शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विकासको गति बढाउन तपाईंलाई रोज्छौँ भन्नुभएको छ : रमेश लेखक​

बिहीबार, २४ कात्तिक २०७९, १० : ५६
बिहीबार, २४ कात्तिक २०७९

सत्ता गठबन्धनका साझा उम्मेदवार पूर्वमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक आसन्न निर्वाचनमा जितको ह्याट्रिक पुरा गर्ने तयारमा छन् । लेखकको लक्ष्यमा नेकपा एमालेकी प्रभावशाली नेतृ निरुदेवी पाल तगारोको रूपमा उभिएकी छन् ।​

कञ्चनपुर–३ का सहर–गाउँ बस्तीमा हामी पुग्दा लेखक र पालकै चर्चा बढी सुनियो । उनीहरूको प्रचार–प्रसार पनि आक्रामक देखियो । प्रस्तुत छ रातोपाटीकर्मीले लेखकसँग गरेको कुराकानी :

कञ्चनपुरमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा मैदानमा हुनुहुन्छ । चुनावी प्रचारप्रसार कसरी अगाडि बढिरहेको छ ?

घरदैलो भनिए पनि घर घरमा जान सकिएको छैन । टोल टोलमा गएर त्यहाँ दाजुभाइ दिदीबहिनीलाई भेला गरेर अन्तरक्रिया गर्ने, उहाँका कुरा सुन्ने, आफ्ना कुरा राख्ने गरिरहेको छु ।

चुनावी प्रचारप्रसारको रुटिन कसरी मिलाउनु भएको छ ?

बिहान ५ बजेतिर उठ्छु । ६ बजेपछि भेटघाट सुरु गर्छु ।  घरमा आउने साथीभाइसँग भेटघाट गर्ने, निर्वाचन परिचालन समितिका साथीहरूसँग कुराकानी गर्ने गर्छु । ९ बजेबाट वडातिर घुमघाम गर्ने र टोलमा जाने गर्छु। कञ्चनपुरको ३ नम्बर क्षेत्रमा पर्ने ३० वटा वडाका टोलटोलमा पुगिसकेको छु । साझै बिहान ९ बजेदेखि साझ पाँच बजेसम्म टोल टोलमा पुग्ने गरेको छु । 

त्यसपछि जति सकिन्छ, व्यक्तिगत भेटघाट र पार्टीका साथीहरूसँग मिटिङ हुन्छ ।

३० वटै वडामा पुग्दा जनताको के रेस्पोन्स पाउनु भएको छ ?

एकदम राम्रो छ ।  मेराप्रति सदाशयता, सहयोगी र स्नेही भाव प्रकट भएको छ । पहिला थोरै भोटले हारेकोमा साथीहरूले अत्यन्तै ज्यादा सहानुभूति पनि व्यक्त गरिराख्नु भएको छ । यसअघि थोरै मतले हार्नुभएको हो । यसपालि हार्नु हुन्न पनि भन्नु हुन्छ । पछिल्लो पाँच वर्ष विकासका गति रोकिए । अब हामी विकासको गति बढाउन तपाईंलाई रोज्छौँ भन्नुभएको छ ।

यसअघि तपाईं हार्दा कञ्चनपुर–३ ले के गुमायो जस्तो लाग्छ ?

पाँच वर्षको समग्र मूल्याङ्कन गर्दा कञ्चनपुरमा विकासका गतिविधिहरू ठप्प भए । हामीले अगाडि बढाउने भनेका ठुला ठुला योजना पनि अवरुद्ध भए । हामीले यहाँ त्रिदेशीय नाका बनाउने भनेका थियौँ । त्यो काम कत्ति पनि अगाडि बढेन । बाढी र डुबान नियन्त्रणका धेरै समस्या थिए । त्यसमा पनि कुनै काम भएन । भौतिक पूर्वाधारका क्षेत्रमा कुनै काम भएन । त्यसो भएकाले यो पाँच वर्ष कञ्चनपुर जिल्लाले धेरै ठुलो क्षति बेहोर्नु पर्‍यो, धेरै कुरा गुमाउनु पर्‍यो । किन भने हामी विकासको मामिलामा १० वर्ष पछाडि धकेलियौँ । पाँच वर्ष यो खेर गयो । त्रिदेशीय नाकाकै कुरा गर्ने हो भने पनि यो निर्वाचनपछि सुरु गर्दा पनि पाँच–सात वर्ष लाग्छ । पाँच वर्ष पहिलाको खेर गयो । अब पाँच–सात वर्ष लाग्ने भएपछि १२–१३ वर्षपछाडि पर्‍यौ ।

अहिले तपाईंले जित्दा आगामी पाँच वर्षमा कञ्चनपुर ३ ले पाउँछ ?

मैले उठाउँदै आएको अवरुद्ध भएको मुद्दालाई द्रुतगतिमा कार्यान्वयनमा अगाडि बढाउँछु । पाँच वर्षभित्र त्रिदेशीय नाका बनाउँछु । नदीमा तटबन्धको व्यवस्था मिलाउँछु । मझगाउँ विमानस्थललाई सञ्चालनमा ल्याउन पहल गर्छु ।

महाकाली करिडोर निर्माण गर्छ । यही ठुला विकासका आयोजना अगाडि बढेको अवस्थामा यहाँ ठुलो सङ्ख्यामा रोजगारी सिर्जना हुने छ । विदेश पलायन भएको जनशक्ति नेपाल फर्किने अवस्था बन्छ । यहाँ भएकाले पनि रोजगारी पाउनु हुन्छ । यहाँ औधौगिक विकास हुन सकेको छैन । यसका लागि आगामी पाँच वर्षमा ढोका खोल्छु ।

तपाईंको प्रतिस्पर्धीले समानुपातिक सांसद भएर नै कञ्चनपुर ३ मा गएको पाँच वर्षमा चमत्कारी विकास गरेको भन्नु भएको छ । तपाईं केही भएन भन्नु हुन्छ । तपाईंको आरोप मात्र हो कि कामै नभएको तथ्य सुनाउनु भएको हो

बिलकुल केही नभएकै हो । यो पाँच वर्षअघिको कञ्चनपुरको बजेट र यो पाँच वर्षको कञ्चनपुरको बजेट हेरे भइहाल्छ । त्यसमा मेरो केही टिप्पणी छैन । तथ्य र तथ्याङ्कमा उभिएर छलफल गर्न तयार छु । उहाँले काममा होइन भाषणमा चमत्कार गर्नुहुन्छ । केपी ओलीले भाषणमा चमत्कार गर्नुहुन्छ नि ! उदाहरणका लागि उहाँले भाषणमा हावाबाट बिजुली चलाउनु हुन्छ, रेल चलाउनु हुन्छ, पानी जहाज चलाउनु हुन्छ, घरघरमा पाइका ग्यास पुर्‍याउनु हुन्छ । त्यो चमत्कार नै हो । तर त्यो भाषणको चमत्कार हो । कामको चमत्कार होइन ।

कञ्चनपुर ३ मा एमाले र राप्रपाको पनि गठबन्धन छ । कांग्रेसबाट पनि केही बागी छन् । एमालेराप्रपा गठबन्धन र बागीसँगको प्रतिस्पर्धालाई कत्तिको चुनौती ठान्नु भएको छ ?

त्यो गठबन्धन यो संविधान चाहिँदैन भन्ने गठबन्धन हो । केपी ओली विगत पाँच वर्षका गतिविधि र त्यसैमा राप्रपा थपिनु भनेको यो संविधानलाई भत्काउने, ध्वस्त गर्ने गठबन्धन हो । हामी यो संविधान जोगाउनुपर्छ भन्ने गठबन्धनका साथ अगाडि आएका छौँ । जनताले स्पष्ट बुझेका छन् ।

त्यसो भए चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ ?

म ढुक्क छु ।

तपाईंले ठुला आयोजना निर्माणका कुरा गर्नुभयो । दैनिक जनजीवनका विषयमा तपाईंका एजेण्डा के छन् ?

यो ठाउँमा किसानका धेरै समस्या छन् । समयमा मल, बिउ प्राप्त नहुने, सिँचाइका व्यवस्था नभएको अवस्था छ । त्यसबारे मैले काम गर्छु । त्यसपछि शिक्षा, स्वास्थ्य, पूर्वाधार, यातायातको क्षेत्रमा गर्नुपर्ने काम गर्छु ।

सीमा समस्या कञ्चनपुर ३ का उम्मेदवारको प्राथमिकतामा परेको देखिएन । ब्रह्मदेव लगायतमा क्षेत्रमा भारतीय एसएसबीको बिघ्न ज्यादती भएको त्यहाँका बासिन्दाको गुनासो छ । तपाईंहरुले सीमाको विषय किन व्यवस्था गर्नु भएको हो ?

सीमा समस्याबारे सम्बन्धित मन्त्रालयको पटक पटक ध्यानाकर्षण गराएको छु । करिब ३ महिना पहिला परराष्ट्रमन्त्रीसँग कुरा गरेको छु । उहाँमार्फत भारतीय दूतावासमा कुरा गर्ने कुरा भएको छ । सीमा सुरक्षा र सीमा विवादबारे सजगतापूर्वक, सचेतनापूर्वक कुरो उठाइएको छ । त्यसलाई म फेरि उठाउँछु । 

आगामी पाँच वर्षमा कञ्चनपुरमा देखिएको सीमा समस्या सम्बोधन हुन्छ ?

 समस्या समाधान हुन्छ । मैले पहल गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप