डोटी भूकम्पपछि ३ सय बढी परकम्प : के सङ्केत गर्छ ?
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान सवा ५ बजे बाजुरामा ४ दशमलव १ रेक्टर स्केलको परकम्प गएको छ । यो अघिल्लो दिन डोटीमा गएको भूकम्पपछिको परकम्प रहेको छ । मंगलबार गएको सो भूकम्पपछि ३ सय बढी परकम्प गएको छ ।
कार्तिक २२ गते डोटीमा गएको भूकम्पमा परी ६ जनाको मृत्यु भयो, ५ जना घाइते भए । डोटीको पूर्वी चौकी गाउँपालिका वडा नं ३ गैरागाउँमा केन्द्रबिन्दु बनाइ ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पका कारण केही कच्ची घरहरू भत्किए । मध्यम स्तरको भूकम्प गएका कारण ठुलो मानवीय तथा भौतिक क्षति हुन पाएन ।
नेपालमा भूकम्प मापन गर्न थालेपछि पश्चिममा सबैभन्दा ठुलो भूकम्प गएको भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी बताउँछन् । उनले भने–‘डोटीमा गएको परकम्प नभई भूकम्प हो । यो मझौला खालको भूकम्प हो । ६ म्याग्नीच्यूडभन्दा माथिको भूकम्पले मानवीय क्षति पुर्‍याउँन गरेको छ । नेपालमा प्रविधिले रेकर्ड गर्न थालेदेखि सुदूरपश्चिममा गएको यो दोस्रो ठुलो भूकम्प हो । यसअघि २०३७ सालमा बझाङमा ६ दशमलव ५ म्याग्नीच्युडको भूकम्प गएको थियो ।’
त्यसअघि पश्चिम नेपालमा १५०५ सालमा ठुलो भूकम्प गएको थियो भनिने गरे पनि त्यसबाहेक अरू रेकर्ड नभएको उनले बताए । डोटी भूकम्पपछि ३ सय बढी परकम्प गएको र सबैभन्दा ठुलो परकम्प ४ दशमलव १ रेक्टर स्केलको रहेको छ । अरू परकम्प त्यो सानो खालको रहेको डा.अधिकारीले जानकारी दिए ।
नेपालमा ठुला भूकम्प नगएको क्षेत्र भनेको पश्चिम क्षेत्र नै हो । नेपालको मध्य क्षेत्रमा २०७२ सालमा गोरखा केन्द्रविन्दू बनाएर भूकम्प गएको थियो । पूर्वतिर १९९० सालमा भूकम्प गयो भने त्यसअघि १२५५ सालमा गएको थियो । २०४५ सालमा उदयपुरमा पनि ठुलो भूकम्प गएको थियो । २०६८ सालमा ताप्लेजुङ र सिक्किममा पनि भूकम्प गएको अधिकारीले बताए ।
डोटीमा मझौला खालको भूकम्प गएकोले केही कच्ची संरचना भएका ढुङ्गा माटोका घर भत्किएको छ । गोरखा भूकम्पपछि नेपालीहरू सचेत भएको र नयाँ घर बनाउँदा भूकम्प प्रतिरोधी घर बनाउने गरेका कारण क्षति कम हुनसक्ने उनले बताए । नेपालमा भूकम्प फेरी कहिले जान्छ भन्न नसकिने डा. अधिकारी बताउँछन् ।
उनले भने–‘भूकम्प जहिलेसुकै पनि जान सक्छ । भूकम्प जानका लागि जमिनमुनि पर्याप्त मात्रामा ‘इनर्जी’ पनि छ । त्यसकारण जुनसुकै बेला जुनसुकै प्रकारको भूकम्प जान सक्ने अवस्था रहन्छ । नेपालमा भूकम्प दिनदिनै गइरहेको हुन्छ । ४ रेक्टर स्केलभन्दा माथिको मात्र सबैले थाहा पाउने ’किसिमको हुन्छ, त्यो भन्दा तलको सबैले थाहा पाउने किसिमको हुँदैन । नेपालको पूर्वदेखि पश्चिमसम्म सबैतिर भूकम्प गइरहेको छ ।’
जहाँ भूकम्पको केन्द्रबिन्दु बन्छ त्यसको २ सयदेखि ३ सय किलोमिटरको दुरीसम्म त्यसको प्रभाव रहने उनले बताए ।
२०७२ सालअघि भूकम्प मापनका लागि २१ वटा स्टेसन रहेकोमा अहिले देशभर ४२ वटा स्टेसन रहेका छन् । विश्वका जुन प्रविधिले भूकम्प मापन गर्छन् हाम्रो देशमा पनि त्यही प्रविधिबाट मापन गर्ने गरिएको छ । अहिले नेपालमा पनि पछिल्लो प्रविधिबाट भूकम्प मापन गर्न थालिएको अधिकारीले बताए ।
नेपालमा किन जान्छ भूकम्प ? यस्तो छ कारण
नेपालको हिमालय क्षेत्रको तल इन्डियन प्लेट र तिब्बती प्लेट एकअर्कामा जुधेर रहेको अवस्था छ । युरेसियन समेत भनिने तिब्बती प्लेट भारतीय प्लेटभन्दा ठुलो भएकोले भारतीय प्लेट प्रतिवर्ष २ सेन्टिमिटर उत्तरतिर धसिइरहेको छ ।
दुई प्लेटका बिचमा भारतीय प्लेटले तिब्बती प्लेटलाई पेल्न नसक्दा भित्र धस्सिने क्रममा घर्षणले गर्दा प्लेटहरूको परिधिमा शक्ति जम्मा भइरहेको हुन्छ । घर्षण हुँदा उत्पन्न हुने फल्टहरूमध्ये ९२ वटा सक्रिय फल्टहरू नेपालको सीमाक्षेत्रमा पर्ने र दुईवटा फल्टहरू काठमाडौँमुनि रहेकोले दुई प्लेटको घर्षणका कारण भएको शक्ति सञ्चय बाहिर निस्कन खोज्दा हिमालयमुनि नेपालमा भूकम्प आउने अधिकारी बताउँछन् ।
तिब्बती प्लेटलाई उत्तरतिर सार्न सकेको भए सो प्लेट उता सर्दै जाने र सार्न नसकेका कारण शक्ति उत्पन्न हुने र त्यो शक्ति बाहिर आउन खोज्दा भूकम्प जाने उनले बताए । जमिनमुनि दुई प्लेटको घर्षणबाट सञ्चय भएको शक्ति बाहिर निस्कन खोज्दा साना ठुला भूकम्प गइरहने उनले बताए ।
भारतीय प्लेट र तिब्बतीयन प्लेटका कारण हिमालय क्षेत्रमा जहिले पनि भूकम्पको जोखिम रहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’