मतदातासँग 'न्याय' माग्दै गच्छदार, चौधरीको आफ्नै शैली !
अर्जुन आचार्य
सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा एमालेबाट उम्मेदवार बनेकी भगवती चौधरीले केही दिन अगाडि कार्यकर्तालाई उक्साउँदै छुरा हान्न र गोली हान्न आफै फिल्डमा उत्रने बताइन् । ‘पहिले छुरा घोप्नु पर्‍यो कि त्यसलाई उ गर्नुपर्‍यो कि, गोली ठोक्नु पर्‍यो भने, छुरी हान्न परे पनि भगवती चौधरी तयार छु,’ उनले भनेकी थिइन् ।
उनको उल्लेखित अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगमा उजुरी परेर जवाफ पनि माग गरेको थियो । चौधरीको यो भनाइको आसय उनका प्रतिस्पर्धी तथा नेपाली कांग्रेसका उम्मेदवार विजय गच्छदारले जे पनि गर्न सक्छन् भन्ने देखाउँदै आफ्ना कार्यकर्तालाई उत्तेजित बनाउनु थियो ।
यता, सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा चौधरीको प्रतिस्पर्धी तथा सत्ता गठबन्धनका साझा उम्मेदवार विजयकुमार गच्छदारले भावनात्मक कुरा गर्दै भोट माग्दै थिए । ‘मेरो पिताको जेनेरेसनको मान्छेहरू हुनुहुन्न । बीपी कोइराला हुनुहुन्न, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, गणेशमान सिंह, मनमोहन, पुष्पलाल श्रेष्ठहरु हुनुहुन्न । तर, हामी छौं । ७ दशक पुगेका हामी छौं । हामी ज्यूँदा छौं,’ उनले भने ।
त्यतिमात्रै होइन, गच्छदारले ५२ वर्ष कांग्रेसमा राजनीति गरेको र एमालेका अध्यक्ष केपी ओलीले आफ्नो करिअर समाप्त पार्न खोजेको भन्दै न्याय माग्न आफू जनतामाझ आएको बताएका थिए ।
चौधरी र गच्छदारले चुनाव प्रचारका क्रममा व्यक्त गरेका यस्ता खालका अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत रहेको कतिपय बताउँछन् ।
मानवअधिकारवादी सोमराज थापाले जनताको सवाललाई उठाउने कुरा सामान्य भए पनि धाकधम्की, प्रलोभन, ब्ल्याकमेल गर्नु लोकतन्त्रका लागि नसुहाउने कुरा भएको बताए ।
‘लोकतन्त्रमा धाक, धम्की, हातहतियार प्रयोग गर्ने कुरा मान्य हुँदैन,’ थापाले भने, ‘इमोसनल भएर, भावनामा बगेर भोट माग्ने कुरा पनि त्यति सुहाउने कुरा भएन ।’
वामपन्थी विश्लेषक दिनेश श्रेष्ठ विश्वका अन्य विकसित मुलुकहरुमा भावनात्मक र धाकधम्कीको कुरा त्यति महत्वको नहुने बताउँछन् । श्रेष्ठ भन्छन्, ‘उम्मेदवारहरुले एक अर्कालाई लाञ्छित् गर्ने वा भोट बटुल्ने हिसावले जुनसुकै कार्य गर्नुहुँदैन ।’
सुनसरीको निर्वाचन क्षेत्र ३ मा सधैँका प्रतिस्पर्धी मैदानमा छन् । सत्ता गठबन्धनको तर्फबाट कांग्रेस नेता विजयकुमार गच्छदारसँग चिरपरिचित प्रतिद्वन्द्वी एमालेकी भगवती चौधरीले तेस्रो पटक प्रतिस्पर्धा गर्दैछिन् ।
तर, गच्छदार छैटौं पटकसम्म अपराजित रहँदा चौधरीले यस पटक गच्छदारको जितमा ब्रेक लगाउन जोड गरिरहेकी छन् ।
गच्छदारले पाउलान् ‘न्याय’ ?
कांग्रेस नेता विजय गच्छदार आम मतदातासँग न्यायको माग गरिरहेका छन् । उनले न्याय माग्नुको मुख्य मुद्दा हो ललिता निवास जग्गा घोटाला प्रकरण । उनीविरुद्ध २०७६ साल माघमा ९ करोड ६८ लाख बिगोसहित भ्रष्टाचार मुद्दा दायर भएको छ ।
गच्छदार केपी ओली नेतृत्वको तत्कालीन सरकारले आफूलाई फसाउने षड्यन्त्र गरेको आरोप लगाउँदै आएका छन् । ‘मलाई जनताले पनि न्याय दिनुपर्छ । म जनताको अदालतमा ६ चोटीमात्रै होइन, ७ चोटी आएको छु । जनताको अदालतबाट फेरि यसअघिको भन्दा धेरै भोट ल्याएर मलाई जिताएर पठाउनु भयो भने मात्रै मैले इन्साफ पाउँछु, मैले न्याय पाउँछु,’ उनी भन्छन् ।
आफ्नो लागि सुनसरी–३ नयाँ ठाउँ नभएको भन्दै उनी धेरै पुराना कांग्रेसीहरुको सम्झना गर्छन् । उनी २०२७ सालमा जेल परेको घटना पनि सम्झन्छन् । ‘यो इटहरीमा १२ हजार मतदाता हुँदा ०४८ सालदेखि मैले चुनाव लडेको हो । त्यसबेला इटहरी कस्तो थियो ? बाटो थिएन, भवनहरु थिएनन् । यो परिस्थिति अनुसार विकास हुँदै आयो । त्यहाँ मेरो पनि केही न केही त योगदान छ । मैले पानी जहाज कुदाउने सपना बाँड्न आएको होइन,’ उनी भन्छन्, ‘२०२७ सालमा जेल बस्दा अहिले कति वर्ष भयो हिसाब किताब गर्नुहोस् । प्रजातन्त्रको लागि तपाईहरुको बन्द मुखलाई खुल्ला गर्नका लागि लडेका हाम्रो जेनेरेसन छ । हामी ज्यूँदा छौं । ०२७ सालमा म जेल पर्दा इटहरीमा कांग्रेस टुकी बालेर खोज्नु पर्थ्यो । कांग्रेसलाई एक गिलास पानी दिने मान्छे भेटिँदैन थियो ।’
३१ वर्षमा नभएको विकास ५ वर्षमा गर्छु : चौधरी
यता, गच्छदारलाई १० वर्षयता लगातार टक्कर दिइरहेकी भगवती चौधरी भने ३१ वर्षमा नभएको विकास आफूले जिते ५ वर्षमै गर्ने बताउँछिन् । ‘उहाँले ३१ वर्षमा नगरेको विकास हामी ५ वर्षमा गर्न चाहन्छौं, म यही गाउँठाउँबाट हुर्केको मान्छे हो । सुनसरीको ३ नम्बरबाट महिला सशक्तीकरण र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने काममा लाग्नेछु,’ उनी भन्छिन् ।
सोमबार इटहरीको बसपार्कमा कोणसभा सकिएपछि रातोपाटीलाई प्रतिक्रिया दिँदै उनले चुनावी अभियान निकै दबाबपूर्ण भइरहेको बताइन् । ‘चुनावी अभियान चलिरहेको छ । घरदैलो गरिरहेको छु । निर्वाचन आयोगले तोकेको समय अनुसार सबै घरदैलो गर्न सकिएन । यस्तै सानातिना कोणसभाहरु गरिरहेको छु । दैनिक १०/१५ वटासम्म कार्यक्रम भइरहेको छ’, उनी भन्छिन् ।
स्थानीय तह निर्वाचनमा मतको अवस्था
सुनसरीको ३ नम्बर क्षेत्रमा इटहरी उपमहानगरपालिकाको वडा नं. ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, इनरुवा नगरपालिकाको वडा नं. ७, गढी गाउँपालिका, दुहबी नगरपालिका पूरै र बर्जु गाउँपालिका पर्दछ । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा नेकपा एमाले सो क्षेत्रमा पहिलो दल हो ।
एमालेले ३५ हजार ५३ मत ल्याउँदा कांग्रेसले ३३ हजार ५७१ मत ल्याएको छ । यस्तै एमालेलाई सघाएको जसपाको ५ हजार ५१६, माओवादी केन्द्रको ३ हजार ८ सय, राप्रपाको ३ हजार ३३१ र नेकपा एकीकृत समाजवादीको ६२६ मत छ ।
यही मतको आधारमा सत्ता गठबन्धनको पक्षमा ३७ हजार ९९४ मत देखिन्छ । एमाले र जसपा गठबन्धनको मत ४० हजार ५६९ मत हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने