आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस (विपी)को घोषणापत्र : पूर्वाधार विकासमा जोड

बुधबार, २३ कात्तिक २०७९, २१ : २९
बुधबार, २३ कात्तिक २०७९

नेपाली कांग्रेस (विपी)ले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । कांग्रेस (विपी)ले बुधबार आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी आठ पेज लामो घोषणापत्र सार्वजनिक गरेको हो ।

 कांग्रेस (विपी)ले घोषणापत्रमा उद्योग, सडक पूर्वाधार, हवाई सेवा, खानेपानी, सरसफाइ, ऊर्जा, वैकल्पिक ऊर्जा, कृषि, सिँचाइ, पर्यटन, कला, साहित्य संस्कृतिलाई प्राथमिकता दिएको छ । यस्तै पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्दै आमसञ्चारमा सबै नेपालीको सहज पहुँच पु¥याउन सर्वसुलभ, भरपर्दो र गुणस्तरीय सूचना उपलब्ध गराउने, संविधानलाई गतिशील राजनीतिक दस्तावेजको रूपमा स्वीकार्ने बताएको छ । उक्त पार्टीले जननायक विश्वेश्वरप्रसाद कोइरालाको सोचाइअनुरुप उत्पादन वृद्धिसँगै स्रोत र साधनको न्यायोचित वितरण नै पार्टीको मूल आर्थिक नीतिको रूपमा प्रस्तुत गरेको छ । देशको राजस्व बढाउन करको दायरा बढाउन न्यायोचित नीति अपनाइने घोषणापत्रमा उल्लेख छ ।

यस्तै राजस्व सङ्कलन प्रक्रिया प्रविधिमैत्री, पारदर्शी र चुहावटमुक्त बनाइने र आगामी पाँच वर्षभित्र वार्षिक २५ लाख पर्यटक देशभित्र भित्र्याउने लक्ष्यका साथ आवश्यक पूर्वाधार निर्माण गरिने प्रतिबद्धता गरेको छ । आगामी पाँच वर्षभित्र हुलाकी, मध्यपहाडी र निजगढ–काठमाडौँ द्रुर्तमार्गको निर्माणकार्य सम्पन्न गर्ने र विद्युतीय यातायातलाई प्रोत्साहन गरिने घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै पार्टीका महामन्त्री देवेन्द्रप्रकाश पौडेलले नेपाली कांग्रेस विपीले ७८ सिटमा प्रत्यक्ष र एक सय ७३ सदस्य समानुपातिक प्रणालीमा उम्मेदवारी दिएको बताए । पार्टीले देशको सबै क्षेत्रलाई समेटेर घोषणापत्र निर्माण गरेको उनको भनाइ थियो । पार्टीका उपसभापति रीता खनालले  कांग्रेस (वीपी)ले निर्माण गरेको घोषणापत्रका आधारमा पार्टीले काम गर्ने उल्लेख गरिन् । उनले जनताका समस्या समाधानका लागि कांग्रेस (वीपी) सधैँ लाग्ने विश्वाससमेत व्यक्त गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप