बेलायती नेपाली डायस्पोरासँग भेट्दै राजदूत पोलिट
बेलायतस्थित नेपाली समुदाय र फरेन, कमनवेल्थ एन्ड डिभलपमेन्ट अफिस (एफसिडिओ) को नेपाल डेस्कले लन्डन वेष्ट मिनिस्टरस्थित मन्त्रालयमा सरोकारवालासँग छलफल गरेको छ । यहाँस्थित नेपाली समुदायका प्रतिनिधिको राय संकलन गर्ने उद्देश्यले पहिलोपटक यस्तो कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटलगायत फरेन, कमनवेल्थ एन्ड डिभलपमेन्ट अफिस नेपाल डेस्कसँग सम्बन्धित अधिकारीहरू सहभागी थिए भने नेपाली समुदायका तर्फबाट बुद्धिजीवी, व्यवसायी, नेपाली मूलका बेलायती जनप्रतिनिधि पूर्व मेयर तथा काउन्सिलर एवं सञ्चारकर्मीको सहभागिता थियो ।
राजदूत पोलिटले बेलायती दूतावासले नेपालमा खेलेको भूमिका, भावी योजना र प्राथमिकता बारेमा प्रस्ट्याएकी थिइन् । दुई देशबीचको कूटनीतिक तथा व्यापार-लगानी सम्बन्धको प्रवर्द्धनका साथै जलवायु परिवर्तनविरुद्ध साझा पहल, नेपालको स्वास्थ्य, शिक्षा, सुरक्षादेखि महिला सशक्तीकरण, सामुदायिक स्तरमा क्षमता निर्माण लगायतका एजेन्डामा प्राथमिकतासाथ बेलायतले आफ्नो सहयोग केन्द्रित गरेको उनले जनाइन् । नेपालमा आफ्नो भूमिकालाई थप प्रभावकारी र जनमुखी बनाउन बेलायतस्थित नेपाली समुदायको धारणा र सुझाव बुझ्न खोजेको र यसलाई निरन्तरता दिने बताइन् ।
छलफलमा बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण, दुई देशबीचको व्यापार-लगानीका क्षेत्रमा रहेका विविध अड्चनहरू हटाउने, भूपू गोर्खाहरूको लागि भिजा व्यवस्थामा सहजीकरण गर्ने जस्ता कार्यमा पहल गर्न राजदूत पोलिटलाई सुझाव दिएका थिए । यसै गरी भूपू गोर्खाको पेन्सन मुद्दादेखि बेलायतमा बस्ने नेपाली मूलका बेलायतीहरूले मातृभूमिसँगको सम्बन्ध र सम्पर्कका क्रममा व्यहोर्दै आएका विविध व्यवहारिक समस्याहरूको बारेमा पनि सहजीकरणको पहल गर्न आग्रह गरेका थिए । पछिल्लो समय बेलायत तथा नेपालमासमेत राजनैतिकस्थिरता नभएकोले कतिपय विषयलाई सहज रूपमा कार्यान्वयन गर्न अप्ठेरो परेको उनले बताइन् ।
नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लन्डनस्थित नेपाली दूतावासले मंगलबार साँझ एक विशेष कार्यक्रम ‘नेपाल इभिनिंग प्रोग्राम’ मा समेत सहभागी भएकी राजदूत पोलिटले ट्विट गर्दै आफू बेलायत आएर बेलायती सांसदहरुसँग नेपालको बारेमा कुरा गरिरहेको उल्लेख गरेकी छन् । बेलायत नेपालबीचको सम्बन्धलाई सुदृढ गर्ने अवसरको खोजी गर्दै प्रमुख नेपाली डायस्पोरा, प्रतिष्ठित पर्वतारोही र अन्य अतिथिहरूसँग भेटघाटमा व्यस्त रहेको उल्लेख गरेकी छन् ।
कार्यक्रममा युनिभर्सिटी कलेज लन्डनका प्राध्यापक डा. तेजेन्द्र फेराली, काउन्सिलरत्रय विष्णुबहादुर गुरुङ, लक्ष्यबहादुर गुरुङ र जीत रानाभाट, व्यवसायी विकास नेपाल, अभियन्ता आस्था पौडेल, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष ध्रुवराज अर्याल र महासचिव नरेन्द्र बस्नेतको प्रत्यक्ष सहभागिता थियो । यसै गरी राउन्ड टेबल छलफलको पहल गर्ने युवा अभियन्ता प्रशान्त कुँवर, वरिष्ठ सञ्चारकर्मी भगीरथ योगी, चर्चित ब्लगर लेक्स लिम्बूलगायतले भर्चुअल रूपमा सहभागिता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवकलाई बन्धक बनाएर कुटपिट गर्ने ३ जना पक्राउ
-
अफवाह फैलाउने १० युट्युब च्यानल कारबाहीमा
-
रेखा भन्छिन्– सन्तान जन्माएपछि महिला झन् जवान हुन्छन्
-
टिजरमा यस्तो देखियो सौगातको ‘बम बहादुर’
-
लक्ष्मण र सुनिताले ल्याए ‘बिहे गरियो’
-
सरकार ढाल्ने स्वार्थ समूहले नै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरे : वर्षमान पुन