बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

आसन्न निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँ हो : महरा

बुधबार, २३ कात्तिक २०७९, १९ : १४
बुधबार, २३ कात्तिक २०७९

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराले आसन्न निर्वाचन सत्ताको स्वार्थका लागि नभइ अग्रगमन र प्रतिगमनबीचको लडाइँजस्तै रहेको बताएका छन् । बुधबार बंगलाचुली गाउँपालिकामा सत्तारुढ गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै महराले मुलुकको भाग्य, भविष्य, संविधान जोगाउने र नजोगाउने पक्षबीचको युद्धका रुपमा रहेको निर्वाचनमा मतदाताले अग्रगमनकारी शक्तिलाई विजयी बनाउनुपर्नेमा जोड दिए ।

उनले पहाडी दुर्गम गाउँपालिकाको भविष्य गठबन्धन सरकारले नै फेर्ने दाबीसमेत गरे । गठबन्धनको मर्म र धर्मलाई आत्मसात गर्दै स्थानीय निर्वाचनमा गाउँपालिकामा सत्ता गठबन्धनले विजय हासिल गराएका मतदाताहरुलाई धन्यवाद दिँदै उनले संघीय संसद र प्रदेशसभा निर्वाचनमा पनि त्यस्तै साथ दिनेमा आफू ढुक्क रहेको बताए । सोही कार्यक्रममा सत्तारुढ गठबन्धनबाट दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार दिएकी रेखा शर्माले बंगलाचुली भौगोलिक रुपमा दुर्गम, भौतिक विकास र समृद्धिका हिसावले केही पछि परेको देखिए पनि यस क्षेत्रको विकासका लागि आफूले व्यवस्थित योजनासहितको काम निरन्तर गर्दै आइरहेको बताइन् । उनले शिक्षा, स्वास्थ्य खानेपानी, सिंचाई, पर्यावरण संरक्षण तथा नागरिकको दैनिक जीवनस्तर फेर्न आफू योजनावद्ध ढंगले अगाडि बढ्ने प्रस्ट पारिन् ।

विगतदेखि वर्तमान अवस्थामा निरन्तर योगदान पुु¥याउदै आइरहेको विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘बंगलाचुुली मेरो भूमिगत राजनीतिक जीवनसँग जोडिएको एक क्षेत्र हो । यहाँको विकासका लागि धेरै योजना मैले पनि बुन्ने गरेको छु ।’ कार्यक्रममा दाङ क्षेत्र नम्बर २ (क) का प्रदेशसभा सदस्य पदका उम्मेदवार राजु खनालले दुर्गम यस क्षेत्रको विकास र समृद्धिका लागि अग्रगामी शक्तिहरुको साझा गठबन्धन खाँचो रहेको बताए । अघिल्लो निर्वाचनमा यसै निर्वाचन क्षेत्रबाट प्रदेशसभामा जिताएर पठाएका नेता प्रदेशकै मुख्यमन्त्री बन्दासमेत यो क्षेत्रको विकास हुन नसकेको भन्दै उनले अब वाम लोकतान्त्रिक गठबन्धनले जनताका आकांक्षा पूरा गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप