शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

गठबन्धन निर्वाचन परिचालन समितिको बैठक : समस्या समाधान गर्न पहल गर्ने निर्णय

बिहीबार, २४ कात्तिक २०७९, १६ : ३८
बिहीबार, २४ कात्तिक २०७९

सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले निर्वाचनका क्रममा देखिएका समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको छ ।

बिहीबार नेपाली काँग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका निर्वाचन परिचालन समितिमा आबद्ध नेताहरूको संयुक्त बैठक बसेर निर्वाचन परिचालनमा देखिएको समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको हो ।

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा काँग्रेसको निर्वाचन परिचालन सचिवालय समिति संयोजक अम्बिका बस्नेतको अध्यक्षतामा बसेको बैठकले चुनावी अभियानमा देखिएको समस्या समाधान गर्दै जाने विषयमा छलफल गरेको छ ।

बैठकबारे जानकारी दिँदै नेपाली काँग्रेसका नेता तथा काँग्रेस निर्वाचन परिचालन सचिवालय समितिको सह–संयोजक दिव्यमणि राजभण्डारीले गठबन्धनका समस्या समाधान गर्दै धेरै भोट प्राप्त गर्नेगरी चुनावी अभियानमा जाने विषयमा छलफल भएको बताए । उनले स्थानीयदेखि केन्द्रीय स्तरसम्मका पार्टी सदस्यहरूलाई चुनावमा परिचालन गर्ने सम्बन्धमा सहमति भएको उल्लेख गरे  ।

उनले भने– ‘गठबन्धनमा देखिएका केही समस्या छन् भने त्यस समस्यालाई निराकरण गर्दै जाने र चुनावमा कसरी धेरै भोट हासिल गर्नका लागि राम्रो समझदारीमा चुनावमा जानको निम्ति छलफल भयो । एक आपसमा सहकार्य गर्ने विषयमा छलफल भयो । नियमित छलफल गर्ने र समस्या निराकरण गर्ने र अगाडि बढ्ने प्रतिवद्धता भयो । हाम्रा साथीहरू टोल, वडादेखि राष्ट्रिय स्तरसम्म सबै साथीहरूलाई क्रियाशील गराउने, सबै साथीहरूलाई चुनाव परिचालनमा जुटाउने र अगाडि बढाउनुपर्ने भन्नेमा हामीले सन्देश दिएका छौँ ।’

नेकपा (माओवादी केन्द्र) का नेता महेश्वर दाहालले कतिपय ठाउँमा अझै पनि बागी उम्मेदवारहरु रहेकाले बागी फिर्ता गराउने विषयमा छलफल भएको बताए । त्यस्तै गठबन्धनका नेता, कार्यकर्ताहरू नै चुनावमा सक्रिय नभएको भन्दै उनले त्यस्ता समस्या समाधानका लागि गठबन्धनमा छलफल अघि बढेको बताए ।

उनले भने–‘गठबन्धनमा उठेका उम्मेदवारहरू जहाँ जानुभएको छ, त्यहाँ दुई, तीनवटा समस्याहरू देखिए भन्नेछ । पहिलो कुरा, अझैपनि केही बागीहरु हुनुहुन्छ । अझै दुईवटा उम्मेदवारहरू भइरहनुभएको छ कतिपय ठाउँहरूमा । कतिपय ठाउँमा आफ्नै साथीहरू सक्रिय नभएको भन्ने छ । सबैतिर के–कस्तो छ भनेर समस्याहरूको बारेमा आज छलफल भए । कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा नेतृत्वसँग पनि कुरा गर्ने र अधिकतम परिचालन गर्नका लागि के गर्न सकिन्छ भन्ने विषयमा हामीले छलफल गर्यौं ।’

बैठकमा नेपाली काँग्रेसको तर्फबाट नेताहरू अम्बिका बस्नेत, दिव्यमणि राजभण्डारी र सुरेश आचार्यको सहभागिता थियो भने नेकपा (माओवादी केन्द्र) बाट महेश्वर दाहाल, गोविन्द आचार्य र विष्णु सापकोटाको सहभागिता थियो । त्यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट लक्ष्मण केसी, लोकतान्त्रिक समाजवादी पार्टीबाट दामोदर आचार्य र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरीको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप