शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटलग्राउन्ड सर्लाही– २ : महिन्द्र र राजेन्द्रको लडाइँमा कांग्रेस निर्णायक

बुधबार, २३ कात्तिक २०७९, १५ : २९
बुधबार, २३ कात्तिक २०७९

आसन्न निर्वाचन अन्तर्गत सर्लाही–२ मा सत्ता गठबन्धनमै आवद्ध दुई दलका उम्मेदवार प्रतिस्पर्धारत छन् । सत्ता गठबन्धनमा रहेको दल नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर यहाँ नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव उम्मेदवार छन् भने सोही गठबन्धनमा रहेको लोसपा नेपालका नेता राजेन्द्र महतो पनि यसै क्षेत्रमा प्रतिस्पर्धी छन् । यस अतिरिक्त जसपासमेतको समर्थनमा नेकपा एमालेका राजनारायण साह लगायत विभिन्न दल र स्वतन्त्र गरी १७ उम्मेदवार यहाँ चुनावी प्रतिस्पर्धामा छन् ।

सुरुमा सत्ता गठबन्धनले माओवादी केन्द्रको तर्फबाट नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवलाई अघि सारेको थियो । उनी सोही अनुसार प्रचार प्रसारमा लागेका थिए । पछि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेपछि सर्लाही–२ मा सत्ता गठबन्धन भत्केको हो । यहाँ गठबन्धनभित्र रहेका दुई दलका उम्मेदवार नै आपसमा प्रतिस्पर्धा गर्ने भएपछि चुनाव रोचक हुने भएको छ ।

सत्ता गठबन्धनले महिन्द्रराय यादव र राजेन्द्र महतोबीच मित्रवत् प्रतिस्पर्धा हुने जनाएको छ । यद्यपि प्रदेशसभाका लागि सिट बाँडफाँट गरिएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं समानुपातिक उम्मेदवार रामेश्वर राय यादवका अनुसार प्रतिनिधिसभामा मित्रवत प्रतिस्पर्धा हुने भनिए पनि प्रदेशसभा सदस्यका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार तय भएको छ । सर्लाही २ (क) का लागि माओवादी केन्द्रका सुनिल साह र (ख) का लागि कांग्रेसका कौशल किशोर राय यादव सत्ता गठबन्धनका साझा उम्मेदवार छन् ।

कांग्रेसका कौशल कुमार राय यादवले महिन्द्र राय यादवलाई साथ दिएका छन् भने कांग्रेसकै जंगिलाल रायले राजेन्द्र महतोलाई साथ दिएका छन् । नेता रामेश्वर राय यादवले भने, ‘जबकि सर्लाही २ (क) का लागि जंगिलाल राय सत्ता गठबन्धनका साझा उम्मेदवार नै होइनन् । त्यहाँका साझा उम्मेदवार सुनिल साह हुन् ।’

सर्लाही–२ अनुगमन गरेर फर्केका पत्रकार पंकज दास भन्छन्, ‘महिन्द्र र राजेन्द्रको प्रतिस्पर्धामा कांग्रेस निर्णायक हो, कांग्रेसले जसलाई सहयोग गर्छ, त्यहाँ त्यसैले नै बाजी मार्नेछ ।’

कांग्रेसको आधिकारिक उम्मेदवारको साथ महिन्द्र राय यादवलाई रहेको कारण महिन्द्र शक्तिशाली देखिएका छन् । तर सर्लाही–२ मा कांग्रेसभित्र जंगिलाल राय बलियो छन् । उनी २०७४ को प्रतिनिधिसभा चुनावमा पराजित भएका थिए ।

सो क्षेत्रमा कांग्रेसका जंगिलाल रायको राम्रो पकड भए पनि गठबन्धनको आधिकारिक उम्मेदवार उनी नभएका कारण कांग्रेसको मत विभाजन हुनसक्ने सम्भावना छ । महिन्द्र यादव माओवादी केन्द्रको चिह्नबाट चुनावमा भाग लिएका कारण उनलाई माओवादी केन्द्रको पूर्ण समर्थन रहेको रामेश्वर राय यादव बताउँछन् । उनी भन्छन्, ‘महिन्द्रजीलाई माओवादीको पूर्ण समर्थन छ, प्रदेशका कांग्रेसका आधिकारिक उम्मेदवार उहाँसँगै छन् । बाँकी कुरा मतदानपछिको परिणामले देखाउनेछ ।’

महेन्द्र र राजेन्द्र सो क्षेत्रका लागि बलिया उम्मेदवार रहेको भन्दै उनले दुवै जनाको बीचमा कडा प्रतिस्पर्धा हुने बताए ।

राजेन्द्र महतो कांग्रेसका जंगिलाल रायलाई साथमा लिएर चुनावी प्रतिस्पर्धामा छन् । सो क्षेत्रको वडामा कांग्रेसले २४ हजार ६२०, जसपाले १९ हजार ६४२, लोसपाले १२ हजार ३६६, माओवादी केन्द्रले सात हजार ७३७, एमालेले सात हजार ६७९, जनमत पार्टीले तीन हजार ४२, नेकपा (एस) ले दुई हजार २२१, राप्रपाले ७४२ मत ल्याएको थियो ।

एमाले–जसपा गठबन्धनको उम्मेदवार एमालेको तर्फबाट राजनारायण साह छन् । जसपाको साथबाट उनी पनि बलियो दाबेदारका रुपमा देखिएका छन् । त्यसैले यो क्षेत्रमा महिन्द्र राय यादव, राजेन्द्र महतो र राजनारायण साहको बीचमा प्रतिस्पर्धा हुने देखिएको छ ।

यसअघि २०७० को संविधानसभा चुनावमा महिन्द्रराय यादवले यो क्षेत्रमा राजेन्द्र महतोलाई पराजित गरेका थिए । २०७४ को निर्वाचनमा राजेन्द्रले सर्लाही छाडेर धनुषा–३ बाट उम्मेदवारी दिएका थिए । यसपटक उनी महिन्द्रराय यादवसँग प्रतिस्पर्धा गर्न सर्लाही फर्केका छन् ।

सर्लाहीका नागरिक समाजवका अगुवा अफिज मियाँ राजेन्द्र महतो सर्लाही फर्कनु नै गलत निर्णय भएको बताउँछन् । उनी मुस्लिमको मत महिन्द्र राय यादवलाई जाने बताउँछन् ।

सर्लाही क्याम्पस मलंगवाका प्राध्यापक तेजनारायण यादव तराई मधेसको चुनावमा जातीय फ्याक्टरले ठूलो काम गर्ने बताउँछन् । सर्लाही–२ मा पनि त्यही अवस्था रहेको उनको भनाइ छ । सर्लाही–२ मा यादव र मुस्लिमको मत अन्य समुदायभन्दा बढी रहेको उल्लेख गर्दै उनले यादव र मुस्लिमको नेतृत्व महिन्द्र राय यादवले गरिरहेकाले पनि उनको दाबेदारी सशक्त रहेको बताए ।

यद्यपि अहिले नै कसले जित्छ र कसले हार्छ भनेर किटान गर्न नसकिने प्राध्यापक यादव बताउँछन् । उनले भने, ‘यति बुझ्नुस् कि राजेन्द्र महतो पनि आफ्नो ठाउँमा कमजोर हुनुहुन्न ।’

राजेन्द्र महतो पाँच वर्षका लागि गायब भए तर महेन्द्र राय यादव विगत २५ वर्षदेखि सो क्षेत्रमा रहे पनि जनताले विकासको अनुभूति नगरेको नेपाल पत्रकार महासंघ सर्लाहीका पूर्व अध्यक्ष विश्वनाथ ठाकुर बताउँछन् । उनी भन्छन्, ‘ठिक छ राजेन्द्र महतोले सर्लाही छाडेर धनुषा जानु भयो तर महेन्द्रजी त यहीँ हुनुहुन्थ्यो, उहाँले के गर्नुभयो ? १० वर्ष सांसद रहनु भयो, मन्त्री पनि बन्नुभयो तर विकासको नाममा शून्य छ त ।’

केही दिन अघि सर्लाहीमा ‘नो भोट, नो रोड’को नारा लागेको थियो त्यसमा महिन्द्रराय यादवको नै सबभन्दा बढी विरोध भएको थियो । महिन्द्र राय यादवले पटक पटक जातको नाममा मत लिने तर काम नगरेको गुनासो क्षेत्रभर रहेको पत्रकार ठाकुरले बताए ।

***

‘मधेस केन्द्रित पार्टी समाप्त हुने अवस्थामा छन्’

महेन्द्र राय यादव, नेपाल समाजवादी पार्टी

तपाईंको क्षेत्रमा चुनावी तयारी कस्तो छ ?

अहिले संविधानको रक्षाका लागि सत्ता गठबन्धनको जुन लक्ष्य, उद्देश्य छ, देशको राष्ट्रियता संरक्षणका लागि यो क्षेत्रका जनता पूरै अघि बढेको अवस्था छ । गठबन्धनको पक्षमा सफलता प्राप्त हुन्छ भन्ने मलाई विश्वास छ ।

तपाईं ६ दशकसम्म राजनीतिमा हुनुहुन्छ, अब थकाई लागेन र भन्या ?

हो, यसपालि मैले यो क्षेत्रको जनतालाई अनि देशलाई पनि जानकारी गराउन चाहन्छु कि यो मेरो अन्तिम चुनाव हुनेछ । त्यसपछि म पार्टी राजनीतिमा मात्र सक्रिय हुनेछु । पार्टीको राजनीति गर्छु, यसरी जनताको बीचमा आफ्नो लागि मत माग्न आउँदिनँ । हामीले छोडेपछि युवा शक्तिलाई अघि बढ्ने मौका हुन्छ । अब देशको माग बमोजिम युवा शक्तिलाई अघि बढाउने नै हो ।

सत्ता गठबन्धनको समर्थन कसलाई छ ? लोसपाका राजेन्द्र महतो पनि उम्मेदवार हुनुहुन्छ, आधिकारिक उम्मेदवार को हो ?

कुरा क्लियर छ, यहाँ अलमल पार्न खोजिएको हो । चार दलको गठबन्धनले स्पष्ट पारिसकेको छ । सर्लाही–२ मा संघको उम्मेदवार मै हो । ‘ख’ को प्रदेशसभा उम्मेदवार कौशल किशोर राय, ‘क’ को सुनिल साह हुनुहुन्छ । यी सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार हुन् । पछि आएर लोसपा र गठबन्धनको तालमेल भएकै हो, त्यसपछि आएर मित्रवत् चुनाव लड्ने भनिएको हो । यहाँ मधेसका जनतालाई भ्रम सिर्जना गर्ने गरिएको छ, यो गलत हो ।

मित्रवत् प्रतिस्पर्धा हुँदा दुई जनाको आपसी प्रतिस्पर्धाले नतिजा अर्काेतिर जाने सम्भावना कति छ ?

सम्भावना कत्ति पनि छैन । किनकि त्यहाँ प्रतिस्पर्धा नै छैन । त्यो मित्रवत् चुनाव होइन । त्यहाँ नक्कली शब्द प्रयोग गरिएको हो । चुनाव भनेको युद्धजस्तो हुन्छ, जनताले त्यसरी फैसला गर्दछन् । लोसपा सत्ता गठबन्धनमा होइन, उहाँहरु तालमेलमा मात्र हो । यहाँ लोसपा समाप्त हुने स्थितिमा छ ।

हामी सर्वाेच्चमा मुद्दा लड्दै गर्दा केपी ओलीको सरकारमा गएर संविधान ध्वस्त पार्ने शक्ति लोसपा भएको जनताले बुझिसकेका छन् । नागरिकताको विषयमा एमाले जुन तरिकाले प्रस्तुत भएको थियो, त्यो कलंक हो भन्ने जनताले बुझिसकेका छन् । तै पनि गणितीय हिसाबले मेरो प्रतिस्पर्धी एमाले हो ।

तपाई पटक–पटक निर्वाचित भएर मन्त्री हुनुभयो । तपाईलाई यहाँका जनताले फेरि मत किन दिने ?

यति लामो समय जनताले मत किन दिए भने म जनताको बीचमा काम गरेको मान्छे हुँ । जनताले विश्वास र भरोसाले गर्दा यति लामो समय म यहाँ बसेको छु । यो पाँच वर्षको अवधिमा यहाँ धेरै विकास निर्माणको योजना परेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि हामी कटिबद्ध छौं । जबकि आज पनि यहाँ प्रतिगामी तत्व सल्बलाई रहेको अवस्था छ । सर्वाेच्च र संसदबाट हामीले लडेर जुन उपलब्धि हासिल गरेका छौं । त्यसले पनि हामीलाई मत आउँछ । यो मेरो अन्तिम पटकको चुनाव भएकाले पनि जनताको मप्रति हार्दिक सहानुभूति छ ।

यहाँको जनताले निर्वाचनैपिच्छे फरक चिह्न लिएर आउनुहुन्छ, चुनाव चिह्नै बुझ्न गाह्रो भयो भन्छन् नि ?

हामीले अधिकारका लागि लड्ने हो । म त एमाले पार्टीबाट सांसदबाट राजीनामा दिएको मान्छे । सांसद बन्नका लागि मान्छेले चुनावपिच्छे चिह्न फेर्छ । मैले मधेसको आन्दोलन यसको माग पूरा गर्नका लागि पार्टी चेन्ज गरेको हो ।

पहिचान र अधिकारका लागि, बराबरी अधिकारका लागि हामीले पार्टी नै बनायौं । पार्टी अध्यक्ष भएर पनि पार्टी चलायौं । जनता समाजवादी पार्टी पनि चलायौं । केही व्यक्तिहरु सत्ता स्वार्थका लागि प्रतिगामी तत्वमा गए । अब यो देशमा क्षेत्रीय पार्टीको औचित्य रहेन, राष्ट्रिय पार्टीको औचित्य छ । अब मधेस, हिमाल र पहाडको वैकल्पिक शक्तिको परिकल्पना गरेका थियौं, त्यसलाई पूर्णता दिनका लागि त्यहाँ गएँ ।

मधेसको पार्टी हामी जोड्दै गयौं तर सत्ता स्वार्थका लागि पार्टी फुट्दै गयो । परिवारवादका लागि फुट्दै गयो । त्यसैले चुनाव चिह्न परिवर्तन हुँदै गयो । यसपछि अब नेपाल समाजवादी पार्टी बनाएर अघि बढ्ने योजनामा छु । राम्रो काम गर्नेलाई चिह्नले फरक पर्दैन ।

तपाईको विचारमा मधेस केन्द्रित दलहरुको अस्तित्व समाप्त हुँदै गएको हो ?

राष्ट्रिय पार्टी निर्माण गर्नका लागि चार लाख मत चाहिन्छ । मतदाता संख्या बढेको देख्दा हामीलाई त्यो मत आउने अवस्था छैन । लोसपा त्यसै पनि जाने नै भयो । एमालेसँग जसपाले जसरी समझदारी गर्‍यो, त्यो आफै समाप्त भयो ।

****

‘सर्लाही–२ मा सत्ता गठबन्धनले जित्छ’

सर्लाही–२ प्रदेशसभा ‘ख’को उम्मेदवार सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कौशल किशोर राय छन् । उनी सत्ता गठबन्धनले नै चुनाव जित्ने तर्क गर्छन् । उनीसँग रातोपाटीले चुनाव केन्द्रित रहेर संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः

तपाईको चुनावी तयारी कसरी चलिरहेको छ ?

सर्लाही–२ मा हाम्रो अवस्था मजबुत छ । हाम्रो आधिकारिक गठबन्धनले नै चुनाव जित्छ ।

यो गठबन्धनलाई नेपाली कांग्रेसले राम्रो सहयोग गरेको छैन भन्ने छ नि ?

त्यो गलत हो, सहयोग गरेको छ । साथीहरु सहयोगमै हुनुहुन्छ । केही अन्यौल अवश्य छ, त्यो चुनाव नजिकिँदै गर्दा समाधान हुन्छ । पार्टीका जिम्मेवार साथीहरुले केन्द्रको निर्देशन मान्नुपर्छ । केन्द्रीय सभापति शेरबहादुर देउवाले दिएको निर्देशन ग्रासरुटमा पनि फलो गर्नुपर्छ ।

प्रदेश ‘ख’ को अवस्था के छ ?

यहाँको अवस्था एकदमै राम्रो छ । हामीले स्थानीय चुनावमा यस क्षेत्रमा १८ हजार मत पाएका छौं । त्यसमा गठबन्धन भएका कारणले झनै मजबुत छ । यहाँको कुल ६२ हजार मतमा १५–१६ हजार मत ल्याएमा मात्र पनि जित निश्चित छ । 

‘मलाई केही सङ्कट छैन, मिडियाले देखाएको मात्र हो’

राजेन्द्र महतो, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)

–बिहानदेखि बेलुका, रातिसम्म ढल्कँदो उमेर पनि छ, थकाइ पनि लागेको होला, यस पटक छोडिदिन्छु, आराम गर्छु भन्ने किन आएन यहाँलाई ?

जनताका बीचमा जान मलाई थकाइ लाग्दैन । जनताका बीचमा गएर उनीहरूको समस्या सुन्ने, सहयोग र समर्थन माग्ने, सहयोग समर्थन दिने वाचा गर्ने कार्यले थकाइ लाग्दैन । 

–छ दशक जतिको सक्रिय राजनीति भइसक्यो, विश्राम लिन मन लागेको छैन ?

त्यस्तो अवस्था आइसकेको छैन । सक्रिय राजनीतिमा केही अफ्ठ्यारो परेको छैन । 

–भनेपछि यो निर्वाचन पनि तपाईंका लागि अन्तिम होइन ?

होइन, जनताले पत्याएसम्म, जनताले चाहेसम्म, समर्थन गरेसम्म त जनताको सेवा गर्नुपर्छ । उमेरले छेक्दैन । 

–तपाईंको जितको आधार चाहिँ के छ त ? अब अहिलेको सत्ता गठबन्धनबाटै दुई जना उम्मेदवार देखिनुभयो, महेन्द्र राय यादव पनि हुनुहुन्छ, तपाईं पनि हुनुहुन्छ । अब हामीले नेताहरूको हस्ताक्षर हेर्दा आधिकारिक चाहिँ रायजीलाई समर्थन गरेको देखिन्छ । तपाईं आधिकारिक हो कि उहाँ आधिकारिक हो ?

यो २२ गते हाम्रो पाँच दलीय गठबन्धनको नेता प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको तर्फबाट र लोसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुरबाट गरेको सहमती र सम्झौताअनुसार यो मधेश प्रदेशमा सहमती भएको छ । त्यो सहमतीअनुसार सर्लाही २ मा प्रतिनिधि सभामा चाहिँ मित्रवत् प्रतिस्पर्धा गर्ने भन्ने समझदारी भएको थियो । सोअनुसार गठबन्धनका दुई जना उम्मेदवार मित्रवत् प्रतिस्पर्धामा आएका छन् । त्यसैले दुईवटै उम्मेदवार गठबन्धनका आधिकारिक उम्मेदवार हुन् । यो चाहिँ २२ गतेको सम्झौताअनुसार भएको हो । 

–तर गठबन्धनमा रहेका दलहरू त महेन्द्र राय यादवसँग हिँडिरहेका छन्, कांग्रेसका नेताहरू तपाईंहरूसँग देखिनुहुन्न ? उता एमाले र जसपाको गठबन्धन छ ? 

महेन्द्र राय यादवको गठबन्धन माओवादीहरूसँग भयो, माओवादीलाई प्रयोग गर्नुभएको छ । हाम्रो गठबन्धन नेपाली कांग्रेस र लोसपाबीच भएको छ । नेपाली कांग्रेसका उम्मेदवार माननीय जङ्गीलाल राय यादवजी अहिले हामीसँगै हुनुहुन्छ । कांग्रेस र लोसपाको बीचमा एउटा लोकतान्त्रिक गठबन्धन २२ गते भएको थियो, सोअनुसार यो गठबन्धन भनेको नेपाली कांग्रेस र लोसपाबीचको हो । उहाँहरूको माओवादीसँग गठबन्धन भएको छ, त्यही हो अवस्था । 

–लोसपाको अवस्था त अब कमजोर देखिन्छ हैन ? अब हुने निर्वाचनको पछिल्लो सभामा लोसपा भन्ने पार्टी रहन्छ कि रहँदैन भन्ने पनि छ । प्रतिनिधि सभामा टु डिजिटमा जाने त सम्भावना नै भएन । किनभने त्यति टिकट नै छैन तपाईंसँग । अब लोसपालगायत मधेश केन्द्रित दलहरू अथवा मधेश आश्रित दलहरूको अस्तित्व सङ्कटमा पर्ने भयो हैन यो निर्वाचनपछि ?

केही सङ्कट छैन । मिडियामा सङ्कट देखाउने, तपाईंहरूले समाचार लेख्नुपर्ने भएर हो । तर त्यस्तो केही सङ्कटमा छैन । जनताको बीचमा गइएको छ, जनताले समर्थन गर्छन् र राष्ट्रिय पार्टी पनि बन्छ । जनताले पत्याएका र समर्थन पनि गरेका छन् । यहाँ पनि हेर्नुस् न, दुई पार्टीको गठबन्धनबाट जनतामा जानुस्, कस्तो समर्थन देख्नुहुन्छ । त्यसैले मिडियामा के लेखियो, गठबन्धनमा जालझेल के गरियो, त्यो चाहिँ बडा अजिब छ के । यही क्षेत्रमा प्रतिनिधि सभामा चाहिँ मित्रवत् प्रतिस्पर्धा गर्ने भन्ने निर्णय भएको थियो । तर प्रदेश सभामा यो सर्लाही २ को (क)मा चाहिँ नेपाली कांग्रेसले स्थान पाएको थियो । त्यसको उम्मेदवार उहाँ माननीय जङ्गीलाल राय यादवजी नेपाली कांग्रेसबाट हुनुहुन्छ । 

–महेन्द्र राय यादवजी पनि कांग्रेसकै एक जना उम्मेदवार लिएर हिँडिरहनु भएको छ नि त ? 

त्यही भन्दै छु, सर्लाहीको क्षेत्र नम्बर २ को (ख)मा चाहिँ लोसपाले पाएको सिट हो । त्यसका उम्मेदवार मेथु चौधरी हुन् । यो भनेको प्रतिनिधि सभामा मित्रवत् थियो । प्रदेश सभामा एक जना जङ्गीलालजी नेपाली कांग्रेस र अर्कोमा लोसपाको थियो । त्यो थपिएको उम्मेदवार हो के, (ख)मा थपिएको उम्मेदवार । (ख)मा नेपाली कांग्रेस, यसमा माओवादी थपिएको उम्मेदवार हो । त्यो चाहिँ जालझेल गरेर थपिएको उम्मेदवार हो, २२ गतेको सम्झौताविपरीत त्यो काम भएको हो । 

–जनताले तपाईंहरूको यो भाषा कसरी बुझ्ने ? मित्रवत् प्रतिस्पर्धा भनेपछि राजेन्द्र महतो र महेन्द्र राय यादवलाई माया गरेर २ ठाउँमा भोट दिए भने दुईवटै बदर हुने भयो, दुवै हार्ने भए । जनताले कसलाई दिनु भनेको हो यो मित्रवत् भनेर ?

जनताले काम हर्ने हो । भरोसा, विश्वास जुन उम्मेदवारमाथि हुन्छ उसैलाई भोट दिने हो । त्यो जनताले छान्नै पर्छ नि । यो चाहिँ जनताले छानिरहेका छन्, यस पटक पनि मङ्सिर ४ गते छान्छन् । यहाँ चाहिँ एउटै गठबन्धनका दुईवटा उम्मेदवार छन्, तिनमा कसले कसरी समर्थन पाउँछ, त्यो ४ गते जनताको मतबाट प्रमाणित हुन्छ । 

–गठबन्धनको नीतिअनुसार पहिला आफूले जितेको क्षेत्रमा जाने भन्ने थियो, आफ्नो क्षेत्रमा नगएको तपाईंलाई आरोप पनि होला, जनताले सोधेका पनि होलान्, हरेक निर्वाचनमा क्षेत्र परिवर्तन गर्ने एक जना राजेन्द्र महतो पनि पर्नुहुन्छ । आफ्नो निर्वाचन क्षेत्रमा नगएर फेरि किन यहाँ आउनुभयो भन्ने ? 

अब जुन ठाउँमा माग भयो त्यो ठाउँमा गइन्छ । कुनै एउटा ठाउँबाट मात्र लडिरहनुपर्छ भन्ने छैन । जहाँ जहाँबाट बोलाउँछन् र जहाँ जहाबाट पार्टीले पठाउँछ त्यो ठाउँमा गएर चुनाव लड्नुपर्छ ।

–पहिले जितेको ठाउँमा मागेनन् तपाईंलाई ? 

हैन, त्यतिबेला त मधेशी गठबन्धन थियो । महेन्द्र राय यादवले यहाँबाट जितेका थिए । म लड्छु भनेर भने अनि मलाई जनकपुर पठाइयो । जनकपुर गएपछि त्यहाँ नेपाली कांग्रेसका दिग्गज नेता थिए, तर त्यहाँका जनताले मलाई नै माया गरे । पचासौँ वर्षदेखि, पुस्तौँ पुस्तादेखि गरेको राजनीति, त्यहाँको अवस्था त हेरिहाल्नु भयो । विगतको चुनावमा तपाईंजस्तै पत्रकारले चाहिँ यस्तै जिरो पोजिसन आउँछ, कहाँ गएको ? नेपाली कांग्रेसजस्तो महान् पार्टीका नेतासँग टक्कर लिन गएको भनेर भनेकै थिए । तपाईंहरूको जस्तै मिडियाले लेखेकै थिए । तर जनताले मलाई माया गरे नि त । जनताले मलाई जिताएका थिए नि त । जनताको भरोसा र विश्वास ममाथि भएको थियो, जिताए । 

अहिले चाहिँ उहाँ माओवादीतर्फ लागेपछि । योे त तीस वर्षदेखि मधेशवादी क्षेत्र हो के । उहाँले गडबड गरेपछि त्यस्तो भयो । एउटा चाहिँ विगत १० वर्षदेखि प्रत्यक्षतर्फका सांसद्, त्यसअघि उहाँ समानुपातिक हुनुभयो । तर यो क्षेत्रमा केही विकास गरिदिनुभएन, कुनै गतिविधि अगाडि बढाएनन् । जनता आत्तिएका थिए । उनीहरूले विकल्प खोजिरहेका थिए । त्यो अवस्थामा यहाँ परिवर्तनका लागि आउनुपर्यो भनेर जनताले मलाई माग गरेका हुन् अब फेरि आफ्नो गृहजिल्ला आउनुपर्यो भनेर । सो मागअनुसार आफ्नो कर्मप्रति आउनु स्वाभाविक हो नि त । 

–तर तपाईंको क्षेत्र त उता हो नि ?

जिल्ला त यही हो, अघिल्लो निर्वाचनमा यो काटिएको हो । यो जालझेल गरेर काटिएको हो । 

–अन्तिममा यति भनिदिनुस्, तपाईंलाई सर्लाही क्षेत्र नम्बर २ का मतदाताले किन भोट दिने भन्यो भने के हुन्छ ?

सर्लाही क्षेत्र नम्बर २ का मतदाताले मलाई किन भोट दिइरहेका छन् भनेर उनीहरूलाई नैसोध्नुस् । तपाईं जनतामा आउनुभएको छ हैन, यो प्रश्न उम्मेदवारलाई सोध्ने होइन । यहाँ जनता  उभिएका छन्, जनतासँग सोध्नुस् न राजेन्द्र महतोलाई किन मतदान गर्ने हो ? त्यो जनतासँग प्रत्यक्ष सोध्ने हो के । 

–यस कारण दिनुपर्छ भन्ने केही छैन ?

तपाईं जनताका बीचमा उभिनुभएको छ, जनतासँग बुझ्नुपर्छ । मलाई किन मत दिनुपर्छ, मलाई किन जिताउनु पर्यो जनतालाई सोधे थाहा भइहाल्छ नि । 

–जनतालाई पनि सोधेको उनीहरूले उहाँलाई पनि सोध्नुस् भनेका छन् ?

तीनवटा कुरा छन् क्या । मेरो जित सुनिश्चित हुने तीनवटा आधार छन् मसँग । जनप्रतिनिधि जनताका सुख दुःखमा साथ रहनुपर्छ, उसको रक्षा, सुरक्षा गर्नुपर्छ । त्यो चाहिँ प्रतिनिधिले गर्यो कि गरेन ? गरेन भने जनताले तुरुन्तै विचार परिवर्तन गर्छन् । कसले गर्छ उसलाई मतदान गर्छन् । 

अर्को, विकासका गतिविधि अगाडि बढायो कि बढाएन भन्ने । अब यहाँ हुलाकी सडकको कुरा पूरा उठिरहेको छ । पूरै इलाकाको हुलाकी सडक बन्यो, तर सर्लाहीको बन्यो कि बनेन ? किन बनेन ? प्रतिनिधिले के गरिरहेको थियो ? त्यो कार्य गराउनुपर्थ्यो नि त । बजेट छँदैथियो । यो चाहिँ निष्क्रियता हो । जनताका समस्याप्रति संवेदनशील नहुने । यत्रो लामो १०, २० वर्षदेखि राजनीति गर्ने नमुनाका लागि पनि एउटा काम नगर्ने ? यो चाहिँ जनताको अनुभूति हो । वितृष्णा हो । 

तेस्रो, चाहिँ अधिकार पहिचानको जुन सङ्घर्ष हो हाम्रो, त्यसका लागि नै हो प्रतिनिधि सभामा हाम्रो उपस्थिति ।

–हिजो आन्दोलन गर्दा के एजेन्डा थिए, के एजेन्डा लिएर आन्दोलनमा गइयो, मान्छे मरे भन्ने पनि सम्झिरहनु भएको छ तपाईंले ?

एकदम विल्कुल, जनताले सम्झिरहेका छन् । जनताले बिर्सिएका छैनन् । जनताले बिर्सिए भन्ने भ्रममा नपर्नुस् के । 

–जनताले त सम्झे तपाईंहरूले बिर्सिनुभयो कि ?

जनतालाई कहाँ बिर्सिइन्छ, बिर्सियो भन्ने भ्रममा तपाईं नपर्नुस् के । तपाईंलाई त्यस्तो लागेको हो । समय आएपछि त्यो चाहिँ देखिएला । जनताको पीरमर्का र जनताको अधिकारको पहिचान जुन सङ्घर्ष हो । संविधान सभाबाट गोली चलाएर जुन संविधान बनाइयो, त्यो संविधानमा परिवर्तन गर्नुपर्ने काम त बाँकी छ नि त । त्यो एजेन्डाका लागि सदनमा लड्ने, अधिकार पहिचानका लागि सदनमा आवाज उठाउने, यहाँको प्रतिनिधि एक दिन पनि बोलेन भनेर जनताले भनिरहेका छन् । मैले बोलेको कुरा त दुनियाँलाई थाहा छ नि । त्यसैले सदनमा कसले के गर्यो, जनताका लागि कति सङ्घर्ष गर्यो, यी सवालहरू जनताले उठाइरहेका छन् । यिनै सवालहरूका आधारमा जनताले मलाई मतदान गर्छन् । अत्यधिक मतले जिताउँछन् भन्ने मलाई विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप