बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बारा–३ (क) मा स्वतन्त्रसहित १४ जना चुनावी प्रतिस्पर्धामा

बिहीबार, २४ कात्तिक २०७९, २० : ३३
बिहीबार, २४ कात्तिक २०७९

आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा बारा निर्वाचनमा क्षेत्र नं ३ (क) मा राजनीतिक दल र स्वतन्त्र गरेर १४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । पार्टीबाट टिकट नपाएकाहरू स्वतन्त्रबाट प्रतिस्पर्धामा उत्रेका हुन् । 

३ (क) मा प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनको तर्फबाट मुकेश कुशहवा, जनता समाजवादी (जसपा)का भरत खड्का, एमाले उम्मेदवार  रवीन्द्रदास श्रेष्ठ प्रतिस्पर्धीमा छन् । साथै एमाले, जसपा, एकीकृत समाजवादीमा बसेर राजनीति गरेकाहरू पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर घरदैलोमा मत माग्दै हिँडेका छन् । एमालेका पुराना नेता तथा पूर्व गाविस अध्यक्ष नारायण क्षेत्रीले एमाले पार्टी परित्याग गरेको घोषणासहित स्वतन्त्र उम्मेदवारी दिएका छन् भने जसपाका कलैया उपमहानगर अध्यक्ष शिवनाथ पटेल तथा नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य ध्रुव यादवले पार्टी छोडेको घोषणा गरेर स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

लौरो बोकेर मतदाताको घरदैलोमा पुगेका जसपा नगर अध्यक्ष शिवनाथ पटेलले पुराना नेताहरू सधैं आफूमात्रै कुर्चीमा बस्ने प्रवृत्तिका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । ‘जसरी काठमाडौँ र धरानमा स्वतन्त्र उम्मेदवारले जिते पनि परिवर्तन भयो, त्यसरी नै यो समाजको परिवर्तनका लागि मेरो उम्मेदवारी हो,’ उनले थपे, ‘३३ वर्षदेखि म एमाले र जसपाभित्र बसेर राजनीति गरेको हुँ तर आज यी पार्टीहरूबाट देशको विकास नहुने देखेपछि मैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ । जनता अब पार्टीभन्दा माथि उठेर स्वतन्त्रलाई जिताउने अभियानमा लाग्नु नै मेरो चुनाव जित्ने आधार हो’ ।  बारा ३ (क) मा जसपाले भरत खड्कालाई उम्मेदवार बनाएको छ । 

एमालेबाट प्रदेशसभा सदस्यको दाबी गरेका पूर्व गाविस अध्यक्ष नारायण क्षेत्रीले भ्रष्टाचारविरुद्ध अभियान चलाउन आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । ‘पार्टीहरू सरकार चलाउन अक्षम देखिए । मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न सुशासन कायम गर्न हाम्रो उम्मेदवारी हो,’ क्षेत्रीले भने, ‘दलहरूले सत्ताको लागि राजनीतिलाई व्यवसाय बनाइरहेका छन् । यो त जनताको सेवाका लागि गर्ने पुण्यको काम हो । गरिब विपन्नहरूलाई राज्य सत्तामा पहुँच पुर्‍याउन पार्टीले अवसर नदिएपछि स्वतन्त्र उम्मेदवारी दिन हामी बाध्य भएका हौँ,’ एमाले नेता क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दिएपछि विज्ञप्ति निकाले पार्टी परित्याग गरेको घोषणा गरेका थिए । 

एक वर्षअघि एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा लागेका नेकपा एसमा प्रदेश कमिटी सदस्य ध्रुव यादवले सोही प्रदेशमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनको तर्फबाट ३ (क) मा माओवादीका मुकेश साहले टिकट पाएपछि यादवले पार्टी छोडेको घोषणा गरेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् । जनताको हितमा काम गर्न आफूले उम्मेदवारी  दिएको यादवले दाबी गरेका छन् । 

अन्य दलहरूबीचमा सेकेन्ड को हुने भन्ने होडबाजी छ : उम्मेदवार खड्का

जनता समाजवादी पार्टीका बारा ३ (क) प्रदेशसभा सदस्यका उम्मेदवार भरत खड्काले अन्य दलहरुबीच दोस्रो को हुने भन्ने होडबाजी रहेको बताएका छन् । ‘म जे बोल्छु त्यही गर्छु अहिलेसम्मको स्थित हाम्रो पक्षमा अत्यन्तै बलियो र सकारात्मक  अवस्था छ, हामीसँग प्रतिस्पर्धा गर्ने दल नै मैले देख्दिन बरु सेकेन्ड को हुने भन्ने विषयमा उहाँहरू बीचमा होडबाजी छ’ उम्मेदवार खड्काले भने, ‘उहाँबीचमा प्रतिस्पर्धा राम्रो देखिन्छ हामीसँग कसैको प्रतिस्पर्धा छैन ।’ 

२०७४ मा माओवादी केन्द्रकी उम्मेदवार ज्वालाकुमारी साहसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका खड्का यसपटक माओवादीका रवीन्द्रदास श्रेष्ठसँग प्रतिस्पर्धामा छन् । खड्का २०७४ मा नेकपा एमालेबाट प्रदेशसभा सदस्यका उम्मेदवार थिए । जितपुरसीमरा उपमहानगरको ८ वटा वडा र कलैया उपमहानगरको १० वटा वडा यही निर्वाचन क्षेत्रमा पर्दछ । बारा–३ मा जसपाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामबाबु यादवले पछिल्लो समय उत्तरी भेगमा गरेको लगानी र केही सकारात्मक कामको प्रतिफल खड्काका लागि सकारात्मक देखिएको छ । 

आम नागरिकका समस्या समाधान गर्न मेरो उम्मेदवारी हो : साह

सत्ता गठबन्धनका उम्मेदवार मुकेश साहले कृषि, शिक्षा, स्वास्थ्य, कलकारखानामा कार्यरत मजदुरका समस्या समाधान गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् । ‘जनताले जे सोचका छन्, जनताका आवश्यकता नै हाम्रो चुनावी एजेण्डा हो, यहाँ मुख्यतया राजमार्गसँग जोड्ने भित्री सडकहरूको समस्या, स्वास्थ्य, कलकारखानामा कार्यरत मजदुरको समस्या, किसानलाई मल र सिँचाइको  समस्या छ हामी यी सबै समस्या समाधान गर्न प्रतिबद्ध छौ’ उम्मेदवार साहले भने ‘युवा प्रति जनताको आकर्षण र जनताको भरोसाको कारण नै मेरो जित निश्चित छ’ सत्ता गठबन्धनबाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका साह २०७४ को निर्वाचनमा कलैया उपमहानगर नगरप्रमुखमा उम्मेदवार थिए । यसपटक सत्ता गठबन्धन इमानदार भए निर्वाचन सजिलै जित्ने सकिने बताउँछन् । 

हामी सबै सहयात्री हौ, कसैसँग मेरो प्रतिस्पर्धा छैन : उम्मेदवार श्रेष्ठ

नेकपा एमाले उम्मेदवार रवीन्द्रदास श्रेष्ठले आफ्नो प्रतिस्पर्धी कोही नभएको चुनावमा सबै सहयात्री भएको बताएका छन् । ‘मेरो चुनाव जित्ने आधार भनेको जनता नै हो, जनताको बीचमा बसेर काम गरेको छु विगतमा उहाँहरूले चुनेर मलाई कलैया नगरपालिकाको मेयर बनाउनु भयो यसपटक प्रदेश सभा सदस्य बनाउनुहुन्छ भन्ने विश्वासमा छु,’ श्रेष्ठले भने, ‘स्वच्छ चुनावी प्रतिस्पर्धामा जनताले कसलाई माया गर्नुहुन्छ उहाँहरूको हातमा छ ।’ एमाले उम्मेदवार साह २०५४ सालमा तत्कालीन कलैया नगरपालिकाको नगरप्रमुख भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप