सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

चुनौती पन्छाउँदै चुनिने दाउमा सुरेन्द्र पाण्डे, भन्छन्– गुनासो गर्ने त सबैको बानी भैसक्यो

बिहीबार, २४ कात्तिक २०७९, १२ : ०२
बिहीबार, २४ कात्तिक २०७९

मंसिर ४ गते हुने आम निर्वाचनमा चितवन क्षेत्र नम्बर १ को चुनावी भिडन्त रोचक बन्ने देखिएको छ । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डा विश्व पौडेल उम्मेदवार रहँदा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे एक्लै मैदानमा छन् । एमालेको लालकिल्ला रहँदै आएको चितवन–१ मा पौडेल र पाण्डेसँगै  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालपनि सशक्त उम्मेदवारको रुपमा अघि आएसँगै यो क्षेत्र चासोको रुपमा अगाडि आएको हो ।

उसो त विगतमा  जागृत प्रसाद भेटवाल, लालमाणि चोधरी लगायतका एमालेका नेताहरुले सो क्षेत्रबाट पटक पटक चुनाव जिते ।  ०६४ मा माओवादीको पक्षमा जनलहर आउँदा पनि सो क्षेत्रमा एमालेका चौधरीले चुनाव जितेका थिए ।

चितवन–१ अन्तर्गत ३ वटा नगरपालिका पर्छ । राप्ती, खैरहनी र रत्ननगर नगरपालिकाको सम्पूर्ण भूभाग चितवन–१ मा पर्छ । गत २०७० र २०७४ को निर्वाचनमा सो क्षेत्रमा जित हात पारेका पाण्डेलाई यस पटक भने ठूलै चुनौतीको सामना गर्नु पर्ने देखिन्छ ।

कतिपय मतदाता आगामी निर्वाचनमा नयाँ अनुहारको खोजीमा देखिएका छन् । चितवन खैरहनीका सुरेश सुवेदी पुराना पुस्ताले केही नगरेको गुनासो गरे । विगतमा ठूला पार्टीका पुराना नेताहरुलाई मत दिएको तर परिवर्तनको अनुभूति हुन नसकेको भन्दै उनले यस पटक नयाँ र युवा उम्मेदवारलाई मत दिने योजना रहेको सुनाए ।

त्यस्तै चितवनको रत्ननगरकी अस्मिता प्रसाई पनि यस पटक नयाँ एजेण्डा बोकेर आउनेलाई मत दिने पक्षमा रहेको बताउँछिन् ।  सुरेश र अस्मिता त एउटा प्रतिनिधि पात्र मात्र हुन् । उनीहरु जस्ता कतिपय युवाहरुले परम्परागत राजनीतिबाट दिक्क भएको आशय व्यक्त गरे ।

समयमा मल र बीउ नपाएर समस्या भोग्दै आएका राप्ती नगरपालिका वडा नम्बर–४ का एक किसानले नेताहरुले भोट माग्न आउँदा ठुलाठुला आश्वासन दिएर जाने भएपनि जितेर गएपछि नफर्किने गरेको गुनासो गरे ।  उनले आफू विकास गर्ने, किसानको समस्या बुझ्ने र समस्या समाधान गरिदिने नेतृत्वको खोजीमा रहेको प्रतिक्रिया दिए ।

जनताको गुनासो र अपेक्षाका बीच उम्मेदवारहरुले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन् । यहीबीचमा एमाले उम्मेदवार पाण्डेसँग गरिएको चुनाव केन्द्रित कुराकानीः

चुनावी अभियान कसरी संचालन गरिरहनु भएको छ ?

अहिले चुनावी अभियान विस्तारै गतिमा हिँड्दैछ । चुनाव घोषणा भइसकेपछि विभिन्न चार्डपर्वहरु पनि परे । यो समयमा कृषिबाली भित्र्याउने चटारो पनि छ । धान काट्ने काममा लागेकाले मानिसहरु घरबाट बाहिर निस्कने अवस्था थिएन । अब भने विस्तारै चुनावी माहोलमा मानिसहरु सहभागी बन्दै गइरहेका छन् । जसले चुनावी रौनकता थपिदिएको छ । समय कम भएकाले विभिन्न किसिमका र्‍यालीहरुलाई नियन्त्रण गरिएको छ ।

चुनावी क्षेत्रमा कस्ता–कस्ता कार्यक्रम गरिरहनुभएको छ त ?

अहिले त हामीले मुख्यरुपले घरदैलो, कोणसभा सुरु गरिरहेका छौँ । अबको केहीदिन पछि हामी ठुला सभाहरु पनि गर्छौँ । त्यही अनुसारका र्‍याली र प्रचारका नयाँ तरिका अपनाएर हामी जनतामाझ लिएर जान्छौ । हामी जनता माझ विभिन्न सांस्कृतिक कार्यक्रमहरु लिएर जान्छाँै ।

चुनावमा चुनौती कत्तिको देख्नु भएको छ ?

मलाई चुनौती खासै छैन । स्वाभाविक रुपमा चुनावमा पहिलो पटक लड्दा पनि चुनौती नै छ भन्ने कुरा गरिन्थ्यो । तर मैले सहज रुपमा जित निकालेँ । दोस्रो पटक गठबन्धन भएकाले मानिसहरुले अर्कै ढंगबाट कुरा गर्थे । अहिले तेस्रो पटकमा चाहिँ विपक्षी गठबन्धन भएकाले केही हो कि भन्ने प्रश्न छ, त्यो स्थिति पनि म देख्दिनँ ।

विपक्षीभित्र पनि म सग्लोपन केही देख्दिनँ । त्यहाँ आन्तरिक द्वन्द्व अन्तरकलहहरु व्यापक छ । टिकट पाउनुपर्ने मान्छेले पाएन भन्ने विवाद पनि त्यतिकै छ । त्यसकारणले गर्दा त्यहाँभित्र पनि सहज स्थिति छैन । हिजोको दिनमा ज्ञान, अनुभव र राजनीतिक पहुँचको आधारमा सुरेन्द्र पाण्डे नै चाहिन्छ, जगन्नाथ थपलिया चाहिन्छ भन्ने जनमानसमा सोच देखिन्छ । त्यो नै हाम्रो एउटा सम्पत्ति हो । दोस्रो भनेको हामीले गरेको कामको मूल्यांकन हो ।

विगतमा जितेकाहरुले काम गर्न सकेनन्, अब नयाँ पुस्ताले नेतृत्व लिनुपर्छ भन्ने जमात पनि त छन् नि ?

होइन । चितवनमा तपाईँ तुलना गरिदिनुस् । काम भएको हिसाबले नेपालभरका निर्वाचन क्षेत्रलाई हेरिदिनुस् । ५/७ वटा क्षेत्र मध्ये एउटामा पर्छ चितवनको यो निर्वाचन क्षेत्र । म काठमाडौं जाँदा त्यति धेरै सुविधा बढेको वा काम भएको देख्दिनँ । २००९ सालदेखि चुनाव भएर नगरपालिका बनेका काठमाडौं महानगरपालिका र अब चितवनमा हेर्नुस् त ? यो छोटो अवधिमा जनताको जीवनस्तरमा आएको परिवर्तन हेर्नुस् । पहिले पहिले हामी गाडी देख्न काठमाडौं जानुपथ्यो, अहिले घर घरमा गाडी छन् । किन त्यस्तो भयो भन्दा बाटो बनेको छ, विकास भएको छ ।

समग्रतामा चितवन एउटा त गतिशील र अवसर खोज्ने मानिसहरू बस्ने भएकाले यसलाई ७६ जिल्ला भनिन्थ्यो अहिले ७८ जिल्ला भनिन थालेको छ । प्रचारात्मक रुपले र परीक्षणात्मक प्रतिनिधि छानियो भनेदेखि हामी पछाडि पर्छौँ भन्ने धारणा यहाँको मानिसहरुको रहेको छ । तपाई हेर्नुस् अन्तर्राष्ट्रिय रुपमा पनि हरेक ५ वर्षमा नेताहरु परिवर्तन हुँदै जाने हो भने कुन देश विकास हुन्छ ?

जनताको गुनासो त उस्तै छ नि त ?

गुनासो गर्ने त हामी सबैको बानी पनि भइसक्यो ।  किनभने मानिस यस्तो जात हो, चन्द्रमा र मगंलग्रहमा गएर घडेरी बसाउँछु भनेर एलन मस्कहरुले प्रोगाम ल्याएका छन् । पृथ्वीबाट पुगेन अब मंगल ग्रहमा जान्छु भनेर यो महत्वकांक्षा राख्ने र जहिले पनि यो भन्दा अघि बढ्छु भन्ने सोच राख्ने मानव जाति हो । मानिसले जहाँ बढी काम भएका छन् त्यहाँ नै बढी आकांक्षा राख्ने हो । त्यो आकांक्षा जगृत हुने डिमाण्ड हुनुलाई सकारात्मक रुपमा लिनुपर्छ । हरेक डिमाण्डहरु नकारात्मक मात्र हुँदैनन् । त्यसले अगाडि बढ्न प्रेरित गर्छ । नेतृत्वलाई दवाव पनि सृजना गर्छ । बढी काम गर्न नेतृत्वलाई दवाव दिन त्यो गुनासोले काम गर्छ । त्यो राम्रो कुरा हो ।

अलिकति पार्टीको कुरा गरौं, तपाईँलाई टिकट लिन त सारै हम्मेहम्मे पर्‍यो नि होइन ?

परेन, त्यस्तो केही परेन । अरुको जहिले निर्णय भयो मेरो पनि त्यही बेलामा भयो ।

२ दिन त होल्ड गरियो नि होइन ?

होइन । होइन । त्यस्तो होइन । त्यो मानिसहरुले बाहिरबाट अडकलबाजी गरेका हुन् । म किरीयापुत्री बसेको थिएँ, तपाईंलाई थाहा छ । कसैले होल्ड गरेको भनेर कसैले भनेको थियो र ? त्यसो होइन । त्यसलाई अन्यथा लिनै हुँदैन । म पार्टीको बैठकमा जाने स्थिति नै थिएन । नोमिनेशन दर्ता पनि मैले प्रतिनिधिमार्फत गरेको हो नि यसपालि ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो विरोध गर्नेहरूलाई पाखा लगाए भनिन्छ नि ? त्यो चाहिँ के हो ?

होइन । त्यो पनि सत्य होइन । नेपालका पार्टीभित्र जस्ता किसिमका समस्याहरु छन् । त्यो उहाँको बारेमा मात्र टिप्पणी होइन शेरबहादुर देउवाको बारेमा पनि त्यत्तिकै टिप्पणी छ । प्रचण्डको बारेमा पनि त्यत्तिकै टिप्पणी छैन र ? कृष्णबहादुर महरा, अग्नि सापकोटाले टिकट पाउनु भएन या मीनेन्द्र रिजालले पाउनुभएन भन्ने छैनन् र ? अझ अहिले भर्खर भर्खर बनेको रवि लामिछाने नेतृत्वको पार्टीमा त उहाँले भनेको मान्छेलाई टिकट दिनु भएन भन्ने कुरा छ । विवेकशील साझाजस्तो पार्टी फुट्यो । नेपालमा चाहिँ नयाँ बनाउँछु भन्ने पार्टी पनि त फुटेन र ?

अब जनतामाझ गइरहँदा कस्ता योजना, एजेण्डाहरु पुर्‍याउनु भएको छ त ?

सबैभन्दा पहिलो त चितवनको मुख्य समस्या भनेको बाढीलाई स्थायीरुपमा रोक्नु पर्नेछ । त्यसको लागि मैले नै एउटा उदाहरण अगाडि सारेँ । जालीढुंगाको तटबन्ध होइन । आरसीसी ड्याकसहितको तटबन्ध लोथरदेखि सौराहासम्म, त्यो अगाडि बढिसकेको छ । करिब १० अर्ब भन्दा बढीको लागत हो । यो सानो चानचुने प्रयासबाट त्यो बन्दैन । त्यसकारण पनि नेतृत्वको पहुँच र दवाव चाहिएको हो ।

त्यो योजनाको महत्व र मर्म बुझ्नु पर्‍यो । त्यसैगरी बकुलहरदेखि शक्तिखोर हुँदै हुक्दी जोड्ने सडक र भण्डारा मलेखु सडक जसले यहाँको जीवन रेखा परिवर्तन गर्छ । सुरुङसहितको मार्ग हामीले घोषणा गरेका छौँ त्यसलाई हामीले पुरा गर्नुछ । त्यसो गरेपछि चितवनको विकासको लेबल नै अर्को रुपमा जान्छ । हामीले भण्डारा–ठोरी सडकको पनि कुरा गरेका छौँ । त्यो बनाउन सक्यो भने उत्तर दक्षिणको सबैभन्दा छोटो दुरीको यो बाटो हुन्छ ।

अर्को किसिमले अन्तर्राष्ट्रियस्तरको एउटा वैकल्पिक मार्ग हुन्छ जसले नेपालको विकासमा दुई देश जोड्ने छ । यो योजना पनि हाम्रो राष्ट्रिय बजेटमा परेको छ । त्यसलाई बजेट विनियोजन गरेर सम्पन्न गर्नु पर्नेछ । त्यसो गर्न सकियो भने चितवनको विकासलाई अर्को उचाइमा लिएर जान सकिनेछ । त्यसमा पनि मैले नेतृत्व गरिरहेको छु । त्यसैगरी भारतबाट पेट्रोलियम पाइपलाइन यहाँ लोथरसम्म ल्याउने निर्णय भएको छ । भारत सरकारसँग सम्झौता पनि भएको छ त्यसलाई सम्पन्न गर्नुपर्नेछ । त्यसो भयो भने पेट्रोल र डिजेल भर्नको लागि अहिले अमलेखगन्ज जाने सबै मानिसहरु चितवन आउने स्थिति बन्छ । जसले चितवनको होटल र आम्दानीको स्थिति अर्कै बन्छ । त्यस्तै सौराहालाई देशकै पर्यटकीय गन्तव्य बनाउन नयाँ नयाँ पूर्वाधार बनाएर, एड्भेञ्चरहरुको विकास गर्नु पर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप