शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

जनयुद्धको ‘अन्तिम ​थलो’ मा प्रतिष्ठाको लडाइँ !

‘ह्याट्रिक’ को दाउमा रहेका महेन्द्रलाई आगामी निर्वाचन कति चुनौती ?
शुक्रबार, २५ कात्तिक २०७९, ०९ : २३
शुक्रबार, २५ कात्तिक २०७९

कालिकोटमा हिजोआज समाजवादी क्रान्तिका गीतहरू फेरि गुन्जिन थालेका छन् । पञ्चायत, गणतन्त्र हुँदै देश संघीय संरचनामा आइसक्दा जनताको अवस्थामा खासै परिवर्तन नआए पनि राजनीति दलका नेता, कार्यकर्ताले चुनावी माहौल बढाउनकै लागि भए पनि त्यस्ता खालका गीत र अभियानलाई प्राथमिकता दिन थालेका हुन् ।

स्मरण रहोस् माओवादीले थालेको १० वर्षे जनयुद्धको अन्तिम लडाइँ यहीँ भएको थियो । यद्यपि युद्धको चोपेटोमा परेको कालिकोटले अझै पनि सुखको अनुभूति भने पाउन सकिरहेको छैन । देशमा राजनीतिक परिवर्तन जतिसुकै भए पनि यहाँका नागरिकको अवस्थामा परिवर्तनका रेखाहरू अझै कोरिन सकिरहेका छैनन् ।

जसले गर्दा कालिकोटमा विगतको जस्तो चुनावी रौनकता नभएको स्थानीय बताउँछन् । निराशाकै बिचमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पुनः कालिकोटवासीले मतदान गर्दैछन् ।

यहाँ प्रतिनिधि सभातर्फ नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता महेन्द्रबहादुर शाही ‘प्रज्जवल’ गठबन्धनका साझा उम्मेदवार छन् भने उनकै पार्टीका काशिचन्द्र बरालले उनीविरुद्ध बागी उम्मेदवारी दिएका छन् ।

यता नेकपा एमालेले जिल्ला इञ्चार्ज नगीन्द्र शाही ‘नेशनल’लाई अघि सारेको छ भने नेमकिपा, राप्रपा, वीपी कांग्रेस लगायतका ७ जना उम्मेदवार चुनावी मैदानमा छन् । यद्यपि माओवादी पूर्व लडाकु शाही, स्वतन्त्र उम्मेदवार बराल र एमाले नेता शाहीबीच नै चुनावी प्रतिस्पर्धा हुने देखिन्छ । यतिबेला कालिकोटवासीले कसलाई साथ देलान् ? आम चासोको विषय बनेको छ ।

कर्णाली सरकारको नेतृत्व गरिसकेका माओवादी नेता शाहीले यसअघि ०७० र ०७४ मा चुनाव जितिसकेका व्यक्ति हुन् । जितको ‘ह्याट्रिक’ गर्ने दाउमा रहेका शाहीका प्रतिद्वन्द्वी एमालेका शाही र बराल पहिलो पटक संसदीय निर्वाचनमा भाग लिँदैछन् । बराल यसअघि रोस्कोट नगरपालिकामा पाँच वर्ष कार्यकाल बिताइसकेका व्यक्ति हुन् ।

नेताहरूले प्रतिष्ठाको विषय बनाएको कालिकोटमा चुनावी माहौल भने खासै उत्साहजनक नरहेको स्थानीय बताउँछन्। सोमबार बेलुकी ६ बजे चुनावी गतिविधि बुझ्न हामी सुर्खेतदेखि कालिकोट सदरमुकाम मान्ममा पुग्दा बजार सुनसान थियो । लाग्थ्यो बजारलाई खासै चुनावले छोएको छैन । 

१३ वर्षअघिदेखि चिया, नास्ता पसल चलाउँदै आएका सुर्दल शाही बेलुकीको खाना पकाउने तयारीमा थिए । यसपटकको चुनाव कसको पक्षमा आउला हामीले उनलाई सोध्यौँ ? ‘चुनाव त खासै लागेजस्तो छैन, यद्यपि गठबन्धनकै पक्षमा पर्ने मेरो आङ्कलन छ,’ उनले भने । जनयुद्धमा गाउँमा बस्ने वातावरण नभएपछि सदरमुकाम आएको बताउने उनी अरू भन्दा महेन्द्रमा बढी विश्वास रहेको बताउँछन् ।

यद्यपि माओवादीको अगुवाइपछि कालिकोटमा जति विकास हुनुपर्ने थियो त्यो अनुसार नभएको प्रति भने उनको गुनासो छ । ‘माओवादीको पालामा ५÷६ वर्षसम्म चाउचाउ खाएर दिन कटाएको व्यक्ति हुँ ,’उनी भन्छन्,‘ तर व्यवस्था बदलिए पनि जनताको अवस्था खासै बदलिएको छैन ।’

जनयुद्धलाई सफलता दिलाउनमा कालिकोटले धेरै सङ्घर्ष गरेको छ भने धेरै गुमाएको पनि छ । तर शान्ति प्रक्रियापछि लगातार नेतृत्वमा रहेको माओवादीले नागरिकको अवस्था बदल्नमा भने उल्लेखनीय भूमिका निर्वाह गर्न सकिरहेको छैन । यहाँ ०६४ मा खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, ०७० मा महेन्द्रबहादुर शाही र ०७४ मा दुर्गबहादुर रावतले माओवादीबाट नै प्रतिनिधि सभा चुनाव जितेका थिए। 

शुभकालिका गाउँपालिकाका स्थानीय धर्म शाही भन्छन्–‘ यो पटकको चुनाव पनि सम्भवतः माओवादीकै पक्षमा आउने देखिन्छ ।’ तथापि जनताको जीवनस्तर उकास्ने काम भने हुन् नसकेको प्रति उनी चिन्ता व्यक्त गर्दछन् ।

खाँडाचक्र नगरपालिकाका –८ नवराज मल्ल (५२) पञ्चायत कालदेखि यताका सबै निर्वाचनका साक्षी छन् । मंगलबार बिहान १० बजेतिर सदरमुकाम मान्ममा भेटिएका उनले अहिलेको चुनाव विगत जस्तो उत्साहजनक नरहेको सुनाए । ‘ उम्मेदवार पुरानै भएकाले चुनावी रौनक खासै उत्साहजनक छैन,’उनी थप्छन् ,‘ चुनाव जित्छन्, पाँच वर्ष बिताएर पुनः उही व्यक्ति उम्मेदवार बनेर आउँछन्, त्यही भएर चुनाव निर्मल देखिन्छ ।’

मल्लले पञ्चायत कालदेखिनै परिवर्तनका लागि भन्दै मतदान गर्दै आएका छन् । तर पदमा पुगेका नेताले सोही अनुसार जनताको पक्षमा काम नगरेको प्रति भने निराश छन् । ‘म दुःखका साथ भन्छु, शान्ति प्रक्रियापछि गाडी नचले पनि गाउँगाउँमा सडक चाहिँ पुगेका छन्, तर जनताको अवस्था परिवर्तन हुन् सके,’मल्ल भन्छन्,‘ ठाउँको विकास भन्दा पनि आफ्नो ठाउँका नेताहरू जितेर देशको नाम राख्लान् भनेर भोट दिने गरेको छु ।’

‘उम्मेदवारप्रति छैन विश्वास’

मल्लले उम्मेदवार प्रति कुनै अपेक्षा नै नरहेको बताए । ‘पहिला पनि पठाएका हौँ, अक्कसी (फेरि) पनि पठाउनपणो क्यार्नु, दिन गुजार्न्या भया, विकास अरनान भन्या अपेक्षा छैन,’ उनले आफ्नै लवजमा भने,‘ जिताउन लायाको १५ वर्ष भइगयो।’

महावै कालिकोटको दुर्गम पालिका हो । यहाँ अहिलेसम्म सडक सञ्जाल जोडिएको छैन । महावै–५ गेलाबाट झण्डै ३ घण्टा पैदल पिली, त्यहाँबाट गाडीमा चढेर मंगलबार बिहान ११ बजे सदरमुकाम मान्म पुगेका (६२) लक्ष्मीचन्द्र पोखरेल आफ्नो गाउँमा अहिलेसम्म गाडी नपुगेको प्रति निकै चिन्तित देखिए । ‘गाडी चढ्ने रहरै छ, अहिले त हाम्मा गाउँनो पहिरो पन आयाको छ, जोखिम बढ्याछ,’ उनले रातोपाटीसँग गुनासो पोखे,‘ धेरै मान्छे विद्यालयमा गइकन बस्या, म यहाँ नुन लिन आयाको हुँ । नुन लिन यही आउनुपन्नया दुःख छ ।’

उनले पन्चायतकालदेखि परिवर्तनका लागि दिएको मत खेर गएको भन्दै उम्मेदवारप्रति आक्रोशित बने । गाउँमा एउटा सडकको विकास हुन थाले पनि बीचमा जनआन्दोलनले रोकिएको उनको भनाई थियो ।

गाउँको विकास् त त्यस्तै हो सदरमुकाम मान्मको अवस्था नै बेहाल छ । विशेष गरी साँघुरो कालोपत्रे उक्लिएको सडक र खानेपानी समस्या प्रमुख समस्याका रूपमा रहँदै आएको स्थानीय व्यापारीहरू बताउँछन् ।

यतिसम्मकी मान्माको साँघुरो सडकमा गाडीहरूले मोडिन समेत ब्याक गर्नुपर्ने स्थिति हुन्छ । अझ गत असोज १९ गतेदेखि परेको बर्सातका कारण जताततै सडक भासिएको छ ।

०००

‘पिली युद्ध र निर्वाचन’

मंगलबार मान्मको चुनावी वस्तुस्थिति र नागरिकको प्रतिक्रिया बुझिसकेपछि हामी १२ बजे जनयुद्धको अन्तिम थलो पिलीतर्फ लाग्यौँ । पिलीकै स्थानीय आशिस विक सदरमुकाम मान्मा सानो गाडी चलाउँछन्, उनले त्यहाँ लगेर गए । हामी पुग्दा धुलो धुवाँले आक्रान्त सडक छेउमा ५० कटेकाहरू घाम तापेर गफिँदै थिए ।

आशिसले ०६२ साल साउन २३ गते माओवादी र तत्कालीन शाही नेपाली सेनाको दोहोरो भिडन्तमा ६२ सैनिक र १४ जना मजदुरको मृत्यु भएको बारे जानकारी गराए । केही सैनिकहरू भाग्न खोज्दा भिरबाट लडेर ज्यान गुमाएका थिए । सदरमुकामदेखि निकै पर पर्ने पिली कर्णाली राजमार्ग हुँदै जुम्ला जानेबाटोको बीचमा पर्छ ।

अहिले युद्ध पर्यटकीय स्थलका रूपमा विकास गर्ने गरी केही संरचना निर्माणको काम भइरहेको छ । पिली डाँडाको लडाइँमा सहभागी माओवादी कार्यकर्ता गंगाराज सेजुवालले घटनाबारे यसरी प्रस्ट्याए :

खासमा बाजुरा आक्रमण गर्ने माओवादीको योजना थियो । तर भित्र रेकी अर्थात् आक्रमण गर्ने ठाउँ हेर्न गएका माओवादी सेना गिरफ्तारमा परेपछि यहाँ आक्रमण गर्ने योजना भएको हो । 

राजा ज्ञानेन्द्रको ठाडो आदेशमा ०६२ साउन ९ गते पिलीमा सैनिक क्याम्प राखिएको थियो ।

त्यसपछि कालिकोटको पिलीमा हान्नुपर्‍यो भन्ने योजना बन्यो ।  जबकि त्यो बेला दिल्लीमा माओवादीको सात राजनीतिक दलसँग सहमतिका लागि वार्ता हुँदै थियो ।

युद्धविरामकै तयारीमा रहेका बेला सेनाले पिली डाँडामा सडक निर्माणका लागि क्याम्प राख्यो । आक्रमण गर्ने दिन बेलुकीपख सेनाको हेलिकप्टोर यहाँ आएको थियो, जब हेलिकप्टोर उडेर डाँडा काट्यो त्यसपछि लडाइँ सुरु भएको थियो । 

तीनतिरबाट माओवादीले आक्रमण सुरु गरेको थियो । बेलुका पाँच बजेदेखि बिहान चार बजेसम्म लडाइँ सफल हुन् सकेन । 

प्रभाकरले रिटन हुनुपर्छ भने तर तर जीवन बुढाले कालिकोट आधार इलाका हो, आज सकिँदैन भोलि दिनभरि लड्ने भोलि नसके पर्सी पनि लड्ने तर रिटन नहुने भनेपछि लगातार लडेर मात्रै लडाइँ सफल भएको थियो ।

प्रभाकर त्यो बेला पश्चिम डिभिजन कमान्डर थिए भने जीवन बुढा ब्रिगेड कमान्डर र महेन्द्रबहादुर शाही ब्रिगेड कमिसार थिए भने कमरेड कुवेरले अर्को समूहको लिड गरेका थिए ।

यदि यो आक्रमण सफल नभएको भए नेपालमा युद्ध विराम हुन्थेन । यो शान्ति स्थापनाको बेस यही आक्रमण हो ।

०००

 युद्ध भएको पिली डाँडामा खासै बस्ती भने छैन । हामीले सडक छेउमा बसेका बुढापाकाहरूलाई  पिलीको समस्याबारे बुझ्न खोज्दा उनीहरूले नेताप्रति वितृष्णा प्रकट गरे ।  स्थानीय पूर्णबहादुर मल्लले नेताहरूप्रति निकै आक्रोश पोखे । उनले भने,‘ यहाँको अवस्था हेर्दा यहाँ त बनमान्छे बस्याका छन् की अहिलका मान्छे हुन् भन्या छ्ट्याउनै गाह्रो छ । सिस्नाका रुखहरू, बाटोघाटो, स्वास्थ्यको कुनै पनि विकास भयाको नाइँ, अहिलेसम्म एउटा स्कुलौनौ मात्रै बजेट आयाको भन्ना सुन्याका छौँ ।’

यही युद्धका एक कमाण्डरले यही क्षेत्रबाट दुई पटक चुनाव जितेर मन्त्री, मुख्यमन्त्री हुँदासमेत स्थानीयले आफूलाई अझै ‘बनमान्छे’ को विश्लेषण गर्नु दुःखद पक्ष हो, उनले यहाँको प्रमुख समस्या स्वास्थ्य भएको बताए ।

यतिमात्र होइन गत असोजमा बाढी पहिरोले बस्ती आक्रान्त परेको सुनाए । ‘ठाउँ–ठाउँमा पहिरो गया र हामी निकै दुखी छौँ, सरकारले दया अरिकन जाली दिदिया पन समस्या समाधान हुन्याछियो । अन्याले अर्दिन्या होइनन्,’उनले भावुक हुँदै भने ।

उनले हामीलाई उल्टै तमी क्या अन्र्याउ भनेर हामीलाई प्रश्न गरे । पिली खाडाचक्र –७ मा पर्दछ । यहाँ ७, ८ र ९ का बासिन्दाहरू रहेछन् ।

स्थानीय (६१) धनबहादुर मल्लले भोट दिएकाहरू जितेपछि कहिल्यै बस्तीमा नआउने गरेको पीडा सुनाए  । वडा नम्बर ९ का गोर्ख बहादुर विष्ट (६०)र ८ का  चन्द्रबहादुर मल्ल (७०) ले पनि त्यस्तै गुनासो गरे ।

चन्द्रबहादुर पहिरोले २७ बाख्रा, १ गाई, एक हल गोरु छापेको प्रति निकै चिन्तित हुँदै भने,‘ मुचुल्का बनाएर लगियो, त्यहाँबाट के पाउने हो कुनै अत्तोपत्ता छैन।’

वडा नम्बर ९ पाखाकी (५९) मैना विष्टलाई यो पटक भोट हाल्ने मन छैन । ‘भोट हाल्ने मन छैन, नेता आउनाछन् बाइजाँदाछन् केही दिँनाईनन्, भोट दिकन क्या अर्नु हामीकन नापै (सामान्य) बिराम लाग्या पन मान्म, सुर्खेत जानु पड्डो, अझै सबै चिज किनीकनै खानुपड्नो, १० कठ्ठा जग्गा पहिराले लैगयो । अहिल क्या खान्या हो निकै पिर लाग्दो,’उनले भनिन् ।

मैनाको खाना लागि भएको जमिन बाढीले बगाएको रहेछ । यही खेतले १० भन्दा बढी परिवारलाई केही महिना जोहो गर्न पुग्थ्यो । 

गाउँमा स्वास्थ्य चौकी नहुँदाको पीडा सुनाउँदै उनले भनिन,‘ स्वास्थ्य चौकी भया पा हाम्मी आईमाईकन (महिला) सहज हुनेछियो, पोहोरसाल उपचार नपाईकन एउटी आइमाई बिती।’

चन्द्रबहादुरका अनुसार पिली वरपरका ४१ घर पहिरोको उच्च जोखिममा रहेको सुनाए ।

०००

माओवादीको उदयपछि कालिकोटले के पायो ?

कालिकोट कान्छो जिल्लाको रूपमा चिनिन्छ । ०३२ साल मङ्सिर २६ गते जुम्ला जिल्लाबाट छुट्टै जिल्ला बनेको हो ।

तत्कालीन पञ्चायत सदस्य धर्मदत्त उपाध्यायले जुम्ला टाढा भएपछि छुट्टै जिल्ला बनाएका थिए भने सदरमुकाम रास्कोट लिने भनिएको थियो । पछि उनी पावरमा नभए पनि सदरमुकाम मान्ममा राखिएको रहेछ  ।

‘पञ्चायत कालका यहाँ राप्रपा र नेमकिपा बलियो राजनीतिक दल थिए,‘नेपाली कांग्रेसका नेता दमन शाहीले भने । ०४८ सालमा कांग्रेसका तिलक न्यौपानेले  चुनाव जितेका थिए भने एमालेका प्रेम सिंह पराजित भएका थिए । यस्तै अहिले प्रदेश सभा (ख) बाट कांग्रेसबाट उम्मेदवार बनेका हिक्मत विष्ट पनि त्यतिबेला नेमकिपाबाट पराजित भएका थिए ।

त्यसपछि ०५१ सालमा एमालेका यज्ञराज न्यौपाने विजयी हुँदा कांग्रेसका तिलकले हारे । ०५६ एमालेका प्रेम सिंह विजयी हुँदा कांग्रेसका नेत्र शाही पराजित बनेका थिए ।

जनयुद्धको जगमा टेकेर शान्ति प्रक्रियामा आएको माओवादी त्यसपछि कालिकोटमा लगातार हाबी हुँदै आएको छ । माओवादीको अगुवाइपछि ०६४ चैत १ गते सदरमुकाममा बस आएको कांग्रेस नेता शाहीले सुनाए । 

अहिले सडक पूर्वाधारको विकास भएको छ भने र विद्युत् पुगेको छ । त्यसका अलावा नागरिकको जीवनस्तरमा भने खासै सुधार आउन नसकेको नेताहरूकै विश्लेषण छ ।

 ०००

‘ह्याट्रिक’ को दाउमा रहेका महेन्द्रलाई आगामी निर्वाचन कति चुनौती ?

 माओवादीबाट उम्मेदवार बनेका शाहीलाई कांग्रेस र समाजवादीको साथ छ । तर उनी विरुद्ध उठेका बराल उनका लागि भारी छन् । किनकि बराल सहकारी अभियन्ता हुन् । राजनीतिमा धुमिल छवि भए पनि व्यक्तिगत प्रभाव जिल्लामा ठिकै छ । बराल एमालेबाट ०५४ मा तत्कालीन फुकोट गाविसको अध्यक्ष भएका थिए । त्यसपछि उनी कांग्रेस प्रवेश गरेका थिए । पछि त्यसपछि मात्रै माओवादीमा आएका थिए । तर शाहीले उनको उम्मेदवारीको कुनै अर्थ नरहेको टिप्पणी गरे । बराल भने शाहीलाई शासकको संज्ञा दिँदै आएका छन् ।

बरालले आफू जित्ने–हार्ने भन्दा पनि महेन्द्रलाई कसरी पराजित गर्ने भन्ने रणनीतिमा लागेको माओवादी कार्यकर्ताको बुझाई छ । यद्यपि बराल निकट एक कार्यकर्ताले भने,‘ पुतली (चुनाव चिन्ह) निर्णायक हुनसक्छ, १० वर्ष महेन्द्रले केही काम गरेनन्, त्यसको विरुद्धमा हाम्रो उम्मेदवारी हो ।’

एमाले नेता शाही पनि युवामाझ राम्रै छवि बनाएका नेताको रूपमा चिनिन्छन्। उनी पूर्व पत्रकार हुँदै किताब लेखकका रूपमा समेत चिनिँदै आएका छन् । रोचक कुरा के छ भने तीनै जनाको घर प्रदेश सभा अन्तर्गत (ख) मा पर्दछ भने (क)  प्रतिनिधि सभा उम्मेदवार विहीन छ । बराल र एमाले नेता शाहीको रास्कोट हो भने महेन्द्रको पचालझरना हो ।

बरालको उम्मेदवारीले एमाले नेता शाही खुसी छन् भने महेन्द्रलाई चुनौती थपिएको छ । माओवादीका एक नेताले बरालको भावनात्मक रूपमा भोट आए पनि साङ्गठनिक रूपमा भोट नआउने दाबी गरे ।

नौ स्थानीय तह रहेको यहाँ स्थानीय तहको निर्वाचनमा माओवादीले पाँच वटै पालिकाको नेतृत्व पाएको छ भने चारवटामा उपप्रमुख÷उपाध्यक्ष र ४८ वटा वडामा आफ्नो वर्चश्व कायम गरेको छ । कांग्रेसले दुई वटा पालिकाको नेतृत्व पाएको छ भने दुई वटामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । स्वतन्त्र एक माओवादीमै छन् भने अर्को समाजवादीमा छन् । 

एमालेले कुनै पालिका जित्न सकेको थिएन । यद्यपि वडाको मत भने १२ हजार ६१३ छ । सबैभन्दा बढी माओवादीको १८ हजार ३४७, कांग्रेसले १२ हजार ८२०, समाजवादीले ३ हजार ५०३ छ । तीन दलको मत जोड्ने हो भने माओवादी नेता शाहीले सहज रूपमा चुनाव जित्ने देखिन्छ । तर स्वतन्त्र उम्मेदवार बरालले काट्ने भनेको माओवादीकै मत हो । त्यसले गर्दा शाहीलाई चुनौती बढाएको छ । कालिकोटमा ८० हजार ७३४ मतदाता रहेका छन् । तर यो पटक भोट निकै कम खस्ने आकलन गरिएको छ । किनकि अधिकांश व्यक्तिहरू रोजगारीका लागि कालापहाड निस्किसकेका छन् भने गाउँमा भएकाहरू पनि सबै जसो भोट हाल्दैनन् ।  

 ०००

कालिकोटमा माओवादीले हार्ने भन्ने कुरा हुन्छ र ? 

महेन्द्रबहादुर शाही, उम्मेदवार माओवादी केन्द्र

चुनावी तयारी कस्तो छ ?

— जिल्लाका विभिन्न ठाउँमा चुनावी घरदैलो कार्यक्रम सकिएको छ । चुनावी प्रचारलाई व्यापक बनाइरहेका छौँ भने केन्द्रीय नेताहरूको उपस्थितिमा रास्कोट र मान्ममा गठबन्धनको संयुक्त भेला पनि सम्पन्न गरिसकेका छौँ । त्यसैले यो पटकको चुनाव सहज नै छ ।

 तपाईंविरुद्ध माओवादीकै माओवादीकै काशिचन्द्रले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ नि ?

— त्यसले खासै अर्थ राख्दैन । आफ्नै पार्टीलाई ध्वस्त पार्न खोज्नेहरूबाट के अपेक्षा हुन्छ । यहाँ गठबन्धनको विकल्प हुँदैन ।

यताउता हल्लिने कुराले खासै अर्थ राख्दैन ।

बराल नै तपाईंका लागि चुनौती हुनुहुन्छ रे त ?

— मलाई त्यस्तो लाग्दैन , बरु सहयात्रीहरूको समूह यतातिर बढी छ ।

उसो भने सहज रूपमा चुनाव जित्छु भन्ने विश्वास छ ?

 — चुनाव जित्ने कुरा त्यो पनि कालिकोट र अझ माओवादीले । पराजित हुने भन्ने त कुरा नै रहँदैनन् नि..! 

 २७ हजारदेखि साढे २७ हजार मतसहित चुनाव जित्छु ः नगीन्द्र शाही

 प्रतिनिधि सभा उम्मेदवार, नेकपा एमाले

चुनावी माहौल चाहिँ कस्तो छ तपाईंको पक्षमा ?

—उत्साहजनक र आकर्षण छ । त्यसको कारण कालिकोटका जनताले परिवर्तन चाहेका छन्। यथास्थितिबाट कालीकोटको समृद्धि हुँदैन त्यसैले परीक्षण भएका व्यक्तिलाई बिदाइ गर्नुपर्छ र नयाँ कुरालाई अँगाल्नुपर्छ भन्ने मानवीय स्वभावले अहिले काम गर्छ । ८२ वटा वडामै चुनावी अभियान चलाइरहेको छु ।

चुनाव जित्नुहुन्छ त उसो भए ?

—त्यसका कुनै शङ्का छैन । पहिलो आधार भनेको मेरो प्रतिस्पर्धी महेन्द्र जी मुख्यमन्त्री र मन्त्री हुँदा कालिकोटमा उल्लेखनीय काम गर्न नसक्नु हो ।

दोस्रो यहाँको प्राकृतिक श्रोत, साधनलाई प्रयोग गरेर समृद्धिको यात्रा तय गर्नुपर्थ्यो, त्यो उहाँबाट हुन सकेन । तेस्रो कुरा अब कालिकोटलाई परिवर्तन गर्न भूगोल बुझेको व्यक्तिको खाँचो भएकाले म चुनाव जित्छु ।

उहाँले मेरो त प्रतिस्पर्धी नै छैन भन्नुहुन्छ नि ? अङ्क गणितमा कमजोर हुनुहुन्छ ?

— म पनि उहाँ मेरो प्रतिस्पर्धी नै हैन जस्तो लाग्छ, किनकि विचार, दृष्टि र भिजनका आधारमा म सक्षम व्यक्ति हो । कालिकोटलाई कसरी अघि बढाउनुपर्छ भन्ने उहाँमा कार्यसूची नै छैन ।

उहाँहरू पार्टी पार्टी मिलेको ब्यानरलाई प्राथमिकता दिनुहुन्छ होला मैले जनताको मन, भावनालाई प्राथमिकता दिने हो । त्यसैले मेरो गठबन्धन कालिकोटका जनतासँग छ ।

उसो भने कति मतान्तरले जित्नुहुन्छ ?

— म २७ हजारदेखि साढे २७ हजार मतसहित विजयी हुन्छु भन्ने मेरो आकलन छ।

७ हजार मतान्तरले चुनाव जित्छु :काशिचन्द्र बराल

स्वतन्त्र उम्मेदवार

चुनावी अभियान कस्तो चल्दै छ ?

— व्यापक रूपमा चलिरहेको छ । पटक–पटक दोहोरिएकाबाट मासो मर्न सकेन, यो पटक विकल्प खोज्नेतर्फ अग्रसर भएको भेटाएँ ।

०७४ मा चुनाव जितेर मेयर बन्नु भएकै हो, अहिले स्वार्थको लागि आफ्नै नेताविरुद्ध उम्मेदवारी दिनुभयो भन्ने आरोप छ नि ?

— एकाएक मेरो उम्मेदवारी मेरो होइन, व्यक्तिवादी प्रणालीका विरुद्ध मेरो उम्मेदवारी हो ।

शक्तिको बाँडफाँटमा कमिसनको खेलमा नेतृत्व लागेको र सच्याउनका लागि धेरै प्रयास गर्दा पनि सकिएन । त्यसैले पार्टी प्रणालीबाट नहुने भएकाले स्वतन्त्र दिएँ ।

चुनाव जित्नुहुन्छ ?

—थुप्रै कार्यकर्ता र विकल्प खोजिरहेका कार्यकर्ता म सँग हुनुहुन्छ भने साङ्गठनिक सहकारी यात्रामा अघि बढेका साथीहरू मेरो पक्षमा हुनुहुन्छ । १०० प्रतिशत चुनाव जित्छु भन्ने विश्वास छ ।

कति मतान्तरले जित्छु जस्तो लाग्छ छ ?

—झन्डै ७ हजार मतान्तरले चुनाव जित्छु ।

महेन्द्र शाहीले तपाईंको उम्मेदवारीको अर्थ छैन भन्नुभएको छ ?

— त्यो त मङ्सिर ४ को रिपोर्टले बताउला नि..!

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप