चितवन–२ ग्राउण्ड जिरो : यी मतदाता भन्छन्– उम्मेदवार नै चिनेको छैन
चितवन । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको रौनक देशभर उत्कर्षमा पुगेको छ । उम्मेदवारहरू आफ्नो चुनावी अभियानलाई जोडतोडका साथ अघि बढाइरहेका छन् । तर चितवन क्षेत्र नम्बर २ मा केही यस्ता मतदाता पनि भेटिए जसलाई निर्वाचनको रौनकले अझै छोएको छैन । यहाँसम्म कि, उनीहरूलाई आफ्नो क्षेत्रमा को को उम्मेदवार छन् भन्ने पनि थाहा छैन ।
चितवन क्षेत्र नम्बर २ अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर–२ छत्रपुरका ८३ वर्षीय पूर्णबहादुर गुरुङले २०४६ सालको राजनीतिक परिवर्तन यता मतदान नै गरेका छैनन् । उनी आसन्न निर्वाचनमा भने मतदान गर्ने मनस्थितिमा छन् ।
उनले पञ्चायतकालमा प्रधानपञ्च पदका लागि भएको निर्वाचनमा मतदान गरेका थिए । त्यस यता आफूले कुनै पनि निर्वाचनमा मतदान नगरेको उनले बताए । उनी छत्रपुरमा बसोबास गर्न थालेको डेढ दशक भयो । आफ्नै घर अगाडिबाट उम्मेदवारहरू भोट माग्दै हिँडे पनि उनले कुनै उम्मेदवारलाई चिनेका छैनन् ।
‘मेरै घर अगाडिबाट कयौँ उम्मेदवार भोट माग्दै हिँडेको देखेको छु,’ उनले भने, ‘तर मसँग कसैले अहिलेसम्म भोट मागेको पनि छैन, मैले पनि कुनै उम्मेदवारलाई चिनेको छैन ।’ ऐलानी जग्गा किनेर बसोबास गर्दै आएका उनी केही वर्ष अघिसम्म रिक्सा चलाउने गर्दथे । उमेर ढल्किएपछि काम गर्न छाडेको उनको भनाइ छ ।
कुनै उम्मेदवार नचिने पनि उनी आगामी निर्वाचनमा नयाँ पुस्तालाई मतदान गर्ने तरखरमा छन् । उनी भन्छन्, ‘मसँग मत दिनुप¥यो भनेर कोही आउनु भएको छैन । तल बाटोबाट हिँड्नु हुन्छ । यहाँ पस्नु हुन्न । मेरो मनको भावना भनेको नयाँ पुस्ताले काम गर्न सक्छन् । त्यसैले उसैलाई भोट दिनुपर्छ ।’
क्षेत्र नम्बर २ अन्तर्गतकै कालिका नगरपालिका वडा नम्बर–२ की टीकामाया श्रेष्ठ पनि उम्मेदवार नै चिन्दिनन् तर मतदान भने गर्ने बताउँछिन् ।
उम्मेदवारका बारेमा आफूले कुनै जानकारी नलिएको उनको भनाइ छ । आफूसँगमा कुनै पनि उम्मेदवारले मत नमागेको तर, सडक सडकमा गाडीसहित घुम्ने गरेको आफूले देखेको उनले बताइन् ।
नेताहरु घरदैलोमा भन्दा पनि अटो तथा गाडीहरूमा माइकिङ गर्दै हिँडेको तर, घर–घरमा पुगेर मत नमागेको उनको भनाइ छ । कालिकामा पछिल्लो समय थुप्रै विकास निर्माणको काम भए पनि अझै विभिन्न समस्या रहेको उनी बताउँछिन् ।
गाउँ नजिकैको खहरे खोलामा छिटै पुल बने भरतपुर आवतजावत गर्न सहज हुने उनको भनाइ छ । सडकहरू पिच भए पनि त्यो नै पर्याप्त नभएको र अबको नेतृत्वले जनताको विषयमा सोचेर छिटै नै काम गर्नुपर्ने उनले बताइन् ।
कालिका नगरपालिका वडा नम्बर १ का जेनी चौधरी र तेतरी चौधरी आफ्नो खेतबारीमा कुलो सफा गरिरहेको अवस्थामा भेटिए ।
उनीहरूले पनि अहिलेसम्म को को उम्मेदवार छ भन्नेबारे आफूलाई जानकारी नभएको बताए । तपाईको क्षेत्रमा उम्मेदवार को को छन् थाहा छ ? भन्ने रातोपाटीको प्रश्नमा उनीहरूको जवाफ थियो, ‘खै को को छन्, थाहा छैन ।’
आफ्नै कामले फुर्सद नभएको बताएका उनीहरूले चुनावको रौनक नेताहरूलाई मात्र लागेको बताए । यद्यपि मतदानमा भने सहभागी हुने उनीहरूको भनाइ छ ।
उम्मेदवार नचिने पनि मतदान गर्ने तेतरीले बताइन् । भोट दिने आफूहरूको अधिकार रहेको र त्यो अधिकार प्रयोग गर्ने उनले जनाइन् ।
उम्मेदवारको बारेमा राम्रोसँग बुझेर मतदान गर्ने उनीहरूले बताए । उनीहरू आम जनताका समस्या समाधान गरिदिने, सडक, पुल, खानेपानी, सिँचाइ जस्ता क्षेत्रको समस्या हेरिदिने उम्मेदवारको खोजीमा छन् ।
आफ्नो क्षेत्रमा सिँचाइको समस्या रहेकाले त्यसको समाधान खोजिरहेका उनीहरू नेताले चुनावको बेलामा मात्र आउने र सबै गरिदिन्छु भने आश्वासन बाँड्ने गरेको तर चुनावपछि फर्केर नआउने गरेको गुनासो पनि सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियाल मड्रिड ला लिगाको दोस्रो स्थानमा, बार्सिलोना झन् तल ओर्लियो
-
प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब लय जारी, घरेलु मैदानमै हार
-
लिभरपुलको शीर्षता थप बलियो, टोटनह्यामको पोष्टमा ६ गोल
-
नबिल बैंकद्वारा भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण
-
विमानस्थल विस्तारको प्रस्ताव लिएर लुम्बिनीका नेता पर्यटनमन्त्रीको 'ढोकामा'
-
एनआरटी र चर्च ब्वाइजबीच झापा कपको उपाधि भिडन्त, कसले मार्ला बाजी ?