ददिवल खड्काको व्यावसायिक उडान : जापानमा २९ वटा रेष्टुरेण्ट
-खगराज गौतम
आज भन्दा तीन दशक पहिले ददिवल खड्कालाई आफू विदेशिन्छु भन्ने मनको कुनै कुनामा पनि रत्तिभर थिएन । तर, आफैले नसोचेको कुरा भयो । स्नातक तह पोखराको पृथ्वीनारायण कयम्पसमा सकाएर केही समय आफ्नै जिल्ला म्याग्दीका विभिन्न गाउँमा जागिर समेत गरे उनले । परिवारले स्नाकोत्तर आफैले आर्थिक व्यवस्थापन गरेर पढ्न आग्रह गरेपछि उनलाई विदेशिने सोच आयो ।
जीवनमा उच्च शिक्षा हासिल गरेर नेपालमै सेवा गर्ने इच्छा रहेको ददिवल खड्कालाई त्यही उच्च शिक्षा हासिल गर्ने आर्थिक व्यवस्थापन गर्नकै लागि जापान छिरायो । र, पटक पटकको असफलतापछि जापानमै स्थापित गरायो ।
सन् १९८८ मा पहिलोपटक पर्यटकीय भिसामा जापान प्रवेश गरेका खड्काले छोटो अवधिका भिसा पाए । तेस्रो पटकमा उनले विद्यार्थी भिसामा जापान गए । काम गर्दै अध्ययन गर्ने योजना बनाएर गएका उनी रेष्टुुरेण्ट तथा होटलसम्बन्धि व्यावसायिक शिक्षा पनि अध्ययन गरे ।
जापान बसाइँका सुरुवाती दिन सम्झिदा उनको मुहारमा उदास भाव छाउँछ । आफ्नो क्यारियर निर्माणका लागि खड्काले निम्नस्तरको काम समेत गरे । उनी जापानमा १८ वर्षसम्म विभिन्न कम्पनीहरुमा जागिरे भए । यस क्रममा आफूले काम गरिरहेको होटलमा आफूभन्दा जुनियरलाई व्यवस्थापकीय जिम्मा दिई आफूलाई मिनिमाइज गरेको महसुस भयो । अनि लोभलाग्दो तलब प्राप्त गर्ने जागिर चटक्कै छाडेर व्यावसाय गर्ने सोच बनाए ।
हातमा सीप छँदै थियो । त्यसैले, आजभन्दा १० वर्ष अगाडि जापानी स्वादको खाना दिने रेष्टुरेण्ट संचालन गरे । विडम्वना सोचेजस्तो सफल भएनन् । यसबाट विचलित नभई नेपाली– इण्डियन स्वादको खाना पस्किने मेनु बनाए । अनि, बिस्तारै व्यवसाय उकालो लाग्न थाल्यो ।
छोटो अवधिमै आफ्नै लगानीको रेष्टुरेण्ट यात्राले यति उचाइ पाउला भनेर शायद उनी आफैले पनि कल्पना गरेका थिएनन् । परिवारजनको समेत सहयोगमा खड्काले हाल २९ वटासम्म रेष्टुरेण्ट सञ्चालनमा ल्याउन सफल भएका छन् ।
तर उनी आफ्नो यात्रामा सन्तुष्ट छैनन् । व्यवसाय फस्टाउदै जानु तर व्यवस्थापकीय क्षमतामा कमी आएकोले उकालो लागि रहेको सफलतालाई बचाइ राख्न नसकेको स्वीकार्दै उनले आफूलाई औसत व्यापारी भन्छन् ।
उनी उदार स्वभावका छन् । आफूले हिजो भागेका समस्या अरुले भोग्नु नपरोस् भनि आफ्नो होटलमा काम गर्ने कामदारहरुलाई पनि होटल व्यवसाय संचालनका विधि प्रक्रिया आदिका बारेमा नियमित जानकारी दिन्छन् । अनि होटल संचालन गर्न पनि आवश्यक सहयोग गर्छन् । आफ्नो कम्पनी एउटा पाठशालाजस्तै भएकोमा उनलाई गर्व लाग्छ । उनी भन्छन्, मेरो कम्पनीमा काम गर्ने अधिकांशले अहिले होटल व्यवसाय संचालन गरेका छन् । अधिकांश आफन्त नै छन् । यसका लागि मैले आवश्यक सबै सहयोगका साथै सहकार्य पनि गरेको छु ।
उनलाई लाग्छ, जुनसुकै कामका लागि पनि आफूमा सिप जरुरी छ । त्यसका लागि आफूले निरन्तर रुपमा सोचेको उपलब्धि हासिल नभएसम्म दत्तचित्त भएर कार्य गर्नुपर्छ । अप्ठ्यारो परिस्थितिमा पनि आत्तिनु हँुदैन । मेहनती भएर कार्य गरेमा अवश्य पनि एकदिन सफलता हासिल हुन्छ ।
व्यवसायका लागि औपचारिक शिक्षा जरुरी रहेपनि त्यो भन्दा महत्वपूर्ण व्यवहारिक शिक्षा नै जस्तो लाग्छ खड्कालाई । आफ्नो सम्पूर्ण जीवन विदेशमा नै सुम्पने इच्छा छैन उनलाई । स्वदेशमा पनि आफ्नो सिप र दक्षतालाई उपयोग गर्ने मन छ । भोलिका दिनमा स्वदेशमा पनि व्यावसाय संचालन गर्न सकिन्छ कि भनेर खड्का केही पूर्वाधार निर्माणको तयारीमा पनि लागे । तर स्वदेशमा विभिन्न कारणले गर्दा पूर्ण व्यवसायिक वातावरण नभएको उनको बुझाइ छ । वातावरण सहज बन्दै गएमा स्वदेशमा पनि केही गर्ने इच्छा र चाहना छ उनको ।
सन् २०१६ बाट गैरआवासीय नेपाली संघ (एनआरएनए) मा सक्रियतापूर्वक लागेका उनी हाल अन्तरराष्ट्रिय समन्वय समिति एसिया प्यासिफिक क्षेत्रीय समितिका उपसंयोजक छन् । समाजसेवामा समेत लागेका उनी संघ संस्थालाई सेवा गर्ने माध्यमको रुपमा लिनुपर्ने तथा त्यस्ता संघ संस्थाहरु जहिले पनि विधि विधान र पारदर्शी रुपमा संचालन हुनुपर्नेमा जोड दिन्छन् ।
अरुलाई सहयोग गर्दा खड्कालाई मनमा आनन्द आउँछ । त्यसैले, जापानको नियम कानून र वस्तुस्थितिको बारेमा जानकार नहुने नेपालीलाई आफूले अध्यागमनसम्बन्धि हरेक कार्यमा सहयोग पुर्याउँदै आएका छन् । भाषा सम्बन्धि ज्ञानको अभाव हुने नेपालीलाई स्वास्थ्य, आवास व्यवस्थापनमा पनि सहयोग पुर्याएका छन् । अनि आफ्नो रेस्टुरेण्टमा काम गरेकाहरुलाई उनीहरुको आफ्नै रेस्टुरेण्ट सञ्चालन गराउने अभियान त छँदैछ ।