स्वतन्त्रको लर्कोबीच प्रदीपले रोक्न सक्लान् ईश्वरको विजयी यात्रा ?
प्रतिनिधिसभा अन्तर्गत काठमाडौं क्षेत्र नं. ५ को चुनावी प्रतिस्पर्धा निकै रोचक हुने देखिएकोे छ । यस निर्वाचन क्षेत्रमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि उम्मेदवार छन् । आम निर्वाचन, २०७४ र संविधानसभाको दोस्रो निर्वाचनमा समेत उनी यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।
लगातार तेस्रो पटक यही क्षेत्रबाट निर्वाचित भएर ‘ह्याट्रिक’ गर्ने दाउमा पोखरेल छन् । तर, यसपटक पोखरेललाई जितको शृङ्खलामा ब्रेक लगाउन वाम–लोकतान्त्रिक गठबन्धनले साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेललाई पोखरेलविरुद्ध मैदानमा उतारेको छ । वौद्धिक र कुशल नेताको छवि बनाएका पौडेलसँग पोखरेललाई चुनावी प्रतिस्पर्धा निकै रोचक हुने आँकलन छ । पौडेललाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीको समेत समर्थन रहेकाले ती पार्टीहरुको मतसमेत पौडेललाई आउने अपेक्षा गरिएको छ ।
उसो त प्रतिनिधिसभाकै लागि प्रत्यक्षमा २९ भन्दा बढी उम्मेदवार रहेको यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरूको पनि लर्को छ । त्यसैले यस क्षेत्रमा चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिन्छ ।
मतको हिसाबकिताब
गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा पार्टीहरुले पाएको जनमत केलाउँदा यस क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनको तुलनामा नेकपा एमाले केही बलियो देखिन्छ । स्थानीय निर्वाचन, २०७९ मा नेकपा एमालेले यस क्षेत्रबाट एक्लैले १९ हजार ७०३ मत प्राप्त गरेको थियो । तर वाम–लोकतान्त्रिक गठबन्धनले यस क्षेत्रबाट स्थानीय निर्वाचनमा कुल १७ हजार ९०६ मतमात्र पाएको छ ।
प्राप्त मत परिणाम अनुसार क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसले १४ हजार ८५३ मत पाएको थियो भने नेकपा माओवादी केन्द्रले १ हजार ८२७ मत र नेकपा एकीकृत समाजवादी पार्टीले १ हजार १६१ मत पाएको थियो । यी तीन पार्टीको मत जोड्दा समेत नेकपा एमालेले प्राप्त गरेको मतभन्दा कम नै हुन्छ ।
यस क्षेत्रबाट स्थानीय निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ८२२ मत प्राप्त गरेको थियो भने अन्य साना पार्टीले ४ सय ७१ मत र स्वतन्त्रहरुले ७८१ मत प्राप्त गरेका छन् ।
स्थानीय निर्वाचन, २०७९ मा क्षेत्र नं. ५ बाट पार्टीहरुले पाएको मत
–एमाले : १९ हजार ७ सय ३
–कांग्रेस : १४ हजार ८ सय ५३
–राप्रपा : २ हजार ८ सय २२
–माओवादी : १ हजार ८ सय २७
–नेकपा एस : १ हजार १ सय ६१
–स्वतन्त्र : ७ सय ८१
–अन्य : ४ सय ७१
काठमाडौं निर्वाचन क्षेत्र नं.५ अन्तर्गत काठमाडौं महानगरपालिकाका वडा नं २, ३, ४, ५, बूढानीलकण्ठ नगरपालिकाको वडा नं ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाको वडा नं २, ३, ४, ५, ६, ७ पर्छन् ।
स्वतन्त्रका विरुद्ध स्वतन्त्र
चुनावी प्रतिस्पर्धाको हिसाबले काठमाडौं क्षेत्र नं.५ मा स्वतन्त्रहरुको बाढी नै लागेको छ । प्रतिनिधिसभाकै लागि प्रत्यक्षतर्फ २९ जना उम्मेदवार रहेको यस क्षेत्रमा आधाजसो उम्मेदवार त स्वतन्त्रबाटै छन् ।
तत्कालीन विवेकशील साझा पार्टीकी चर्चित नेतृ रञ्जु दर्शनाले यसै क्षेत्रबाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएकी छन् । यस्तै, आफूलाई समाजसेवी बताउने युवा नेता हेमराज थापा, पर्यटन व्यवसायी श्री गुरुङ लगायतका चर्चित युवासमेत यही क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गर्दैछन् ।
परिवर्तनका लागि युवा नेतृत्वको खाँचो औंल्याउदै चुनावी मैदानमा उत्रिएका स्वतन्त्रहरु नै एकआपसमा प्रतिस्पर्धामा उत्रिएकाले यस क्षेत्रको निर्वाचन थप रोचक बन्ने देखिन्छ ।
‘बहुमतको जग नै भत्किसकेपछि ताजा जनादेशमा जानुको विकल्प थिएन’
–ईश्वर पोखरेल, उम्मेदवार नेकपा एमाले
निर्वाचनको सँघारमा तपाईं जनताको घरदैलो गर्दै हुनुहुन्छ, मत माग्दै हुनुहुन्छ । तपाईंप्रति यहाँका जनताहरुको सद्भाव कस्तो पाउनुभयो ?
संविधानसभाको निर्वाचनपछि, संविधान जारी भएपछि म दोस्रो पटक यो क्षेत्रबाट उठ्दै छु । मैले यो ठाउँमा लामो समयदेखि काम गर्दै आएको, यो क्षेत्रका जनताहरुको सुख दुःखको साथी बनेर आएको, यहाँको विकास निर्माणमा पनि ध्यान दिँदै आएको र राष्ट्रिय स्तरका महत्वपूर्ण जिम्मेवारीहरु समेत पूरा गरेका कारण यो क्षेत्रका जनताहरुले मलाई राम्रोसँग चिन्छन् । मेरा सबल पक्ष पनि यहाँका जनताहरुलाई थाहा छ र मेरा दुर्बल पक्ष पनि । यहीँका जनताको सुख दुःखमा सधैँ साथमै रहेकाले मेरा लागि पनि यो क्षेत्र नौलो रहेन । यहाँका जनता र मेरो भावनात्मक सम्बन्ध रहेकाले मेरा लागि यो अनुकुल ठाउँ हो ।
दुई–दुई पटक निर्वाचित गरेर पठाइसकेको यो क्षेत्र र यहाँका जनताहरुको माग, तपाईंलाई कुन मुद्दा चाहिँ स्थापित गर्न बाँकी छ जस्तो लाग्छ ?
केही निश्चित मान्छेहरुले फन्डा क्रियट गरेर यहाँका जनताहरुको माग सम्बोधन भएन भनेर प्रचार गरिएको छ । त्यो त तपाईं जनतासँग इन्डिपेन्डिली कुनै आग्रह पूर्वाग्रह नराखेका व्यक्तिहरुसँग सोध्नुभयो भने थाहा पाइहाल्नुहुन्छ । क्षेत्र नं.५ का महानगरका वडाहरुमा, बुढानिलकण्ठ नगरपालिकाका वडाहरुमा र टोखा नगरपालिकाकाभित्र पर्ने वडाहरुमा समेत सोध्न सक्नुहुन्छ । मप्रति र नेकपा एमालेप्रति जनताहरुको सद्भाव राम्रो पाउनुहुन्छ । यो मेरो दाबीमात्र होइन, वास्तविकता हो ।
त्यसकारण म के भन्न चाहन्छु भने, यस क्षत्रको विकास, यहाँको जनभावना, यहाँको मुद्दा मैले पूरा नगरेको भन्ने होइन । मेरो क्षेत्रमा मैले पूर्ण रुपमा काम गरेको छु र पछि पनि गर्नेनै छु ।
गएको स्थानीय निर्वाचनमा यस क्षेत्रभित्र पर्ने १५ वटा ठूलठूला वडामध्ये ११ वटा वडामा हामीले अध्यक्ष जितेका छौं । बाँकी ४ वटा वडामा अध्यक्ष नभए पनि सदस्यहरु जितेका छौं । एउटा वडामा मात्र हामीले जित निकाल्न सकेनौं ।
एउटा संगठनको बलमा नेकपा एमालेले एमालेको विचार, कार्यक्रम, तथा योजनालाई स्थापित गरेको छ । एमालेले बीचमा के–के गर्‍यो भन्ने आधारमा र दोस्रो, म यो ठाउँको प्रतिनिधि भएर गरेको कामको आधारमा र यो ठाउँमा भएको प्रगति, विकासका आधारमा म फेरि यो ठाउँमा उठ्दै छु । पार्टीको तल्लो स्थानीय कमिटीले समर्थन गरेकाले पनि मैले यो क्षेत्रबाट फेरि एकपटक उम्मेदवारी दिएको हुँ ।
तपाईंका विरुद्ध वाम–लोकतान्त्रिक गठबन्धनले युवा नेता प्रदीप पौडेललाई मैदानमा उतारेको छ । उहाँलाई तपाईं कत्तिको प्रतिस्पर्धी मान्नु हुन्छ ?
मेरो प्रतिस्पर्धा गठबन्धनसँग होइन, कांग्रेससँग हो । म उहाँलाई गठबन्धनको उम्मेदवार मान्दिन, कांग्रेसको उम्मेदवार हो । गठबन्धन त सिद्धान्तविहीन पक्षहरुको एउटा जमातमात्र हो । त्यो जनताले राम्रोसँग बुझेका छन् । त्यसकारण हाम्रो प्रतिस्पर्धा कांग्रेससँग हो । स्थानीय निर्वाचनको परिणाम अनुसार पनि हामी निकै अगाडि छौं ।
तपाईंले यहीँ देखिरहनुभएको छ कि नेकपा एमालेको जनसमर्थन कति छ भन्ने कुरा । जनताहरुको साथ–सपोर्ट र यी भिड त्यतिकै आएका होइनन् । यी हाम्रा मान्छेहरु मात्र पनि होइनन्, स्वतस्फुर्त आएको जनलहर हो ।
यसअघि पनि यहाँका जनताले तपाईंलाई जिताएर पठाएकै हुन्, देशभरबाट वाम गठबन्धनलाई झण्डै दुईतिहाइ मत दिएकै हुन् । तर पनि जनभावनाको कदर, अभिमतको कदर भएन, गर्न सकिएन भन्ने लाग्दैन ?
यसमा कस्तो हो भने एमाले एक्लैले बहुमत पाएको होइन । तत्कालीन समयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक हुँदा पाएको मत हो । जब एकता टुट्यो, बहुमतको जग नै भत्कियो, जग नै भत्किसकेपछि बहुमत भन्ने नै रहेन नि । त्यसपछि ताजा जनादेशमा जानुको कुनै विकल्प थिएन ।
तपाईंकै क्षेत्रबाट प्रतिनिधिसभाका लागि प्रत्यक्षमा २९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । गठबन्धन त छँदैछ, तपाईंमाथि स्वतन्त्रहरु समेत भारी पर्ने देखिन्छ । जित सम्भव देख्नुभएको छ ?
स्वतन्त्रसँगै विभिन्न राजनीतिक दलका साथीहरु उठ्नुभएको छ, मेरा प्रतिस्पर्धी बन्नुभएको छ, यो त संविधानले गरेको व्यवस्था बमोजिम उहाँहरुले दिनुभएको उम्मेदवारीप्रति मेरो कुनै नकारात्मक टिप्पणी छैन । यो स्वाभाविक प्रक्रिया पनि हो । संवैधानिक प्रक्रिया पूरा गरेर उहाँहरु उठ्नुुभएको छ । आफ्नो योजना, एजेन्डा तथा गतिविधिहरु अनुसार आउनुभएको छ, यसलाई म अस्वाभाविक मान्दिनँ । तर के हो भने, यसमा हामीले के बुझ्न जरुरी छ भने यो क्षेत्रसँगको सम्बन्ध, समन्वय, सम्पर्कहरु, एमालेका काम कर्तव्य र योजनाहरु अब आउने दिनहरुमा पूरा गर्नुपर्ने छ । यसका लागि नेकपा एमालेको विकल्प अरु हुन सक्दैन । जनताले पनि हामीलाई नै विजय गराउने छन् ।
निर्वाचनपछि नेकपा एमालेको मुद्दा के हुन्छ ?
नेकपा एमालेले जहिल्यै उठाउने पहिलो मुद्दा भनेको राजनीतिक स्थायित्वको मुद्दा नै हो । राजनीतिक स्थायित्व नभएसम्म देशको विकास हुँदैन, आर्थिक विकास र समृद्धि हुन सक्दैन । यसैले राजनीतिक स्थायित्वनै पहिलो मुद्दा हो । एमालेले जित्यौं भने यो मुद्दालाई पहिलो प्राथमिकता दिन्छौं ।
दोस्रो, राष्ट्रिय हितको रक्षा । चाहे नाकाबन्दीको कुरा होस्, चाहे हाम्रो चुच्चे नक्सा कालापानी, लिपुलेक र लिम्पियाधुराको कुरा । अंगीकृत नागरिकहरुलाई नागरिकता नदिने कुरा होस् नेकपा एमालेले आफ्नो अडान लिन्छ । छिमेकीले बलमिच्याइँले मिचेका भूमिहरु फिर्ता लिने कुराहरुमा सिङ्गै मुलुकलाई एकताबद्ध बनाएर जाने कुरामा नेकपा एमालेले भूमिका खेल्छ ।
र तेस्रो, सुशासनको मुद्दामा नेकपा एमालेले उठाएको ‘म भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ’को नीतिलाई कडाइका साथ लागू गर्छ । आर्थिक विकास र समृद्धिका मुद्दामा सातै प्रदेशमा औद्योगिक क्षेत्रको स्थापना गर्ने, ७५३ वटै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने, पूर्व–पश्चिम राजमार्गलाई विस्तार गर्ने, दैलेखको ग्यास खानीलाई उत्खनन् गर्ने र नवलपरासीको फलाम खानीलाई नेपालीहरुले ७० वर्ष प्रयोग गर्न पाउने गरी नेकपा एमालेले प्रयोगमा ल्याउनेछ ।
यस्तै, नेकपा एमालेले उठाएको पूर्व–पश्चिम रेलमार्ग, उत्तर–दक्षिण राजमार्ग, चीनसँगको पारवहन सम्झौतालाई थप कार्यान्वयन गर्ने कुरालाई नेकपा एमालेले प्राथमिकता दिनेछ । यो सबै गर्न बलियो पार्टी चाहिन्छ, त्यो नेकपा एमाले नै हो र जनताले हामीलाई नै जिताउनुपर्छ ।
नेकपा एमालेले कति सिटसहित अब प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छ ?
हामी बहुमत ल्याउँछौं । बहुमत पुग्नेगरी जनमत पाउँछौं ।
धैरै पटक पदमा गएकै कारणले बलियो भइँदैन : प्रदीप पौडेल
उम्मेदवार, नेपाली कांग्रेस, काठमाडौं–५
यो चुनावी अभियानका क्रममा कस्तो माहौल पाउनु भएको छ ?
यसअघि यस क्षेत्रबाट निर्वाचन जितेका नेताहरू निर्वाचनको समयमा मात्रै झुल्किन्छन् । विकासका आश्वासन दिएर पनि काम नगरेका तिता अनुभवहरू यस क्षेत्रका मतदाताले समेटेका छन् । यस हिसाबले पनि विगतमा यस क्षेत्रबाट जितेका नेताप्रति मतदातामा वितृष्णा पाएको छु । नेताले आफूलाई मालिक र जनतालाई दासीको जस्तो व्यवहार गरेको भन्ने गुनासो चरम भेटिन्छ । हामीले त्यो सबै कमजोरीलाई करेक्सन गर्छौं भनेका छौं ।
तपाईंले निर्वाचन जितेर प्रतिनिधिसभा पुगेपछि मतदाताले के अपेक्षा गर्ने ?
विगतका व्यवहारलाई करेक्सन गर्ने मूख्य काम मेरो हुनेछ । यस क्षेत्रमा लामो समयदेखि व्यवस्था बदलिए पनि अवस्था बदलिएको छैन । त्यसैले जनप्रतिनिधि हुने भनेको सेवक हुने हो । मालिक हुने हैन । जनताका समस्यालाई निरन्तर उठाउने र ती मुद्दा समाधान गर्न लागिपर्ने काम गर्नेछु । र, राज्यमा सुशासन कायम गर्नुका साथै भ्रष्टाचार अन्त्य गर्ने काम गर्नेछु । मुख्यगरी यस क्षेत्रका जनताले सुशासन खोजेका छन् ।
मैले यस क्षेत्रलाई धुँवाधुलो मुक्त गर्छु भनेको छु । विकासे योजनामा पहल गर्छु भनेको छु । देशको आर्थिक विकासका लागि चाहिने एजेन्डा अघि सार्छु भनेको छु । परनिर्भरताको समस्या हल हुनुपर्छ । पर्यटन पूर्वाधार, औद्योगिक पूर्वाधार विकास गर्नुपर्छ । यसका लागि काम गर्छु ।
यस क्षेत्रमा चुनाव लड्दै गर्दा तपाईंका एजेन्डा के छन् ?
काठमाडौं जस्तो राजधानी सहरमा बिजुलीका नाङ्गो तार व्यवस्थापन गर्नुपर्ने अवस्था छ । बाटो पनि पिच भएन भन्ने गुनासो छ । ढल फुटेको र बाटोमा प्वाल परेका जस्ता सामान्य विषयलाई पनि सम्बोधन गर्न नसकिएको अवस्था छ । नीतिगत नेतृत्वसँगै स्थानीय समस्या समाधान गर्दै जानुपर्छ । त्यसैले निर्वाचन जितेपछि जनतासँगको सम्बन्ध थप प्रगाढ पार्दै लैजानुपर्छ ।
यसअघि पटक पटक नेकपा एमालेबाट निर्वाचित भएका नेताविरुद्ध तपाईं निर्वाचन लड्दै हुनुहुन्छ । तपाईं कत्तिको चुनौती महसुस गरिरहनुभएको छ ?
धेरै पटक जितेको र धेरै पटक निर्वाचनमा उठेका कारणले बलियो भइँदैन । धैरै पटक पदमा गएकै कारणले बलियो भइँदैन । पदमा पुगेर गरेका काम हेरेर जनताले मत दिने हो । निर्वाचन जितेर गएको ५ वर्षको अवधिमा त्यस क्षेत्रको विकासका लागि राम्रो भूमिका खेलेको भए हेभीवेट हुन सक्छ । त्यसको आधारमा मूल्यांकन गर्ने स्थिति हुन सक्छ । त्यसैले यसपटक मतदाताले चोटिलो प्रवृत्तिविरुद्ध मत खसाल्छन् ।
अहिले स्वतन्त्रहरूको उभार आएको छ । तपाईंले कत्तिको चुनौती देख्नुहुन्छ ?
म निर्वाचनमा सहभागी सबै साथीहरूलाई सम्मान गर्छु । लोकतन्त्रमा सबैले प्रतिस्पर्धा गर्न पाउँछन् । उहाँहरूको पनि आफ्ना विशेषता छन् । तर, हामी पार्टीभित्र बसेर पनि वैकल्पिक राजनीति गरिरहेका छौं । र, सुधारका विषयमा आवाज उठाइरहेका छौं । देशमा भएका तमाम विसंगतिकाविरूद्ध आवाज उठाउँछौं । सोही कारण, व्यक्ति उपस्थित हुनु र संगठन उपस्थित हुनुमा फरक पर्छ । यो कुरा मतदाताले राम्रोसँग बुझ्छन् र मलाई मत खसाल्छन् ।
पार्टीको अध्यक्षले नै अर्कैको चिह्न बोकेर हिँडिदिनुभयो : रञ्जु दर्शना
स्वतन्त्र उम्मेदवार, काठमाडौं–५
२०७४ पछि ठ्याक्कै ५ वर्षमा तर स्वतन्त्र रुपमा मत माग्न जनताको घरदैलो गर्दै हुनुहुन्छ । कस्तो सद्भाव पाउँदै हुनुहुन्छ ?
२०७४ को स्थानीय निर्वाचनको बेला र अहिलेको प्रतिनिधिसभाको निर्वाचनको बेला मप्रतिको जनताको माया, सद्भावमा अलिकति पनि कमी आएको छैन । बरु अझ बढेको महसुस गरिरहेको छु । निर्वाचनकै सवालमा घरदैलो गर्दैगर्दा, मत माग्दै गर्दा यहाँका दाजुभाइ दिदीबहिनी, आमाबुवाहरुले ‘यो क्षेत्रबाट उठ्दिनुभयो, धन्यवाद’ भनिरहनुभएको छ । उहाँहरुको साथ सपोर्ट र हौसला समेत पाइरहेको छु ।
जहाँसम्म ५ वर्षपछिको राजनीतिमा ‘कमब्याक’को कुरा छ, हो, तपाईंले जस्तै यहाँका जनताहरुले मलाई सोधेका छन्, ‘५ वर्षसम्म कता जानुभयो ?’ मैले उहाँहरुलाई उत्तर पनि दिइनै रहेको छु ।
अघिल्लो पटक स्थानीय तहको निर्वाचन लडिरहँदा म ब्याचलर फस्ट सेमेस्टरमा पढ्दै थिए । ब्याचलर पास गरेको थिइनँ, कम्तीमा मास्टर्ससम्म पास गर्नुपर्छ भन्ने मलाई लाग्छ । राजनीतिमा आएँ भनेर फेरि पढाई छाड्ने कुरा पनि भएन । यो ५ वर्षको अन्तरालमा मैले आफ्नो समयलाई भरपुर पढाइमा खर्चिएँ । ब्याचलर क्लियर गरेँ । डेपलमेन्ट स्ट्राटेजीमा त्रिभुवन युनिभर्सिटीको सर्टिफिकेट अहिले मसँग छ । त्यसो त डिग्रीमात्र होइन, डिग्रीसँगसँगै ज्ञान पनि बोकेको छु । पद्यमकन्या कलेजबाट मास्टर्स गरेको छु ।
सँगसँगै योबीचमा मैले आमासँग मिलेर सेलरोटीको व्यवसाय समेत गरेँ । सेलरोटी बेच्दैगर्दा धेरैले खिसिट्युरी पनि गरे, जाबो सेलरोटी बेच्ने भनेर । तर, मैले त बेचेँ, पैसा कमाएँ । यतिमात्र गरिनँ, सँगसँगै मैले यो अवधिमा आफ्नो राजनीतिक तयारी पनि गरिरहेको थिएँ । बाहिर बसेर पनि पार्टीको संगठन बलियो होस् भनेर काम गरिरहेको थिएँ । तर, सोचेजस्तो भइदिएन । पार्टीको अध्यक्षले नै अर्कैको चुनाव चिह्न बोकेर हिँडिदिनु भयो । खैर, अहिले म त्यतातिर जान चाहन्न । त्यसको असर भनौं वा पार्टीको विचलन ममा पनि पर्‍यो । त्यसैले पार्टीगत भन्दा पनि हामीजस्तो युवाहरु स्वतस्फुर्त आयो भने केही गर्न सकिन्छ भन्ने लाग्यो र मैले स्वतन्त्रबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएँ ।
यही क्षेत्रबाट तपाईंजस्ता कयौं युवाले प्रतिनिधिसभाकै लागि उम्मेदवारी दिनुभएको छ । युवाकै खोजी गर्ने हो भने अब तपाईंको उम्मेदवारी चाहिँ केका लागि ?
मेरो उम्मेदवारी मैले ल्याएको दमदार एजेन्डाका लागि । र अर्को, राजनीतिक उपस्थितिको निरन्तरताका लागि । यहाँका मतदाताहरु नयाँ उम्मेदवारहरुलाई के भनिरहेका छन् भने ‘ठिक छ, आयौ । यसपटक शुभकामना दिन्छु र अर्को पटक भोट दिन्छु ।’ यसको मतलब जनताहरु आफ्ना प्रतिनिधिहरुको राजनीतिक निरन्तरताको खोजी पनि गरिरहेका छन् । यो स्वाभाविक पनि हो । यही निरन्तरताका लागि पुनः म राजनीतिमा कमब्याक भएँ ।
अर्को कुरा, चुनाव लड्नु भनेको सामान्य कुरा होइन, कठिन कुरा हो । ५ वर्षसम्म के गरिस्, किन मौन रहिस् भन्ने प्रश्नहरु आइरहेका छन् । तर म चुप रहेको थिइनँ, राजनीतिक माहोल बनाउनकै लागि, आफूलाई राजनीतिमा अझ परिपक्व बनाउनकै लागि तयारी गरिरहेकी थिएँ । गम्भीर भएर नै यसपटक म आफ्नो घोषणापत्रसहित चुनावी मैदानमा उत्रिएको छु । अब संसदमा गएर रञ्जु दर्शना वील्सरब्लोर बन्ने हो । ठूलोठूलो प्रोजेक्टको भण्डाफोर गर्ने हो ।
रञ्जु दर्शनाको चुनावी एजेन्डामा खास त्यस्तो के छ, जुन अरुमा छैन ?
मैले आफ्नो घोषणापत्रमा मानसिक स्वास्थ्यको मुद्दा उठाइएको छु । बेनामी कारोबारसम्बन्धी मुद्दा उठाएको छु । वील्सरब्लोर मुखविर नीति सम्बन्धी कानुन बनाउनुपर्छ भन्ने मुद्दा उठाएको छु । यो उठाउनका लागि राज्यलाई आर्थिक भार पर्दैन । अरुले ओहो भन्ने खालका योजनाहरु ल्याउँछन् तर त्यसको कार्यान्वयनमा कति खर्च लाग्छ, ? राज्यको ढुकुटी रित्तिन्छ कि रित्तिदैन भन्ने कुराको कुनै हेक्का नै हुँदैन । यस्ता धेरै मुद्दाहरुमा राज्यको खर्च बिनानै धेरै सुधार गर्न सकिन्छ । सिस्टमहरु बसाल्न सकिन्छ, जुन मैले आफ्नो घोषणापत्रमा समेटेको छु ।
मुद्दा स्थापित गर्न संसदमा पुग्नुपर्छ, यसका लागि निर्वाचित हुनै पर्छ । तर ईश्वर पोखरेल, प्रदीप पौडेल जस्ता ठूलाठूला दलका उम्मेदवारसँगको प्रतिस्पर्धासँगै स्वतन्त्रहरुकै भिडमा आफू जित्नेमा चाहिँ कत्तिको विश्वस्त हुनुहुन्छ ?
म त जित्न आएको, जिताउने काम मेरा मतदाताहरुको हो । मैले यसपटक अनुहार लिएर, भाषण लिएर मतदाताको अगाडि आएको होइन, एजेन्डा लिएर आएको हो । सँगै राजनीतिक पार्टीका उम्मेदवार र अन्य स्वतन्त्रबाट आएका उम्मेदवारहरुको पनि आ–आफ्नै एजेन्डा होलान्, योजनाहरु होलान् । तर, म कसैलाई तानेर वा पछि पारेर आफू माथि जान आएको होइन । व्यक्तिगत रुपमा म कसैलाई गाली गर्न चाहन्न । विगतमा भाषणका क्रममा कतिलाई गाली पनि गरेँ होला तर अहिले गर्दिनँ ।
वास्तवमा मुलुकले चाहेको, खोजेको मुद्दा स्थापित गर्न मैले उम्मेदवारी दिएको हुँ । तर, मैले होइन राजनीतिक पार्टीहरुले मलाई कडा प्रतिस्पर्धीको रुपमा हेरिरहनुभएको छ ।
पछिल्लो पटक देशभर स्वतन्त्रहरुको उभार आइरहेको बेला तै जितिहालिन्छ कि भनेर छेको हान्न लागेको हो ?
मैले यसैको उत्तर दिन खोजिरहेको थिएँ । पुस महिना, २०७८ सालमा लगभग १ वर्ष अघि मैले स्वतन्त्रबाटै जाने निर्णयसहित पार्टीबाट राजीनामा दिएको थिएँ । त्यति बेला त स्वतन्त्रको लहर आएको थिएन होला । त्यतिबेलै स्वतन्त्र रुपमा राजनीतिमा अघि बढ्छु भन्ने निर्णय गर्नुको त अर्थ थियो होला । स्वतन्त्रबाट उठ्दैगर्दा, तयारी गर्दैगर्दा ठूला राजनीतिक दलहरुले आफूमा तान्न नखोजेका होइनन् । तर म कतै नगइकन स्वतन्त्र नै रहेँ नि त !
तर मलाई थाहा छ, म एक जना नजाँदैमा, स्वतन्त्रबाट उठ्दैमा आजको भोलि नै मुलुकमा आमुल परिवर्तन आउने, देशले काँचुली फर्ने भन्ने त हुँदैन । तर, १, २, ३.. गर्दै यसरी नै स्वतन्त्रहरु जाग्ने र जनताले विश्वास गर्ने हो भने त्यो असम्भव पनि छैन । देशमा स्वतन्त्रको लहर आयो, २–४ जनाले जिते, देशका लागि राम्रै भइरहेको छ । तर, स्वतन्त्रको लहर नआएको भए पनि यसपटक म काठमाडौं क्षेत्र नं.५ बाट स्वतन्त्र रुपमा लड्थेँे लड्थेँ ।
मतदाताले राजनीतिक दलका उम्मेदवारलाई पत्याउन छाडिसके : श्रीराम गुरुङ
स्वतन्त्र उम्मेदवार, काठमाडौं–५
अहिले तपाईं काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार हुनुहुन्छ । मतदाताबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
हामीले घरदैलोका क्रममा राजनीतिक दलका सबै उम्मेदवार र सबै राजनीतिकर्मीहरू प्रति जनताको नैराश्यता पाएका छौं । सबैजनाले राजनीतिभन्दा माथि सोच्ने व्यक्तिहरूलाई रोज्ने तयारी गरेको पाइएको छ । र, हामी राजनीतिक एजेन्डा नभई देशको एजेन्डा लिएर अगाडि बढेका छौं । घरदैलोका क्रममा एकदमै सकारात्मक प्रतिक्रिया पाइरहेका छौँ ।
यो क्षेत्रमा तपाईंजस्ता स्वतन्त्र उम्मेदवार धेरै छन् । यही एउटा क्षेत्रमा मात्रै करिब १५ जना स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । यसले त स्वतन्त्र स्वतन्त्रबीच नै प्रतिस्पर्धा देखियो नि ?
क्षेत्र नम्बर ५ मा कुल २८/२९ जना उम्मेदवार हुनुहुन्छ । त्यसमध्ये १४ जना स्वतन्त्र र १४ जना दलका उम्मेदवार हुनुहुन्छ । राजनीतिक दलका २/३ जना र स्वतन्त्रतर्फका २/३ जना ‘नोटेबल’ हुनुहुन्छ । र, अन्त्यमा बाजी मार्ने एक जनाले नै हो ।
यसपटक स्वतन्त्र र पार्टीको लडाइँभन्दा पनि एजेन्डा र विचारको लडाइँ हो । यो निर्वाचनबाट राम्रो विचार र एजेन्डा भएका उम्मेदवार निर्वाचित हुनुपर्छ । जसले देशको आर्थिक र भौतिक विकासको एजेन्डालाई अगाडि बढाउन सकोस् । जनताको इच्छा र चाहनालाई विकासकारूपमा अगाडि बढाउन सक्ने खालको उम्मेदवार नै निर्वाचित हुनुपर्छ ।
तपाईंहरूले यहाँका मतदातालाई विश्वस्त पार्ने गरी कस्ता एजेन्डा अगाडि सार्नु भएको छ ?
हामीले लामो अध्ययनपछि पर्यटन र प्रविधिलाई मूख्य एजेन्डाका रूपमा अगाडि सारेका छौं । व्यापार र ऊर्जालाई पनि हाम्रो एजेन्डामा समेट्ने प्रयास गरेका छौं । र, मूख्य उद्देश्य भनेको राजनीतिक नभई आर्थिक हुनुपर्छ भन्ने हाम्रो एजेन्डा हो ।
अबको मुद्दा भनेको आर्थिक र आत्मनिर्भरताको मुद्दा हुनुपर्छ र, हाम्रा भावी पुस्ताका लागि हुनुपर्छ । अहिलेको अवस्थामा राजनीतिक खिचातानीले सबै कुरा ओझेलमा पार्‍यो । त्यसैले अबको राजनीतिमा आर्थिक मुद्दा नै मूख्य मुद्दा बन्नुपर्छ ।
प्रमुख राजनीतिक दलका ठूला नेता समेत यही क्षेत्रमा उम्मेदवार छन् । यो कडा टक्करकाबीच स्वतन्त्र उम्मेदवार आउने सम्भावना कति छ ?
यस पटकको निर्वाचनबाट स्वतन्त्र उम्मेदवार निर्वाचित हुने सम्भावना उच्च छ । किनकि, अहिले राजनीतिक दलको नेता र कार्यकर्ताबाट जनता आजित भएका छन् । राजनीतिक दलले बोकेका एजेन्डा पत्याउन छाडेका छन् । अब मतदाताले कुन दलले कति रोजगारी सिर्जना गरेको छ, कति विकास गरेको छ भनेर हेर्छन् । म मेरा मतदातालाई विश्वास गर्छु र अबको ५ वर्षका लागि सही नेतृत्व चयन गर्नका लागि अनुरोध समेत गर्छु ।
हामीले विगत लामो समय संविधान बनाउने भनेर खेर फालेका छौँ । अब समय खेर फाल्ने छुट हामीलाई छैन ।
तपाईंहरू अबको राजनीतिमा युवाको हस्तक्षेप हुनुपर्छ भनेर एजेन्डासहित आउनु भएको हो वा रहरमात्रै हो ?
कुनै राजनीतिक दलका उम्मेदवारले देशको आवश्यकता के हो भनेर बुझेर आएको भए हुन्थ्यो । यदि कोही उम्मेदवार त्यसरी आएको भए हाम्रो समर्थन हुन्थ्यो । तर, कसैको मुद्दा पनि यो देशलाई आत्मनिर्भर बनाउँछु भन्ने छैन । सबै नेताको एजेन्डा विकासका लागि पैसा दिन्छु भन्नेमात्रै छ । तर, कसरी पैसा दिन्छु भन्ने उनीहरूलाई नै थाहा छैन । हामी यत्तिकै पनि वैदेशिक ऋणमा चुर्लुम्म डुबिसकेका छौं ।
तपाईंंले कति मत ल्याएर निर्वाचन जित्ने आँकलन गर्नुभएको छ ?
यसको जवाफचाहिँ मंसिर ४ पछि नै पाइन्छ । किनकि, मतदाताले कस्तो निर्णय गर्छन्, सोही अनुसार हुन्छ । अब मतदाताले योग्यता र दक्षता हेरेरमात्रै मत दिनुपर्छ ।
संसदमा छिरेर राजनीति प्यूरिफिकेशन गर्नेछु : हेमराज थापा
स्वतन्त्र उम्मेदवार, काठमाडौं–५
पाईं स्वतन्त्रतर्फबाट चुनावी अभियानमा हुनुहुन्छ । घरदैलोका क्रममा मतदाताले कस्तो प्रतिक्रिया दिएका छन् ?
हामीले मतदाताबाट एकदमै राम्रो माया र सद्भाव पाएका छौँ । यस क्षेत्रमा राजनीतिक दलका उम्मेदवार मत माग्न आउँदा मतदाताले मुन्टो बटार्ने गरेका छन् । तर, हामी आएको देख्ने बित्तिक्कै मतदाताले ४ तलादेखि झरेर माया दिइरहनुभएको छ । पछिल्लो माहौलबाट हाम्रो जित सुनिश्चित भइसकेको देखिन्छ ।
यो क्षेत्रबाट धेरैपटक सांसद बनेका नेताहरू पटकपटक एउटै एजेन्डा बोकेर आउने गरेका छन् । अघिल्लो ५ वर्षमा पनि एउटै र त्यसको १० वर्षपछि सोही मान्छे निर्वाचनमा आउने गरेका छन् । यही कारणले पनि मतदाताले यसपटक मत परिवर्तन गर्नुहुन्छ ।
तपाईंंहरू स्वतन्त्र स्वतन्त्र भनेर लागिरहनु भएको छ । तर, यही क्षेत्रमा स्वतन्त्र उम्मेदवारको लर्को छ । तपाईंको उम्मेदवारी चाहिँ किन ?
मेरो उम्मेदवारी स्वतन्त्रविरुद्ध नभएर पार्टीका भ्रष्ट मनोविज्ञान बोकेका व्यक्तिविरुद्ध हो । र, म यस क्षेत्रमा विगत लामो समयदेखि निरन्तर सडकबाट आवाज उठाइरहेको छु । यही विषयलाई भोलिका दिनमा संसदमा लगेर बोल्ने योजना बनाएको छु । म सांसद बन्ने परिकल्पना गर्ने योजना बन्नुभन्दा अघिदेखि नै सडकबाट जनताको आवाज बोलिरहेको छु । यसअघि, सडकबाट र सामाजिक सञ्जालबाट बोलिरहेका हामी सदनबाट आवाज उठाउनका लागि पनि मतदाताले हामीलाई चुन्नुपर्ने हुन्छ ।
तपाईंलाई यस क्षेत्रका मतदाताले निर्वाचित गरेभने के कस्ता काम गर्नुहुन्छ ?
राज्य सञ्चालनमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका गरी ३ वटा अंग हुन्छ । म जाने भनेको व्यवस्थापिकामा हो । व्यवस्थापिका भनेको नीति निर्माण गर्ने ठाउँ हो । म कार्यकारी हुनेछैन । त्यसैले मैले यस क्षेत्रबाट जितेर गए पनि देशैभरिका जनताको आवाज बोल्ने प्रयास गर्नेछु ।
अर्को कुरा, अहिले राजनीतिक दलप्रति मतदाता रुष्ट छन् । विश्वविद्यालय, सडक, खानेपानी, अस्पताल, विद्यालय, मालपोत, यातायात, कर कार्यालय, सबै प्रकारका सरकारी कार्यालय अस्तव्यस्त छ । यो राजनीतिक नियुक्तिका कारणले हो । त्यसैले मेरो मूख्य लक्ष्य नै सरकारी सेवामा राजनीतिक नियुक्तिको सट्टा सक्षम र दक्ष व्यक्तिलाई पठाउनु नै हुनेछ । यसका लागि निरन्तर आवाज उठाउँछु ।
यस्तै, यस क्षेत्रमा अलमलमा परेको विकास निर्माणका काम समेत अघि बढाउँछु ।
स्वतन्त्र रुपमा जितेको सांसदले संसदमा आफ्ना आवाज बुलन्द पार्न र जनताका समस्या समाधान गर्न सक्छ र ?
प्रतिनिधिसभामा छिरेपछि हाम्रो मूख्य काम भनेको बोल्ने नै हो । अहिले राजनीतिक दलहरूले आपसमा मिलेर करोडौं कमाइरहेका छन् । र, निर्वाचन जितेपछि फर्केर नआउने स्थिति छ । यो स्थितिलाई हामी परिवर्तन गर्छौं । यस्तै, ७५३ मध्ये ३ वटा स्थानीय तहमा स्वतन्त्रले जित्दा अहिले धेरै स्वतन्त्र उम्मेदवार उठे । यीमध्येबाट ३ वा ४ जनामात्रै जितेर गए पनि हामी संसद सफाईमा लाग्छौं ।
स्थानीय निर्वाचनमा २/३ जनाले जितेको देखेर नै तपाईंहरूले उम्मेदवारी दिनुभएको हो ?
हैन । म त विगत ७/८ वर्षदेखि नै जनताको आवाज बोल्दै आएको थिएँ । सोही कारण, तपाईंहरूले यस्ता प्रश्न गर्दा हामीलाई अन्याय हुन्छ । राष्ट्रियताको विषयमा हामीले आवाज उठाएका छौं । कोरोनाकालमा भएका भ्रष्टाचारका विषयमा हामीले आवाज उठाएका छौं । यही कारणले यो ५ वर्षमा म १९ पटक हिरासतमा पुगेको छु । विगत २० वर्षअघि हामी सानो हुँदा पनि यिनै उम्मेदवार थिए । अहिले हामीले उम्मेदवारी दिँदा पनि यिनै उम्मेदवार छन् । राजनीतिमा व्यापक ‘प्यूरिफिकेसन’ आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'सामाजिक सुरक्षा योजना कार्यान्वयनका जटिलता अन्त्य गर्छौँ'
-
रास्वपाले भन्यो– हामीमाथि चौतर्फी प्रहार र भाला हान्ने काम भयो
-
कृषि विकास रणनीति परिमार्जनबारे छलफल, किसानमैत्री रणनीति हुनुपर्नेमा जोड
-
सरकार जनताप्रति जिम्मेवार छ : प्रधानमन्त्री
-
निजगढ विमानस्थल निर्माणको काम सुरु नहुँदै एक अर्ब खर्च
-
कर्णाली डेभलपमेन्ट बैंकले निम्त्याएको प्रश्न– नेपालका बैंक तथा वित्तीय संस्थाको रिपोर्टिङ सही छ ?