?

नवलपरासी पश्चिम १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रो मत ल्याउने अनुमान काँग्रेस र एमालेका नेताहरुले गरेका छन् ।

‘काँग्रेसका मतदाताले पनि घण्टी भनेको सुन्छु, हाम्रै मतदाताले पनि घण्टी भनेको सुन्छु, भोट दिनको लागि नै भनेका हुन कि रमाइलोका लागि मात्रै भनेका हुन् भन्ने बुझ्न सकेको छैन, तर घण्टी कि घण्टी भनेका छन्,’ एमाले स्थानीय नेता योगीले भने । सो निर्वाचन क्षेत्रमा स्वतन्त्र पार्टी (घण्टी) को तर्फबाट महेन्द्र सेन ठकुरी उम्मेदवार बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप