शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चितवन–२ : के भन्छन् उम्मेदवार ?

घरदैलोमै उम्मेदवार आउँदा मतदाता आफ्नै धुनमा
शुक्रबार, २५ कात्तिक २०७९, १० : ०३
शुक्रबार, २५ कात्तिक २०७९

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन–२ मा उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । उम्मेदवारहरु भोट माग्नका लागि आफ्नो घरदैलोमै आउँदा मतदाता भने आफ्नै कर्ममा व्यस्त देखिन्छन् । उनीहरु उम्मेदवारप्रति खासै उत्साहित देखिएका छैनन् ।

यस क्षेत्रमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ बिहीबार भरतपुर महानगरपालिकाको ११ नम्बर वडा क्षेत्रमा घरदैलो कार्यक्रममा व्यस्त थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्रीसमेत रहेका श्रेष्ठ आफ्ना कार्यकर्ताका साथ घरदैलोमा निस्किँदा न मतदाताले उनीप्रति कुनै चासो राखे, न उनले नै मतदातासँग भलाकुसारी गरे ।

यस्तै अवस्थामा भेटिए एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल पनि । भरतपुर महानगरपालिकाको वडा नम्बर २ क्षेत्रमा बिहीबार घरदैलो कार्यक्रममा निस्किएका उनी आफ्ना केही कार्यकर्ताका साथ विभिन्न टोलमा पुगे । उनले पनि मतदातासँग खासै भलाकुसारी गरेनन्, न त मतदाता नै कुनै जिज्ञासा वा समस्या लिएर आए ।

दुवै उम्मेदवारले समय थोरै रहेको र सबैतिर पुग्नुपर्ने भएकाले मतदातासँग अन्तरक्रिया गर्न सम्भव नभएको रातोपाटीलाई बताए ।

सोही क्षेत्रमा उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने भने बिहीबार पोखराको कार्यक्रममा सहभागी भएका कारण आफ्नो चितवन क्षेत्रमा घरदैलो गर्न सकेनन् । यो क्षेत्रमा उनको क्रेज पनि बढ्दो देखिन्छ । स्थानीयवासीहरु नै क्षेत्र नम्बर २ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने बताउँछन् ।

चितवनमा विकासको प्रशस्त सम्भावना छ : उमेश श्रेष्ठ

सत्तारुढ गठबन्धनबाट चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार रहेका कांग्रेस नेता उमेश श्रेष्ठ चितवनमा विकासका प्रशस्त सम्भावना रहेको बताउँछन् । उनी अल्पकालीन तथा दीर्घकालीन योजना बनाएर विकासका कामलाई अघि बढाउनुपर्ने भन्दै आफूसँग त्यस प्रकारको योजना रहेको दाबी गर्दछन् ।

घरदैलो अभियानकै क्रममा रातोपाटीले उनीसँग बिहीबार चुनाव केन्द्रित रहेर संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः

चुनावी अभियान कसरी चलाइरहनु भएको छ ?

चुनावी अभियान जारी छ । जनताको उपस्थिति उत्साहजनक छ । धेरै साथीहरुले साथ दिनु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको घरदैलो दिनभर जारी छ । पूरा उत्साह र उमङ्गका साथ मतदाताले हामीलाई साथ दिनुभएको छ । म एकदमै उत्साहित छु ।

मतदाताको गुनासो पनि त सुन्नु भयो होला नि ?

अब यहाँको गुनासोहरु सानोतिनो हो । तर, समृद्धिका लागि स्थानीय समस्याहरु ढल, डुबानका समस्याहरु समाधान गर्नुपर्ने छ । यो साधारण कुरा हो । त्यो स्थानीय सरकार र प्रदेश सरकारले गर्न सक्ने कुरा हुन् । सबैभन्दा ठुलो कुरा रोजगार र आर्थिक समृद्धिको विषयहरुलाई फोकस गरेर जानु जरुरी छ ।

सत्तागठबन्धन भित्र कतिको मेल छ यहाँ ?

हाम्रो यहाँ असाध्यै राम्रो मेल छ ।

तपाईको चुनावी प्रचारमा त कांग्रेसको मात्र कार्यकर्ता देखिन्छन्, कसरी मेल भयो त ?

होइन । सबै पार्टीका कार्यकर्ताहरु हुनुहुन्छ । यहाँ कांग्रेस लगायत अन्य दलका साथीहरु हुनुहुन्छ । माओवादी केन्द्रका साथीहरु पनि हुनुहुन्छ । मुख्यतः सत्ता गठबन्धनका ३ दलका साथीहरु हुनुहुन्छ । घरदैलो कार्यक्रममा बिहानदेखि बेलुकासम्म हामीले सहभागी पनि गराएका छौं । मन्तव्य दिने लगायतका काममा अवसरहरु पनि दिएका छौं । साथीहरु निरन्तर रुपमा लागिरहनु भएको छ । 

तपाईका चुनावी एजेण्डा चाहिँ के छन् ?

मेरो सबैभन्दा ठुलो कुरा भनेको समृद्धि ल्याउने हो । रोजगारीको अवसर, महिलाहरुको विकास, शिक्षा र स्वास्थ्यलाई सपोर्ट गर्ने, औद्योगिक वातावरण निर्माण गर्ने, चितवनमा एउटा इकोनोमिक हव बनाउने जस्ता योजना छन् । चितवन यस्तो ठाउँ हो, यहाँ थुप्रै सम्भावना छन् । टुरिजमका कुराहरु छन्, त्यसलाई विकास गर्ने, नारायणीको तिरदेखि लिएर थुप्रै ठाउँमा धेरै क्रियाकलाप गर्न सकिन्छ । शक्तिखोरलाई इन्डस्ट्रियल पार्क बनाउने, टनेल मार्गहरु निर्माण गर्ने, बस्ती विकासदेखि धेरै सम्भावना छन् ।

यी काम ५ वर्षभित्र गर्न सकिन्छ त ?

यो सबै सोच हो । हामीले एउटा परिकल्पना बनाउनु पर्छ । अहिलेसम्म हामीकहाँ सोच र परिकल्पना नै नभएर बिग्रिएको हो । हामीले ५, १०, २० वर्षको परिकल्पना बनाउनु पर्छ । चितवनलाई के गर्दा समृद्ध बनाउन सकिन्छ, त्यो अनुसार २० वर्षे प्लान बनाउने र त्यसलाई कार्यान्वयन गर्नुपर्छ ।

गठबन्धन भनेरमात्र हुँदैन : कृष्णभक्त पोखरेल

चितवन क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल गठबन्धन हुँदैमा जनताले मत दिन्छन् भन्ने ग्यारेन्टी नहुने बताउँछन् । पाँच दलीय गठबन्धनका बाबजुद चितवन–२ मा एमालेको अवस्था निकै मजबुत रहेको दाबी गर्दछन् । चुनावकै विषयमा केन्द्रित रहेर रातोपाटीले उनीहरु बिहीबार घरदैलो कार्यक्रमकै क्रममा संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः

घरदैलोमा हुनुहुन्छ । मतदाताबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

घरदैलो उत्साहजनक छ । हामी सम्भव भएसम्म यो क्षेत्रका सबै आमजनताको घरदैलोमा पुग्न खोज्दैछौं । जनताको अपार माया छ । तसर्थ हामी ७०÷८० प्रतिशत मतदाताको घरमा पुग्न सक्छौं होला भनेर लागिरहेका छौं ।

सत्तारुढ गठबन्धनबाट चुनौती कत्तिको देख्नु भएको छ ?

चुनौती भन्दा पनि म त अवसर देखिरहेको छु । अवसर भनेको एमालेले समृद्ध नेपाल सुखी नेपालीको जुन एजेण्डा ल्याएको छ, चुच्चे नक्सा, नागरिकताका जस्ता राष्ट्रियताको विषयमा एमाले अगाडि छ । अरु दलहरुले यस विषयमा ठोस कुरा दिन नसकेको अवस्थामा एमालेले २० ग्यारेन्टी गरेकाले जनतामा आशा जागेको छ । तर, स्वाभाविक रुपमा अहिले ५ वटा दल एकातर्फ भएको सन्दर्भमा प्रतिस्पर्धा हुन्छ नै । त्यो स्वाभाविक हो ।

तपाईहरुले भनेजस्तो सबै दल एकल रुपमा लडेको भए तपाईका एजेण्डा हेरेर जनताले मत दिन्थे होलान् तर ५ दल एकातिर अनि एमाले एक्लै एकातिर हुँदा प्रतिस्पर्धा कस्तो होला र ?

होइन । त्यस्तो त हुँदै हुँदैन । दल भन्ने कुरा त कहाँ छ, कहाँ छ भन्ने अवस्था छ । कांग्रेसका पनि सयौं कार्यकर्ताहरु गठबन्धनलाई मन पराइरहनु भएको छैन । ओदानको पनि ३ वटा खुट्टा हुन्छ । यो गठबन्धनको पाँच वटा खुट्टा छ, पाँच वटा खुट्टा त टेक्दै टेक्दैन । भुइँमान्छे बन्नै सक्दैन भन्ने जनताको बुझाइ छ ।

त्यसकारण गठबन्धन भन्नासाथ बाध्य भएर सर्लक्क भोट १०÷१०÷१० गरेर जोडिने कुनै सम्भावना छैन । यो राष्ट्रिय चुनाव हो । राष्ट्रिय एजेण्डामा केन्द्रिकृत हुन्छ । राष्ट्रिय एजेण्डामा केन्द्रिकृत हुँदा गठबन्धनको भोलि प्रधानमन्त्री को ? साझा दृष्टिकोणसम्म आएको छैन । यो चुनाव त भोलि को प्रधानमन्त्री बनाउने भन्ने हो नि । त्यो चिज पनि आएको छैन भने त्यसले भोलि स्वाभाविक रुपमा अस्थिरता निम्त्याउँछ भन्ने कुरा जनताले जानेका छैनन् र ? झुक्याउन सकिन्छ कि भन्ने कुरा चाहिँ कसैले नसोचे हुन्छ जस्तो लाग्छ ।

आफ्नो निर्वाचन क्षेत्रमा कस्ता समस्या पाउनु भएको छ ?

स्थानीय एजेण्डामा आज पनि भरतपुर महानगरपालिकामा रिङ रोड छैन । ल्याण्डफिल साइट व्यवस्थित गर्न सकिएको छैन । त्यसैगरी कालिका नगरपालिकामा रिङ रोड डीपीआर भए पनि काम हुन सकेको छैन । ईच्छाकामना गाउँपालिकामा त अझै बाटो घाटोको पनि समस्या छ । थुपै्र समस्या छन् । हामी यी कुरालाई सुधार गर्न चाहन्छौं ।

अर्कोतर्फ शैक्षिक कार्यक्रमहरु पनि हाम्रो छ । त्यसैगरी स्वास्थ्य सुधारको लागि भरतपुर अस्पताल, कालिका अस्पताल र ईच्छाकामना अस्पताल सुधारका कुरा पनि छन् । भरतपुरमा मुख्य त ढल व्यवस्थापन राम्रोसँग गर्न नसक्दा डुवान क्षेत्र डरलाग्दो अवस्थामा  छ ।

मुलतः राष्ट्रिय एजेण्डा हो । राष्ट्रिय एजेण्डामा एमालेको जस्तो सबल एजेण्डा अरु कुनै दलको छैन । त्यसको जग र विश्वासमा चाहिँ हामी विजयी हुन्छौं भन्नेमा म ढुक्क छु ।

स्थानीय तह निर्वाचनमा दलगत अवस्था

चितवन–२ मा कालिका नगरपालिका, ईच्छाकामना गाउँपालिकाका अतिरिक्त भरतपुर महानगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ पर्दछन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यस क्षेत्र अन्तर्गतका वडामा प्रमुख दलका वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतको आधारमा एमालेको ३५ हजार ५४३ मत छ ।

सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली कांग्रेसको २४ हजार ५३१, नेकपा माओवादी केन्द्रको ७ हजार ३७४ र नेकपा एकीकृत समाजवादीको ३ हजार ५६९ मत छ ।

चितवन–२ मा १६ उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये ६ जना स्वतन्त्र उम्मेदवार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप