आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

मल समस्या समाधान गर्ने हुमागाईँको प्रतिबद्धता

बुधबार, २३ कात्तिक २०७९, २१ : ४४
बुधबार, २३ कात्तिक २०७९

लोकतान्त्रिक–बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका साझा उम्मेदवार शिवप्रसाद हुमागाईँले रासायनिक मलको समस्या समाधानको लागि आफूले पहल गरिरहेको बताएका छन् । गठबन्धनले मण्डनदेउपुरको जोगिटारमा भएको कोण सभालाई सम्बोधन गर्दै हुमागाईँले यो मौसममा रासायनिक मल कम खपत हुने हिमाली जिल्लामा मौज्दात रहेको मल ल्याएर काभ्रे जिल्लामा मलको समस्या समाधान गर्ने बताए ।

‘एमालेले अघिल्लो चुनावमा नै रासायनिक मल कारखाना बनाउने प्रतिबद्धता जनाएको थियो, तर पुरा गरेन,’ उनले भने, ‘म कारखाना नै खोल्छु त भन्दिन तर अहिले मल खपत कम हुने जिल्लामा मौज्दात भएको मल काभ्रे ल्याउन सहजीकरण गरिरहेका छौं ।’ उनले सिँचाइको योजना सम्पन्न गर्ने  भन्दै हिगुवापाटी–दोलालघाट सडक आफ्नो कार्यकालमा कालोपत्रे गर्ने प्रतिबद्धता व्यक्त गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानभन्दा आफूमाथि सोचेको कारण लोकतान्त्रिक–बाम गठबन्धन बनेको भन्दै उनले मुलुकभर गठबन्धनको पक्षमा लहर भएको बताए ।

संविधान सभा सदस्य रहेका नेकपा (एकीकृत समाजवादी) का पोलिट्व्युरो सदस्य कृष्णप्रसाद सापकोटाले २०७४ सालमा एमालेको घोषणापत्रमा समावेश भएका  चुनावी प्रतिबद्धता कुनै पनि पुरा नभएको बताए । ‘२०७४ सालमा एमालेको घोषणापत्रमा मल कारखाना खोल्ने, १५ वर्षभन्दा मुनि र ६५ वर्ष माथिकालाई निःशुल्क स्वास्थ्य सेवा दिने भन्ने थियो, घोषणापत्रका कुनै पनि कुरा पूरा भएनन्,’ उनले भने, ‘ हामीले जेल–नेल गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था केपी ओलीले तहसनहस पारे, संसद् विघटन गरे, पुनः स्थापना भएपछि चल्न दिएन, मुलुक अप्ठ्यारोमा परेको बेला कांग्रेस–कम्युनिस्टबिच गठबन्धन बनेको इतिहास छ, संविधान जोगाउन यो गठबन्धन बनेको हो ।’

दिउँसो समाजवादको कुरा गरेर बेलुका दलाल पुँजीवादीसँग साठगाँठ गर्नेको अडियो टेप सार्वजनिक भएको भन्दै उनले मतदाताको अपमान गर्नेलाई पुनः त्यो अवसर नदिन अनुरोध गरे । गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार लक्ष्मण लम्सालले अघिल्लो पटक निर्वाचित गराउँदा पनि आफूले काम गरेको भन्दै फेरि पनि सोही क्षेत्रको विकासको लागि काम गर्ने प्रतिबद्धता जनाए । स्थानीयलाई योजना ल्याउन अनुरोध गर्दै उनले आफूले विकासको लागि समन्वय गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप