शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शल्य चिकित्सकको १३ औँ राष्ट्रिय सम्मेलन सुरु

बिहीबार, २४ कात्तिक २०७९, २२ : १०
बिहीबार, २४ कात्तिक २०७९

नेपाल शल्य चिकित्सक समाजको १३ औँ राष्ट्रिय सम्मेलन आजदेखि भैरहवामा सुरु भएको छ । कात्तिक २६ गतेसम्म चल्ने राष्ट्रिय सम्मेलनमा नेपाल, भारत, बङ्गलादेशका शल्य चिकित्सक गरी तीन सय बढीले सहभागिता जनाउने आयोजकको भनाइ छ । 

नेपाल शल्य चिकित्सक समाजका अध्यक्ष प्रोफेसर डा.सुनिलकुमार शर्मा ढकालले स्वास्थ्य उपचारको महत्वपूर्ण क्षेत्रका रुपमा रहेको शल्यक्रिया सम्बन्धमा रहेको खोज, अनुसन्धान, ज्ञान र सीपलाई ठोस रुपमा विश्लेषण गरी सुविधालाई अझ परिस्कृत र उन्नत बनाउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको बताए ।

सम्मेलनमा विश्वमा शल्य चिकित्सा क्षेत्रमा भइ रहेका नयाँ प्रयोग, प्रविधिबारे जानकारी आदानप्रदान हुने उनको भनाइ छ । ‘सीपयुक्त उपचार’ नारा दिइएको राष्ट्रिय सम्मेलनको पहिलो दिनको कार्यक्रम भैरहवामा सम्पन्न भएको छ भने दोस्रो र तेस्रो दिनको कार्यक्रम लुम्बिनीमा रहेको होटल पवन प्यालेसमा हुने साइन्टिफिक कमिटीका अध्यक्ष डा.राजेश पौडेलले बताए ।

पहिलो दिनको कार्यक्रममा वरिष्ठ शल्य चिकित्सकद्वारा कनिष्ट शल्य चिकित्सक एवम सो सम्बन्धमा अध्ययनरत चिकित्सकलाई रक्त धमनी शल्यक्रियाका विषयका सीप सिकाइएको थियो । कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शल्य चिकित्सकबाट शल्यक्रियाको प्रत्यक्ष भिडियो देखाइएको थियो । 

सम्मेलनको दोस्रो दिन कार्यक्रम उद्घाटनसहित कार्यपत्र प्रस्तुतिको मुख्य गतिविधि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञबाट गरिने पौडेलको भनाइ छ । उनले प्रस्तुतिमा युरोलोज (मुत्रनली, मिर्गौला तथा पिसाब थैलीसम्बन्धी), बाल शल्य चिकित्सा, मुटु फोक्सो तथा नशासम्बन्धी शल्य चिकित्सा, एवं जनरल तथा गेस्ट्रो सर्जरी विषय समावेश हुने बताए ।

सम्मेलनको तेस्रो दिन प्लास्टिक सर्जरी, न्यूरो सर्जरी, जनरल तथा गेस्ट्रो सर्जरी विषयमा गरी जम्मा एक सय ५२ वटा कार्यपत्र प्रस्तुत गरिनेछ ।  सम्मेलनमा स्वदेशी र विदेशी गरी करिब तीन सय जना सहभागी हुने छन् । साथै, सम्मेलनले शल्य चिकित्सासम्बन्धी उपचार पद्धतिको विकासमा उल्लेखनीय टेवा पुर्याउने अपेक्षा गरिएको नेपाल शल्य चिकित्सक समाजका लुम्बिनी प्रदेश अध्यक्ष डा.सन्तोष साहले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप