बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मतदाताले राजनीतिक दलका उम्मेदवारलाई पत्याउन छाडिसके : श्रीराम गुरुङ

बिहीबार, २४ कात्तिक २०७९, १४ : २४
बिहीबार, २४ कात्तिक २०७९

प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिएका श्रीराम गुरुङ राजनीतिक दलका उम्मेदवारलाई जनताले पत्याउनै छाडिसकेको बताउँछन् । 

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल जस्ता उम्मेदवारलाई चुनौती दिन अग्रसर गुरुङ उत्साहित भएर चुनाव प्रचारमा खटिरहेका छन् । चुनावमै केन्द्रित रहेर रातोपाटीले गुरुङसँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, स्वतन्त्र उम्मेदवार गुरुङसँग गरिएको कुराकानीको सम्पादित अंश–  

अहिले तपाईं काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार हुनुहुन्छ । मतदाताबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

हामीले घरदैलोका क्रममा राजनीतिक दलका सबै उम्मेदवार र सबै राजनीतिकर्मीहरू प्रति जनताको नैराश्यता पाएका छौँ । सबैजनाले राजनीतिभन्दा माथि सोच्ने व्यक्तिहरूलाई रोज्ने तयारी गरेको पाइएको छ । र, हामी राजनीतिक एजेन्डा नभई देशको एजेन्डा लिएर अगाडि बढेका छौँ । घरदैलोका क्रममा एकदमै सकारात्मक प्रतिक्रिया पाइरहेका छौँ ।

यो क्षेत्रमा तपाईंजस्ता स्वतन्त्र उम्मेदवार धेरै छन् । यही एउटा क्षेत्रमा मात्रै करिब १५ जना स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । यसले त स्वतन्त्र स्वतन्त्रबीच नै प्रतिस्पर्धा देखियो नि ?

क्षेत्र नम्बर ५ मा कुल २८/२९ जना उम्मेदवार हुनुहुन्छ । त्यसमध्ये १४ जना स्वतन्त्र र १४ जना दलका उम्मेदवार हुनुहुन्छ । राजनीतिक दलका २/३ जना र स्वतन्त्रतर्फका २/३ जना ‘नोटेबल’ हुनुहुन्छ । र, अन्त्यमा बाजी मार्ने एक जनाले नै हो । 

यसपटक स्वतन्त्र र पार्टीको लडाइँभन्दा पनि एजेन्डा र विचारको लडाइँ हो । यो निर्वाचनबाट राम्रो विचार र एजेन्डा भएका उम्मेदवार निर्वाचित हुनुपर्छ । जसले देशको आर्थिक र भौतिक विकासको एजेन्डालाई अगाडि बढाउन सकोस् । जनताको इच्छा र चाहनालाई विकासका रूपमा अगाडि बढाउन सक्ने खालको उम्मेदवार नै निर्वाचित हुनुपर्छ ।

तपाईंहरूले यहाँका मतदातालाई विश्वस्त पार्ने गरी कस्ता एजेन्डा अगाडि सार्नु भएको छ ?

हामीले लामो अध्ययनपछि पर्यटन र प्रविधिलाई मुख्य एजेन्डाका रूपमा अगाडि सारेका छौँ । व्यापार र ऊर्जालाई पनि हाम्रो एजेन्डामा समेट्ने प्रयास गरेका छौँ । र, मूख्य उद्देश्य भनेको राजनीतिक नभई आर्थिक हुनुपर्छ भन्ने हाम्रो एजेन्डा हो । 

अबको मुद्दा भनेको आर्थिक र आत्मनिर्भरताको मुद्दा हुनुपर्छ र, हाम्रा भावी पुस्ताका लागि हुनुपर्छ । अहिलेको अवस्थामा राजनीतिक खिचातानीले सबै कुरा ओझेलमा पार्‍यो । त्यसैले अबको राजनीतिमा आर्थिक मुद्दा नै मूख्य मुद्दा बन्नुपर्छ ।

प्रमुख राजनीतिक दलका ठूला नेता समेत यही क्षेत्रमा उम्मेदवार छन् । यो कडा टक्करकाबीच स्वतन्त्र उम्मेदवार आउने सम्भावना कति छ ?

यस पटकको निर्वाचनबाट स्वतन्त्र उम्मेदवार निर्वाचित हुने सम्भावना उच्च छ । किनकि, अहिले राजनीतिक दलको नेता र कार्यकर्ताबाट जनता आजित भएका छन् । राजनीतिक दलले बोकेका एजेन्डा पत्याउन छाडेका छन् । अब मतदाताले कुन दलले कति रोजगारी सिर्जना गरेको छ, कति विकास गरेको छ भनेर हेर्छन् । म मेरा मतदातालाई विश्वास गर्छु र अबको ५ वर्षका लागि सही नेतृत्व चयन गर्नका लागि अनुरोध समेत गर्छु । 

हामीले विगत लामो समय संविधान बनाउने भनेर खेर फालेका छौँ । अब समय खेर फाल्ने छुट हामीलाई छैन ।

तपाईंहरू अबको राजनीतिमा युवाको हस्तक्षेप हुनुपर्छ भनेर एजेन्डासहित आउनु भएको हो वा रहर मात्रै हो ?

कुनै राजनीतिक दलका उम्मेदवारले देशको आवश्यकता के हो भनेर बुझेर आएको भए हुन्थ्यो । यदि कोही उम्मेदवार त्यसरी आएको भए हाम्रो समर्थन हुन्थ्यो । तर, कसैको मुद्दा पनि यो देशलाई आत्मनिर्भर बनाउँछु भन्ने छैन । सबै नेताको एजेन्डा विकासका लागि पैसा दिन्छु भन्नेमात्रै छ । तर, कसरी पैसा दिन्छु भन्ने उनीहरूलाई नै थाहा छैन । हामी यत्तिकै पनि वैदेशिक ऋणमा चुर्लुम्म डुबिसकेका छौँ ।

तपाईंले कति मत ल्याएर निर्वाचन जित्ने आँकलन गर्नुभएको छ ?

यसको जवाफचाहिँ मंसिर ४ पछि नै पाइन्छ । किनकि, मतदाताले कस्तो निर्णय गर्छन्, सोही अनुसार हुन्छ । अब मतदाताले योग्यता र दक्षता हेरेरमात्रै मत दिनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप