‘हेटौंडाको कर्णाली’ : गाउँलेले खोक्रो आश्वासन मात्रै पाए
बागमती प्रदेशको राजधानी हेटौंडाबाट करिब १ घण्टा पूर्वतर्फको यात्रा गरेपछि पुगिन्छ, साजबोटे गाउँ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ र १७ को सिमानामा रहेको उक्त गाउँलाई एक शब्दमा चिनाउँदा ‘हेटौंडाको कर्णाली’ भन्दा परक पर्दैन ।
हेटौंडा–१६ को चिसापानी र हेटौंडा–१७ को हटिया बजारबाट करिव ५ किलोमिटर दक्षिणतर्फ रहेको उक्त गाउँले विकास भन्ने कस्तो हुन्छ, देखेको छैन । गाउँलेको सामान्य आवश्यकता पनि त्यहाँ पुरा भएको छैन ।
उक्त गाउँ मकवानपुर–१ अन्तर्गत रहेको छ । तामाङ, चेपाङ तथा बोटे समुदायको बसोबास रहेको उक्त गाउँका नागरिक कृषिकर्म गरेर जीविका चलाउँछन् । तर, जहाँ कृषि कर्म गर्छन्, त्यसको लालपूर्जासम्म उनीहरुसंग छैन ।
त्यहाँका नागरिकलाई विकासको पूर्वाधारले छुनै सकेको छैन । त्यस क्षेत्रको लागि सडक पुल, भवन जस्ता विकास त सपनाजस्तै छ । त्यहाँका नागरिक शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई जस्ता सामान्य कुराको पहुँचबाट बञ्चित रहेको अवस्था छ ।
हेटौंडा–१७ हटियाबाट, हेटौंडा–१६ को सिमाना हुँदै करिव २ किलोमिटर दक्षिणतर्फ यात्रा गरेपछि त्रिशुले भन्ने गाउँ पुगिन्छ । डाँडामा अवस्थित उक्त त्रिशुलेबाट डाँडो छिचोलेर केही तल रहेको खहरेसम्म सडक पु¥याइएको छ । तर बलौटे माटोको भौगोलिक बनोट भएको उक्त सडकमा कतिबेला पहिरो खस्छ पत्तो हुन्न ।
त्यस सडकमा हिउँदमा यात्रा केही सहज भएपनि बर्ष याममा त बाटो लगभग ठप्पजस्तै हुन्छ । त्रिशुले डाँडाबाट खहरे खोला पुगिसकेपछिको सडक त झन अस्तव्यस्त छ । करिव १ घण्टा खहरे खोलाको बगरको बाटोको यात्रा गरेपछि फाट्ट फुट्ट केही घर भेटिन्छ ।
त्यहाँबाट खास गाउँ नै पुग्न त अझै १ घण्टा लाग्छ । दक्षिणमा बारा जिल्लासंग सिमाना जोडिएको उक्त गाउँको हेटौंडा बजारसम्म पहुँच पुग्ने एक मात्र सडक हो, त्रिशुले हटिया सडक । चकमन्न जंगलको बाटो हुँदै यात्रा गर्नुपर्ने वाध्यतामा रहेका त्यहाँका गाउँले साँझ परेपछि घरबाट बाहिर निस्कदैनन् । साँझ परेपछि बाटो हिँड्न सक्ने अवस्थै छैन ।
उक्त गाउँका बालबालिकाहरु दैनिक घण्टौं हिँडेर विद्यालय पुग्छन् । खहरे खोलाको किनारमा अवस्थित उक्त गाउँको लागि एउटा आधारभूत विद्यालय छ । तर, त्यहाँ उक्त गाउँको तल्लो भेगका बालबालिकाको मात्र पहुँच छ । माथिल्लो भेगका बालबालिकाहरु दैनिक घण्टौं हिँडेर चिसापानी वा हटिया बजार नै आउनुपर्छ । कक्षा ५ सम्म त गाउँकै विद्यालयमा पठन पाठन हुन्छ । त्यपछिको अध्ययनका लागि भने उही चिसापानी वा हटिया धाउनु पर्छ ।
हिउँदमा भने त्यहाँ दैनिक रुपमा बस चल्छ । यसले विद्यालय आवतजावत गर्न सहज हुन्छ । वर्षायाममा भने त्यहाँ पैदल यात्रासमेत ठप्प हुन्छ । खहरे खोला कतिबेला उर्लिने हो पत्तो हुँदैन । दिउँसो पानी प¥यो भने विद्यालय गएका बालबालिका उत्तै अड्किन्छन् । त्यहाँका गाउँले सोही खहरे खोला र कुवाको पानी खान वाध्य छन् । विद्युत त पुगेको छ तर कतिबेला काटिन्छ पत्तो हुँदैन ।
त्यहाँ टेलिफोन समस्या पनि छ । त्रिशुलेसम्म नेपाल टेलिकमको टावरबाट नेटवर्क टिप्छ, त्यसपछि भने नेटवर्कले काम गर्नै छोड्छ ।
आगामी मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । तर, त्यस गाउँमा चुनावले छुन सकेको छैन । त्यहाँका मतदाताले निर्वाचनमा भोट हाले पनि दलका प्रतिनिधिहरु भने जितेपछि त्यहाँको बाटो नै विर्सिने गरेको स्थानीयको गुनासो छ ।
स्थानीयमा दल र तिनका प्रतिनिधिहरुप्रति चरम नैराश्यता देखिन्छ । आगामी निर्वाचनमा आफूहरुले मत दिने कि नदिने भन्ने बारेमा विचार गर्नुपर्ने बताउँछन् । स्थनीय निर्वाचन कार्यालयबाट उक्त गाउँमा मतदाता शिक्षा पुग्न सकेको छैन ।
के भन्छन् स्थानीय ?
हेटौंडा–१६ की रविना थोकर र सुन्तलीमाया भोलन चुनाव आएपछि दलका प्रतिनिधिहरु भोट माग्न गाडीमा आउन थालेको बताउँछन् । रातोपाटी प्रतिनिधि पुग्नुअघि मात्र त्यस गाउँमा ६ वटा गाडीमा एउटा दल भोट माग्न आएको उनीहरुले जनाए । आफ्नो बारीमा तोरीको साग टिप्दै गरेका उनीहरुले नेताहरु आएपनि खाली आश्वासन मात्रै बाँड्ने गरेको बताए ।
विगतदेखि नै आफ्नो गाउँको समस्याबारे नेताहरुलाई जानकारी गराएपनि जितेर गएका नेताहरु प्रतिवद्धता पुरा गर्न त परै जाओस्, फर्केर पनि नआउने गरेको उनीहरु बताउँछन् ।
खहरेको बाढीले गरिखाने जग्गा कटान गरेको, तटबन्धका लागि जाली माग्दासमेत नपाएको उनीहरु गुनासो गर्छन् । जग्गाको लालपूर्जाको लागि पनि उनीहरुले पटक पटक अनुरोध गरेपनि पाउन सकेका छैनन् ।
हेटौंडा–१७ का सुरज वाइवाको दुःखेसो पनि उस्तै छ । गाउँमा काम गर्ने वातावरण नभएपछि वैदेशिक रोजगारीका लागि रात्रि बसमा काठमाडौं जाँदै थिए उनी । जाँदाजाँदै उनले भने, ‘नेताहरुले बोल्ने मात्र गर्छन्, गाउँको विकासको लागि वाचा पुरा गर्दैनन् ।’
चुनावको समयमा बाटोमा स्ल्याब ढलान गर्ने, स्वास्थ्य चौकी बनाउने, लालपूर्जा दिने जस्ता बाचा गरेपनि जितेर गएपछि वेवास्ता गर्ने गरेको वाइवा बताउँछन् । गाउँको अवस्था सुधार हुने छाँट नदेखेपछि उनी विदेशिने मुडमा पुगेका हुन् । उनी भन्छन्, कोही बिरामी परेमा त्यहाँ एम्बुलेन्ससम्म पुग्ने अवस्था छैन । वडा कार्यालयको स्वास्थ्य चौकी पुग्न डोकोमा बोकेर एक घण्टा हिँडेर हटिया वा चिसापानी पु¥याउनुपर्छ ।
धादिङबाट बसाइँ सरेर हेटौंडा–१६ साजबोटेमा बस्दै आएका राजेश तामाङ नेताहरु चुनावको बेलमामा मात्र गाउँ छिर्ने गरेको बताउँछन् । खोला र कुवाको पानी खान बाध्य हुनु परेको जनाउँदै उनले भने, निर्वाचन नजिकिएसंगै नेताहरु गाउँमा छिर्न थालेका छन् । तर गाउँको विकास गर्नुभन्दा आश्वासनमात्रै दिने त होला ।
हेटौंडा–१६ की निरमाया तामाङ गाउँको विद्यालयसम्म पुग्न करिव एक घण्टा खहरे खोलाको यात्रा गर्नुपर्ने भएपछि आफ्ना छोराछोरीलाई चिसापानी आफन्तकोमा पठाएकी छिन् । २ सन्तानमध्ये ठुलो छोरी कक्षा ६ मा पढ्ने भएपछि सानो छोरालाई पनि साथै एउटै विद्यालय पठाएको उनले बताइन् ।
देशमा व्यवस्था फेरियो, नेतृत्व फेरिए तर साजबोटे गाउँका नागरिकको अवस्था उस्तै छ । उनीहरु अझै पनि देशको नेतृत्वले बाटोघाटोलगायत आफ्ना सामान्य आवश्यकता पुरा गरिदिने विश्वासमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीका पूर्वमन्त्री लिलाबल्लभलाई रिहा गर्ने तयारी
-
केवाईसी रुजु गर्ने वालेटकै कर्मचारी पक्राउ
-
विदेश पठाउँछु भन्दै ठगेको आरोपमा ३ जना पक्राउ
-
१६ दिन थुनामा रहेका पूर्वमन्त्रीले पाए क्लिनचिट, दुई अभियोगमा मुद्दा लाग्ने यी हुन् ११ प्रतिवादी
-
सुदूरपश्चिम रोयल्सका मेन्टर हज नेपालमा
-
बागमती प्रदेश खेलकुद परिषद्मा ४ जना सदस्य नियुक्त