आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रे–२ मा गोकुल बास्कोटाको छमछमी नाच : भन्छन्– हामी हात्ती हौँ, गठबन्धन स्यालको झुण्ड (भिडियो)

७ मध्ये ६ पालिका गठबन्धनले जितेका कारण कांग्रेसका शिव हुमागाई ढुक्क
बिहीबार, २४ कात्तिक २०७९, ०९ : १७
बिहीबार, २४ कात्तिक २०७९

 प्रतिनिधिसभा अन्तर्गत काभ्रे–२ मा भोट माग्न जनताका घरदैलोमा पुगेका एमाले नेता गोकुल बास्कोटाले आफ्नो उही पुरानै शैलीमा विपक्षीहरुलाई तल्लोस्तरको उपमा दिँदै आफू बलियो रहेको दाबी गरे । उनले गठबन्धन दल ‘स्यालहरुको झुण्ड’ रहेको र एमाले ‘हात्ती’ रहेको दाबी गर्दै आसन्न चुनावमा काभ्रे–२ मा ‘स्यालहरुको झुण्ड’ले हात्ती लडाउन नसक्ने जिकिर गरे ।

चुनावी घरदैलो अभियानमा रहेका बास्कोटालाई काभ्रेको मण्डनदेउपुरको  हिउवापाटीदेखि पछ्याउँदा उनको भोट माग्ने शैली रोचक थियो । उनको स्वागतका लागि ठाउँ–ठाँउमा घडा थापिएको थियो भने पार्टीका कार्यकर्ता एवं स्थानीय माला लिएर सडकमा बसेका भेटिन्थे । टोलको निश्चित स्थानमा कार्यकर्ता र स्थानीय जम्मा पार्ने र संक्षिप्त मन्तव्य दिएर उनी अर्को स्थलमा भोट माग्न हिँड्थे ।

हामी मण्डनदेउपुरको गणेश प्राविको प्राङ्गणमा पुग्दा एमाले कार्यकर्ता झण्डा र माला लिएर बास्कोटालाई पर्खिरहेका थिए । हिउवापाटी देवीस्थानका बासिन्दा उनलाई टीका, माला लगाउन बाटोमा बसेका थिए । उनीहरुबाट टीका, माला लगाएपछि अलि पर रहेको गणेश प्राविमा बास्कोटा पुगे । त्यहाँ उनलाई कार्यकर्ताहरुले अनुहार छोपिनेगरी माला लगाइदिएर नाचगान सुरु गरिहाले ।

गोकुल बास्कोटाको प्रशंसामा बनाइएको चुनावी गीतमा नाचिरहेका कार्यकर्तासँगै बास्कोटा पनि एकछिन नाँचे अनि केही संक्षिप्त भनाइ राख्दै आफूलाई जिताउन आग्रह गरे ।

उनले केही स्थानीयको माग पनि सुने र आफू निर्वाचित भएमा त्यसलाई पूरा गर्ने बाचा पनि गरे । उनले काभ्रेबासीका लागि काम गर्न नसक्नुको कारण गठबन्धनले एमालेलाई सरकारमा बस्न नदिएको, अदालतले पनि एमाले सरकार हटाएको भन्दै फेरि चुनाव जिताएर पठाएमा एमालेको एकलौटी सरकारले सबै प्रकारका समस्याको हल गर्ने आश्वासन दिए ।

स्थानीय मिना दनुवारले इन्द्रावती नदीले खेत कटान गरेका कारण खेती मासिँदै गएकोले तारजाली लगाइदिए हुन्थ्यो भन्ने चाहना रहेको उल्लेख गरिन् । खानेपानीको समस्या रहेकाले त्यसका लागि बजेटको व्यवस्था गरिदिए हुन्थ्यो भन्ने माग पनि उनले राखिन् ।

यस्तै अर्का स्थानीयले पनि नदीले गर्ने खेत कटानलाई रोक्न तारजाली राख्न, नदीमा तटबन्ध गर्न माग राखे । बास्कोटाले आफू निर्वाचित भएमा ती माग पूरा गर्ने बताए ।

चुनौती पन्छ्याउँदै बास्कोटा, सम्भावनाको आधार टेक्दै हुमागाई

काभ्रे क्षेत्र नम्बर २ मा गोकुल बास्कोटाका मुख्य प्रतिस्पर्धी हुन् काभ्रेका पुराना कांग्रेस नेता शिव हुमागाई । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार रहेका हुमागाई आफ्ना प्रतिस्पर्धी बास्कोटाभन्दा निकै फरक नरम, सरल र मिजासिलो व्यवहारका छन् ।

बुधबार उनले काभ्रे–२ को मण्डनदेउपुरको चण्डेनी मण्डन, ज्याम्दी मण्डनदेखि दोलालघाटसम्म घरदैलो कार्यक्रम गरेका छन् । कार्तिक २६ गतेसम्म आफ्नो क्षेत्रका सबै वडामा पुगेर घरदैलो कार्यक्रम सम्पन्न गर्नेगरी उनी चुनावी प्रचारमा लागेका छन् । उनको साथमा माओवादी, एकीकृत समाजवादीका नेता कार्यकर्तापनि घरदैलो कार्यक्रममा मिसिएका छन् ।

हिजो गोकुल बास्कोटासँगै हिँड्ने काभ्रे एमालेका पुराना नेता एवं पूर्व सांसद हाल नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य कृष्णप्रसाद सापकोटा अहिले हुमागाईलाई भोट माग्दै हिँडिरहेका छन् । सापकोटा लोकतन्त्र, संविधान जोगाउन हुमागाईलाई भोट दिएर जिताउन आग्रह गर्दै घरदैलो गरिरहेका छन् ।

उनी २०६४ सालमा नेकपा एमालेको तर्फबाट सोही क्षेत्रबाट निर्वाचित भएका थिए । यस्तै २०७० सालमा सोही क्षेत्रबाट विजयी भएका एमालेका पूर्व सांसद विदुर सापकोटा पनि आज बास्कोटाको साथमा छैनन् । हिजो जो नेता गोकुल बास्कोटाका साथ थिए, आज उनीहरु कांग्रेसको पक्षमा भोट माग्दै हिँडिरहेका छन् ।

बास्कोटाभन्दा हुमागाई नरम र सरल भएका कारण उनको व्यक्तित्वका कारण पनि उनलाई जनताले रुचाउन सक्ने कांग्रेस कार्यकर्ताहरु दाबी गर्छन् ।

काभ्रेको क्षेत्र नम्बर १, पनौती घर भएका शिव हुमागाई सत्ता गठबन्धनमा उम्मेदवारको टिकटमा भागबण्डा गर्दा काभ्रे–२ बाट चुनाव लड्न आइपुगेका हुन् । उनले क्षेत्र नम्बर २ मा टिकट पाउँदा काभ्रे–१ मा माओवादी केन्द्रका सूर्यबहादुर दोङले टिकट हात पारे । आफू बसेको ठाउँमा चुनाव उठ्न नपाएका हुमागाईले आफूले आफैलाई भोट हाल्न भने नपाउने भएका छन् ।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य, ट्रेड युनियन केन्द्रीय समितिको पूर्व संयोजक समेत रहेका उनी काभ्रेका पुराना कांग्रेस नेता हुन् । १० वर्षअघि उनले कांग्रेसको जिल्ला सभापतिको रुपमा नेतृत्वसमेत गरेका थिए ।

उनको चुनौतीको रुपमा आफ्नै दलभित्रको असन्तुष्टि रहेको काभ्रेका स्थानीयहरु बताउँछन् । टिकटमा प्रमुख दाबेदार रहेका कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य असन्तुष्ट रहेको चर्चा चल्ने गरे पनि अहिले पार्टीभित्रको सबै आन्तरिक समस्या समाधान भइसकेको उम्मेदवार हुमागाई बताउँछन् ।

अघिल्लो चुनावमा गोकुल बास्कोटासँग पराजित भएका आचार्य यो पटक बास्कोटासँग बदला लिने तयारीमा थिए तर हुमागाईले टिकट हात पारेपछि उनको सो सपना पूरा हुन पाएन । कृष्ण सिटौला पक्ष रहेका हुमागाईले उम्मेदवारको टिकट फुत्काएपछि आचार्यले चुनाव लड्न नपाएका हुन् । यद्यपि अहिले काभ्रे कांग्रेस एक ढिक्का रहेको हुमागाई बताउँछन् ।

गत स्थानीय तहको मत हेर्दा पनि गठबन्धन दल बलियो देखिन्छ । काभ्रे क्षेत्र नम्बर २ मा पाँचखाल नगरपालिका, मण्डन देउपुर नगरपालिका, बेथानचोक गाउँपालिकाको पूरै भाग पर्छ । पनौती नगरपालिकाको वडा १, २, ३, ११ र १२ र धुलिखेल नगरपालिकाको  १, २, ३, ४, ५, ६ र ७ वटा वडा यो क्षेत्र अन्तर्गत पर्छ ।

यो क्षेत्रमा रहेका वडाहरुमा राजनीतिक दलले पाएको मतका आधारमा हेर्दा एमालेबाट जितेका वडाध्यक्षहरुको कुल मत ४५ हजार ५ सय १४ र कांग्रेसको ४५ हजार ४ सय ५६ मत देखिन्छ । यस्तै एकीकृत समाजवादीले ८ हजार ६ सय ७६ मत पाएको थियो भने माओवादी केन्द्रले ६ हजार ३ सय ७० मत ल्याएको थियो । यहाँ गठबन्धनको पक्षमा ६० हजार ५०२ मत देखिन्छ, जुन एमालेको पाएको मत भन्दा झन्डै १५ हजार बढी हो ।

आसन्न मंसिर ४ मा कांग्रेसका हुमागाई र एमालेका बास्कोटाबीच नै काभ्रे–२ मा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि आफ्ना कुरा सुन्ने, काम गर्न सक्ने, आफ्ना समस्या बुझ्ने कुनै उम्मेदवार नरहेको काभ्रेका जनताहरुको गुनासो छ ।

काभ्रे क्षेत्र नम्बर २ मा ७ वटा स्थानीय पालिका छन् जसमा धुलिखेल नगरपालिकाको मेयर बाहेक अरु पालिकामा सत्ता गठबन्धन दलले विजयी हासिल गरेको छ । यो क्षेत्रमा रहेका सल्ले–भुम्लु, मण्डनदेउपुर, पाँचखाल, पनौती, बनेपा र बेथानचोकमा सत्ता गठबन्धन दलले चुनाव जितेका कारण पनि कांग्रेस उम्मेदवार हुमागाई बास्कोटाभन्दा बढी ढुक्क देखिएका छन् ।

एमालेको जित सुनिश्चित छ : गोकुल बास्कोटा

चुनावी घरदैलोमा हिँडिरहनुभएको छ, जनताले तपाईंसँग के अपेक्षा गरेका छन् ?

हामीले जति काम गरेका छौँ र जति काम गर्न बाँकी छन्, ती सम्पूर्ण काम बाँकी समयमा पूरा होस् भन्ने अपेक्षा गरेका छन् र त्यसमा हामीले प्रतिबद्धता जनाएका छौँ ।

अहिले एमालेविरुद्ध सत्ता गठबन्धन छ, कतिको चुनौती महसुस गर्नुभएको छ ?

अँ, स्यालहरुको घेराबन्दी देखेर हात्ती कहिल्यै पनि आफ्नो बाटो छोडेर दायाँबायाँ लाग्दैन ।

तर हात्तीलाई भुसुनाले पनि रुवाउँछ नि ?

यसो कान्छी औंलाको काम हुन्छ ।

सुँढभित्र भुसुना छिर्‍यो भने हात्तीलाई ढलाउँछ त ?

छ्युँ गर्दा जान्छ ।

भनेपछि गोकुल बास्कोटालाई गठबन्धन दलले ढलाउन सक्दैन ?

गोकुल बास्कोटालाई हैन, नेकपा एमालेलाई गठबन्धनले ढलाउन सक्दैन । त्यसकारण हामी इतिहासमा शानदार बहुमत ल्याएर आफ्नो नीति, आफ्नो नेतृत्व, आफ्नो कार्यक्रम र व्यापक जनताको साथमा देशको स्वाधीनताको रक्षा, लोकतन्त्रको सुदृढीकरण र संरक्षण, आम जनतालाई लोकतन्त्रको अभ्यास र अनुभूति गर्न पाउने प्रक्रियाको सुदृढीकरण गर्छौं । सँगसँगै मुर्छित जनताका सपनाहरुलाई नेकपा एमालेले आफ्नो साढे ३ वर्षको अवधिमा भत्केका घरहरु बनाएर, बाटोघाटो, पुल पुलेसा, सिंचाई, मठ मन्दिर, गुम्बा पार्टी, चैत्य आदि इत्यादिमा एउटा पुनर्जागरणको युग सुरु गरेको छ । हाम्रो देशमा नेपाली जनताले आफ्नै बल बुता, मिहेनत र पसिनामा आफ्नो देश बनाउन सक्छन् भन्ने सन्देश प्रवाह गरेको छ, जसले युवाहरुले आफ्नै जीवनमा परिवर्तन सम्भव छ भन्ने कुराको अनुभूति गरेका छन् ।

बितेको १८ महिनामा ‘गठे सरकार’ बनेपछि आज जनताले मल पाएका छैनन् । त्यसैले जनतालाई सहज रुपमा उनीहरुका आधारभूत आवश्यकता पूर्ति गर्न र गराउने कुरामा, जनताप्रतिको जवाफदेहिताको कुराको एजेण्डा बोकेर हिँड्ने पार्टी एमाले भएकाले एमालेको जित सुनिश्चित छ । मंसिर चार, ओली सरकार ।

काभ्रेबासीका लागि तपाईंका एजेण्डा के के छन् ?

अधुरा काम पूरा गर्ने, केही नविनतम् र अलिकति फरक खालका कामहरुको सुरुवात गर्ने अर्थात् पूर्वाधारको निर्माणपछि दिगो विकासतर्फ हामी जाने, गरिबी निवारणका लागि एउटा सशक्त राष्ट्रिय हस्तक्षेप गर्ने, २५ लाख युवालाई ५ वर्षभित्र रोजगारी दिने, भर्खर किशोरी अवस्थामा पुगेका महिलाहरु महिनावारीका बेला हुने उनीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर किशोरीहरुका निम्ति मासिक १५ सय भत्ता प्रदान गर्ने । अरु सबै क्षेत्रका सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने, सिंचाई, पर्यटन कृषि, उद्योगधन्दा आदि इत्यादिको नवनिर्माण र विकासद्वारा आर्थिक वृद्धिदर कायम गर्ने र आउने आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय २४ सय अमेरिकी डलर पुर्‍याउने उद्देश्यका साथ नेकपा एमाले नेपाली जनताको सुख र दुःखको साथी र समृद्धिको नेतृत्वकर्ताको रुपमा जुन विगतको मनमोहनको पालादेखिको इतिहास छ, त्यो इतिहासको रेकडै ब्रेक गर्नका निम्ति हामी यो महासंग्राममा सामेल भएका छौँ । त्यसैले देशैभरिबाट आमजनताको साथ एमालेलाई हुन्छ ।

  ‘संविधानविरोधी शक्तिलाई परास्त गर्न जनता तयार भएर बसेका छन् : शिव हुमागाई

 चुनावी घरदैलो अभियानका क्रममा तपाईंको क्षेत्रका जनताले तपाईंसँग के कुराको अपेक्षा राखिरहेका छन् ?

उम्मेदवारी दर्ता लगत्तै हामीले यो क्षेत्रका सबै वडामा वाम लोकतान्त्रिक गठबन्धनका ५ वटै दलका साथीभाइबीच भेटघाट कार्यक्रम राख्यौँ । पहिलो चरणको बैठक कार्यक्रम सकेर १७ गतेदेखि खुला रुपमा घरदैलो कार्यक्रम गरिरहेका छौँ । जनताको सबैभन्दा धेरै गुनासो निर्वाचनका बेला सबैजसो नेता कार्यकर्ता आउने, निर्वाचित भएर गइसकेपछि फेरि फर्केर नआउने कुराले हामी दुःखी छौँ भन्नुहुन्छ । यो परम्परा तोडिदिए हुन्थ्यो, नसक्ने कुरा नेताहरुले नबोलिदिए हुन्थ्यो भन्ने जनताहरुको अपेक्षा छ ।

अघिल्लो पटक यही क्षेत्रमा निर्वाचित भएका एमालेका गोकुल बास्कोटासँग प्रतिस्पर्धा गरिरहनुभएको छ, कत्तिको चुनौती महसुस गर्नुभएको छ ?

सुरुमा मानिसहरुले चुनावको सुरु नै नहुँदा आफ्नै ढंगले विश्लेषण गरेका हुनसक्छन् तर चुनाव सुरु भएपछि हामीले कुनै पनि चुनौती महसुस गरेका छैनौँ । पहिलो आधार त हामी वाम लोकतान्त्रिक गठबन्धन दलले गत स्थानीय तहको निर्वाचनमा १३ वटा पालिकामध्ये १२ वटामा जित निकालेका छौँ । यस आधारमा ५ हजार मतले हामी अगाडि छौँ ।

दोस्रो आधार २०५६ सालको निर्वाचनमा म यसै क्षेत्रबाट निर्वाचित भएको थिएँ । जुनबेला मेलै पहिलो पटक काभ्रेमा विकासको बहस सुरु गरेको थिएँ । मैले नै काभ्रेका मेगा प्रोजेक्टहरु, खानेपानी, विद्युत, सडक, रोजगारी क्षेत्रमा आफूले बोलेका कुरा ८० प्रतिशत पूरा गरेर म बाहिरिएको थिएँ । भूकम्पका बेला, कोभिडका बेला पनि मैले यस क्षेत्रका जनतालाई आफै मैदानमा उपस्थित भई सक्दो सहयोग गरेको छु । जनताको सुख दुःखमा म निरन्तर क्रियाशील छु । लामो समयदेखि जनताका लागि जेल नेलदेखि संसद भएर जनताका सेवामा लागिपरेको छु । जनताले मलाई देखाएको विश्वासका कारण मैले कुनै चुनौती महसुस गरेको छैन ।

काभ्रेमा सामाजिक अभियन्ताको, वौद्धिक वर्गको, विभिन्न पेशागत वर्गको, सबै क्षेत्रका मानिसको विश्वास भरोसा र आत्मीयता हामीले जितिसकेका छौँ । चुनाव हाम्रो पक्षमा परिणाममुखी हुँदै गइरहेको छ ।

गोकुल बास्कोटाले ‘गठबन्धन स्यालहरुको झुण्ड हो, हामी हात्ती हौँ, हात्तीलाई कसैले पछार्न सक्दैन’ भन्नुभएको छ । यसबारे तपाईंको धारणा के छ ?

मैले उहाँको सबै कुराको उत्तर दिनुपर्छ भन्ने लाग्दैन । मैले मेरो स्तरबाट मात्रै उत्तर दिने हो । उत्तर र स्तरमा पनि प्रतिस्पर्धा गर्नुपर्छ भन्ने लाग्दैन । 

तपाईंले काभ्रे–२ का लागि कस्ताकस्ता एजेण्डा अघि सार्नुभएको छ ?

हाम्रो पहिलो राजनीतिक एजेण्डा त लोकतान्त्रिक व्यवस्थाको संस्थागत विकास गर्ने हो । जनताद्वारा लेखिएको संविधानलाई बचाउने अभियान हो । मुलुकलाई अग्रमनमा लाने योजना हो ।

जनताले कष्ट भोगेका सिंचाई, कुलो, सडक, शिक्षा, स्वास्थ्य, स्थानीय तहको आवश्यकता हेरेर स्थानीय, प्रदेश र संघको तर्फबाट पहल गरेर काभ्रेलाई समृद्धिको बाटोमा लाने हो । मलको अभाव हुँदा किसानले दुःख पाएका छन्, त्यसलाई दीर्घकालीन रुपमा समाधान गर्ने हाम्रो लक्ष्य हो ।

टिकट वितरणमा कांग्रेसभित्र विवाद थियो, त्यसको असर तपाईंलाई पर्छ भन्ने कुरा पनि आइरहेको छ । के तपाईंले पार्टीबाट पूर्ण सहयोग पाउने अवस्था छ ?

काभ्रे कांग्रेसभित्र पूर्ण एकता छ । पूर्ण विश्वास छ । हामी सबै बसेर चुनावी रणनीति बनाएका छौँ । सबै साथीहरु चुनावी प्रचारमा लागिरहनुभएको छ । तपाईंले जुन साथीलाई संकेत गर्न खोज्नुभएको हो, उहाँहरु सबै मेरो साथमा चुनावी अभियानमा खटिइरहनुभएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप