शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : विजय लामामाथि क्यानको एक्सन, गर्भनरको राजीनामा माग

बुधबार, २३ कात्तिक २०७९, २१ : ०९
बुधबार, २३ कात्तिक २०७९

आज २०७९ कार्तिक २३ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

विजय लामामाथि क्यानको एक्सन

उडिरहेको विमानको ककपिटमा यात्रुलाई प्रवेश दिएर गम्भीर सुरक्षा लापरबाही गरेको भन्दै नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामालाई उडानमा प्रतिबन्ध लगाइएको छ । नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले लामालाई गत आइतबारदेखि उडानमा प्रतिबन्ध लगाएको हो ।

मन्त्री थापाको निधन

मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभाका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको आज बिहान निधन भएको छ ।  नोबेल अस्पतालमा उपचार गराइरहेका थापा एक महिना अगाडिदेखि निमोनियाले ग्रसित थिए । नोबेल मेडिकल कलेजका डाइरेक्टर राजेश नेपालले दिएको जानकारी अनुसार उनको आज बिहान १० बजेर ४० मिनेटमा निधन भएको हो ।

माओवादीको कारबाही

रौतहट क्षेत्र नम्बर तीनका प्रतिनिधि सभाका उम्मेदवार प्रभु साहलाई समर्थन नगरेको भन्दै रविन्द्र पट्टेल ‘धिरज’ पार्टीबाट निष्कासन गरिएको छ । गठबन्धनबाट माओवादी उम्मेदवार पट्टेललाई रौतहट ३ बाट प्रतिनिधि सभा उम्मेदवार बनाएको थियो ।

नतिजा निर्वाचन अघि 

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड बृद्धि (पूरक परीक्षा) को नतिजा मंसिरको पहिलो सातासम्ममा प्रकाशित गर्ने जनाएको छ । असोज ३० र ३१ गते लिइएको पूरक परीक्षाको नतिजा चुनावअघि नै सार्वजनिक गर्नेगरि तयारी गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले मंसिर ४ को चुनावअघि नै नतिजा प्रकाशन गर्नेगरि तयारी भइरहेको बताए। 

सूची घटाउँदै सर्वोच्च

सर्वोच्च तथा उच्च अदालतमा जारी मुद्दाको चाप घटाउन सर्वोच्च अदालतको पूर्ण बैठकले पहिले आदेश गरेका न्यायाधीशले पनि मुद्दा हेर्न मिल्ने गरी व्यवस्था गरेको छ । कात्तिक १६ गते बसेको पूर्ण बैठकको निर्णय सुनाउँदै सर्वोच्चका प्रवक्ता विमल पौडेलले हेर्न नमिल्ने न्यायाधीशको सूची घटाउन यस्तो निर्णय भएको जानकारी दिए । 

आयोगको एक्सन

निर्वाचन आयोगले भड्किलो प्रचारप्रसारमा कडाइ गरेको छ । आयोगले जारी गरेको आचारसंहिता विपरीत पर्चा, ब्यानर र पोस्टरहरूको प्रयोगमा आयोगले कडाइ गरेको हो । सप्तरीको राजविराजमा सडक, भित्ता र पोलहरुमा टाँसिएका आचारसंहिता विपरीतका प्रचार सामग्रीलाई बुधबार हटाइएको छ । सुरक्षाकर्मीको सहयोगमा ती प्रचार सामग्रीहरू हटाइएको आयोगले जानकारी दिएको छ ।

६ पटक शक्तिशाली भूकम्प

नेपालमा पछिल्लो २२ दिनमा छ पटक भूकम्पको धक्का महसुस गरिएको छ । यही कात्तिक २ गतेदेखि २३ गतेसम्म ६ पटक भूकम्पले धक्का दिएको हो । भूकम्प मापन केन्द्रकाअनुसार चार रेक्टर स्केलभन्दा माथिका ६ पटकसम्म भूकम्प गएको हो ।

गर्भनरको राजीनामा माग

बैंकको चर्को ब्याजदरका विरूद्धमा विराटनगरका उद्योगी व्यवसायीहरू सडकमा उत्रिएका छन् । व्यवसायीले बुधबार विराटनगरमा वृहत् मौन–जुलुसमा कालो टिर्सट लगाएर विरोध स्वरूप सडकमा उत्रिएका हुन् । व्यापार संघका पूर्व अध्यक्षद्वय पवनकुमार शारडा र प्रकाश मुन्दडासहित परिसंघका प्रदेश १ अध्यक्ष भीम घिमिरेले गभर्नर अधिकारीले मार्ग प्रशस्त गरेर योग्य तथा सक्षम व्यक्तिलाई राष्ट्र बैंकको नेतृत्व सुम्पनुपर्ने माग गरे ।

सरकारले तोक्यो समर्थन मूल्य

सरकारले धानको मूल्यमा वृद्धि गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्षका लागि धानको मूल्यमा वृद्धि गर्दै न्यूनतम् समर्थन मूल्य तोकेको छ ।  कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा.प्रकाश सञ्जेलका अनुसार कात्तिक १६ गते बसेको मन्त्रिपरिषदको बैठकले धानको मूल्यमा वृद्धि गर्दै न्यूनतम् समर्थन मूल्य तोकेको हो ।

 निर्वाचन ब्याटलग्राउन्ड

मंसिर ४ गते हुने आम निर्वाचनको मिति नजिकिएसँगै चुनावी माहौल तातिकएको छ । यस क्रममा देशका विभिन्न स्थानमा पुगेका रातोपाटीकर्मीका निर्वाचन रिपोर्ट :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप